उपकुलपतिको ढोका अगाडि ३५ बुँदे मागसहित १२ दिनदेखि धर्ना
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिव सिद्धान्त भट्ट उपकुलपतिको कार्यकक्षबाहिर धर्नामा बसेको आज १२ दिन भयो । विश्वविद्यालय सुधारका लागि विभिन्न ३५ बुँदे माग राखेर भट्ट गत मंसिर २६ गतेदेखि धर्नामा बसेका हुन् ।
उनी धर्नामा बसेसँगै उपकुलपति प्राडा केशरजंग बराल कार्यालय जान छोडेका छन् । धर्नामा बसेको दोस्रो दिनमा उपकुलपति बरालसहित अन्य पदाधिकारीहरू छलफलमा बसेका थिए । तर, त्यस यता बराल कार्यालयमा नआएको चौबिसै घण्टा धर्नामा बसिरहेका भट्टले बताए ।
‘हाम्रो शान्तिपूर्ण धर्ना हो । उहाँहरूलाई हामीले कार्यालय आउनमा रोकेका छैनौँ । उल्टै फोन गरेर उहाँलाई कार्यालय आएर काम गरिदिनुहोस् भनेका छौँ । तर, न उहाँ कार्यालयमा आउनुभएको छ, न त माग सम्बोधनका लागि केही कुरा गर्नुभएको छ,’ भट्टले भने ।
भट्ट धर्ना बसेकै ठाउँमा खाना खान्छन् । राति त्यहीँ सुत्छन् । उनीसँग वार्ता गर्नका लागि सहप्राध्यापक प्रमोद पौडेलको संयोजकत्वमा वार्ता समिति बनाइएको थियो । वार्ता समितिले उनीसँग एक पटक छलफल गरे पनि माग सम्बोधन गर्न नसक्ने जनाएर पछि हटेको भट्टको भनाइ छ । अधिकार नै नभएको समितिले आफ्ना माग सम्बोधन गर्न नसक्ने भएकाले थप वार्ता नभएको उनले बताए ।
गत मंसिर २७ गते त्रिविको साधारणसभा थियो । त्यसैको अघिल्लो दिनदेखि भट्ट धर्नामा बसेका हुन् । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु त्रिवि जिल्ला अध्यक्ष समेत रहेका भट्ट धर्नामा बसे पनि अन्य पार्टी निकट विद्यार्थी संगठनहरूले भने समर्थन गरेको देखिँदैन ।
आफू अनेरास्ववियुको अध्यक्षको हैसियतले भन्दा पनि स्ववियु सचिवको हैसियतले धर्नामा बसेको भट्टले बताए । आफ्ना माग सम्बोधन नहुँदासम्म धर्नाबाट नउठ्ने उनको भनाइ छ ।
‘जति बेला मैले उठान गरेका माग सम्बोधन हुन्छन्, त्यही बेला म धर्नाबाट उठ्छु । नत्र ६ महिना, वर्ष दिन लागे पनि हट्नेवाला छैन,’ भट्टले भने ।
स्ववियुको कार्यकाल सकिने बेला धर्नामा किन बसेको भनी सोधिएको प्रश्नमा भट्टले भने, ‘हामी निर्वाचित भएर आएपछि उपकुलपति लगायतका पदाधिकारीहरू निमित्त हुनुहुन्थ्यो । लामो समयदेखि स्ववियु चुनाव भएको थिएन । हामी नयाँ थियौँ । बुझ्न हामीलाई पनि केही समय लाग्यो । त्यसपछि उपकुलपति आउनुभयो । रेक्टर र रजिष्ट्रार नियुक्त गर्न सक्नुभएन । केही समयपछि नियुक्त भए । त्यसपछि डीन लगायतका विभागीय प्रमुखहरू पनि निमित्तको भरमा चले । माग सम्बोधन गर्नेहरू नै निमित्तको भरमा चलेपछि माग सम्बोधन गर्न सकिने कुरा भएन ।’
त्रिविका पदाधिकारी, डीन लगायतका अधिकांश निकायको नियुक्ति पूर्ण भएपछि आफू धर्नामा बसेको उनको भनाइ छ ।
भट्टले उठान गरेका माग यस्ता छन्
विश्वविद्यालय सुधारका लागि चौबिसै घण्टा धर्नामा बसेका भट्टले विश्वविद्यालयमा देखिएका विद्यमान समस्या समाधान गर्नुपर्ने माग राखेका छन् । उनले त्रिवि सेवा आयोगले त्रिवि ऐन नियम विपरीतका सबै विज्ञापन खारेज गरी खुला प्रतिस्पर्धामार्फत नयाँ विज्ञापन जारी गर्नुपर्ने, माग अघि सारेका छन् । त्यस्तै प्रत्येक सेमेस्टर तथा वर्षमा मेकअप परीक्षाको व्यवस्था गर्नुपर्ने, यस वर्ष हुने स्ववियु निर्वाचनको ग्यारेन्टी गरिनुपर्ने, परीक्षाको उत्तरपुस्तिका घर लगेर परीक्षण गर्ने व्यवस्था अन्त्य गरी विश्वविद्यालयमै बसेर परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने उनको माग छ ।
कीर्तिपुरमा रहेको छात्रावासको सिट संख्या बढाएर महिला र पुरुषका लागि क्रमशः ८००/८०० विद्यार्थी अट्ने सिट क्षमताको बनाउनुपर्ने, विश्वविद्यालयमा हाल सञ्चालनमा रहेका र नयाँ बन्ने सबै शैक्षिक संरचना अपाङ्गमैत्री बनाउनुपर्ने, विदेशी विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूको क्रेडिट ट्रान्सफर गर्ने नीति समावेश गर्नुपर्ने लगायतका ३५ बुँदे माग उनले अघि सारेका छन् ।
तीमध्ये केही माग नेपाल सरकारमार्फत सम्बोधन गर्नुपर्ने खालका छन् भने बाँकी त्रिवि कार्यकारी परिषद्बाट निर्णय गरेर सम्बोधन गर्न सकिने उनको भनाइ छ ।
विश्वविद्यालयले यसअघि आफ्नै अध्ययन प्रतिवेदनले औँल्याएका माग आफूले उठान गरेको बताउँदै भट्टले ती माग सम्बोधन गर्नका लागि आफू धर्नामा बस्नुपरेको प्रस्ट पारे ।
उपकुलपति प्राडा केशरजंग बरालले भने माग सम्बोधनका लागि वार्ता भइरहेको बताए । पुरानो वार्ता समितिबाट नभएपछि अहिले डीन तहमा वार्ता कमिटी गठन गरेर छलफल भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी कार्यान्वयन गरिँदै छ १६औँ योजना
-
रुपन्देहीमा रविविरुद्धको मुद्दामा ४ घण्टा बहस, सरकारी वकिलले के–के भने ?
-
६ महिनामा साढे एक करोडभन्दा बढी कण्डम आयात
-
सिरहाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
-
प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण सर्वसम्मत चयन
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेट हटाउन सांसदहरूको जोड