सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विचाराधीन मुद्दाबारे न्यायाधीश फुयाँलले भने– हामी मिलाउने पक्षमा छौँ

आइतबार, ०७ पुस २०८१, १९ : २२
आइतबार, ०७ पुस २०८१

विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको मानहानिको मुद्दा मिलाउने पक्षमा आफूहरू रहेको बताएका छन् । 

सर्वोच्चमा चलिरहेको मानहानिको मुद्दामा नचर्काउने र मिलाउने पक्षमा सर्वोच्च अदालतका सबै न्यायाधिशहरु सहमति रहेको पनि उनले बताए । विराटनगरमा आइतबार ६९ औँ बार दिवस तथा न्यायिक विचार विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

‘अहिले गोपालजीको मान हानिको कुरा पनि आयो । यसलाई चर्काउनु जरुरी छैन । हामी सबै फूलकोर्टका न्यायाधीश बसेर यसलाई नलम्ब्याउने, हटाउने । यो कुरालाई मिनिमाइज गर्ने नतन्काउने । हामी त्यसमा छौँ । त्यसमा तपाईँहरूले गर्नुभएको चिन्ता जायज हो । त्यसमा तलमाथि हुँदैन,’ न्यायाधीश फुयाँलले भने, ‘तर, मेरो यहाँहरूलाई के अनुरोध छ भने कतिपय कुरा बोल्दा चाहिँ तौलीतौली, विचार गरी बोल्नुपर्छ । समयक्रमले अर्थको अनर्थ दिनसक्छ । यसको अर्थ नबोल्नुहोस् भनेको होइन ।’

उनले मानहानिमा दोषी ठहर हुने हो कि भन्ने चिन्ता हटाउन भन्दै ‘मैले यति भनिसकेपछि तपाईँहरू विद्वानले यो कुरा बुझ्नु भयो होला’ भनेका थिए । उनले आफूहरूले त्यसो भनेपछि कर्मचारी फ्याक्टरलाई बुझ्नुपर्ने आशय व्यक्त गरे । ‘हामीले बुझ्नु पर्ने अर्को कुरा पनि के हो भने हाम्रा कर्मचारीहरू पनि हामीसँगै काम गर्छन् । मिसिल ल्याउँछन्, फायल ल्याउँछन् । सबै टाइपिङ गरेर ल्याउँछन् । हाम्रा अभिन्न अंगको रूपमा काम गर्छन् । उहाँहरूको पनि गुनासो र रिजर्भेसनहरु छन्,’ फुयालले भने । 

बारका अध्यक्ष घिमिरेविरुद्ध सर्वोच्च अदालत प्रशासनले गत असोजमा अवहेलना मुद्दा दर्ता गरेको थियो । न्यायपरिषद्को न्यायाधीश सिफारिस सम्बन्धी निर्णयमाथि आलोचना गरेको विषयलाई लिएर सर्वोच्च अदालतका सूचना अधिकारीसमेत रहेका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले अघि सारेको अवहेलनाको प्रतिवेदनका आधारमा बार अध्यक्ष घिमिरेविरुद्ध मुद्दा चलाइएको हो । मुद्दामा घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध भ्रामक र आधारहीन अभिव्यक्ति दिएको दाबी गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप