रवि गोर्खा मिडियामा हुँदा १२३७ वटा चेक काटेर साढे ५९ करोड भुक्तानी, सूर्यदर्शनलाई तिरे ३१ लाख
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गोर्खा मिडिया नेटवर्कमा रहँदा ५९ करोड ४९ लाख भुक्तानी गरेको खुलेको छ । त्यस बेला १ हजार २ सय ३७ वटा चेक काटेको कास्की जिल्ला अदालतमा आइतबार दायर अभियोगपत्रमा उल्लेख छ ।
त्यसमध्ये ८ सय १४ वटाबाट ४८ करोड ५८ लाख लामिछानेको एकल हस्ताक्षरबाट भुक्तानी भएको जनाइएको छ । ६ वटा चेक रवि र गितेन्द्रबाबु (जीबी) राईको संयुक्त हस्ताक्षरबाट काटेर ६० लाख १९ हजार भुक्तानी भएको छ । कुमार रम्तेल र जीबीको संयुक्त हस्ताक्षरबाट १ सय ४८ वटा चेकबाट १ करोड ८८ लाख भुक्तानी भएको छ । जीबीले एक्लै २ सय ५९ वटा चेकबाट ३ करोड ३० लाख भुक्तानी दिएका छन् । यस्तै, छविलाल जोशी र लक्ष्मी पौडेलले ९ वटा चेकबाट २ करोड १२ लाख र जीबीको स्ट्यान्डर्ड चार्टर भौचरबाट एउटा चेक काटेर ३ करोड भुक्तानी गरिएको देखिन्छ ।
रवि २०७७ चैत १५ गते गोर्खा मिडियामा १५ प्रतिशत सेयर लिएर प्रवेश गरेका थिए । उनले लगानी गरेको उक्त रकम बुटवलको सुप्रिम सहकारीबाट कर्मचारी रोशनी गुरुङ र रवि लामिछानेको नामबाट १ करोड ९६ लाख चेक डिपोजिट भई गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा भएको थियो ।
‘संसदीय छानबिन समितिको प्रतिवेदन २०८१ मा उल्लेख रोशनी गुरुङको बयान र लामिछानेले गरेको कागजमा समेतबाट खुलेको छ’, प्रतिवेदनमा लेखिएको छ । रविले २०७९ असार १ गते राजीनामा दिँदा उनको सेयर जीबीले खरिद गरेको देखाइएको थियो । उक्त रकम बैंकमा जम्मा गरेको देखिने भौचर कम्पनी रजिस्ट्रार कार्यालयमा पेस गरिए पनि रकम खातामा जम्मा गरेको नभेटिएको प्रहरी अनुसन्धानले देखाएको छ ।
रविका नाममा २०७७ साउनमा सूर्यदर्शन सहकारीबाट १ करोड कर्जा लिएको देखिन्छ । २०७८ जेठ ६ गते सहकारीको गण्डकी विकास बैंकको खाताबाट ५० लाख र बाँकी ५० लाख नगदै भुक्तानी लिएको अनुसन्धानबाट खुलेको कास्की प्रहरीले जनाएको छ । ‘यसको पुष्टि रवि लामिछानेको हस्ताक्षरको गोर्खा मिडिया नेटवर्कको चेकबाट निजले सूर्यदर्शन सहकारीमा विभिन्न मितिमा ३१ लाख ३३ हजार ६४४ रुपैयाँ भुक्तानी दिएको प्रमाणबाट हुन्छ’, रिपोर्टमा लेखिएको छ ।
लामिछानेकै एकल हस्ताक्षरमा २१ वटा चेक काटेर भुक्तानी दिएको प्रमाण प्रतिवेदनमा राखिएको छ । यस्तै, सूर्यदर्शन सहकारीको मेगा बैंकबाट जीबी राईको खातामा २१ जनवरी २०२१ मा २ करोड जम्मा भएको र सोही रकममध्ये ७५ लाख २१ तारिखमा रवि लामिछानेको खातामा जम्मा भएको देखिन्छ । उक्त रकम भोलिपल्ट लामिछानेको खाताबाट गोर्खा मिडियामा जम्मा भएको छ । प्रहरीले यसलाई कम्पनीमा प्रचलित विधिविपरीत अवैध प्रणालीबाट कसुरबाट आर्थिक सम्पत्तिको शुद्धीकरण भनेको छ । रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेलका विभिन्न बैंकमा रहेका खाताबाट भएको कारोबार पनि प्रहरीले संकलन गरेको छ । यस अवधिमा उनीहरूले २८ करोड ९१ लाख जम्मा गरेर २९ करोड ७ लाख निकालेको देखिन्छ । बैंकमा ७ लाख ७४ हजार मौज्दात छ ।
कसरी कायम भयो बिगो ?
लामिछानेको ‘कसुर’बाट स्थापित भएको बिगो २७ करोड ८९ लाख कायम भएको छ । सूर्यदर्शन सहकारीबाट जीबी राईको खातामा जम्मा भई लामिछानेको खातामा गएको ७५ लाख, सूर्यदर्शन सहकारीबाट लामिछानेको नाममा पेश्की जनाएर गोर्खा मिडियामा भुक्तान भएको ५० लाख, सूर्यदर्शन सहकारीबाट लामिछानेको नामबाट गोर्खा मिडियामा चेकमार्फत भएको भुक्तानी ५० लाख, सूर्यदर्शन सहकारीको रकम अपचलन गरी गोर्खा मिडियामा रकम रकमान्तर भई उनी प्रबन्ध निर्देशक भएको बेलामा आएको रकम २६ करोड १४ लाख बिगोका रूपमा उल्लेख गरिएको हो । यस्तै, अनुसन्धानबाट सम्पत्ति शुद्धीकरण कसुरको चक्र बनाएको छ । त्यसमा सूर्यदर्शन सहकारीमा बचतकर्ताले जम्मा गरेको निक्षेप १ अर्ब ३५ करोड ५३ लाख संगठित रूपमा अपचलन गरेको भन्ने उजुरीलाई अपराधको प्रमाण बनाइएको छ ।
सहकारीको रकम गोर्खा मिडियामा रकमान्तर भएको २६ करोड १४ लाख ४४ हजार, सहकारीको रकम जीबी राई हुँदै रविको खातामा जम्मा भएको ७५ लाख, सहकारीबाट रविको नाममा पेश्की जनाएर गोर्खा मिडियामा भुक्तान गरिएको ५० लाख तथा सहकारीको रकम लामिछानेको नामबाट भुक्तान भएको ५० लाख, लामिछानेको कार्यकालमा गोर्खा मिडियामा सहकारीहरुबाट ६७ करोड ८७ लाख जम्मा भएको, लामिछाने र उनकी श्रीमती निकिता पौडेलको व्यक्तिगत खातामा जम्मा भएको २८ करोड ९१ लाख, उनीहरुको व्यक्तिगत खाताबाट निकालिएको २९ करोड ७ लाख र व्यक्तिगत खातामा रहेको बैंक मौज्दात ७ लाख ७४ हजार प्रमाणको रुपमा पेस गरिएको हो ।
रविविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा आइतबार दर्ता गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी हिरासतमा सुतिरहेका रविको फोटो खिचेर भाइरल बनाउने निकोलस काठमाडौंबाट पक्राउ
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द