बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
अनुशासनको सवाल

नेता कार्यकर्ताको फेसबुकमा राप्रपाको निगरानी, कार्यविधिले रोक्ला अराजकता ?

कार्यसम्पादन समितिले पास गरेको सामाजिक सञ्जालसम्बन्धी कार्यविधिमा के छ ?  (पूर्णपाठसहित)
आइतबार, ०७ पुस २०८१, १७ : ५५
आइतबार, ०७ पुस २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जथाभाबी सामाजिक सञ्जाल चलाउने नेता कार्यकर्तालाई लगाम लगाउने उद्देश्यका साथ एक कार्यविधि बनाएर लागू गरेको छ । 

पार्टीको शनिबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट ‘सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८१’ पारित गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । कार्यविधि पारित भएसँगै कार्यान्वयनमा आएको उनको भनाइ छ।  

पछिल्लो समय पार्टीभित्र मौलाउँदो गुटबन्दीका कारण एक पक्षका नेता कार्यकर्ताले अर्का समूहका नेता कार्यकर्तालाई अराजक ढङ्गले सामाजिक सञ्जालबाट आरोप प्रत्यारोप गर्न थालेपछि त्यस्ता कार्यलाई निरुत्साहित गर्न कार्यविधि तयार गरिएको नेताहरूको भनाइ छ । विशेषगरी पछिल्लो समय पार्टीभित्र विवाद बढ्दा अध्यक्ष राजेन्द्र लिङ्देन एकातिर र पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशमशेर राणालगायतको समूह अर्कोतिर रहेको छ । 

पार्टीभित्र स्पष्ट दुई लाइन संघर्ष कायम रहेको अवस्थामा एक अर्कालाई सामाजिक सञ्जालमार्फत खुलेआम आलोचना गर्ने प्रवृत्ति बढेको र यसले पार्टीलाई नै क्षति पुगेको निष्कर्षका साथ मोहन श्रेष्ठ नेतृत्वको प्रचार विभागले तयार गरेको कार्यविधि कार्यसम्पादन समितिले पास गरेको हो। 

कार्यविधिअनुसार फेसबुक, ह्वाट्सएप, एक्स, इन्स्टाग्राम, थ्रेड, भाइबर, युट्युब, टिकटक, गुगल प्लस, क्लब हाउस, इमो, विच्याट, स्न्यापच्याट जस्ता र सोही प्रकृतिका अन्य प्लेटफर्म मार्फत पार्टीका नेता कार्यकर्ताले पार्टीलाई अहित हुनेगरी जथाभावी गतिविधि गर्न रोक लगाइएको छ । 

यस्तै नेता कार्यकर्ता अर्को कुनै सदस्य वा समाजको जुनसुकै व्यक्तिका बारेमा धारणा राख्दा सम्मानजनक शब्द, आचरण र व्यवहार प्रदर्शन गर्नु पर्ने, पार्टी र नेतृत्वको काम कारबाहीका बारेमा सकारात्मक बहस गर्ने गरी धारणा राख्नुपर्ने, प्रस्ट निर्णय नभएको विषयमा सकभर धारणा प्रकट नगर्ने तर गर्नु पर्ने अवस्थामा “मेरो विचारमा” भन्ने उल्लेख गर्नु गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।  

यस्तै पार्टीका कुनै पनि सदस्यले नकारात्मक शब्द, भाव, प्रतिक्रियात्मक फोटो सम्प्रेषण गर्न नपाउने कार्यविधिमा उल्लेख छ।  यस्तै सदस्यले कुनै अर्को सदस्य वा व्यक्तिलाई होच्याउने, बदनाम गर्ने, चरित्रमा आँच पुर्‍याउने वा व्यक्तिगत प्रतिष्ठामा हानी हुने गरी सार्वजनिक रूपमा आलोचना गर्न वा फोटो, भिडियो शेयर गर्न नपाइने पनि उल्लेख छ।  

प्रवक्ता श्रेष्ठका अनुसार कुनै सदस्यले प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्वीट गर्न पाउनेछैनन् भने कार्यविधिमा आफ्नो कार्य क्षेत्रभित्र नपर्ने विषयमा प्रतिक्रिया वा सामाग्री प्रसारण वा प्रेषण नहुने विषय पनि उल्लेख छ । 

यस्तै पार्टीको सदस्य वा अन्य कुनै व्यक्ति, समाज, समुदाय, लिङ्ग, वर्ग, धर्म, समुदाय प्रति विद्वेष फैलाउने गरी सामग्री सम्प्रेषण गर्न नेता कार्यकर्तालाई रोक लगाइएको छ। तर स्वस्थ आलोचना गर्न भने बाधा पुगेको नमानिने श्रेष्ठले बताए । यद्यपि पार्टीको नीतिमा सकारात्मक बहस चलाउन भने खुला नै राखिएको उनको भनाइ छ । 

यस्तै पार्टीका कुनै सदस्यले असल मनसायसाथ सम्प्रेषण गरेको सामग्री भए पनि त्यसले पार्टीको वृहत् हितलाई असर पुग्ने देखिएमा तत्काल त्यस्तो सामग्री हटाउनु पर्ने नियम समेत बनाइएको छ । 

कार्यविधि विपरीतका गतिविधि भएमा कारबाहीको व्यवस्था समेत गरिएको छ । कुनै पनि सदस्यले पार्टीको हित विपरीत सामाजिक सञ्जालमा गतिविधि गरेमा केन्द्रीय अनुशासन समितिलाई सिफारिस गरेर कारबाही प्रक्रिया अघि बढाउन सकिने बताइएको छ । 

राप्रपाले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थापन गर्न प्रचार विभागको मातहतमा रहने गरी एक सामाजिक सञ्जाल इकाई रहने व्यवस्था समेत गरेको छ । उक्त इकाईमा एक संयोजक र बढीमा चार सदस्य रहने व्यवस्था गरिएको छ ।  उक्त इकाइले हरेक नेता कार्यकर्ताको सामाजिक सञ्जालमाथि अनुगमन र निगरानी गरेर पार्टी हित विपरीतको पाइए कारबाहीको सिफारिस गर्न सक्नेछ । 

यसैबिच यो कार्यविधिलाई लिएर पार्टीभित्रै भने दुई मत देखिएको छ । अध्यक्ष लिङ्देन इतर समूहले कार्यविधि नै बदनीयतपूर्ण  ढंगले आएको प्रतिक्रिया दिएको छ । ‘यो कार्यविधि बदनीयपूर्ण नियतले आएको छ । आफूलाई आलोचना गर्नेलाई मुख थुन्न अध्यक्षको निर्देशनमा यस्तो कार्यविधि ल्याउनुले आशंका जन्माएको छ’, इतर पक्षका एक नेताले बताए । उनले पार्टीका नेता कार्यकर्ता प्रजातन्त्रले दिएको वाक स्वतन्त्रताको अधिकार प्रयोग गर्न स्वतन्त्र रहेको समेत बताए । 

तर, श्रेष्ठले भने पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्न तथा व्यवस्थित सामाजिक सञ्जाल सञ्चालनमार्फत पार्टीको पक्षमा माहौल सिर्जना गर्ने उद्देश्यले यो कार्यविधि ल्याइएको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप