‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई छिटो टुंग्याउनुपर्छ’
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसदहरूले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई छिटोभन्दा छिटो टुंगोमा पुर्याउनुपर्ने धारणा राखेका छन् । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा विधेयकको दफावार छलफलमा सहभागी हुँदै सांसदहरूले यस्तो धारणा राखेका हुन् ।
बैठकमा नेपाली कांग्रेसका सांसद जीवन परियारले विधेयक समितिमा आएको एक वर्ष हुन लागेको उल्लेख गर्दै ऐन पारित गर्न दिनरात मेहनत गर्नुपर्ने बताए । उनले समितिमा अझै धेरै ऐनहरू बनाउन बाँकी रहेको उल्लेख गर्दै छिटो टुंगोमा पुर्याउने गरी सम्बन्धित मन्त्रालयसँग छलफल अगाडि बढाउन कानुन मन्त्रालयको ध्यानाकर्षण गराए । उनले ऐनका बाँकी दफाहरूमा छलफल गर्न सम्बन्धित मन्त्रालयका सचिव र मन्त्रीहरूलाई समितिमा बोलाउनुपर्ने बताए ।
उनले भने,‘ यो ऐन यस समितिमा आएको एक वर्ष नै भइसक्यो होला । यति धेरै ऐनहरू बनाउनुपर्नेछ । त्यसैले गर्दा यो एनेलाई छिटो निर्माण गर्नको लागि हामीले दिनरात मेहनत गरेर समितिबाट यो ऐन पारित हुनेगरी लैजानुपर्छ ।’
बैठकमा बोल्दै नेकपा एमाले सांसद सुहाङ नेम्वाङले समितिको औचित्यमाथि प्रश्न उठ्न थालेको उल्लेख गर्दै ऐन निर्माणका सवालमा समितिले अझै सक्रिय भएर काम गर्नुपर्ने बताए । उनले जनताको नजरमा सांसदले आफ्नो भूमिका प्रभावकारी रूपमा बहन गरेको नदेखिएको बताए । ऐन निर्माणका क्रममा अलमल हुने कुराहरु उठाउन नहुनेमा उनको जोड थियो ।
उनले भने,‘समिति भनेको केका लागि बनेको हो त भन्ने कुरालाई उजागर गर्ने गरेर छलफल गर्नुपर्ने देखिन्छ । हामीले समितिको औचित्य देखाइरहनु जरुरी त छैन तर समितिमा हामीले ऐनहरुलाई प्रभावकारी ढंगले अगाडि बढाउँदाखेरि बाहिर जनताले हेर्दाखरि जसरी माननीयज्युहरुले काम गर्नुपर्ने हो त्यो काम देख्न सकेको छैन ।’
बैठकमा नेकपा (माओवादी केन्द्र) सांसद एवं कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ऐन निर्माणका क्रममा छलफलका लागि पटक—पटक बोलाउँदा समेत सम्बन्धित मन्त्रालयका प्रतिनिधि समितिमा उपस्थित नहुने भएका कारण ढिलाइ भइरहेको बताइन् । उनले दुई पटक बोलाउँदा समेत स्वास्थ्य मन्त्रालय छलफलमै सहभागी नभएको उल्लेख गरिन् । उनले अब ऐनमा सम्बन्धित मन्त्रालयको बारेमा कुरा गर्नको लागि कानुन मन्त्रालयले सहजीकरण गरिदिनुपर्ने बताइन् ।
उनले भनिन्,‘अलि लामो समयको कारणले पनि होला हामीले विधेयकका बाँकी रहेका दफाहरू लिएर आएका छौँ । त्यसमा मुख्यतः विश्वविद्यालयको समकक्षताको विषय धेरै वटा दफामा नोट गर्नुपर्ने कुरा थियो । मैले अनौपचारिक रूपमा सुनेको पहिला हामीले एउटा छलफल सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव र विषय विज्ञहरूलाई यहाँ राखेर छलफल गरिराखेका हौँ ।’
सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले वन र स्थ्यास्थ्य मन्त्रालयसँग थप छलफल गरेर विधेयक टुंगोमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । उनले ऐन र विधेयक निर्माणका लागि मन्त्रालय निरन्तर छलफलमा रहेको समेत बताए । उनले मन्त्री र प्रधानमन्त्री बोलाउने विषेशाधिकार समितिहरूमा रहेकोले यसमा कानुन मन्त्रालयको कुनै रोकतोक नभएको स्पष्ट पारे ।
उनले भने, ‘स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयसँग छलफल गर्न बाँकी छ । छलफल नगरेको भन्ने होइन । कानुन मन्त्रालयले छलफल गरेको छ । हामी यसमा छलफल गर्छौं ।’
विभिन्न ७९ वटा कानुनलाई संशोधन गर्न उक्त विधेयक ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता