बंगलादेशलाई हराउँदै भारतले उपाधि कुम्ल्यायो
काठमाडौँ । एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । भारतले आइतबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले भने १८.३ ओभरमै अलआउट हुनुअघि ७६ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको भारतका लागि ओपनर गोनगादी तृषाले अर्धशतकीय योगदान गरिन् ।
उनले ४७ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काइन् । उनी प्लेयर अफ दि म्याच घोषित भइन् । मध्यक्रमकी ब्याट्र मिथिला विनोदले पनि टोलीको खातामा १७ रन थपिन् । कप्तान निकी प्रसादले १२ रन बनाइन् । आयुषी शुक्लाले पनि १० रन बटुलिन् । भारतका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतीय टोलीले अतिरिक्त रुपमा पनि १० रन पाएको थियो ।
बंगलादेशकी बलर फर्जना एस्मिनले चार विकेट लिइन् । उनले चार ओभरमा ३१ रन खर्चिएकी थिइन् । निषिता अख्तर निसीले पनि दुई विकेट हात पारिन् । उनले चार ओभरमा २३ रन दिइन् । अर्को एक विकेट हबिबा इस्लामले लिइन् । जवाफी ब्याटिङ गरेको बंगलादेशका लागि जुरिया फर्दुसले सर्वाधिक २२ रन बनाइन् ।
उनले ३० बलमा तीन चौका पनि हिर्काइन् । ओपनर फाहोमिदा चोयाले पनि १८ रन जोडिन् । बंगलादेशका अन्य ब्याट्रले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बंगलादेशलाई लक्ष्यसम्म पुग्न नदिन भारतीय टोलीकी बलर आयुषी शुक्लाले तीन विकेट लिइन् । उनले ३।३ ओभरमा केवल १७ रन खर्चिइन् । पारुनिका सिशोदियाले पनि दुई विकेट हात पारिन् । सोनम यादबले पनि दुई विकेट लिइन् ।
एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको यो पहिलो संस्करण हो । पहिलो संस्करणमा नेपाल तेस्रो स्थानमा रह्यो । नेपाली टोली ‘सुपर–४’ चरणबाट बाहिरिएको थियो । श्रीलंका चौथो भयो । आयोजक मलेसिया र पाकिस्तान संयुक्त रुपमा पाँचौँ स्थानमा रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा यःमरी मेला हुने
-
योनेक्स सनराइज अन्तर्राष्ट्रिय च्यालेन्ज सोमबारदेखि
-
क्रिकेट मैदान बाहिर युवकलाई कुटेको घटनाबारे प्रहरीले थाल्यो छानविन
-
भैसीपाटी हनिट्राप : जिल्ला अदालतमा हाजिर भइन् शाही, बयानपछि थुनछेक हुने
-
आफूलाई भन्दा बढी बिरालोलाई माया गरेपछि श्रीमानविरुद्ध अदालत गइन् महिला
-
त्रिवि सभाको अनौपचारिक बैठकमा भएन कुनै निर्णय