रात्रिकालीन व्यवसाय : मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्ने बलियो माध्यम
देश यति बेला आर्थिक रूपमा त्यति सहज अवस्थामा छैन । शोधनान्तर, चालु खाता, रेमिट्यान्सजस्ता केही बाह्य उपकरण स¬¬हज देखिए पनि समग्रमा मुलुकको आर्थिक अवस्था अप्ठ्यारो छ । आयात–निर्यात घटेको छ । व्यापारघाटाको ग्राफ सधैँ उकालो लाग्दो छ । राजस्व संकलन लक्ष्यअनुसार भइरहेको छैन । विकास खर्च हुन सकेको छैन । बैंकहरूमा प्रशस्त पैसा जम्मा भएर बसेको छ । यसको मतलब निजी क्षेत्र लगानी गर्न तयार छैन भन्ने हो । यो अर्थतन्त्रका लागि डरलाग्दो अवस्था हो । प्रशस्त पैसा भएर पनि त्यसको उपयोग हुन नसक्नु हाम्रो राज्य सञ्चालनको प्रक्रिया, नीति–नियम, सरकारी अधिकारी आदिको कमजोरी नै हो ।
सरकारले यस्तो अवस्थामा केही नयाँ उपाय सोच्नुपर्ने हो । व्यवसायीलाई कसरी हुन्छ विश्वासमा लिएर लगानी बढाउने वातावरण बनाउनुपर्ने हो । त्यस्तो देखिएको छैन । अर्थतन्त्रलाई नयाँ ढंगले अगाडि बढाउन सरकार तत्पर देखिँदैन । मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्ने एउटा बलियो माध्यम रात्रिकालीन व्यवसाय हुन्छ कि भन्ने लाग्छ । रातिको समयमा व्यापार/व्यवसाय गर्न अहिलेकै अवस्थामा सहज छैन । यसका लागि राज्यले थुप्रै विषयमा आमूल परिवर्तन गर्न आवश्यक छ । पहिला त सरकारी निकाय ‘पोलिसी रिफर्म’ गर्न तयार हुनुपर्छ । नीतिगत रूपमै परिवर्तन गर्न सकियो भने रात्रिकालीन अर्थतन्त्रलाई सहजै चलाउन सकिन्छ । यसका लागि नयाँ ऐन र नियम आवश्यक पर्छ । सहुलियतको विषय आउँछ । करको विषय आउँछ ।
रात्रिकालीन व्यवसायको आफ्नै प्रकृति हुन्छ । दिउँसो चल्ने व्यवसाय राति चल्दैनन् । मनोरञ्जन र सेवा क्षेत्रका व्यवसाय रातको समयमा चलाउन सकिन्छ । विश्वको उदाहरण पनि यही हो । विश्वका ठुला सहर रातभर जागराम रहन्छन् । त्यहाँ मनोरञ्जन व्यवसाय बढी चलाउने गरेको पाइन्छ । बेलायत, अमेरिका, फ्रान्स, थाइल्यान्ड, भारत हुँदै चीनमा रात्रिकालीन अर्थतन्त्रको अवधारणा बलियो गरी अगाडि बढेको छ । तर, हामी अझै दिउँसोकै अर्थतन्त्रलाई सहज रूपमा अगाडि बढाउन सक्ने अवस्थामा पुगेका छैनौँ ।
विकसित देशका ठुला सहरले रातको समयमा मात्रै अर्बौँ डलरको कारोबार गर्छन् । कैयौँलाई रोजगारी दिएका छन् । राज्यलाई उत्तिकै राजस्व बुझाउँछन् । उनीहरूले पर्यटकलाई रातभर झुमाउँछन् । हाम्रो भने काठमाडौँको ठमेल र पोखराको लेकसाइडबाहेक अन्यमा हामी यसको प्रयास गर्न पनि तयार भएका छैनौँ ।
ठमेल, लेकसाइड पनि रातभर खुल्दैनन् । त्यहाँका केही क्लब मात्रै खुलेको पाइन्छ । विकसित देशका सहरमा मनोरञ्जन पार्क, सार्वजनिक यातायात, ट्याक्सी सेवा, रेस्टुरेन्ट, मनोरञ्जनात्मक खेल, पेट्रोल पम्प, सपिङ सेन्टर सबै खुला हुन्छन् । जसले गर्दा एउटा प्रयोजनमा गएको पर्यटकले अर्को किनमेल गरेर पैसा खर्च गरिरहेको हुन्छ । हामीकहाँ भने अरू त टाढाको कुरा ७–८ नबज्दै पेट्रोल पम्पसमेत बन्द हुन्छन् । यस्तो अत्यावश्यक वस्तुको व्यवसाय ८ बजेभित्र बन्द हुने मुलुकले आर्थिक उन्नति गर्न धेरै समय कुर्नुपर्छ ।
रातिको समयमा व्यापार/व्यवसाय गर्न अहिलेकै अवस्थामा सहज छैन । यसका लागि राज्यले थुप्रै विषयमा आमूल परिवर्तन गर्न आवश्यक छ । पहिला त सरकारी निकाय ‘पोलिसी रिफर्म’ गर्न तयार हुनुपर्छ । नीतिगत रूपमै परिवर्तन गर्न सकियो भने रात्रिकालीन अर्थतन्त्रलाई सहजै चलाउन सकिन्छ ।
विकसित देशका ठुला सहरका उदाहरणलाई पछ्याउन सक्यौँ भने राम्रो हुन्छ । पर्यटकलाई त जति सक्यो त्यति खर्च गराउन सक्यो र उसको अवधि लम्ब्याउन सक्यो त्यति राम्रो हो । सरकारले मापदण्ड बनाई बलियो नियमन गरेर खाना, खाजा, पानदेखि किराना पसल मध्यरातसम्म खोल्ने व्यवस्था गर्न सक्छ । सिनेमा घर, पेट्रोल पम्प, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, स्पा सेन्टर, ब्युटिपार्लर, दोहोरी, डिस्को, डान्सलगायत मनोरञ्जन व्यवसाय रातभर चलाउने व्यवस्था गर्न सकिन्छ ।
यसले एकातिर रोजगारी बढाउँछ अर्कोतिर शिथिल अर्थतन्त्रलाई गति दिने काम गर्छ । मुख्य कुरा यसले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढाउनेछ । पर्यटकले समय बिताउन रात्रि व्यवसाय एउटा महत्त्वपूर्ण पाटो हो । हामी पर्यटक भित्र्याउने मात्रै भन्छौँ । त्यसका लागि चाहिने आधारभूत कुरामा ध्यान दिँदैनौँ । यी ससाना विषयमा ध्यान दिन सके पर्यटन क्षेत्रसँगै समग्र अर्थतन्त्र उकास्नमा पक्कै भूमिका खेल्नेछ ।
यी कुरा गर्ने भनेर मात्रै हुँदैन । पहिले त राज्यले यसलाई अगाडि बढाउने आँट गर्नुपर्यो । विशेष नीति बनाउनुपर्यो । व्यवसायको सुरक्षा व्यवस्था गर्नुपर्यो । सार्वजनिक यातायात चलाउन सक्नुपर्यो । आवतजावत गर्ने आममानिसलाई सुरक्षित छु भन्ने आभास दिलाउनुपर्यो । यति भएपछि लगानीकर्ताहरू लगानी बढाउन थाल्छन् । रात्रिकालीन व्यवसाय सुरु गर्न सम्बन्धित निकायले अनुमति दिए पनि सुरक्षा निकायको बोली र व्यवहार फरक छ ।
रात्रिकालीन व्यवसाय सुरु गरिएको भने पनि सुरक्षा निकाय साँझ नपर्दै व्यवसाय बन्द गराउँदै हिँडेको पनि सुन्नमा आउँछ । यस्तो प्रवृत्तिमा राज्यले तत्काल सुधार गर्नुपर्छ । रात्रिकालीन सेवा के हो ? सुरक्षा निकायले कसरी सुरक्षा समन्वय मिलाउने ? राज्यले त्यसलाई नियमन कसरी गर्ने ? यस्तै जनस्तरमा कसरी सुरक्षानुभूति गराउने ? यसबारे सरोकारवाला निकायले तालिम/प्रशिक्षण दिएर व्यावहारिक बन्न सिकाउनुपर्छ । निजी क्षेत्रसँग पनि समन्वय उत्तिकै आवश्यक छ ।
विकसित देशका ठुला सहरका उदाहरणलाई पछ्याउन सक्यौँ भने राम्रो हुन्छ । पर्यटकलाई त जति सक्यो त्यति खर्च गराउन सक्यो र उसको अवधि लम्ब्याउन सक्यो त्यति राम्रो हो ।
रात्रिकालीन व्यवसाय मात्र खुला गरेर पुग्दैन । त्यससँगै प्रशासनिक संरचना र सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त राख्दै जानुपर्छ । रात्रिकालीन व्यवसाय सुरु भएसँगै आन्तरिक सुरक्षा व्यवस्थामा थप कडाइ गर्नुपर्ने हुन्छ । त्यसका लागि सबै ठाउँमा २४ सै घण्टा निगरानी गर्ने सीसी क्यामेरा जडान गर्नुपर्छ । रात्रिकालीन व्यवसाय सञ्चालन हुने क्षेत्रमा व्यवस्थित र रचनात्मक पर्यटन सेवा दिन सुरक्षासहितको आचारसंहिता लागू गर्नुपर्छ । हाम्रो रात्रिकालीन अर्थतन्त्रका रूपमा अहिले नाइट बस, तारे होटल र राजमार्गका साना बजार मात्रै छन् । यसबाट माथि उठेर सबै खालका व्यवसाय र उद्योगधन्दा २४ सै घण्टा चलाउने व्यवस्था गर्न सकिन्छ ।
अर्को कुरा, डिजिटल अर्थतन्त्रलाई थप सहज र सरल बनाउन आवश्यक छ । डिजिटल अर्थतन्त्रले बजार लिए पनि यो सरल र सुलभ हुन सकेको छैन । कारोबार गर्दा करदेखि महँगो सेवाशुल्क लाग्छ । रात्रिकालीन कारोबारमा यसको झन् महत्त्व बढ्छ । किनभने, डिजिटल कारोबार सुरक्षित मानिन्छ । त्यसले गर्दा डिजिटल अर्थतन्त्रलाई थप विस्तार गर्न नीतिगत, प्रक्रियागत विषय सल्टाउन जरुरी छ । राज्यले यसमा पनि ध्यान दिन आवश्यक छ । कम्तीमा सुरक्षा, यातायातको प्रबन्ध र डिजिटल अर्थतन्त्रलाई थप सहज बनाउन सके रात्रिकालीन व्यवसाय फस्टाउँछ भन्ने लाग्छ । यति मात्रै गर्न सके व्यवसायहरू २४ सै घण्टा खुल्ने वातावरण बन्छ ।
सुरुमा राज्य अगाडि बढ्नुपर्यो । निजी क्षेत्रलाई विश्वासमा लिनुपर्यो । उनीहरूलाई सबै प्रकारले सुरक्षित महसुस गराउनुपर्यो । कम्तीमा ठुला सहरका केही क्षेत्र मात्रै जागराम बनाउन सक्ने अवस्था बन्यो भने त्यसले अर्थतन्त्रलाई ठुलो योगदान दिन्छ । रोजगारी बढ्छ । त्यसले सुरुवातमा केही क्षेत्रबाट गर्दा उपयुक्त हुन्छ । शिथिल अर्थतन्त्रलाई त्राण दिन यसले विशेष भूमिका खेल्छ भन्ने मलाई लाग्छ ।
(अर्थशास्त्री डा. खनालसँग रातोपाटीकर्मी मस्त केसीले गरेको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यदर्शन सहकारी ठगी प्रकरण : दीपेश पुनविरुद्ध किन चल्यो मुद्दा ?
-
स्थानीय उत्पादनबाटै आर्थिक उपार्जन र रोजगारी दिन सकिन्छ : मुख्यमन्त्री आचार्य
-
रुखको हाँगा लागेर एक जनाको मृत्यु
-
रविलगायतविरुद्ध दायर गरिएको अभियोगपत्र ४२७ पृष्ठ लामो
-
राष्ट्रपतिद्वारा तुलाधर डेनमार्कको राजदूत नियुक्त
-
५ महिनामा देशको व्यापार घाटा ५ खर्ब नाघ्यो