साँझ नपर्दै नलागोस् सटर
मुलुक यति बेला आर्थिक शिथिलतामा छ । कुनै पनि क्षेत्रले सोचेजस्तो व्यवसाय गर्न सकेका छैनन् । होटल तथा पर्यटन क्षेत्रमा सिजनमै उत्साह छैन । बेरोजगारी र युवाको पलायन एकदमै बढी छ । खर्च गर्ने उमेर समूह बाहिर भएर पनि होला बजारमा माग निकै घटेको छ । तापनि, निजी क्षेत्रले लगानी घटाएको छैन । उद्योगधन्दा, कलकारखाना, व्यापार, होटल देशभर खुलेका छन् । हिजो काठमाडौँमा सीमित पाँचतारे होटल आज देशव्यापी रूपमा फैलिएका छन् ।
सरकारी निकायबाट हुनुपर्ने काम भने सुस्त छन् । विकास निर्माण कछुवाभन्दा सुस्त गतिमा छ । १ सय किलोमिटरको एउटा राजमार्ग विस्तार गर्न ५–७ वर्ष लाग्छ । यसले त्यस क्षेत्रलाई मात्र नभई समग्र व्यापार, व्यवसाय र पर्यटनमा प्रतिकूल असर गरिरहेको छ । ढुवानीको लागत र समय उत्तिकै बढाएको छ । पछिल्लो समय त अन्तर्राष्ट्रिय विमानस्थलसमेत रातको समयमा बन्द हुन्छ । त्यसकारण सरकारले विकासका पूर्वाधार बनाउँदा नै विशेष ध्यान दिनुपर्यो ।
विकास र पूर्वाधारको क्रम जति बढ्दै जान्छ लगानी पनि त्यहीअनुसार थपिन्छ । यसले समग्रमा आन्तरिक बजार प्रवर्द्धन हुन्छ । पूर्वाधार विकाससँगै आन्तरिक र बाह्य दुवै किसिमका पर्यटकको आगमन बढ्छ । यसका लागि आधारभूत कुरा हुनुपर्यो । निजी क्षेत्रको लगानी बढ्नुपर्यो । कारोबार बढ्नुपर्यो । निजी क्षेत्रमा बलियो आत्मविश्वास हुनुपर्यो । यसका लागि सक्रिय गतिविधि हुनुपर्यो । होटल, रेस्टुरेन्ट र क्लबको व्यापार साँझ परेपछि बढ्छ । रात्रिकालीन अर्थतन्त्रका रूपमा अहिले होटल क्षेत्र मात्रै छ भन्दा फरक पर्दैन । सधैँ यही अवस्थामा रहँदा मुलुकको प्रगति हुन सक्दैन । रोजगारी बढ्दैन । रोजगारी नहुँदासम्म मुलुकमा युवा बस्न मान्दैनन् ।
स्थानीय प्रशासनले नै साँझ नपर्दै सटर लगाउन भन्छ । मध्यरात नहुँदै होटल, बार, रेस्टुरेन्ट बन्द गर्न उर्दी जारी गर्छ । यस्तो सोच रहँदासम्म कसरी मुलुकको आर्थिक गतिविधि चलायमान हुन सक्छ ?
प्रविधिको विकासले गर्दा संसारभरका गतिविधि हामीले हातमै हेर्न पाएका छौं । युरोप, अमेरिकामा भएका गतिविधि हामीले उति बेलै यहाँ नियालिरहेका हुन्छौँ । यसो गर्दा धेरै कुरा सिकिरहेका छौँ । तर, त्यसलाई व्यवहारमा लागू गर्न सकेका छैनौँ । सरकारले लगानी बढाउन र आर्थिक गतिविधि चुस्त राख्न विशेष नीति नै बनाउन आवश्यक छ । सरकारले बलियो साथ र भरपर्दो सुरक्षा व्यवस्था दियो भने हामी व्यवसायी जुनसुकै प्रकारको व्यवसाय जुनसुकै समयमा चलाउन तयार छौँ ।
नियम–कानुन लगानीमैत्री हुनुपर्यो । शान्ति–सुरक्षा चाहियो । ढुक्कले काम गर्ने र कर्मचारी मध्यरातमा निस्फिक्री घर जाने वातावरण हुनुपर्यो । सबै अवस्था ठीक भए कुन व्यवसायीले रात नपर्दै सटर लगाउन खोज्छ र ? मुलुक नीति, नियम र विधिको शासनमा चल्नुपर्यो । कानुन छ तर कार्यान्वयनको पाटो छैन । स्थानीय प्रशासनले नै साँझ नपर्दै सटर लगाउन भन्छ । मध्यरात नहुँदै होटल, बार, रेस्टुरेन्ट बन्द गर्न उर्दी जारी गर्छ । यस्तो सोच रहँदासम्म कसरी मुलुकको आर्थिक गतिविधि चलायमान हुन सक्छ ?
व्यवसायीले लगानी गरेको फाइदा लिनका लागि हो । व्यवसाय रातभर चलाउन सकियो भने रोजगारी र समग्र अर्थतन्त्रको वृद्धि उच्च हुन्छ । ठुला अर्थतन्त्र भएका मुलुकका सबै सहर रातभर जागराम हुन्छन् । कर्मचारीले तीन–चार सिफ्टमा काम गर्छन् । हामीले पनि त्यसबाट सिकेर त्यो बाटोमा जान सक्ने अवस्था छ । तर, केही नीतिगत, सुरक्षालगायत पाटो जोडिएर आउने भएकाले समस्या छ । सरकारले सहजीकरण गरिदियो भने सकिन्छ भन्ने लाग्छ ।
रात्रिकालीन व्यवसायका लागि छुट्टै कार्यनीति बनाएर अगाडि बढ्न सकियो भने राम्रो हुन्छ । कस्तो व्यवसाय चलाउने ? राति चलाउनेलाई के सुविधा दिने ? उपभोक्ता त्यहाँसम्म पुग्नलाई के गर्ने ? यस्ता व्यवस्था गर्ने त सरकारले हो ।
हामीले रातभर व्यवसाय चलाउन पाउनुपर्यो भनेर धेरैपटक धेरै फोरममा कुरा राखेका छौँ । सरकारका प्रतिनिधिलाई पटक–पटक जानकारी गराएका छौँ । यसबारे धेरै छलफल भएको पनि छ । तर, कतिपय सरकारी निकायमा बसेका प्रतिनिधिको सोच नै साँघुरो छजस्तो लाग्छ । रात्रिकालीन व्यवसाय भनेको क्लब र रेस्टुरेन्ट मात्रै बुझ्नेहरू कम छैनन् । उनीहरूले राति व्यवसाय गर्दा विकृति फैलिन्छ भन्नेहरू हुनुहुन्छ । यस्तो सोचले मुलुकको अर्थतन्त्र कसरी फस्टाउँछ ?
राम्रोसँगै नराम्रो पक्ष त जेमा पनि हुन्छ नि ! हामीले बलियो नीति र त्यसलाई कार्यान्वयन गर्ने बलियो निकाय बनायौँ भने ठुला सहरहरू सजिलै २४ सै घण्टा चलाउन सक्छौं । कम्तीमा पनि काठमाडौँ, पोखरा, भैरहवा र बुटवलका केही क्षेत्र मात्रै २४ सै घण्टा चलाउन सक्यौँ भने आर्थिक गतिविधिमा ठुलो योगदान दिन्छ । पहिले केही क्षेत्रबाट सुरु गर्यौँ भने बिस्तारै सबैतिर चलाउन सकिन्छ । प्रयास त हुनुपर्यो नि ! थुप्रै विकसित मुलुकले गरेको यही हो । त्यसबाट सिक्नुपर्यो । सधैँ यो भएन र त्यो भएन मात्रै भनेर हुँदैन । न्युयोर्कले कसरी प्रगति गर्यो ? लन्डन कसरी अगाडि बढ्यो ? त्यो सिक्नुपर्यो । त्यहाँका राम्रा कुरा र अभ्यास अनुकरण गर्नुपर्यो ।
हाम्रो सरकारी निकायबिच समन्वय एकदमै कम छ । पर्यटन विकासको नीति बनाउनुपर्यो भने पर्यटन मन्त्रालय मात्रै बसेर हुँदैन । गृह, अर्थ, भौतिकलगायत थुप्रै मन्त्रालय र मातहतका विभागबिच समन्वय हुनुपर्छ । तर, समन्वयको अभाव देखिन्छ । एउटा निकायले हुन्छ भनेको विषय अर्कोलाई मान्य हुँदैन । हाम्रो मुख्य समस्या यही हो । एउटा निकायले चाहेर मात्रै केही नहुने अवस्था छ । तीन तहका सरकारबिचको बुझाइमा पनि एकरूपता छैन । संघले एउटा भन्छ, प्रदेशले अर्को बुझेको हुन्छ । स्थानीय सरकार अर्कै बाटोमा हुन्छ । यसले गर्दा मर्का हामी लगानीकर्तालाई हुन्छ । त्यसकारण अर्थतन्त्र उकास्न राष्ट्रिय नीति नै आवश्यक छ ।
रात्रिकालीन व्यवसायका लागि छुट्टै कार्यनीति बनाएर अगाडि बढ्न सकियो भने राम्रो हुन्छ । कस्तो व्यवसाय चलाउने ? राति चलाउनेलाई के सुविधा दिने ? उपभोक्ता त्यहाँसम्म पुग्नलाई के गर्ने ? यस्ता व्यवस्था गर्ने त सरकारले हो । सहजीकरण सरकार र लगानी निजी क्षेत्रले गर्ने अभ्यास संसारभरको हो । यसकारण अब राष्ट्रिय कार्यक्रम र कार्यनीति बनाएर अगाडि बढ्नुपर्यो । सबै तहका सरकार, सरकारी निकाय र निजी क्षेत्र मिलेर अगाडि बढे आर्थिक विकास गर्न समय लाग्दैन । यसबारे सोच्न ढिला भइसकेको छ ।
(होटल एसोसिएसन नेपाल (हान)का अध्यक्ष शाहसँग रातोपाटीकर्मी मस्त केसीले गरेको कुराकानीमा आधारित)