अर्थतन्त्रमा समसाँझै ‘चुकुल’
मुलुकको संघीय राजधानी सहर काठमाडौँमै समसाँझै ‘चुकुल’ लाग्छ । तब रात्रिकालीन आर्थिक गतिविधि ठप्पप्रायः बन्न पुग्छ । अन्य महानगरपालिका भरतपुर, वीरगन्ज, पोखरामा पनि उस्तै अवस्था छ । मध्यरात त परको कुरा, बेलुकी ८ बजेपछि सार्वजनिक यातायात नै पाउन मुस्किल पर्छ । प्रहरी–प्रशासनले नै होटल तथा रेस्टुरेन्टलाई रातको ९ नबज्दै ‘बन्द गर्न’ लगाउँछन् । रात्रिकालीन अर्थतन्त्रको पाटो बनेका केही क्लब, बार, दोहोरी साँझ र डिस्को पनि मध्यरात नहुँदै बन्द हुन्छन् ।
काठमाडौँकै रेस्टुरेन्ट लगभग बेलुका ९ बजेभित्र बन्द गरिसक्नुपर्ने बाध्यता रहेको सुनाउँछन्, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालका महासचिव शरदकुमार दाहाल । ‘साढे ९–१० बजेसम्म खुलेको देखे प्रहरी–प्रशासन नै आएर बन्द गर्न अनुरोध गर्नुहुन्छ’, उनी भन्छन्, ‘चलाउन दिए हामी अहिलेकै अवस्थामा ११–१२ बजेसम्म खोल्न सक्छौँ । दसैँ, तिहार, नयाँ वर्षजस्ता विशेष उत्सवमा भने मध्यरातसम्म खोल्न पाउँछौँ ।’
रोजगारी वृद्धि, व्यवसाय विस्तार र अर्थतन्त्र चलायमान बनाउन रात्रिकालीन आर्थिक गतिविधिको महत्त्वपूर्ण भूमिका रहनेतर्फ सरकारी निकायको चासो देखिँदैन । मुलुकका ठुला सहरलाई रातभर जागा बनाउने योजना सरकारसँग छैन । रात्रिकालीन व्यवसाय आफ्नै हिसाबले चलिरहेको बताउँछन्, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारी । ‘रातिका व्यापार, व्यवसाय चलाउन छुट्टै योजना त सरकारसँग छैन,’ मन्त्रालयका प्रवक्तासमेत रहेका अधिकारी भन्छन्, ‘यसबारे बेला–बेला निजी क्षेत्र, सुरक्षा निकाय लगायतसँग छलफल हुन्छ । तर, अपेक्षाकृत रूपमा अगाडि बढाउन नसकिएको पक्कै हो ।’
होटल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाह सरकारले विशेष योजना र सुरक्षाको प्रत्याभूति दिलाए निजी क्षेत्र रात्रिकालीन व्यवसाय चलाउन तयार रहेको बताउँछन् । ‘अहिले पनि केही व्यवसाय त चलिरहेकै छन् । होटलहरू २४ सै घण्टा सेवामा छन् । सरकारले विशेष प्याकेजसहित चलाउन दिए अरू व्यवसाय पनि चल्छन्’, उनी भन्छन्, ‘यसमा सरकार अगाडि बढ्नुपर्यो । नीति–नियम बलियो बनाएर नियमन गर्नुपर्यो । व्यवसायमा सुरक्षा हुनुपर्यो । हामी सबै खालका व्यवसाय २४ सै घण्टा चलाउन तयार छौँ ।’
पर्यटन प्रवर्द्धनसँगै रोजगारी वृद्धि र अर्थतन्त्र विस्तारमा रात्रिकालीन व्यवसायको ठुलो भूमिका हुन्छ । तर, हामीकहाँ राष्ट्रिय राजमार्गमा चल्ने बस र ट्रक मात्रै हुन् सधैँ जागा रहने । ती सवारी साधनका मजदुर र यात्रुलाई खानेपानीको व्यवस्था गर्ने साना बजार र केही होटल भने रातभरजसो खुल्छन् । तर, अन्य व्यवसाय प्रायः बिहान १०–११ देखि साँझ ५–६ बजेसम्म मात्रै चल्छन् । यसबारे पटक–पटक छलफल चले पनि सुरक्षा निकाय, सरकारी अधिकारी, व्यवसायी एकमत हुन नसक्दा रात्रिकालीन आर्थिक गतिविधि अगाडि बढाउन नसकिएको व्यवसायी बताउँछन् ।
‘हामी व्यवसायीहरू आर्थिक गतिविधि बढाउने कुरामा नकारात्मक हुने कुरै छैन’, हान अध्यक्ष शाह भन्छन्, ‘तर, सुरक्षा निकाय र सरकारी निकायबिच समन्वय हुन नसकेकाले कार्यान्वयन हुन सकेको छैन ।’
विकसित देशका ठुला सहरले भने रातको समयमा मात्र अर्बौँ डलरको कारोबार गर्ने बताउँछन्, अर्थशास्त्री डा. डिल्लीराज खनाल । उनका अनुसार त्यसबाट कैयौँलाई रोजगारी मिलेको छ । राज्यलाई राजस्व प्राप्त हुन्छ । जसले पर्यटकलाई रातभर झुमाउँछन् । ‘हाम्रो भने काठमाडौँको ठमेल र पोखराको लेकसाइडबाहेक अन्यमा हामी यसको प्रयास गर्न पनि तयार भएका छैनौँ’, उनी भन्छन्, ‘ठमेल र लेकसाइड पनि रातभर खुल्दैनन् । त्यहाँका केही क्लब मात्रै खुलेको पाइन्छ ।’
- रात्रिकालीन व्यवसाय कस्तो ?
जानकारहरू रातको समयमा सेवा र मनोरञ्जन क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउँछन् । अर्थशास्त्री डा. खनाल भन्छन्, ‘सबै खालका व्यापार/व्यवसाय रातमा चल्छन् भन्ने हुँदैन । तर, विश्वभरकै उदाहरण हेर्दा रातको समयमा सेवा र मनोरञ्जन क्षेत्रले गतिलो व्यापार गरेको पाइन्छ ।’
उनका अनुसार आवश्यक मापदण्डका आधारमा खाना, खाजा, पानदेखि किराना पसल मध्यरातसम्म खोल्न सकिन्छ । सिनेमा घर, पेट्रोल पम्प, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार, स्पा सेन्टर, ब्युटिपार्लर, दोहोरी, डिस्को, डान्स, पप लगायत मनोरञ्जन व्यवसाय रातभर चल्न सक्छन् । यसले पर्यटकीय चहलपहल बढाउन ठुलो मद्दत गर्ने खनालको भनाइ छ ।
‘हामी पर्यटक भित्र्याउने मात्रै भन्छौँ । तर, त्यसका लागि चाहिने आधारभूत कुरामा ध्यान दिँदैनौं’, उनी भन्छन्, ‘यी साना–साना विषयमा ध्यान दिन सके पर्यटन क्षेत्रसँगै समग्र अर्थतन्त्र उकास्नमा पक्कै भूमिका खेल्नेछ ।’
मुलुक यति बेला आर्थिक शिथिलताको अवस्थामा छ । विकास निर्माण सुस्त छ । युवा पलायन र बेरोजगारी समस्याले विकराल रूप लिएको छ । उत्पादनशील उद्योग ३० देखि ४० प्रतिशत हिस्सामा मात्रै चलेको यथार्थ व्यवसायीले सुनाउँदै आएका छन् । राजस्व संकलन अपेक्षित रूपमा हुन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार चालु आवको पाँच महिना (साउन–मंसिर)मा वैदेशिक अनुदान एक रुपैयाँ पनि आएको छैन । सरकारी खर्चको अवस्था नाजुक छ । मंसिरसम्म लक्ष्यको २९ प्रतिशत मात्रै खर्च भएको छ । यसमा झन् विकास खर्च जम्मा ११.५८ प्रतिशत भएको छ ।
सहर–बजारलाई रात्रिकालीन रूपमा चलायमान बनाउन सके मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्न थोरै भए पनि सहयोग पुर्याउन सक्ने बताउँछन्, अर्थशास्त्री डा. खनाल । ‘आवश्यक सुरक्षा सावधानी अपनाई रात्रिकालीन व्यवसायमा उत्साह बढाउन सके रोजगारी सिर्जनाका आधार तयार हुन्छन्,’ डा. खनाल भन्छन्, ‘र, स्वाभाविक रूपमा राज्यको राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पर्छ ।’
- सुरक्षाको प्रत्याभूति चाहन्छन् व्यवसायी
रात्रिकालीन व्यवसाय खुला गरेर मात्र पुग्दैन । त्यससँगै प्रशासनिक संरचना र सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त राख्नुपर्ने हुन्छ । रात्रिकालीन व्यवसाय सञ्चालन हुने क्षेत्रमा व्यवस्थित र रचनात्मक पर्यटन सेवा दिन सुरक्षासहितको आचारसंहिता लागू गर्नुपर्छ । हान अध्यक्ष शाह भन्छन्, ‘सरकारले सुरक्षित महसुस गराउन सके, व्यवसाय दुई–तीन सिफ्टमै चल्न सक्छन् । यसका लागि चुस्त प्रशासन आवश्यक छ ।’
यसो भए सडक यातायात र हवाई सेवाको व्यवसायसमेत फस्टाउँछन् । यसले पर्यटन प्रवर्द्धन, पूर्वाधारको उपभोगलगायत राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन ‘क्याटलिस्ट’को काम गर्ने विज्ञको भनाइ छ । त्यसैले रात्रिकालीन सेवा क्षेत्रमा देखिएका सैद्धान्तिक समस्या समाधानका साथै व्यावहारिक पक्षलाई पनि उत्तिकै प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको व्यवसायी बताउँछन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी भने सरकारले रात्रिकालीन व्यापार/व्यवसाय चलाउन कुनै रोकटोक नगरेको दाबी गर्छन् । ‘यति बेलासम्म मात्रै खोल्न पाउने भन्ने कुनै निश्चित समयावधि तोकिएको छैन । होहल्ला गर्ने, ठुलो स्वरले गीत बजाउने, अरूलाई असर गर्ने खालका गतिविधि गर्नेलाई प्रशासनले कडाइ गरिरहेकै छ,’ उनी भन्छन्, ‘आपसी छलफल र समन्वय गरेर चलाइयो भने सरकारलाई सुरक्षा दिन सहज हुन्छ ।’ विमानस्थल, तारे होटल, दरबारमार्ग, ठमेल, पोखरा, धरान, राजमार्गमा भएका केही साना बजारलगायत केही क्षेत्र रातभर चलायमान भइरहेको उनको दाबी छ ।
- यस्तो छ ठुला मुलुकको रात्रिकालीन अर्थतन्त्र
‘लन्डन कहिल्यै सुत्दैन ।’ विश्व–चर्चित यो भनाइमा लन्डन सहरको रात्रिकालीन आर्थिक गतिविधि लुकेको छ । त्यहाँको ‘नाइट लाइफ कल्चर’ले मनोरञ्जनका साथै व्यापार र रोजगारीमा योगदान दिएको छ । यस्तै न्युयोर्क, सनफ्रान्सिस्को, बर्लिन, पेरिस, आर्मस्टर्डम, सांघाईजस्ता ठुला सहर पनि कहिल्यै सुत्दैनन् । छिमेकी भारतकै नयाँ दिल्ली, चण्डीगढ, गोवा, बैङ्लोर, हैदरावाद, चेन्नाईलगायत पनि राति नसुस्ताउने सहरमा पर्छन् ।
यसरी विश्व अर्थतन्त्रलाई तीव्र गतिमा डोर्याइरहेका मुलुकहरू दिउँसो हुने आर्थिक गतिविधिमा मात्रै निर्भर छैनन् । रात्रिकालीन व्यापार/व्यवसायलाई पनि उत्तिकै महत्त्व दिएको देखिन्छ ।
‘एनटीआईए डट को डट यूके’का अनुसार बेलायतको कुल रोजगारीमा रात्रिकालीन व्यवसायको हिस्सा ८ प्रतिशत छ । यसको वार्षिक कारोबार ३३.३ अर्ब पाउन्ड बराबर छ । रात्रिकालीन व्यवसाय बेलायती अर्थतन्त्रको अभिन्न अङ्ग बनेको छ । जसलाई थप सहज र विस्तार गर्न लन्डनको जमिनमुनि गुड्ने रेल ‘विकेन्ड’मा २४ सै घण्टा चल्छ । रात्रि रेलसेवा विस्तारले वार्षिक ३७ करोड पाउन्ड बेलायती अर्थतन्त्रमा सहयोग पुर्याउँदै आएको लन्डन एट नाइट रिसर्च रिपोर्टमा उल्लेख छ ।
लन्डनजस्तै न्युयोर्क पनि कहिल्यै नसुत्ने सहर हो । त्यहाँको रात्रि व्यवसायले वार्षिक ३५ अर्ब डलरभन्दा बढीको कारोबार गर्छ । कर करिब ७ सय मिलियन तिर्छ । त्यहाँका रात्रि क्लब, बार, होटल, रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, ग्यास स्टेसनलगायतले राजस्वमा महत्त्वपूर्ण योगदान दिइरहेका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०२४ को अन्त्यमा विश्व अर्थतन्त्र १०४.३६ ट्रिलियन अमेरिकी डलर पुग्दै छ । अमेरिका सन् १८७१ देखि लगातार विश्व अर्थतन्त्रको पहिलो नम्बरमा छ । यस वर्ष अमेरिकी अर्थतन्त्रको आकार २९.१७ ट्रिलियन डलर पुग्दै छ ।
विश्वको दोस्रो नम्बरमा रहेको चिनियाँ अर्थतन्त्रको आकार यो वर्ष १८.२७ ट्रिलियन डलर छ । चीनले सन् २०३० भित्र अमेरिकालाई जित्ने प्रक्षेपण कोषले गरेको छ । यसका लागि उक्त मुलुकले पूर्वाधार, औद्योगिक विकास र प्रविधिमा ठुलो लगानी गरेको छ । साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन रात्रिकालीन अर्थतन्त्रलाई पनि उत्तिकै प्राथमिकता दिएको देखिन्छ । आईआई मिडिया रिसर्चका अनुसार रात्रिकालीन चिनियाँ व्यवसायको आकार १.५७ ट्रिलियन युआन (२१७ अर्ब डलर) पुगेको छ ।
विश्वको तेस्रो ठुलो अर्थतन्त्रको आकार ४.७१ ट्रिलियन डलरसहित जर्मनीको छ । जहाँको रात्रिकालीन व्यवसायको आकारले ७ अर्ब डलर पार गरेको छ । चौथो नम्बरमा रहेको जापानको ४.०७ ट्रिलियन डलर रहेको कोषको तथ्याङ्क छ । जहाँ रात्रिकालीन व्यवसायको आकार १.५५ ट्रिलियन येन (९.९० अर्ब डलर) बराबर छ । त्यसमा ठुलो हिस्सा टोकियो सहरले ओगट्छ । जहाँ रातको समयमा बार, रेस्टुरेन्ट मात्रै चल्दैनन् कि रेलसेवा, मनोरञ्जनात्मक खेल, पार्क, सङ्ग्रहालय जस्ता क्षेत्र पनि सधैँ जागा रहन्छन् ।
बेलायती अर्थतन्त्रको आकार यो वर्ष सन् २०२४ मा ३.५९ ट्रिलियन डलर पुग्दै छ । भारत बेलायतलाई उछिन्दै पाँचौँ ठुलो अर्थतन्त्रको आकार भएको मुलुकमा दरिएको छ । जसको अर्थतन्त्रको आकार ३.८९ ट्रिलियन डलर कायम हुँदै छ । फ्रान्सको ३.१७, इटलीको २.३८, क्यानडाको अर्थतन्त्रको आकार २.२१ ट्रिलियन पुग्ने प्रक्षेपण कोषको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैसीपाटी हनिट्राप : जिल्ला अदालतमा हाजिर भइन् शाही, बयानपछि थुनछेक हुने
-
आफूलाई भन्दा बढी बिरालोलाई माया गरेपछि श्रीमानविरुद्ध अदालत गइन् महिला
-
त्रिवि सभाको अनौपचारिक बैठकमा भएन कुनै निर्णय
-
वरुण धवनको 'बेबी जोन' को अग्रिम बुकिङ सुरु, सलमान खानको क्यामियो
-
ओली सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र चुलियो असन्तुष्टि
-
पुष्पा २ लाई टक्कर देला विजय सेतुपतिको विदुथलई २ ले ?