पश्चिमा मिडियाले जोलानीको ‘रिब्रान्डिङ’ कसरी गरिरहेका छन् ?
सिरियामा बसर अल–असदको पलायन र नयाँ नेताको रूपमा अबु मोहम्मद अल–जोलानीलाई कर्पोरेट मिडियाले व्यापक होहल्लाका साथ प्रचार गरिरहेका छन् । अल–कायदा र आईएसआईएससँगको घनिष्ठ सम्बन्धका बाबजुद जोलानीलाई यी मिडियाहरूले उत्साहका साथ पस्किरहेका छन् ।
‘सिरियामा कसरी विविधतामैत्री जेहादीहरू नयाँ सत्ता स्थापना गर्न खोज्दै छन् ?’ यो बेलायतबाट निस्किने प्रसिद्ध अखबार डेलिटेलिग्राफमा प्रकाशित अग्रलेखको शीर्षक हो । यसमा जोलानीले अल्पसंख्यकहरूको सम्मानसहितको नयाँ सिरियाको रचना गर्नेछन् भनिएको छ । यही अखबारले उसलाई ‘कम उग्र जेहादी’को उपमा दिएको छ ।
वासिङ्टन पोस्टले उसलाई व्यावहारिक र आकर्षक नेता भनेको छ । सीएनएनले त अझ ‘कोट लगाएको क्रान्तिकारी’ भन्न समेत बाँकी राखेन ।
हालसालै अर्को अखबार रोलिङ स्टोनले गरेको एक प्रकाशन अनुसार जोलानीलाई ‘वैश्विक जेहाद’ परित्याग गरेका तथा सिरियालाई एकताबद्ध गर्न चाहने असाध्यै व्यावहारिक र चतुर नेताका रूपमा प्रस्तुत गरेको छ । तानाशाहरूविरुद्ध सफल आन्दोलनको नेतृत्व गरेको भन्दै प्रशंसाका साथ रोलिङ स्टोन यसमा अझ थप्दै लेख्छ, ‘जोलानी स्पष्ट रणनीतिक कौशल’ भएका नेता हुन् ।
जोलानी नेतृत्वको फौज दमास्कस पुग्नै लाग्दा सीएनएनले जोलानीसँग विशेष अन्तर्वार्ता नै गरेको छ । अन्तर्वार्तामा जब पत्रकार जोमाना कारादसेसले उसको विगतबारे प्रश्न गर्छिन्, घुमाएर जवाफ गर्दै जोलानी भन्छन्, ‘मलाई लाग्छ सबैले आफ्नो जीवनमा विभिन्न मोड र घुम्ती हुँदै जीवन अघि बढाएका हुन्छन्, जब तपाईं हुर्किंदै जानुहुन्छ धेरै कुरा सिक्दै जानुहुन्छ । यसरी सिक्ने क्रम मृत्युपर्यन्त चलिरहन्छ ।’ यस्तो जवाफ गर्छन् कि मानौँ उनी आफ्नो जवानीको कुनै लज्जास्पद घटनाबारे बोलिरहेका छन । यस्तो लाग्छ, उनले अल–कायदाको सिरियाली शाखा अल–नुस्रा फ्रन्ट खोल्ने र अगुवाई गर्ने नै गरेका होइनन् ।
सीएनएनले सन् २०१३ मा पहिलोपटक जोलानीबारे समाचार लेख्दा र अहिले समाचार लेख्दा त्यसमा आकाश–पातालको भिन्नता देखिन्छ । यही सञ्चारमाध्यमले त्यस बेला जोलानीलाई ‘संसारकै १० खतरनाक आतंककारी’को सूचीमा राखेको थियो ।
सीएनएनले सन् २०१३ मा पहिलोपटक जोलानीबारे समाचार लेख्दा र अहिले समाचार लेख्दा त्यसमा आकाश पातालको भिन्नता देखिन्छ । यही सञ्चारमाध्यमले त्यस बेला जोलानीलाई ‘संसारकै १० खतरनाक आतंककारी’को सूचीमा राखेको थियो । उसलाई अपहरण, यातना, जातीय तथा धार्मिक अल्पसंख्यकको सफायाको मुख्य दोषीका रूपमा देखाइएको थियो ।
आज पनि जोलानी अमेरिकको आतंकवादी सूचीमा छन् । एफबीआईले उसको ठेगाना बताउने व्यक्तिलाई एक करोड डलरको पुरस्कार घोषणा गरेको छ । वासिङटन र पश्चिमा सरकारका आधिकारिक दस्ताबेजमा जोलानीको नयाँ संगठन हायात ताहरिर अल–साम (एचटीएस)लाई अल–कायदा र अल–नुस्राजस्तै मान्ने गरिएको छ ।
यसले असदको सरकार ढाल्न एचटीएसको समर्थन गरेका पश्चिमा मुलुकहरूको सार्वजनिक सम्बन्धलाई ठुलो दोधारमा पारिदिएको छ । ‘पोलिटिको’ लगायत अखबारको रिपोर्ट अनुसार अहिले वासिङटनमा छिटोभन्दा छिटो एचटीएसलाई आतंकवादीको सूूचीबाट हटाउन हतार भएको छ ।
उग्रवादीको रूपमा उदय
जोलानीले अहिले आफ्नो विगतबाट पृथक् देखाउँदै आफूलाई अत्यधिक विभाजित सिरियाको एकता गर्न लागेको मध्यम स्वभावको शक्तिका रूपमा प्रस्तुत गर्न खोजिरहेका छन् । उनले पछिल्ला केही वर्षमा अन्य सैन्य समूहहरूसँग सम्झौता र सहकार्य गर्ने प्रयास पनि गरेका थिए । यसमा उसको कुरा कत्तिको लागु हुन सक्छ तथा अल–कायदा, अल–नुस्रा तथा आईएसआईएसको पृष्ठभूमिका लडाकुले यस्तो प्रयासलाई कसरी लिन्छन् भन्ने हेर्न बाँकी छ ।
गत आइतबार दमास्कसमा भीडलाई सम्बोधन गर्दै उनले भने, ‘सिरियाको शुद्धीकरण हुँदै छ, यो विजय जेलमा दुसाध्य पीडामा रोइरहेका मानिस तथा बन्धन चुँडाल्ने योद्धाहरूको साहसको बलमा आएको हो ।’
नयाँ सरकार सम्भवतः विभिन्न मध्यम दर्जाका समूहहरूको गठबन्धन हुनेछ तर तिनीहरू इजरायललाई समर्थन गर्ने मामलामा भने एकजुट देखिन्छन् । उदाहरण स्वरूप फ्री सिरियन आर्मीका कमान्डरले बताए अनुसार उनीहरू इजरायलसँग ‘मित्रता र सद्भाव’को सम्बन्ध चाहन्छन् ।
अहिले जोलानी भनेर चिनिने उनको खास नाम अहमद हुसेन अल–सारा हो । उनको जन्म सन् १९८२ मा साउदी अरबमा भएको हो । उनका आमाबुवा सन् १९६७ मा इजरायलले सिरियामा गरेको आक्रमणका बेला गोलान हाइट छाडेर साउदी अरब पुगेका थिए ।
सन् २००३ मा उनी अमेरिकी फौजसँग लड्न इराक पुगेका थिए । तीन वर्ष युद्धमा संलग्न भएपछि उनलाई अमेरिकी सेनाले पक्राउ गर्यो । उनले पाँच वर्ष जेलमा बिताए । यस क्रममा उनी कुख्यात यातना केन्द्र अबु घरिबमा पनि बसेका थिए ।
इराकमा हुँदा उनले आईएसआईएससँग मिलेर लडेका थिए । उनी यसको सह–संस्थापक पनि थिए । सन् २०११ मा रिहा भएलगत्तै आईएसआईएसले उनलाई सिरियामा अलकायदाको शाखा खोल्न पठाएको थियो । त्यतिबेलाको हल्ला अनुसार यस कामका लागि उनलाई एक अर्ब अमेरिकी डलर उपलब्ध गराइएको थियो । उनको जिम्मा अरब स्प्रिङबाट उठेको असदविरोधी हतियारबद्ध आन्दोलनमा सक्रिय सहभागिता जनाउने थियो ।
क्षेत्रिय तथा वैश्विक रूपमा अल–कायदाको राम्रो छवि नभएको बुझेपछि उनले सन् २०१७ को जनवरीमा अल–नुस्रा फ्रन्टलाई बन्द गरेर एचटीएस स्थापना गरे । एचटीएसले आफूलाई नितान्त पृथक् विचारधारा बोक्ने दाबी गर्दै सिरियाको विविधतालाई सम्मान गर्ने कुरा गर्न थाल्यो । यस्तो कुरा त्यो बेला कसैले विश्वास गरेनन् । बेलायती सरकारले तुरुन्तै यसलाई अल–कायदाको अर्को रूप मात्रै भएको ठान्यो । आज इजरायल सरकार उसलाई मन पराउँछ र हिजबुल्लाहलाई घृणा गर्छ ।
अहिले अमेरिकामा पत्रकार र नेताहरू जोलानी र एचटीएसबारेको धारणा फेर्न हतार गरिरहेका छन् । झट्ट हेर्दा यो अनौठोजस्तो देखिन्छ तर यथार्थमा अल–कायदाको सांगठनिक जीवनको अधिकांश समय अमेरिकासँग निकट सम्बन्धमै बित्यो । यसको स्थापनामा सीआईएको ठुलो भूमिका छ ।
‘अल–जोलानी’ नामको अर्थ नै गोलान हाइटको मान्छे भन्ने हुन्छ तर अहिले यिनी आफैँ इजरायलले उनको आफ्नै जन्मस्थानमा गरेको आक्रमणबारे बेपर्वाह देखिन्छन् । अहिले इजरायली सुरक्षा बल (आईडीएफ) ले दमास्कसको बेवास्ता गर्दै दक्षिणी सिरियाका भू–भाग कब्जा गरिरहेको छ । यसमा रणनीतिक महत्त्वको माउन्ट हर्मन लगायत ठाउँ पनि पर्छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यी कब्जा अब स्थायी नियन्त्रणमा पुग्ने कुरा बताइसकेका छन् । उनको घोषणामा भनिएको छ, ‘गोलान हाइट अब उप्रान्त इजरायलको अक्षुण्ण भूभागका रूपमा रहनेछ ।’
जोलानीले यसअघि नै इजरायलसँग जुध्ने मनसाय नरहेको बताइसकेका छन् । इजरायलले सिरियाली भू–भाग र रणनीतिक स्थानहरूमा आजसम्मकै सबैभन्दा भयानक हवाई हमला गरिरहेका बेला जोलानी भनिरहेका छन्, ‘सिरिया युद्धका लागि तयार छैन साथै अर्को युद्धको उद्देश्य पनि छैन । हाम्रो चासो इरानी मिलिसिया र हिजबुल्लाहप्रति हो । त्यसको खतरा पनि अब टरिसकेको छ ।’ एचटीएसका अरु प्रवक्ताहरू पनि देशभित्र इजरायली हमलाबारे टिप्पणी गर्नबाट पन्छिइरहेका छन् । पश्चिमा पत्रकारले कर गर्दा समेत उनीहरू बोलिरहेका छैनन् ।
इजरायलको सट्टा दुई सिया समूहलाई दुस्मन ठान्ने जोलानीको टिप्पणीले उनीहरूलाई पुनः आफ्नो आईएसआईएसको पुरानो सिया हत्याको इराक र सिरियाको गतिविधिसम्म पुग्ने झल्को दिन थालेका छन् । यस्तो प्रक्रियालाई अमेरिकी संसदमा ३८३–० मतसहित नरसंहार घोषणा गरिएको थियो ।
नयाँ सरकार सम्भवतः विभिन्न मध्यम दर्जाका समूहहरूको गठबन्धन हुनेछ तर तिनीहरू इजरायललाई समर्थन गर्ने मामलामा भने एकजुट देखिन्छन् । उदाहरण स्वरूप फ्री सिरियन आर्मीका कमान्डरले इजरायली अखबार ‘द टाइम्स अफ इजरायल’लाई बताए अनुसार उनीहरू इजरायलसँग ‘मित्रता र सद्भाव’को सम्बन्ध चाहन्छन् ।
सन् २०१० पछि सतहमा हेर्दा अमेरिका इराक र अफगानिस्तानमा अल–कायदासँग लडेजस्तो देखिए पनि भित्रभित्रै सिरियामा असद सरकार फाल्न उसैसँग काम गरिरहेको थियो । सीआईएले एक अर्ब अमेरिकी डलरभन्दा धेरै रकम विद्रोही समूहलाई तालिम र हतियार दिन खर्च गरेको थियो ।
उनले भने, ‘हामी इजरायलसँग पूर्ण शान्ति कायम गर्नेछौँ । सिरियाली गृहयुद्ध सुरु भएदेखि हामीले जेरुसेलम र गोलान हाइट्सलाई स्वतन्त्र गराउने लक्ष्य राखेको हिजबुल्लाहभन्दा फरक इजरायलको आलोचना गरेका छैनौँ ।’
हुँदाहुँदा कमान्डरले यतिसम्म भने कि ‘इजरायलले सिरियाली बगैँचामा गुलाफ रोप्नेछ ।’ यति भन्दै उनले इजरायलसँग नयाँ सिरियाली सरकार गठनका लागि वित्तीय सहयोग माग्न समेत भ्याए । अन्य असदविरोधी शक्तिहरू अझ अगाडि बढेर इजरायलको समर्थनमा देखिएका छन् ।
यिनीहरूमध्येका एक व्यक्तिले यतिसम्म भने, ‘इजरायलसँग शत्रुता छैन । हामी उसलाई घृणा गर्दै नौँ, हामी धेरै माया गर्छौं । उसले हिजबुल्लाहलाई आक्रमण गर्दा हामी धेरै खुसी थियौँ । इजरायलले हिजबुल्लाहलाई जितेकामा हामी खुसी छौँ ।’
कहिलेकाहीँ मात्र यो मामलाबारे चासो राख्ने व्यक्तिलाई यस्तो भनाइ अनौठो लाग्न सक्छ तर यथार्थ अलि भिन्न छ । सिरियाका विपक्षीलाई इजरायलले आन्दोलनको सुरुदेखि नै आर्थिक सहयोग गर्ने, तालिम दिने र हतियार उपलब्ध गराउने गर्दै आएको छ । यसमा स्वयं अल–कायदा पनि पर्छ । यसका घाइतेहरूको उपचार इजरायलले गर्ने गथ्र्यो ।
हरेकसँग दुश्मनी लिइरहेका यी उग्र इस्लामवादी इजरायलसँग चाहिँ कुनै अवस्थामा जुध्न गएनन् । सन् २०१६ मा जब आईएसआईएसका लडाकुले गोलान हाइटमा रहेको इजरायली सैन्य अड्डामा झुक्किएर हमला गरे, उनीहरूले त्यहाँ सिरियाको सरकारी फौज रहेको सोचेर आक्रमण गरेको बताउँदै माफी मागे ।
गोलान हाइटमा बसेको इजरायली फौजले हिजबुल्लाह र सिरियाली सेनालाई कमजोर बनाउने अभियान नै चलायो । यसले प्रकारान्तरमा सिरियाली विपक्षको विजयलाई सघायो ।
जेलिएको सम्बन्ध : अल–कायदा र अमेरिका
अहिले अमेरिकामा पत्रकार र नेताहरू जोलानी र एचटीएसबारेको धारणा फेर्न हतार गरिरहेका छन् । झट्ट हेर्दा यो अनौठोजस्तो देखिन्छ तर यथार्थमा अल–कायदाको सांगठनिक जीवनको अधिकांश समय अमेरिकासँग निकट सम्बन्धमै बित्यो । यसको स्थापना सन् १९८० को दशकामा अफगानिस्तानमा भएको हो । यसमा सीआईएको ठुलो भूमिका छ । सन् १९७९ देखि १९९२ सम्म सीआईएले ओसामा बिन लादेन लगायत अफगानी मुजाहिद्दिन लडाकुलाई पैसा, हतियार र तालिम दिएर सोभियत हस्तक्षेपविरुद्ध लड्न उकासेको थियो । यही मुजाहिद्दिनको जगमा लादेनले अल–कायदा खडा गरेका थिए ।
सन् १९९० को दशकमा बिन लादेन र अमेरिकाको सम्बन्ध बिग्रियो र अमेरिका विरुद्ध खनिन थाल्यो । यो शृंखला सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्क सहर र वासिङटन डीसीमा भएको हमलासम्म पुग्यो ।
धेरैले भन्ने गरेका छन्— आतंकवादीको सूची मनोमानी ढंगले अमेरिकाले बनाउँछ । वासिङ्टनले क्युबालाई आतङ्ककारी समूहलाई समर्थन गरेको बिनाकुनै प्रमाण आतङ्ककारी सूचीमा राखिरहेकै छ । नेल्सन मन्डेलालाई त अझ दक्षिण अफ्रिकाको राष्ट्रपति बनेको १४ वर्षपछि सन् २००८ सम्मै विश्वको सबैभन्दा कुख्यात आतंकवादीको सूचीबाट हटाउन अस्वीकार गरिरहेको थियो ।
बुस प्रशासनले यी हमलालाई अफगानिस्तान र इराकमा आक्रमणको बहानाका रूपमा प्रयोग गर्यो । उनले अल–कायदालाई खरानी नबनाएसम्म अमेरिका सुरक्षित नहुने बताएका थिए । बिन लादेनलाई संसारकै सबै न्दा दुष्ट मान्छेको रूपमा प्रस्तुत गरियो । अमेरिकी समाज आफैँले खडा गरेको इस्लामिक अतिवादविरुद्ध हल्लाखल्ला गर्न थाल्यो ।
सन् २०१० पछि सतहमा हेर्दा अमेरिका इराक र अफगानिस्तानमा अल–कायदासँग लडेजस्तो देखिए पनि भित्रभित्रै सिरियामा असद सरकार फाल्न उसैसँग काम गरिरहेको थियो । सीआईएले एक अर्ब अमेरिकी डलरभन्दा धेरै रकम विद्रोही समूहलाई तालिम र हतियार दिन खर्च गरेको थियो ।
सन् २०१२ मा सार्वजनिक भएको एउटा गोप्य इमेलमा अहिलेका राष्ट्रिय सुरक्षा सल्लाहकारले तत्कालीन विदेशमन्त्री हिलारी क्लिन्टनलाई ‘सिरियामा अल–कायदा हाम्रो पक्षमा छ’ भनेका थिए ।
पश्चिमा सञ्चारमाध्यमहरूले अल–कायदा र यसका नेतालाई प्रगतिशील, मध्यमार्गी र आधुनिक भन्न थालेको देख्दा अनौठो लाग्न सक्छ तर अवस्था झनै भिन्न छ । अमेरिका र अल–कायदा आफ्नो पुरानो न्यानो सम्बन्धमा फर्कंदै छन् । परिणामस्वरूप अबको परिस्थितिमा अमेरिकाको ‘आतंक विरुद्धको युद्ध’ सकिनै लाग्दा हिजोका ‘आतंककारीहरू’ अब ‘मध्यमार्गी विद्रोही’ र ‘स्वतन्त्रता सेनानी’मा फेरिन थालेका छन् ।
कसले गर्छ ‘आतंकवादी’को परिभाषा ?
धेरैले भन्ने गरेका छन्— आतंकवादीको सूची बनाउने काम मनोमानी ढंगले हुने गर्छ । यसले कुनै पनि समूहलाई अमेरिकाले तत्कालीन समयमा कसरी हेर्छ भन्ने देखाउने मात्र हो । सन् २०२० मा ट्रम्प प्रशासनले इजरायलसँगको सम्बन्धलाई सामान्य बनाएको पुरस्कार स्वरूप सुडानलाई आतंकवादको प्रायोजक राज्यहरूको सूचीबाट हटायो । यसले पनि यस्तो सूची कति दामासाहीमा बन्छ भनेर देखाउँछ ।
केही महिनापछि फेरि अमेरिकाले पूर्वी तुर्कस्तान इस्लामिक आन्दोलन (हाल सिरियामा सक्रिय उइगुर मिलिसिया)लाई आफ्नो सूचीबाट हटायो । यस संगठनको चीनप्रतिको कठोर रबैयाको कारण यसलाई बेइजिङविरुद्ध उपयोग गर्न सकिने सम्भावना देखेर यसो गरिएको थियो ।
वासिङटनले क्युवालाई आतङ्ककारी समूहलाई समर्थन गरेको कुनै प्रमाण नै नहुँदा पनि आतङ्ककारी सूचीमा राखिरहेकै छ । नेल्सन मन्डेलालाई त अझ दक्षिण अफ्रिकाको राष्ट्रपति बनेको १४ वर्षपछि सन् २००८ सम्मै विश्वको सबैभन्दा कुख्यात आतंकवादीको सूचीबाट हटाउन अस्वीकार गरिरहेको थियो । यसको तुलनामा जोलानीको नाम हटाउन १४ दिन पनि लाग्दैनजस्तो देखिन्छ ।
यी तमाम परिघटनाभित्र एक विशाल रिब्रान्डिङको अभियान चलिरहेको छ । कर्पोरेट मिडिया र अमेरिकी सरकार दुवैले अल–कायदा सम्बद्ध संगठनका संस्थापक र प्रमुखलाई सचेत, प्रगतिशील अभियन्तामा रूपान्तरण गर्ने प्रयास गरिरहेका छन् । आउँदा दिनमा जोलानीले कसरी शासन गर्नेछन् र उनले अरु सिरियाली समूहहरूको व्यापक उपस्थितिमाझ आफूप्रतिको समर्थन कायम राख्न सक्छन् कि सक्दैनन् भन्ने हेर्न बाँकी छ । गत साता हामीले देखे अनुसार, उनले पश्चिमा सञ्चारमाध्यमबाट बलियो समर्थन पाउने पक्का छ ।
(मिन्टप्रेस न्युजबाट)