बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

नेपाल प्रिमियर लिग क्रिकेटको पहिलो संस्करणको नालीबेली

ऐतिहासिक टोलीदेखि कीर्तिमानी खेलाडीसम्म
शनिबार, ०६ पुस २०८१, २१ : ००
शनिबार, ०६ पुस २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउँदै शनिबार सम्पन्न भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शकहरूको ओइरोबिच खेलिएको फाइनल खेलमा उपाधिको बलियो दाबेदार मानिएको सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो ।

जनकपुर बोल्ट्सका लागि उपाधि यात्रा धेरै अर्थमा महत्त्वपूर्ण रह्यो । यसअघि दुई पटक सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुर बोल्ट्सले उपाधि जितनेमा धेरै समर्थक विश्वस्त थिएनन् । तर, फाइनल खेलमा अभूतपूर्व प्रदर्शन गर्दै जनकपुर बोल्ट्सले उपाधि चुम्यो ।

IMG-20241221-WA0343

जारी एनपीएलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स तेस्रो पटक आपसमा भिडेका हुन् । यसअघि दुई पटक यी दुई टोली आपसमा भिडिसकेका थिए । ती दुवै भिडन्तमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई हराएको थियो ।

सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच पहिलो भिडन्त लिग चरणको खेलमा भएको थियो । त्यो खेलमा सुदूरपश्चिम रोयल्स ७२ रनले विजयी भएको थियो । पहिले ब्याटिङ गरेको सुदूरुपश्चिमले नौ विकेट गुमाएर एक सय २९ रन बनाएको थियो । जनकपुर बोल्ट्स भने १२.१ ओभरमै केवल ५१ रन बनाउँदै अलआउट भएको थियो । 

यी दुई टोलीबिच दोस्रो भिडन्त प्रतियोगिताको पहिलो क्वालिफायरमा भएको थियो । त्यो खेलमा पनि सुदूरपश्चिम रोयल्स आठ विकेटले विजयी भएको थियो । पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिम रोयल्सले १८.३ ओभरमै केवल दुई विकेट गुमाएर एक सय ४१ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।

त्यसैले पनि धेरै समर्थकले उपाधि सुदूरपश्चिम रोयल्सले चुम्ने अनुमान गरेका थिए । त्यसमाथि टस जिती पहिले ब्याटिङको निर्णय लिएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रनको विशाल योगफल तयार पारेको थियो ।

कुनै पनि टोलीले बनाएको यो पाँचौँ ठुलो स्कोर थियो । त्यसमाथि सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्धको खेलमा चार विकेट गुमाएर एक सय ८७ रन बनाइसकेको थियो । अर्कोतिर, यो एनपीएलमा जनकपुर बोल्ट्स एक सय ४८ रनभन्दा अगाडि बढ्न सकेको थिएन । प्रारम्भिक चरणको चितवन राइनोजविरुद्धको खेलमा जनकपुर बोल्ट्सले १८ ओभरमा अलआउट हुनुअघि यो स्कोर बनाएको थियो ।

 त्यसैले पनि जनकपुर बोल्ट्सका लागि एक सय ८८ रनको लक्ष्य निकै ठुलो थियो । त्यसमाथि जनकपुर बोल्ट्सका प्रभावशाली खेलाडीमध्येका एक अनिल कुमार साह घाइते थिए । टोलीका नियमित कप्तान अनिल घाइते भएपछि फाइनलमा जनकपुर बोल्ट्स त्यसै पनि दबाबमा थियो । तर, फाइनलमा जनकपुर बोल्ट्सले अभूतपूर्व प्रदर्शन गर्‍यो । 

‘हामी फाइनलका लागि मानसिक रूपमा तयार छौँ । कीर्तिपुर मैदानमा दुई प्रकारको विकेट छ । एउटामा बढी रन बन्छ र अर्कोमा कम । त्यसैले अवस्था हेरेर हामी आफ्नो रणनीति बनाउने छौँ,’ फाइनलभन्दा एक दिनअघि आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए । सही अर्थमा, जनकपुर बोल्ट्सका मार्की खेलाडीसमेत रहेका कप्तान आसिफ शेखले सोही अनुरूप आफ्नो रणनीति बनाएर र त्यसमा उनी सफल पनि भए । 

निकै ठुलो विजय लक्ष्य पाए पनि ओपनर ब्याट्सम्यान लाहिरु मिलनथा र कप्तान आसिफ शेखले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै टोलीका लागि ७३ रनको साझेदारी गरे । यसअघि खासै प्रभावकारी नदेखिका आसिफ शेखले केवल १९ बलको सामना गरी दुई छक्का र चार चौकाको मद्दतले ३३ रन बनाएका थिए । 

उनले बनाएको यो रन टोलीको जितमा महत्त्वपूर्ण साबित भयो । टोलीको जितमा त्योभन्दा पनि ठुलो योगदान मिलनथाको रह्यो । विकेटकिपर ब्याट्सम्यान मिलनथाले केवल ४९ बलमा चार छक्का र नौ चौकाको मद्दतले ८७ रन नबनाएको भएर सायद जनकपुर बोल्ट्स ऐतिहासिक उपाधिबाट विमुख हुने थियो । 

मिलनथा १५.३ ओभरमा तेस्रो विकेटका रूपमा पभेलियन फर्कँदा जनकपुर बोल्ट्स जितको अत्यन्तै नजिक पुगिसकेको थियो । त्यतिबेलसम्म जनकपुर बोल्ट्सले एक सय ६६ रन बनाइसकेको थियो । तर, उनी आउट भएपछि जितसम्म पुग्न पनि जनकपुर बोल्ट्सले ठुलै सङ्घर्ष गर्नु परेको थियो । अर्थात्, अन्तिम ओभरसम्म सङ्घर्ष गर्नु परेको थियो । 

तर, त्यसपछि चौथो नम्बरमा क्रिज समाल्न आएका हर्ष थाकेर टोलीका लागि जितको सारथी बनेका थिए । उनले केवल २४ बलमा दुई छक्काको मद्दतले अविजित ३० रन बनाउँदै जनकपुर बोल्ट्सलाई ऐतिहासिक उपाधिसम्म डोर्‍याएका थिए । 

  • जसले इतिहास रचे

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक एनपीएलको आयोजना गरेकाले यो संस्करणमा भएका हरेक गतिविधि ऐतिहासिक बन्न पुगे । ब्याट्सम्यानले बनाएको रन, बलरले लिएको विकेट, फिल्डरले लिएको क्याच, दर्शकको अपार उपस्थितिजस्ता हरेक विषयले कीर्तिमान बनाए । 

‘फाइनल खेल जसले जिते पनि केही छैन । तर, जितको नायक नेपाली खेलाडीहरू नै बनुन् भन्ने मेरा चाहना छ,’ फाइनल खेलभन्दा एक दिनअघि आयोजित पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले भनेका थिए ।

आसिफ शेखको टोलीले ऐतिहासिक उपाधि जिते पनि उनको त्यो चाहना भने पुरा हुन सकेन । एनपीएलको पहिलो संस्करणमा नेपालीभन्दा विदेश खेलाडीहरू नै हाबी भए । अधिकांश खेलमा विदेशी खेलाडीहरूले नै नतिजालाई प्रभावित बनाए । 

फाइनल खेलसम्म पनि विदेशी खेलाडीहरूकै बोलबाला कायम रह्यो । एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सका स्कट कुगेलियन सर्वाधिक विकेट लिने खेलाडीका रूपमा दरिए । ३२ वर्षीय कुगेलियन न्युजिल्यान्डका बलिङ अलराउन्डर हुन् । 

कुगेलियनले नौ खेलमा कुल १७ विकेट लिए । उनको उत्कृष्ट प्रदर्शन केवल १८ रन खर्चिएर पाँच विकेट रह्यो । यद्यपि, नेपाली राष्ट्रिय टोलीका प्रभावशाली बलर ललित राजवंशीले पनि १७ विकेट नै लिए । तर, उनले यसका लागि १० खेल खेल्नु पर्‍यो । जनकपुर बोल्ट्सका ललितको उत्कृष्ट प्रदर्शन केवल आठ रन खर्चिएर तीन विकेट रह्यो । 

यसैगरी, सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पनि जनकपुर बोल्ट्सका विदेशी खेलाडी लाहिरु मिलनथा रहे । ३० वर्षीय मिलनथाले १० खेलमा कुल दुई सय ९३ रन बनाए । यस क्रममा उनले दुई अर्धशतक पनि प्रहार गरे ।

यसैगरी, सर्वाधिक अर्धशतक बनाउने ब्याट्सम्यानको सूचिमा पनि विदेशी खेलाडी नै अगाडि रहे । चितवन राइनोजका विदेशी खेलाडी रवि बोपाराले प्रतियोगितामा तीनवटा अर्धशतक बनाए । इङ्ल्यान्डका ३९ वर्षीय ब्याटिङ अलराउन्डर बोपाराले प्रतियोगितामा तीनवटा अर्धशतक बनाए ।

प्रतियोगितामा पाँचजना ब्याट्सम्यानले दुई वा त्योभन्दा बढी अर्धशतक बनाए । त्यसमध्ये एक खेलाडी मात्र नेपालका थिए । लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले मात्र दुईवटा अर्धशतक बनाउन सके । 

नेपाली राष्ट्रिय टोलीको कप्तानसमेत रहेका रोहित सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि तेस्रो स्थानमा रहे । उनले सात खेलमा कुल दुई सय ७९ रन बनाए । सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा रवि बोपारा दोस्रो स्थानमा रहे । उनले आठ खेलमा कुल दुई सय ८६ रन बनाए ।

मिलनथा, बोपरा र रोहितका अतिरिक्त सुदूरपश्चिम रोयल्सका सेफ अलि जेब र कर्णाली याक्सका विलियम बोसिस्टोले दुई–दुईवटा अर्धशतक बनाएका थिए । यो एनपीएलमा जनकपुर बोल्ट्सका जेम्स निसम, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, सुदूरपश्चिम रोयल्सकै दीपेन्द्रसिंह ऐरी र चितवन राइनोजका कुशल मल्लले पनि अर्धशतक बनाए ।

यसका अतिरिक्त, सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमुलेन, विराटनगर किङ्सका बसिर अहमद, पोखरा एभेन्जर्सका दिनेश खरेल, विराटनगर किङ्सका मार्टिन गप्टिल, कर्णाली याक्सका शिखर धवन, काठमाडौँ गुर्खाजका स्टिफन एस्किनाजी र जनकपुर बोल्ट्सका अनिल साहले पनि अर्धशतक बनाए ।

यसैगरी, किङ्सका लोकेश बम, चितवन राइनोजका हसन इशाखिल, कर्णाली याक्सका देब खनाल, लुम्बिनी लायन्सका विवेक यादव, लुम्बिनी लायन्सकै साद बिन जाफर र कर्णाली याक्सका जयकिशन कोल्सावालाले पनि एक–एक अर्धशतक बनाए । प्रतियोगितामा पहिलो अर्धशतक बनाउने खेलाडी भने मार्टिन गप्टिल हुन् । 

यसैगरी, एनपीएलको पहिलो संस्करणमा एकमात्र शतक बनाउने खेलाडी पनि विदेशी नै रहे । प्रतियोगितामा पोखरा एभेन्जर्सका विदेशी ब्याट्सम्यान आन्द्रेस गौसले एकमात्र शतक बनाएका हुन् । ३१ वर्षीय गौस अमेरिकाका खेलाडी हुन् । 

यसैगरी, एनपीएलको पहिलो संस्करणमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी पनि विदेशी नै हुन् । जनकपुर बोल्ट्सका ब्याट्सम्यान जेम्स निसमले कुल २३ छक्का प्रहार गरे । यो सूचिमा दोस्रो स्थानमा चितवन राइनोजका कप्तान कुशल मल्ल रहे । उनले कुल १५ वटा छक्का हिर्काए । 

यसैगरी, सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडी पनि विदेशी नै हुन् । जनकपुर बोल्ट्सका ब्याट्सम्यान लाहिरु मिलनथाले प्रतियोगिता अवधिभरमा कुल ३५ वटा चौका हिर्काए । सबैभन्दा बढी क्याच लिने खेलाडी भने अनिल साह बने । जनकपुर बोल्ट्सका अनिल साहले कुल १२ वटा क्याच लिए । उनले एउटै खेलमा पाँच क्याच लिएका थिए । 

सर्वाधिक क्याच लिने फिल्डरको सूचिमा दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमलेन रहे । उनले कुल १० वटा क्याच लिए । उनले एउटै खेलमा दुईवटा क्याच लिएका थिए । एउटै खेलमा सर्वाधिक क्याच लिने खेलाडीको दोस्रो स्थानमा भने कर्णाली याक्सका गुलसन झा रहे । उनले एउटै खेलमा चार क्याच लिएका थिए । 

यसैगरी, विकेटकिपरको भूमिकामा सबैभन्दा बढी ब्याट्सम्यानलाई पेभेलियन फर्काउने खेलाडी भने जनकपुर बोल्ट्सका लाहिरु मिलनथा हुन् । उनले चार ब्याट्सम्यानलाई स्टम्पिङ गरे पनि एउटा क्याच पनि लिएका थिए । 

चितवन राइनोजका विकेटकिपर विपिन रावलले पनि पाँच ब्याट्सम्यानलाई पेभेलियन फर्काए । उनले पाँचैजना ब्याट्सम्यानलाई स्टम्पिङ गरेका थिए । यो एनपीएलमा सबैभन्दा ठुलो साझेदारी भने पोखरा एभेन्जर्सका आन्द्रेस गौस र दिनेश खरेलले गरे । उनीहरूले लुम्बिनी लायन्सविरुद्धको खेलमा पहिलो विकेटका लागि अविजित एक सय ७६ रनको साझेदारी गरेका थिए ।

  • पहिलो संस्करण जसले नेपाली क्रिकेटको उचाइ बढायो

विश्व क्रिकेटमा आफ्नो फरक पहिचानका लागि सङ्घर्षरत राष्ट्र नेपालमा आयोजना गरिएको एनपीएल पहिलो संस्करणमै अन्तर्राष्ट्रिय रूपमा चासो र चर्चाको विषय बन्न पुग्यो । स्टार स्पोर्टसजस्तो विश्व चर्चित च्यालनबाट प्रत्यक्ष प्रसारण गरिएकाले पनि एनपीएल पहिलो संस्करणमै आफ्नो अस्तित्व साबित गर्न सफल भयो । 

यसका अतिरिक्त विश्व क्रिकेटका नामुद हस्तीहरूको उपस्थितिले पनि एनपीएलको चर्चालाई शिखरमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गर्‍यो । खेलाडीको भूमिकामा विश्वका विभिन्न भूगोलका चर्चित हस्तीको उपस्थिति रह्यो । यसका अतिरिक्त पर्यवेक्षकको भूमिकामा समेत ब्रायन लाराजस्ता विश्व क्रिकेटका महान् हस्तीको उपस्थितिले एनपीएलको गरिमालाई झनै उच्च बनायो । 

त्यसमाथि क्रिकेटलाई माया गर्ने घरेलु समर्थकहरूको अभूतपूर्व सहभागिताले पनि पहिलो संस्करणमै एपीएललाई जुन उचाइ दियो त्यो अतुलनीय छ । यो फ्रेन्चाइज प्रतियोगिताले नेपाललाई विश्व भूगोलमा थप चर्चित बनाउन त मद्दत पुर्‍यायो नै सँगसँगै पर्यटन प्रवर्द्धनमा समेत योगदान गर्‍यो ।

 

NPL - Nepal Premier League 2024 NPL - Nepal Premier League 2024

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप