भियतनामी क्रान्ति : साम्राज्यवादका विरुद्ध जनताले लडेको गौरवशाली युद्ध
भियतनामी क्रान्ति एउटा यस्तो संघर्षको कथा हो, जसले सिङ्गो संसारलाई अन्याय र अत्याचारका विरुद्ध उभिन प्रेरित गर्यो । जब १८८७ मा फ्रान्सले भियतनामलाई आफ्नो उपनिवेश बनायो, त्यस उपनिवेशवादको घाउ आर्थिक शोषणमा मात्र सीमित रहेन, यसले जनताको सांस्कृतिक पहिचान र आत्मसम्मानमाथि समेत प्रहार गर्यो ।
भियतनामको कृषिजन्य उत्पादनको आधाभन्दा बढी भाग फ्रान्सेली उद्योगका लागि निर्यात गरिन्थ्यो, जसले किसानलाई आफ्नै भूमिबाट विस्थापित गर्यो । अर्काेतर्फ सहरी उद्योग र बन्दरगाह विदेशी नियन्त्रणमा गएकाले स्थानीय अर्थतन्त्रलाई तहसनहस पार्यो । भियतनामी भाषा, संस्कृति र शिक्षालाई कमजोर पार्दै फ्रान्सेली शासनले आफ्नो भाषा र प्रशासन लागु गर्यो । भियतनामी शिक्षालाई व्यवस्थागत रूपमा कमजोर बनाउने यो नीति जनमानसमा सांस्कृतिक विखण्डन र आत्मगौरवको ह्रास निम्त्याउन लक्षित थियो ।
यस्तो कठोर दमनका बिच पनि भियतनामी जनताले स्वतन्त्रताको सपना कहिल्यै मरेर जान दिएनन् । १९औँ शताब्दीको अन्त्यमा फान बोई चाउ र फान चाउ ट्रिन्हजस्ता राष्ट्रवादी अभियन्ताहरूले देशभक्ति र क्रान्तिको चेतना जगाउन थाले । ती साना–साना विद्रोहले स्वतन्त्रताको बिउ रोप्न मद्दत गरे, जसले क्रमशः ठुलो आन्दोलनको स्वरूप लिन थाले ।
भियतनामी जनताको यस संघर्षलाई व्यवस्थित दिशामा अघि बढाउन सन् १९३० मा हो ची मिन्हको नेतृत्वमा भियतनामी कम्युनिस्ट पार्टीको स्थापना गरियो । मिन्हले माक्र्सवादी–लेनिनवादी विचारधारालाई आत्मसात गर्दै विदेशी उपनिवेशवादविरुद्धको संघर्षलाई सही दिशामा डोर्याए । उनले किसान र मजदुर वर्गलाई एकताबद्ध गर्दै सामाजिक न्याय, भूमि पुनर्वितरण र राष्ट्रिय स्वाधीनतालाई आन्दोलनको केन्द्रमा राखे ।
दोस्रो विश्वयुद्धको समयमा जापानले फ्रान्सबाट भियतनाममा कब्जा जमायो । यसले भियतनामी जनताले विदेशी साम्राज्यवादको अर्काे कष्टदायी चरणको सामना गर्नुपर्यो । जापानी नियन्त्रणका कारण व्यापक भोकमरी र जनसंकट उत्पन्न भयो तर जापानको पराजयपछि सन् १९४५ मा हो ची मिन्हको नेतृत्वमा भियतनामी जनताले निर्णायक कदम चाले ।
१९४५ सेप्टेम्बर २ मा हो ची मिन्हले लोकतान्त्रिक गणतन्त्र भियतनामको स्थापना घोषणा गरे । यो ऐतिहासिक क्षणले भियतनामी जनताको स्वतन्त्रताको आकांक्षा पूरा गरेझैँ देखिए पनि फ्रान्सेली उपनिवेशवाद पुनः सशक्त रूपमा भियतनाम फर्कियो । यसले पहिलो इन्डोचाइना युद्धको थालनी गर्यो, जसले भियतनामी क्रान्तिलाई नयाँ चरणमा प्रवेश गरायो ।
यसरी भियतनामी क्रान्तिको पहिलो चरणले राष्ट्रिय स्वाधीनताका लागि जनताको अटुट संघर्ष र नेतृत्वको संयोजनलाई प्रस्ट पार्दै संसारभरका उत्पीडित राष्ट्रलाई प्रेरणा प्रदान गर्यो ।
- फ्रान्सेली उपनिवेशवादको चपेटामा संघर्ष
सन् १९४६ देखि १९५४ सम्म चलेको पहिलो इन्डोचाइना युद्ध भियतनामी क्रान्तिको प्रारम्भिक बलिदान र अदम्य साहसको प्रतीक थियो । यो युद्ध केवल सैनिक भिडन्त मात्र थिएन । यो भियतनामी राष्ट्रको अस्तित्व, आत्मसम्मान र स्वाधीनताका निम्ति भएको ऐतिहासिक संघर्ष थियो । यस भीषण युद्धमा अत्याधुनिक हतियार र सशक्त सैन्य शक्तिको सामना गर्न भियतनामी जनताले आफ्नो भूगोलको सटीक परिचालन, सामूहिक ऐक्यबद्धता र अटुट आत्मबललाई मुख्य हतियार बनाएका थिए ।
फ्रान्सेली उपनिवेशवादको शासनमा भियतनामी समाजले अत्यधिक कर, भूमिहीनता र आर्थिक अन्यायको गहिरो पीडा सहनुपर्यो । कृषक वर्गलाई आफ्नो भूमिबाट विस्थापित गरियो, जसका कारण उनीहरूको जीवन अझ कठिन र दयनीय बन्यो । उता औद्योगिक क्षेत्रको सम्पूर्ण विदेशी नियन्त्रण र स्थानीय व्यवसायको दमनले आर्थिक स्वावलम्बनको आधार नै भताभुङ्ग पार्यो । यी सबै अन्याय र शोषणले जनतामा विद्रोहको चेतनालाई अझ तीव्र बनाउँदै गयो । यसलाई हो ची मिन्ह र भियतनामी कम्युनिस्ट पार्टीले यथार्थपरक ढंगले सम्बोधन गर्दै देशभर जनजागरणको लहर ल्याए ।
त्यहाँको दुर्गम भौगोलिक क्षेत्रलाई आफ्नो सुरक्षा गढ ठान्दै फ्रान्सेली सेनाले अत्याधुनिक हतियार र सैन्य रणनीतिमा भरोसा राखेको थियो तर हो ची मिन्हको दूरदर्शी नेतृत्व र जनरल भो गुयन जियापको रणनीतिक सुझबुझले युद्धको परिभाषा नै बदलिदियो ।
भियतनामी कम्युनिस्ट पार्टीले क्रान्ति जनआधारित बनाउन बहुआयामिक प्रयास गर्यो । सैनिक तयारीमा मात्र सीमित नरहेर, पार्टीले जनताको भौतिक, मानसिक र वैचारिक उत्थानमा पनि ध्यान केन्द्रित गर्यो । भूमि सुधार कार्यक्रमको घोषणा, स्थानीय समुदायलाई संगठित बनाउने कार्यशैली र आत्मनिर्भरताको सन्देशले जनमानसमा क्रान्तिप्रतिको विश्वास अझ प्रगाढ बनायो । यसले किसान, मजदुर, र बुद्धिजीवी वर्गहरूबिच व्यापक ऐक्यबद्धताको वातावरण सिर्जना गर्यो, जसले संघर्षलाई थप सशक्त र जनकेन्द्रित बनायो ।
यद्यपि यो यात्रा सहज थिएन । फ्रान्सेली सेनाले अत्याधुनिक हतियार र जटिल सैन्य रणनीतिहरू प्रयोग गर्दै उपनिवेशवादी शासनलाई पुनःस्थापित गर्न हरसम्भव प्रयास गर्यो । तैपनि भियतनामी जनताको आफ्नै भूगोलप्रतिको गहिरो ज्ञान, गुरिल्ला युद्धको रणनीति र असीमित धैर्यले फ्रान्सेली सेनालाई निरन्तर चुनौती दिइरह्यो ।
- डियन बियन फु युद्ध
भियतनामको उत्तर–पश्चिमी क्षेत्रमा पर्ने एउटा सानो उपत्यकाको नाम हो, डियन बियन फु । यहीँ सन् १९५४ मा युद्ध भयो, जुन पहिलो इन्डोचाइना युद्धका नामले चिनिन्छ । यो युद्ध भियतनामी स्वतन्त्रता संघर्षको निर्णायक मोड थियो ।
फ्रान्सेली सेनाको ‘अविजेय’ भनिएको सैन्य बलको मिथकलाई भताभुंग पार्दै यसले विश्वभरका उपनिवेशवादविरोधी आन्दोलनहरूलाई नयाँ ऊर्जा र प्रेरणा प्रदान गर्यो ।
त्यहाँको दुर्गम भौगोलिक क्षेत्रलाई आफ्नो सुरक्षा गढ ठान्दै फ्रान्सेली सेनाले अत्याधुनिक हतियार र सैन्य रणनीतिमा भरोसा राखेको थियो तर हो ची मिन्हको दूरदर्शी नेतृत्व र जनरल भो गुयन जियापको रणनीतिक सुझबुझले युद्धको परिभाषा नै बदलिदियो । परम्परागत युद्ध रणनीतिलाई चुनौती दिँदै भियतनामी सेनाले गुरिल्ला युद्धको कुशल प्रयोग, स्थानीय भूगोलको फाइदा र निरन्तर घेराबन्दीबाट फ्रान्सेली सेनाको शक्तिलाई कमजोर तुल्यायो ।
यस युद्धको वास्तविक मेरुदण्ड भियतनामी जनता थिए । महिलादेखि किसानसम्म सबैले आफ्नो श्रम, समय र साधन यस संघर्षमा समर्पित गरे । महिलाहरूले खतरनाक पहाडी मार्गहरूबाट रसद र हतियार पुर्याए । किसानले आफ्नो भूमि र खाद्यान्न युद्धका लागि अर्पण गरे । युवाहरूले सुरुङ प्रणाली बनाउँदै फ्रान्सेली सैनिक रणनीतिलाई ध्वस्त पार्न मद्दत गरे । जनताको यो अटल समर्थनले भियतनामी सेनालाई असाधारण सशक्त बनायो ।
डियन बियन फु युद्धले फ्रान्सेली सेनालाई सैन्य र मनोवैज्ञानिक रूपमा परास्त गर्यो । यो विजय फ्रान्सेली उपनिवेशवादको अन्त्यको सुरुवात बन्यो । १९५४ को जेनेभा सम्झौताले फ्रान्सलाई भियतनामबाट फिर्ता जान बाध्य गरायो तर सम्झौताले भियतनामलाई उत्तर र दक्षिणमा विभाजन गरिदियो, जसले अर्काे संघर्षको बीजारोपण गर्यो ।
डियन बियन फुको विजयको महत्त्व स्थानीय परिधिभन्दा पर थियो । यसले उपनिवेशवादविरोधी संघर्षलाई विश्वव्यापी सन्देश दियो — शक्तिशाली सैन्य बलको सामना गर्न जनताको एकता र इच्छाशक्ति नै निर्णायक हतियार हुन् । यो विजयले भियतनामको स्वतन्त्रता र एकताका लागि बलियो आधार तयार गर्दै शोषित र उपेक्षित समुदायलाई नयाँ आशा र हिम्मत दिलायो ।
डियन बियन फु युद्धको ऐतिहासिक विजय भियतनामी जनताको साहस, दृढता र बलिदानको प्रतीक बनेर अमर रह्यो । यसले भियतनामको भौगोलिक स्वतन्त्रता सुनिश्चित गर्यो नै, राष्ट्रको आत्मसम्मान र सामूहिक एकताको परिभाषालाई संसारभर उदाहरणीय बनायो । यो विजयले विश्वभरका उत्पीडित जनतामा न्याय र स्वतन्त्रताको सपना थप बलियो पारिदियो ।
यो विजय केवल सैन्य पराजयको कथा होइन । यो रणनीतिक बुद्धिमता, अद्वितीय जनसहभागिता र राष्ट्रको स्वाभिमानलाई पुनः स्थापित गर्ने ऐतिहासिक क्षण थियो ।
- दोस्रो इन्डोचाइना युद्ध
डियन बियन फुको विजयले भियतनामलाई उपनिवेशवादबाट मुक्त गराए पनि राष्ट्रिय एकीकरणको सपना अधुरै थियो । सन् १९५५ देखि १९७५ सम्म चलेको दोस्रो इन्डोचाइना युद्ध जसलाई भियतनाम युद्धका रूपमा चिनिन्छ, त्यो केवल सैनिक भिडन्त थिएन साहस, बलिदान र अविचल अडानको गौरवशाली कथा थियो ।
यस युद्धमा अमेरिकाले दक्षिण भियतनामलाई आफ्नो प्रभावमा राख्न ठुलो सैन्य, आर्थिक र प्राविधिक बल प्रयोग गर्यो । अत्याधुनिक हतियार र हवाई आक्रमणहरूको भरमा अमेरिकाले आफ्नो विजय सुनिश्चित गर्न खोज्यो तर हो ची मिन्हको नेतृत्वमा उत्तर भियतनामले ‘गुरिल्ला युद्ध रणनीति’सँगै ‘हो ची मिन्ह ट्रेल’जस्तो आपूर्ति मार्ग र जनताको अविचल समर्थनको बलमा लगातार चुनौती दियो ।
भियतनामी जनताको सहभागिता यस युद्धको मूल शक्ति थियो । गाउँगाउँका किसानले खाद्यान्न र युद्ध सामग्री जुटाए, महिलाहरूले भूमिगत सुरुङ प्रणाली निर्माण गरे र युवाहरूले गुप्तचर र प्रतिरोध आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेले । यो युद्ध केवल सैन्य लडाइँ नभई सिङ्गो राष्ट्रको साझा संघर्ष बन्यो ।
अमेरिकी सेनाले नापाम बम र केमिकल एजेन्ट ओरेन्जजस्ता घातक हतियार प्रयोग गरेर भौगोलिक रूपमा भियतनामलाई तहसनहस पार्ने प्रयास गर्यो, तर भौतिक विनाशका बिच भियतनामी जनताको अडान, राष्ट्रप्रेम र बलिदान अटल रह्यो । हरेक गाउँ, हरेक सहर यो युद्धको प्रतिरोध केन्द्र बन्यो ।
सन् १९७५ मा साइगन (यो भियतनामको दक्षिणी भागमा रहेको सहरको नाम हो, जसलाई आज हो ची मिन्ह सिटी भनिन्छ)को पतनले युद्धको औपचारिक अन्त्य गर्दै भियतनामलाई पुनः एकीकृत राष्ट्रको रूपमा स्थापित गर्यो । यो विजय केवल भियतनामी जनताको गौरवशाली उपलब्धि मात्र थिएन, यसले साम्राज्यवादविरोधी विश्वव्यापी संघर्षहरूलाई नयाँ जोस र आत्मविश्वास प्रदान गर्यो ।
- साइगनको पतन
सन् १९७५ अप्रिल ३० को बिहान, दक्षिण भियतनामको राजधानी साइगनमा जनवादी सेनाले विजयको झन्डा फहरायो । यो क्षण केवल सैनिक विजयको अन्त्य मात्र थिएन, यसले जनताको अटुट इच्छाशक्ति र साम्राज्यवादी हस्तक्षेपको पराजयको ऐतिहासिक सन्देश संसारभर पुर्यायो ।
साइगनको पतनको प्रमुख कारण भियतनामी सेनाको रणनीतिक सुुझबुझ र जनताको बलिदानमा आधारित आन्दोलन थियो । हो ची मिन्ह ट्रेलजस्ता आपूर्ति मार्गहरूको कुशल प्रयोग, गुरिल्ला रणनीति र भूमिगत सुरुङ प्रणालीले जनवादी सेनालाई अद्वितीय बनायो । युद्धका हरेक चरणमा भियतनामी जनता यो संघर्षको अभिन्न अंग बने ।
अमेरिकी सेनाले आफ्नो सम्पूर्ण सैन्य शक्ति प्रयोग गर्यो तर भियतनामी राष्ट्रको आत्मबल र जनसहभागिताको अगाडि निरीह साबित भयो । साइगनस्थित अमेरिकी दूतावासबाट हेलिकप्टरहरूमा अधिकारीहरू भाग्दै गरेका दृश्यले विश्वलाई एउटा स्पष्ट पाठ सिकायो — अत्याधुनिक सैन्य बल जनताको दृढ इच्छाशक्तिलाई हराउन असमर्थ हुन्छ ।
साइगनको विजयसँगै भियतनाम पुनः एक एकीकृत राष्ट्रका रूपमा उभियो । विभाजन र विनाशले थलिएको राष्ट्र अब आर्थिक, सामाजिक र राजनीतिक पुनर्निर्माणको यात्रामा अग्रसर भयो । यो यात्रा केवल भियतनामको पुनर्निर्माणको कथा थिएन, यसले उत्पीडित र संघर्षरत जनताको सामूहिक चाहनाको जीवित उदाहरण प्रस्तुत गर्यो ।
सारांशमा, साइगनको यो ऐतिहासिक विजयले स्वतन्त्रता, आत्मनिर्णय र जनताको बलिदानलाई अमर बनायो । यो घटना भियतनामको गौरवपूर्ण इतिहासको पराकाष्ठा मात्र नभई विश्वभरका उत्पीडित राष्ट्रहरूका लागि प्रेरणाको शाश्वत स्रोत बनेर उभियो ।
- भियतनामी क्रान्तिको कालजयी सन्देश
भियतनामी संघर्ष केवल सामरिक वा राजनीतिक अभियान नभई साहस, बलिदान र आत्मसम्मानको अमिट गाथा हो । यो संघर्षले उत्पीडित र शोषित समुदायका लागि प्रेरणाको उज्यालो पथ प्रदर्शकको रूपमा आफ्नो स्थान सुरक्षित गरेको छ । जब जनता एकताबद्ध भएर अन्यायविरुद्ध अडान लिन्छन्, कुनै पनि शक्तिशाली साम्राज्यवादी बलले उनीहरूको आकांक्षा दबाउन सक्दैन भन्ने सन्देश भियतनामी जनताको संघर्षले विश्वभर पुर्याएको छ ।
फ्रान्सेली उपनिवेशवादविरुद्ध डियन बियन फु युद्धमा प्राप्त विजय होस् वा साइगनको पतनबाट राष्ट्रको एकीकरण— यिनमा भियतनामी जनताको बलिदान, सङ्गठन र अटल सङ्कल्पको सामूहिक शक्ति नै निर्णायक थियो । यसले संसारलाई देखायो कि अन्यायविरुद्धको संघर्ष केवल सम्भव मात्र होइन, इतिहासको यथार्थ पनि हो ।
यस क्रान्तिले समकालीन विश्वका संघर्षरत राष्ट्रहरूलाई एउटा महत्त्वपूर्ण सन्देश दिएको छ — असमानता, शोषण र साम्राज्यवादका कुनै पनि स्वरूपलाई परास्त गर्न एकताबद्ध जनताको अटुट सङ्कल्प नै सबैभन्दा ठुलो हतियार हो । भियतनामी जनताको यो बलिदानी गाथाले आत्मनिर्भरताका लागि संघर्षरत समुदायहरूलाई नयाँ आशा र आत्मविश्वास प्रदान गरिरहेको छ ।
यो अमर संघर्षको गाथा कुनै एउटा राष्ट्रको विजय मात्र होइन, यो विश्वभरका उत्पीडित र संघर्षरत जनताका लागि सामूहिक चेतना र प्रेरणाको शाश्वत स्रोत हो । भियतनामको यो क्रान्ति इतिहासको एउटा गौरवशाली अध्याय मात्र नभई भावी आन्दोलनहरूको मार्गदर्शन गर्ने अमूल्य धरोहर बनेर रहिरहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा एकमात्र कर्मचारी
-
संसारभर महिलाहरूको अधिकार कसरी खोसिँदै छ ?
-
एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने
-
बढ्दै मध्यपूर्व तनाव : अमेरिकी सेना उत्रियो हुथीविरुद्ध आक्रमणमा