जापानी कलाकार युमीको सम्झना र नेपाली संस्कारलाई बोकेर हिँडेका कला
नेपाल आर्ट काउन्सिलमा आर्टिस्ट फोर (चार कलाकार) नामक सामूहिक कला प्रदर्शनीको आयोजना भयो । गएको ९ नोभेम्बरमा सुरु भई १३ नोभेम्बरसम्म चलेको यस प्रदर्शनीमा भने पाँच कलाकारका चित्र प्रदर्शन गरिएको थियो ।
विशेषतः चार कलाकार (एरिना ताम्राकार, शिला राजभण्डारी, शैली राना विष्ट र विशाल महर्जन)को सामूहिक प्रदर्शनीमा एक दिवंगत जापानी कलाकार (युमी सानो)का चित्रलाई स्थान दिइएको थियो ।
- युमी सानो र नेपाली संस्कृति
युमी सन् १९७५ मा जापानी सहर कोबेको नागटा कुमा जन्मेकी थिइन् । १९९८ मा ओसाका युनिभर्सिटी अफ आर्टबाट कलामा स्नातक गरेकी उनी भोलियन्टरका रूपमा नेपाल आएकी थिइन् ।
नेपालमा पाटनमा रहेको ‘ललित वेलफेयर प्राइमेरी स्कुल’मा आर्ट टिचरका रूपमा काम गर्थिन् । त्यतिबेला उनले कामकै सिलसिलामा नेपालका विभिन्न ठाउँमा आउने–जाने गरेकी थिइन् । उनले विशेषतः नेपाली कला र संस्कृतिलाई लिएर चित्र कोर्थिन् । उनका चित्रहरुको एकल प्रदर्शनी सन् १९९९ मा लाजिम्पाटको बाम्बो आर्ट ग्यालरीमा भएको थियो । विधिको विडम्बना, कामकै सिलसिलामा चितवन जाँदै गर्दा सडक दुर्घटनामा उनको निधन भयो, सन् १९९९ मा ।
नेपालमा छँदा युमीको भेट नेपाली महिला कलाकार एरिना ताम्राकारसँग भयो । झन्डै एकै उमेरका यिनीहरु राम्रो साथी बने । एरिनाका अनुसार, १९९८ मा कला पढेर सकेपछि युमी एनजीओमा संलग्न भई नेपाल आएकी थिइन् ।
यतिका वर्षपछि युमीकी आमाले युमीका चित्रलाई एकपल्ट नेपालमा प्रदर्शन गरिदिन अनुरोध गरेकी रहिछन् । जापानबाट चित्र ल्याउन उनै खटिन् । आर्ट काउन्सिलका दुईवटा स–साना कोठा युमीका चित्रले भरिएका थिए । यो उनका चित्रको २५औँ प्रदर्शनी हो । जापानका विभिन्न सहरमा पटक उनका चित्र प्रदर्शन भएका थिए ।
छोटो जीवन जिएकी युमीले चित्रमार्फत आफ्नै जीवनलाई आममान्छेको जीवनसँग जोड्ने रहर लिएकी रहिछन् । जीवनकै सुख–दुःखका विषय उनका चित्रका अगल–बगलमा देखिनु नै उनको कलाको खास विशेषता हो । घटनाहरू सोझै चित्रपटमा चित्रण हुँदा उनका चित्र भावुक पनि देखिन्छन् ।
नेपालमा छँदा युमीको भेट नेपाली महिला कलाकार एरिना ताम्राकारसँग भयो । झन्डै एकै उमेरका यिनीहरु राम्रो साथी बने । एरिनाका अनुसार, १९९८ मा कला पढेर सकेपछि युमी एनजीओमा संलग्न भई नेपाल आएकी थिइन् ।
उनलाई नेपाली चाडपर्व, संस्कार र संस्कृतिसँग निकै लगाव रहेछ । नेवार अनि मैथिल समुदायका दिनचर्यालाई उनका कलाले गजबले टिपेको देखिन्छ । यसबाहेक काठमाडौँका मठ–मन्दिर, सहर–बजारका गल्ली उनका कलाका विषयवस्तु बनेका छन् ।
आफ्ना चित्रमा युमी रेखाहरूसँग बढी मात्रामा खेलेको देखिन्छ । चित्रमा उनका शक्तिशाली रेखांकनहरू मर्मस्पर्शी, लयात्मक र हृदयस्पर्शी छन् । रेखाहरूमा उनको पकड साह्रै राम्रो छ । रेखाहरूलाई उनले आफ्नै अनुभव, अनुभूतिसँग जोड्ने गर्छिन् । फलस्वरूप उनका कलामा भाव–अभिव्यञ्जना यथेष्ट रूपमा चलबलाएको देखिन्छ ।
यथार्थता अनि अभिव्यञ्जनासँगै गाँसिएर आउँदा उनका चित्रहरू एकतमासका देखिन्छन् । अझ उनी तत्कालको अवस्थालाई साँच्चै हो कि जस्तो गरेर संयोजित र संगठित गर्ने गर्छिन् । घटनाले उनलाई छोइहाल्ने र तत्कालीन वातावरणलाई समाइहाल्ने बानीले गर्दा पनि उनका कला चोटिला देखिन्छन् । कल्पना शक्ति र राम्रो शिल्प–दक्षताले गर्दा जीवनमा घटेका स–साना घटनालाई उनी सहजै आफ्नो चित्रपटमा उतार्छिन् । यथार्थ रूपमा देखिने यस्ता चित्रले नेपाली जनजीवनलाई चित्रण गरेजस्तो देखिन्छ ।
एरिनासँग साथी हुँदा उनी नेपाली समुदायमा भिजेकी रहिछन्, उनको चित्रमा दसैँको टिकाको रमझम पनि आएको छ । नेपालीको हातबाट टिका थाप्दै गरेको चित्रमा रेखाहरूकै बाहुल्य देखिन्छ । चित्रमा हल्का पातलो रङ–लेपन भएको देखिन्छ । सम्भवतः यतै हुँदै उनी कुनै नेपालीकहाँ गएर दसैँको टिका लगाइन् होला । यही स्मृतिलाई ताजा पार्दै उनले यस्तो भावनात्मक चित्र बनाएकी हुन सक्छिन् ।
दसैँको माहोललाई सहजै उतार्ने उनको सीप पनि थियो । एरिनासँग साथी रहँदाको क्षणलाई पनि उनले आफ्ना क्यानभासमा उतारेकी छन् । हाँसखेल र रमाइलो गरेको स–साना घटनालाई उनले राम्रो रेखाङ्कन गरेकी छन् । नेपाली कलाकारले गर्ने गरेको संयोजनभन्दा उनको कलागत प्रस्तुति सर्वथा पृथक् देखिन्छ । नेपालीको आकृति अलि कस्तो–कस्तो देखिए पनि उनको आफ्नै ढंगको बनेको देखिएको छ । यही उनको शैलीगत विशेषता पनि हो ।
यस्तै उनले जनकपुरको परिवेशमा पनि चित्र कोरेकी छन् । सम्भवतः उनी जनकपुरमा गएका बखत यी चित्र कोरेको हुनपर्छ । उतैका वातावरणमा चुर्लुम्म डुबी मैथिली संस्कारमा आधारित भएर उनले चित्र कोरेको देखिन्छ । मिथिला कलामा देखिने हात्तीहरू उनका चित्रमा स्पष्ट दृश्यावलोकन हुन्छन् । अनि अग्रभागमा स्थानीय महिलाको टाउकोमा टोकरी राखी सागसब्जी बेची हिँडेको तराईको वातावरणलाई छर्लङ्ग देखाएकी छन् ।
बजारमा माछा बेच्दै गरेका तराईका महिला, काठमाडौँका मठ–मन्दिर अनि नेपाली पहाडी जीवनका दैनिकी आदिलाई उनका बलिया रेखाले जीवन्त चित्रण गरेको देखिन्छ । यस्तायस्तै उनका थुप्रै चित्र छन् । उनलाई नेपालसँग जोडेर सम्झन उनका यिनै चित्रलाई नियाल्नुपर्ने हुन्छ ।
- एरिनाका काम
एरिना ताम्राकार नेपाली समसामयिक कलामा स्थापित नाम हो । शान्त तर हक्की स्वभावकी एरिना प्राज्ञ सभासद् पनि बनिसकेकी छन् । आधुनिक महिला कलाकारहरूको मात्रै कुरा गर्दा उनी अति सक्रिय कलाकारमा पर्छिन् । लामो समयदेखि निरन्तर काम गरिरहेका कलाकारको रूपमा हेर्दा एरिना अझ अगाडि देखिन्छन् । काष्ठमण्डप कला संस्थासँग आबद्ध उनी प्रायः आफ्नै कला स्टुडियो भेटिन्छिन् । अहिले ५४ नाघिसक्दा (जन्म : सन् १९७०) आफ्नो एक अलग्ग शैलीका साथ चित्र बनाउने एरिनाको पृथक् कलागत सिग्नेचर देखिन्छ ।
कलामा निरन्तरता भइराख्नु ‘रियाज’जस्तो पनि हो, जसले कलामा निखारता ल्याउँछ । त्यसो हुँदा पनि उनका चित्रपटमा नारीका इमेज स्निग्ध, स्वच्छ र सफा देखिन्छन् । उनका कलाहरूमा एउटै रङको बाहुल्य देखिए पनि लालित्यले ओतप्रोत छन् ।
सन् १९९५ कै ऐतिहासिक कलाको वर्कसपमा झुल्कन पुगेकी एरिना आजका दिनसम्म त्यत्तिकै सक्रिय छन् । त्यो कलाको वर्कसप आधिकारिक रूपमा पहिलो कला कार्यशाला थियो । त्यहीँबाट कला कार्यशाला गर्ने परम्परा पनि बस्यो ।
विशेष गरी महिलाका मुद्दालाई उनी थर्ड–आईको प्रतीकात्मक विम्बका माध्यमबाट उठाउने गर्छिन् । महिलाहरू भित्री रूपमा बलिया हुन्छन् भन्ने अवधारणा उनीमा देखिन्छ । उनका चित्रमा आउने थर्ड–आईलाई महिलाको अन्तरआत्मामा हुने महाशक्ति भनेर बुझ्न सकिन्छ । जुन परोक्ष हुन्छ, नांगो आँखाले देखिँदैन ।
यतिबेला उनका चित्र नियाल्दा देवी महिषाशुरमर्दिनीको सम्झना आउँछ । सम्पूर्ण देवताहरूले दानव महिषाशुरलाई मार्न नसकेपछि देवी महिषाशुरमर्दिनीको उत्पत्ति भएको लोकगाथा छ । जसले अन्त्यमा महिषाशुरलाई वध गरेको इतिहास छ ।
यसपल्ट प्रदर्शित उनका चित्रहरूमा पनि महिलाको अनुहारमा थर्ड–आई स्पष्ट देखिन्छ । यस्तै खाले स्वरूप र शैलीमा नारी विशेषको मुखाकृति देखिँदा गतका वर्षदेखि नै उनका चित्रको विशेष चर्चा हुने गरेका छन् । यस कारण उनको छुट्टै पहिचान छ ।
यसपल्ट मिथिला नारी, संस्कृति र संस्कारलाई जोडेर बनेका उनका चित्र थोरै अलग्ग प्रकृतिका छन् । उनको आफ्नैपनको प्रतिविम्ब भने यथास्थानमा रहेको देखिन्छ । जे–जस्ता चित्र बनाए पनि उनको चिरपरिचित शैली (चित्रपटभरि नारीको मुखाकृति मस्त ध्यानमा बसेजस्तो) नै केन्द्र बिन्दुमा देखिन्छ । रातो, गरम अनि चहकिला रङहरूले भरिएका उनका चित्र सफा–सुग्घर, एउटा अर्थ बोकेर देखापर्ने गर्छन् । सधैँझैँ यसपल्ट पनि उनको चित्रपटमा महिलाकै अनुहार मूल पात्रको रूपमा आएका छन् ।
ध्यानमग्न मुद्रामा देखिएकी महिलाको निधारमा तेस्रो आँखा स्पष्ट देखिन्छ । यसपल्ट उनले मैथिली लोककलाका मोटिफ र संरचनालाई लिएर अलिकता फरक ढंगबाट कलाको संयोजन गरेकी छन् । यी चित्रमा माछा, चन्द्रमा, गरगहना आदिमा फरक ढंगबाट देखिँदा थोरै नौलो आभास हुन्छ ।
- विशालका काम
विशाल महर्जन आफ्ना चित्रमा मूलतः आध्यात्मिकता र परम्परागत सांस्कृतिक विम्बलाई प्रयोग गर्न रुचाउँछन् । परम्परागत अझ भनौँ धार्मिक बुट्टाहरूलाई सर्वाङ्ग चित्रपटमा बिच्छ्याएपछि सलाईको काँटीमार्फत त्यसलाई थप उजिल्याउँछन् । खासगरी केही पुरानो संस्कार र परम्परालाई खोजेजस्तो, संरक्षण गरेजस्तो वा गरिमामय परम्परालाई पुनः स्थापित गरेजस्तो पारामा उनका चित्र बनेका देखिन्छन् ।
ज्ञान, भक्ति र प्रकृतिलाई सगोलमा पस्कने उनको कलागत स्वभाव छ । कलर स्किमका रूपमा उनले रातो गरम रङ नै छानेको देखिन्छ । बेवास्तामा पर्दै गएको नेपाली परम्परालाई अनेक प्रतीकात्मक मोटिफहरूमार्फत उनले अगाडि ल्याएका छन् । गोलाकार अलङ्कृत बुट्टाहरू एउटा टेक्चरका रूपमा उनको कलामा देखिनु पनि नेपाली संस्कार र संस्कृतिमाथिको अपार पे्रम र भक्तिको प्रतिविम्ब हो । झ्यालमा रहेको अद्वितीय मनमोहक काष्ठकला र देवी–देवतालाई प्रतीकात्मक विम्बका रूपमा प्रयोग गर्दा हाम्रो नेपाली मौलिकता अझ स्पष्ट रूपमा झल्केको देखिन्छ । दही बोकेर बेच्न हिँडेको नेवार समुदायको सदस्यको इमेजलाई कलात्मक ढंगले प्रस्तुत गर्नुदेखि देवीकुमारीको आइकनलाई विपरीत रङको भाषामा प्रस्तुत गर्नु पनि उनको खास विशेषता देखिन्छ ।
- शैलीका काम
शैली राणा विष्टले शिव–पार्वतीको जोडीलाई अलग्ग पोस्चरमा प्रस्तुत गर्ने गर्छिन् । फूलको गुच्छा लिएर बसेकी देवी पार्वती मदहोस भएर भगवान् शिवको अँगालोमा बाँधिएको चित्र अनौठो संयोजनमा देखिन्छ । आजको युवा जोडीको जस्तो भाव–भङ्गिमा तर पोस्चर भगवानको जस्तो संयोजन हुँदा एक अलग्ग शैलीको निर्माण भएको देखिन्छ । जहाँ धार्मिक सुगन्ध पनि देखिन्छन् भने समसामयिकताका विशेषतालाई पनि छाम्न सकिन्छ । कलामा स्याक्रेड र सेकुलर लक्षण मिलेर देखिनु पनि आफैँमा अनौठो परिकल्पना हो । पृष्ठभूमिमा रहेको सानो त्रिशूलसहित मन्दिर देखिँदा अपार भक्तिभावको आभास हुन्छ । अनि आधुनिकताको सोच पनि मिसाइँदा उनीमा सिर्जनशीलता यथेष्ट मात्रामा देखिन्छ । मौलिकताको खोजीमा देखापरेका यस्ता विम्बलाई धार्मिक चित्र र आधुनिक चित्रको समागमन पनि भन्न सकियो ।
शैलीको एउटा चित्रको सन्दर्भ लिउँ । जहाँ शैली फूलहरूसँग नारीलाई समायोजन गर्ने तर्र्खरमा लागेको देखिन्छन् । फूलका प्रतीकात्मक विम्ब उहिले पनि लिने गरिन्थ्यो भने आज फूलहरूका बिचमा नारी देखिनु अर्को अपनत्वको द्योतक पनि हो । परम्परागत वेशभूषा, गरगहनालाई उत्तिकै रूपमा अगाडि ल्याई उनले परम्परागत संस्कार बचाइराख्ने चाहना राखेको देखिन्छ । नितान्त गरम तातो रङको रुचि राख्ने कलाकारको रूपमा उनी देखिन्छिन् । यति नै बेला तराईको संस्कृति संस्कारलाई पनि उत्तिकै रूपमा प्राथमिकतामा राखेको देखिन्छ ।
शिला राजभण्डारीका काम
शिला राजभण्डारीले आफ्ना चित्रमा परम्परागत नेवारी वेशभूषामा बढी ध्यान केन्द्रित गर्छिन् । महिलाहरू शृंगारपटार गरी चिटिक्क भई बाहिर निस्केको सन्दर्भ चित्रमा ल्याउँदा पनि उनले कुनै न कुनै देवी–देवता वा चाडबाड आदिलाई जोडेको देखिन्छ । विशेष पहिरन, विशेष वेला, विशेष ठाउँ आदिलाई मिलाउँदै कलाको संयोजन गर्नु उनको खास विशेषता देखिन्छ ।
चाडबाडका वेला नेवार समुदाय कसरी कस्तो वेशभूूषा र कस्तो हाउभाउमा देखिन्छन् भन्ने उनका कलामा स्पष्ट देख्न सकिन्छ । यसले चाडबाड वा शुभकार्यमा महिलाले लगाउनैपर्ने पहिरन, गरगहनाले झपक्कै ढाक्नैपर्ने नेपालीको संस्कृतिलाई देखाउन पनि विशेष कोसिस गरेको देखिन्छ ।
नेवारी संस्कारमा अभिन्न अंग बनेको हाकुपटासी, विशेष प्रकारको पूजाको थाली, सहेलीसँगको हँसिलो मुहार आदि पनि उनका चित्रका अभिन्न अंग बनेका छन् । परम्परा अनि संस्कृतिका स–साना अवयवलाई प्रस्तुत गर्ने उनको चाहना देखिन्छ । महिलाले विशेष दिन वा पूजाआजा, बिहे, चाडबाडमा लगाउने रातो सारीलाई विशेष रूपमा ल्याउने अभिलाषा राखेको पनि देखिन्छ । युगल जोडीकै सन्दर्भमा पनि जंगलतिर घुम्न जाँदाको परिदृश्यमा महिला–पुरुष जम्मै चिटिक्कै परेर काल्पनिक स्वरूपमा देखिनु उनको खास विशेषता देखिन्छ ।
समग्रमा पाँचैजना कलाकार नेपाली मौलिकता, संस्कृति अनि संस्कारमा औधि आस्था भएका देखिन्छन् । देवी–देवतामा भक्तिभाव राखेर सिर्जना गरिएका यी कलामा समुदायको दैनिकी र संस्कृतिलाई जोडिएर आएको देखिन्छ । विशेष गरी नेवार समुदायको खास वेशभूषा र हाँसी–खुसीको वातावरणलाई प्रस्तुत गर्ने चाह राख्नु अझ मूल उद्देश्य देखिन्छ । अहिलेको युवा कलाकारहरूको यो एउटा विशेषता पनि हो ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसारभर महिलाहरूको अधिकार कसरी खोसिँदै छ ?
-
एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने
-
बढ्दै मध्यपूर्व तनाव : अमेरिकी सेना उत्रियो हुथीविरुद्ध आक्रमणमा
-
बार्सिलोनालाई हराउँदै एटलेटिको ला लिगाको शीर्षस्थानमा