शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

रोशन परियारका तीन कविता

शनिबार, ०६ पुस २०८१, १५ : ४८
शनिबार, ०६ पुस २०८१

१) उकालो 

आफूभित्रको सामथ्र्य थाहा पाउन

उकालो चढ्नुपर्छ

आफ्नै पैतालामा आफूले गरेको विश्वास बुझ्न पनि 

उकालो चढ्नुपर्छ 

अगाडि उक्लिइयो भने पछाडिकालाई तान्न सकिन्छ

पछाडि परिइयो भने अगाडिकालाई ठेल्न सकिन्छ

तान्नु र ठेल्नुको सबभन्दा ठूलो अन्तर थाहा पाउन पनि उकालो चढ्नुपर्छ 

टेक्दा टेकिनेको भर बुझ्न 

अथवा

समाउँदा समाइनेको भरोसा बुझ्न पनि उकालो चढ्नुपर्छ 

थकानको भाषा बुझ्न अथवा

धड्कनको साथ बुझ्न पनि उकालो चढ्नुपर्छ 

फर्केर हेर्दा मैदानको धीरता बुझ्न 

टेकेर उचाइको जोखिम मोल्न पनि उकालो चढ्नुपर्छ 

खुट्टा तान्नेहरूलाई अवसर दिन 

अथवा 

खुट्टैबाट ‘उठाउनुपर्छ’ भन्नेहरूलाई चिन्न पनि उकालो चढ्नुपर्छ ।

२)  प्रेम : एक प्राप्तिविहीन पर्खाइ 

...त्यसपछि 

गल्लीहरूमा भिड हुनेछ 

नजरका बथानले पछ्याइरहेका हुनेछन् मलाई

तिनै नजरहरूमा म

खोजिरहेको हुनेछु तिमीलाई । 

फेरि पनि 

गाउनेछन् असंख्य आँखाहरूले प्रेमिल सरगम

म उसै गरी

प्रेमको पहिलो ढुकढुकी सुनिरहेको हुनेछु त्यहाँ । 

हिउँदको सिरेटो पस्नेछ उसै गरी

निर्वस्त्र बनाउनेछ वस्त्रकै आँखा छलेर

भिजाउनेछ वर्षात्ले उसै गरी ओठको पल्लो कुनालाई

बाफिनेछु म 

झरीका औँलाहरूमा अल्झिएर फेरि पनि

छोप्नेछ भुइँकुहिरोले मेरो आँखाको प्राचीन उत्तेजना

पोखिनेछु म

आधुनिक परेलाको अग्लो डिलबाट । 

मौनताको आवाजले चिथोर्नेछ मलाई

म बासी आवाजको स्पर्शले सुमसुम्याइरहेको हुनेछु आफूलाई

जिस्काउनेछ मलाई

जूनको नग्न सौन्दर्यले उसै गरी

म अँध्यारोमा पोतिरहेको हुनेछु यौवनको गाढा रङ । 

पलाउनेछन् हाँगामा झरिला यादहरू उसैगरी

म तिम्रो मन बसेको डालीलाई जोगाइरहेको हुनेछु

उठ्नेछन् नदीमा धारिला छालहरू उसै गरी 

तिमीले नछोई भत्कन लागेका मेरा ओठका किनाराहरू बचाइरहेको हुनेछु म । 

फेरि पनि 

खुल्नेछन् पर्खाइका पल्लाहरू

म मुटुको दैलो खोलेर मिलाइरहेको हुनेछु 

तिमी बस्ने आसन उसै गरी

फेरि पनि

पलाउनेछन् प्रेमका कलिला पालुवाहरू

म छामिरहेको हुनेछु छातीभित्र

प्रेमका गहिरा डोबहरू उसै गरी । 

उडेर बस्नेछन् पुतलीहरू तिम्रै मुस्कानको तस्बिरमाथि

खिचिरहेको हुनेछु म त्यही तस्बिरको अर्र्को तस्बिर 

उसै गरी आउनेछ ऋतुहरूको बुई चढेर शिशु खाम

खोजिरहेको हुनेछु म

त्यही ऋतुमा तिम्रो सौन्दर्यको भूतपूर्व ठेगाना । 

फेरि पनि

हिँड्नेछन् पैताला बोकेर बाटाहरू

उड्नेछन् आकाश बोकेर चराहरू

बाँच्नेछन् अँगालो पिएर अँध्याराहरू

हाँस्नेछन् मुस्कान पोतेर उज्यालाहरू

चल्नेछ हुरी टुकीको माझ आँगन हुँदै 

फेरि पनि

बस् ! फेरि पनि...  

जसो गरी उठ्नेछ, मृत्यु च्यापेर एउटा बिहान

उसै गरी सुत्नेछ, प्रेम ओढेर अर्को चिहान । 

जसो गरी हराउनेछ, तिम्रो प्रेमको आभा अन्तिमचोटि 

उसै गरी भेटाउनेछु म, तिम्रो प्रेमको आभा पहिलोचोटि । 

त्यसपछि...

३) झार : एउटा अर्को विद्रोह

यसरी हेपिँदा पनि खुसी हुन्छु म

जसरी नजिकै उभिएको हुन्छ अग्लो रुख 

रतीभर हीनताबोध नबोकी सोच्छु

कुन उचाइको चरम आकांक्षाले अग्लिँदो हो रुख

या त

कस्तो अहंताको चाहनाले फुर्किंदो हो

उसको अग्लोपन

म उसकै पाउ नजिक बसेर हेरिरहेको हुन्छु 

मेरो आँखाको परेलीअगाडि नै

ऊ फुकाल्छ आफ्ना पातहरूका लुगा र नाङ्गिन्छ

म उसको नाङ्गोपनमा खुब लजाउँछु 

म सहन र स्विकार्न बानी परेको बुझेर होला

सायद 

ऊ ममाथि झम्टिन र गिज्याउन बहाना खोजिरहन्छ

कहिलेकाहीँ आफ्नै हात भाँचेर पनि

ममाथि बर्सिनुको मजा लिइरहन्छ ऊ

उसको प्रहारले थेप्चिएको मेरो शिर भने

फेरि ऊतिरै फर्केर उसकै उचाइको कामना गरिरहन्छ 

एउटै माटो ओछ्याएर बसेका

अथवा

एउटै स्वाद चाखेर अघाएका हामी

एउटै छाती अठ्याएर उभिएका

अथवा

एउटै हिलोमा गाडिएका हामी बिचको 

दरारलाई

खाडललाई

असमानतालाई

एक दिन 

मैले मेरो धैर्यताको मसिनो प्वालबाट हेरिरहेको थिएँ 

जतिबेला म निर्धक्क बनेर हेरिरहेको थिएँ 

त्यतिबेला उसलाई हुरीको तरबारले काटिरहेको देखेँ

असिनाका बन्चराहरूले हिर्काइरहेको देखेँ

पानीका कोर्राहरूले लुछिरहेको देखेँ 

चट्याङका आगोहरूले पोलिरहेको देखेँ

उसको भरोसामा घर बनाएर बसेका

चरा र चराका बचेराहरूको उठिबास देखेँ

रुवाबासी देखेँ 

मभित्र करुणाको खानी पलायो

मभित्र दयाको मूल फुट्यो

मलाई उसको शिर भाँचिनुले असह्य पीडा भयो

मलाई उसको अर्ध शरीरको उचाइले आघात भयो

मलाई ती चरा र चराका बचेराहरूको जिउँदो मृत्युले भतभती पोल्यो 

म झार न हुँ

संवेदना भएर पनि म निरीह बनेँ

सदाशयता भएर पनि म निरर्थक बनेँ 

मभन्दा लाखौँ गुणा अग्लिएको रुख भाँचिदै गयो

क्रमशः मैमाथि पछारिँदै गयो 

मैले अग्लोपनको कहालीलाग्दो दृश्य आफ्नै आँखाले तहसनहस बनेको देखेपछि

मलाई अग्लिनुको भोक कहिल्यै जागेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन परियार
रोशन परियार
लेखकबाट थप