बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

एमालेका नेता ज्ञवाली अचानक दिल्लीमा

शनिबार, ०६ पुस २०८१, १४ : ३२
शनिबार, ०६ पुस २०८१

काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा भारत भ्रमणमा रहेको बेला नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली पनि अचानक भारतको दिल्ली पुगेका छन् । भारतस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्री आरजु राणा देउवाका लागि आयोजना गरिएको रात्रीभोजमा उपमहासचिव ज्ञवालीले पनि देखिएका हुन् ।

युरोप भ्रमण सकेर पुस ४ गते दिल्ली पुगेकी परराष्ट्र मन्त्री आरजुले हिजो पुस ५ गते आयोजित नेपाल–भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरेकी थिइन् ।

उनी आफ्नो स्वास्थ्य चेकजाँच गराएर सोमवारसम्म नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ । परराष्ट्र मन्त्री आरजुले भारतीय समकक्षी एस.जयशंकरसँग भेट्ने तयारी भए पनि त्यो अधुरै भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुवेत भ्रमणमा निस्किएपछि विदेश मन्त्री एस.जयशंकर पनि सँगै गएका छन्  ।

परराष्ट्र मन्त्री आरजुसँग मन्त्री जयशंकार मात्र होइन, भारतीय विदेश मन्त्रालयका कुनै पनि अधिकारीले भेटेका छैनन् । पुस ४ गते विदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने मनु महवारले भारतका लागि कार्यवाहक राजदूत डा.सुरेन्द्र थापालाई मन्त्रालयमा बोलाएर परराष्ट्र मन्त्री आरजुको भारत भ्रमणको बारेमा छलफल गरेका थिए । तर विदेश मन्त्री एस.जयशंकरको भेटघाटको समय तालिका नमिलेका कारण भेटघाटको सम्भावना कम देखिएको छ । भारतीय प्रधानमन्त्री मोदी कुवेतबाट भोलि साँझ फर्किने कार्यक्रम रहेको छ ।  

तर उपमहासचिव ज्ञवाली दिल्ली किन पुगे  ? यो कुरा अझै खुलेको छैन । पुस ४ गते पोखरामा सिचुआन विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले संयुक्त रूपमा आयोजना गरेको “फेवा संवाद” कार्यक्रममा सहभागी भएर उनी दिल्ली उडेको बताइएको छ ।

पछिल्लो समय नेपाल–भारत बिच सम्बन्ध चिसिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सम्बन्ध बनाउनका लागि विभिन्न सूत्रहरू प्रयोग गरिरहेका छन् । प्रधानमन्त्री ओली भारत भ्रमण गर्ने मुडमा रहेको तर भारतबाट निमन्त्रणा नआएका कारण रोकिएको श्रोतले बताएको छ ।

परराष्ट्र मन्त्री राणा प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउने वातावरण बनाउन दिल्लीमा रहेका बेला अचानक एमालेका उपमहासचिव ज्ञवाली पनि त्यहाँ पुगेका छन् ।

ज्ञवाली एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली निकट मानिन्छ । भारत र चीनसँग जब प्रधानमन्त्री ओलीको सम्बन्ध बिग्रिन्छ त्यतिबेला ज्ञवाली सक्रिय हुने गरेका छन् । यसअघि पनि प्रधानमन्त्री ओलीको दूत भएर उनी भारत गएका थिए ।

यसपटक पनि प्रधानमन्त्री ओलीको दूत भएर उनी दिल्ली गएको बताइएको छ । यद्यपि दिल्लीमा न अहिले प्रधानमन्त्री मोदी छन्, न विदेश मन्त्री जयशंकर न राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप