शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय
निबन्ध

के हरायो ? के हरायो ?

शनिबार, ०६ पुस २०८१, १६ : ०८
शनिबार, ०६ पुस २०८१

कुरा मंसिर २० गते बिहानको हो । करिब ८ बजेको थियो होला । नित्यको प्रभातकालीन हिँडाइ सकेर घर पुग्दा जीवनसाथी शारदा सापकोटाले भनिन्, ‘लौ न, मेरो एउटा चाहिँ हरायो । कता पुग्यो कता ? आधा घन्टादेखि खोज्याखोज्यै छु, भेट्दै भेटिनँ, खोजिदिनुपर्‍यो ।’ 

यति भएपछि मलाई परी गो बित्यास । खोज्न थालेँ । यसो सम्झेँ । हाम्रोमा के चाहिँ हराएको छैन । विमानस्थलबाट सुन हराएको छ । समाजबाट इमान हराएको छ । न्यायालयबाट न्याय हराएको छ । सरकारबाट सुशासन हराएको छ । राजनीतिक दलहरूले निर्वाचनताका प्रस्तुत गरेका घोषणापत्र दशकौँ दशकदेखि हराएको हरायै छन् । सहकारी, बैंक र वित्तीय संस्थाहरूबाटै पैसा हराएको छ । बजारमा मन्दीले पारेको चोटले व्यापारीको आर्थिक कारोबार हराएको छ । त्यो अवस्थाले भन्छ, ‘जनतासँग पैसा हराएको छ । त्यति मात्र हो र ! राजनीतिक दलहरू तिनका नेताहरूको नैतिकता, इमान, जमान, सम्मान स्वाभिमान हराएको छ । होइन के चाहिँ हराएको छैन यहाँ ?

हराएको कुरा सम्झँदै ल्याउँदा संसारमा हराएको कुरा पो सम्झेँ । अहिलेको संसारमा सिद्धान्त र व्यवहार हराएको दशकौँ दशक भइसक्यो, भेटिँदैन त । अँ साँच्चै सन् १९४८ यता संसारमा ७८ वटा हवाईजहाज हराए, अहिलेसम्म भेटिएको छैन । विश्वमा लाखौँ मानिस हराएका हरायै छन् प्रतिवर्ष । सन् १९९० यता संयुक्त राज्य अमेरिकामा मात्रै पाँच लाख ६३ हजार तीन सय ८९ मानिस हराएको हरायै छन् । अरुको कुरा के गर्नु ? नेपालमै सन् १९९६ यता हजारौँ नेपाली हराइरहेका छन्, भेटिएका छैनन् (आधिकारिक तथ्याङ्कको अभावमा संख्या लेखिएन) । 

उद्योगीहरूले विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने महसुल, एनसेलले सरकारलाई तिर्नुपर्ने कर समेत हराएको हरायै छ । कसले खोजेको छ र ? संसारमा सन् २०१३ यता ८०७ वटा पानीजहाज (पनडुब्बी)हरू हराएको हरायै छन्, भेटिएको छैन । हामीकहाँ समुद्र छैन । त्यसैले नेपालमा पानीजहाज हराएको छैन । ठुला ठालुका ठुलै कुरा हराउँछन् । आफू त परियो अति सामान्य मानिस । सामान्य मानिसको हराउँदा के नै हराउँछ र ! नैतिकता, इमान, जमान, सम्मान र स्वाभिमान हराउने कुरै भएन । त्यो हराउने बाटोमै लागिएन । त्यही त हराउँदा अति सामान्य कुरा हराउने न हो ।

अर्धाङ्गिनी शारदा सापकोटाले खोज्नु भनेर दिएको आदेश नमान्दा बिहान–बेलुका भुँडी भर्न नपाइएला भन्ने डर । म पनि निस्केँ खोजीमा । घर वरिपरि, बारी, छरछिमेक, टोल र अलि पर्तिर पनि खोजेँ । भेटिनँ । भएन अझै खोज्नुपर्‍यो भनेर अझ पर–पर गएँ । रैथाने त होइन म गट्ठाघरको तर २५ वर्षदेखिको सम्बन्धले मलाई रैथाने नै बनाइसक्यो । किनभने मौका पाउँदा सबैसँग बोलचाल गर्ने बानी जो लागेको छ । चिने जतिलाई सोध्दै हिँडेँ, सोध्दा मेरो के जान्छ र ? मलाई शंका लाग्यो, ‘सामान हराउनुको प्रमुख कारक कुकुर त होइन ?’ त्यही त हो, मानव जातिको पहिलो घरपालुवा जनावर । 

संसारमा सन् २०१३ यता ८०७ वटा पानीजहाज (पनडुब्बी)हरू हराएको हरायै छन्, भेटिएको छैन । ठुला ठालुका ठुलै कुरा हराउँछन् । आफू त परियो अति सामान्य मानिस । सामान्य मानिसको हराउँदा के नै हराउँछ र ! नैतिकता, इमान, जमान, सम्मान र स्वाभिमान हराउने कुरै भएन ।

त्यसो त कुकुर र मान्छेको सम्बन्ध धेरै पुरानो हो । भौतिक विज्ञान र मानव जातिको विकासात्मक क्रमलाई विश्वास गर्ने हो भने रमाइलो छ । हुन त आ–आफ्नो विश्वास न हो । अनेकौँ विद्वानले अनेकानेक अनुमान गरेका छन् तर जेरुसेलम विश्वविद्यालयका इतिहासका प्राध्यापक एवं विश्व चर्चित लेखक युभल नोह हरारीका अनुसार मानव जातिले घरपालुवा बनाएको पहिलो जंगली जनावर कुकुर हो । जंगली ब्वाँसोपछि अनुवांशिकी विकासक्रममा कुकुर बन्यो कि कुकुर पहिलेदेखि नै कुकुर थियो र कुकुर बन्यो ? भो ! अहिले त्यता नजाउँ । १५ हजार वर्ष भयो अरे, मानव जातिले कुकुरलाई घरपालुवा बनाएको ।

अँ, म त हराएको सामान पो खोज्न हिँडेको थिएँ । सोध्दै खोज्दै हिँड्दा मेरो घरभन्दा आठ सय मिटर परकी छिमेकी पोख्रेलले सोध्नुभयो, ‘खैरो–खैरो कि गुलाबी रङको जस्तो छ, हो कि होइन ?’ 

मैले भनेँ, ‘हो ।’ त्यसपछि म अधबैँसे छिमेकी पोख्रेल महिलाको पछि–पछि लागेँ । झन्डै दुई मिनेट हिँडेपछि भेटियो, परको छिमेकी विष्णु रानाभाटको गोठछेउ । दंग परेँ । 

रिसानी माफ होस् । मेरो जीवनसाथीको क्यानडामा किनेको पुमाको नयाँ जोडी जुत्तालाई रैथाने कुकुरले बेजोडी बनाउन मद्दत पुर्‍याएको रहेछ । खोई कुन्नि कतिबेला कुकुरले घरबाहिर राखेको जुत्ताको तख्ताबाट दाँतले टोकेर निकै पर आठ सय मिटर पर पुर्‍याएको रहेछ । भेटियो । अर्धाङ्गिनी पनि दंग म पनि मख्ख ।

जुत्ता हराएको सम्झना पनि अनेक छन् । मोरो जुत्ता ! दुई वर्षअघि पशुपतिनाथको पारिवारिक दर्शन गर्न जाँदा गलत स्थानमा राख्नाले अडिडासको नयाँ जुत्ता चोरी भएको थियो । फलतः आधुनिक बग्गी बिसौनीसम्म खाली खुट्टा हिँड्नुपरेको थियो ।

जसरी दुई वर्षअघि मेरो अडिडासको नयाँ जुत्ता हरायो, त्यसै गरी हाम्रो समाजमा धेरै कुरा हराएका छन्, आउनुस् । हामी सबै मिलेर खोजौँ । हुन्न ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रज्वल चापागाईं
प्रज्वल चापागाईं
लेखकबाट थप