शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय
त्यो लिम्बुनी पुल

विष्णुमाया आङबुहाङ भनौँ या नेपाली आमा !

शनिबार, ०६ पुस २०८१, १५ : ००
शनिबार, ०६ पुस २०८१

विष्णुमाया आङबुहाङ लिम्बुनीको नाउँ धेरैलाई थाहा छैन । दार्जिलिङको सेन्ट जोसेफ कलेजका प्रोफेसर राजनारायण प्रधान भन्थे, ‘म आठराईमा २०१७ सालदेखि चार वर्ष बसेँ । त्यति बेला मैले त्यहाँ धेरै कुराको चमत्कार देखेँ । अर्को एउटा आश्चर्य के थियो भने एउटी लिम्बुनीले नै त्यो भेग थर्काएकी रहेछिन् । त्यहाँ धनी हुँ भनेर लामालामा नाक तेस्र्याउने कुमाईंहरूलाई पनि एकजना लिम्बुनीले थचक्कै बसाइकी रहेछिन् । ती लिम्बुनीलाई म महान् भन्छु र नेपाली आमा मान्छु ।’

वास्तवमा विष्णुमाया आङबुहाङको नाउँ लिन भाग्य चाहिन्छ । उनको नाउँ काढेर म पनि मेरो भाग्यप्रति थप गौरवी बोध गर्छु । छातीमा हात राखेर भन्ने हो भने उनी साँच्चैकी नेपाली आमा थिइन् । उनी पूर्वी पहाडकै एउटी महामना नारी थिइन् ।

विष्णुमाया आङबुहाङ लिम्बुनीको नाउँ मैले बाल्यकालमै सुनेको थिएँ । वारि हाङपाङबाट पारि चाँगेको नेसुम देखाएर मेरी आमा भागीरथा प्रसाईं भन्ने गर्थिन्—‘पुल थाप्ने लिम्बुनी बडी आमाको घर त्यतै हो । पण्डित चिरञ्जीवी गौतम र माइला मुखिया धनपति चुडालको घर पनि त्यतैतिर हो ।’ त्यसै बेलादेखि मेरो मनमा ती लिम्बुनी आमाप्रति श्रद्धा पलाएको थियो । उनीप्रति मेरो कति श्रद्धा थियो भने अति थियो ।

समाजसेवी धनपति चुडाल र पं. चिरञ्जीवी गौतम चाँगे नेसुमका प्रख्यात समाजसेवी थिए । यी दुई भाइ मिलेर त्यहाँ स्कुल पनि खोलेका थिए । त्यस भेगमा पहिलो अंग्रेजी स्कुल त्यही नै थियो । त्यही गाउँकी एउटी नारीले पौरख रोपेपछि त्यस भेकमा समाजसेवाको थप लहर आएको थियो । सायद मेरी आमा भागीरथा प्रसाईंले पनि लिम्बुनी बडीकै प्रेरणाले जिजु हाउसको गोदाम हाङपाङमा स्कुल स्थापना गरेकी थिइन् । 

मैले मेरो जीवनमा पहिलोपल्ट समाजसेवी भनेर विष्णुमाया आङबुहाङकै मात्र नाउँ सुनेको थिएँ । त्यसपछि अहिलेसम्म मैले षडानन्द अधिकारी, तुलसीमेहर श्रेष्ठ, जनरल भूपालमानसिंह कार्की, देवीप्रसाद उप्रेती, हरिचरण सिटौला, ओमप्रसाद गौचन, छविलाल पोख्रेल, हरिहर गौतम, खगेन्द्रबहादुर बस्नेत, बद्रीविक्रम थापा, दयावीरसिंह कंसाकार, रानी जगदम्बाकुमारीदेवी राणा, भक्तकुमारी घले, दीर्घराज कोइराला, लक्ष्मीनारायण प्रसाद, डा. रामप्रसाद पोख्रेल, डा. मृगेन्द्रराज पाण्डे आदिको नाउँ पनि सुन्दै आउन थालेँ । 

यति हुँदाहुँदै पनि नेपालको परिवेशमा विष्णुमायाले गरेको सेवा अरू कसैसँग तुलनै हुँदैन भने पनि हुन्छ । 

समाजसेवाका फाँटमा ऊ विष्णुमाया आङबुहाङ नम्बरी सुन थिइन्, तर उनको नाउँ धेरैलाई थाहै भएन । अझै पनि उनको नाउँ स्थानीय जिल्लादेखि केन्द्रसम्म चल्तीमा आउन सकेन । आफ्नो कर्मका कारण धेरै समाजसेवी चर्चाको शिखरमा आइरहे तर उनको सेवाको दियो देखाइदिन कुनै मोतीरामहरू अघि सरेनन् । वास्तवमा उनको सेवा जनउद्धारका लागि मनबाटै समर्पित थियो तर उनले नाउँ चलाउन सेवा गरेकी थिइनन् ।  

कुनै पनि कुवेरको मन, वचन र कर्मले साथ नदिइरहेको अवस्थामा एउटी नारीले आफ्नो श्रीसम्पत्ति तमोर नदीमा विश्रान्ति गराएकी थिइन् । जुन सम्पत्तिको त्यस भेगका प्रत्येक प्राणीले भोग गरे । एउटा घरको भण्डारमा केन्द्रित धन जगतको हितमा समर्पण गर्ने ती एउटै विराङ्गना थिइन्— विष्णुमाया आङबुहाङ लिम्बुनी ।

देशका कुनाकाप्चामा अहिले त आवश्यकता अनुसार झोलुङ्गे पुल बन्न सकिरहेको छैन । त्यस बेला देशले त्यति खर्च लगाएर फलामै फलाम र काठले सुसज्जित त्यस प्रकारको आधुनिक झोलुङ्गे पुल निर्माण गर्न नसकेको अवस्थामा विष्णुमाया आङबुहाङले आफ्नो हैसियत देखाएकी थिइन् । भनौँ २००९ सालतिरै उनले आफ्ना दुई भाइ छोराहरु भुवान्सी र रणबहादुरको सहयोगमा तमोर नदीमा अति भव्य, आकर्षक र सुरक्षित पुल थापेकी थिइन् । उनले आफ्ना दिवङ्गत पतिको मुक्तिका लागि त्यो पुल बनाएकी थिइन् । अनि त्यस पुलले ‘लिम्बुनी पुल’का नाउँबाट प्रसिद्धि कमाएको छ ।

विष्णुमाया आङबुहाङले ‘लिम्बुनी पुल’ बनाउनु १० वर्षअघि नै ताप्लेजुङ र तेह्रथुमका मुख्यमुख्य ठाउँहरुमा ढुङ्गेबाटो, घोडेबाटा, गोरेटा, चौतारा, घाट र पाटीहरु पनि बनाएकी थिइन् । त्यति विराट् मन भएकी नारीले शिक्षाका लागि पनि आफ्नो मन खोलेकी हुनुपर्छ तर उनको सेवाबारे कहीँकतै चर्चा भएन ।

लिम्बुनी पुल विष्णुमाया आङबुहाङले आफ्नै गाउँमा पनि बनाइनन् । भनौँ उनको गाउँमा लिम्बुनी पुल थिएन । लिम्बुनी पुल पुग्न उनका घरबाट चार घन्टा जति ओरालो हिँड्नुपथ्र्यो । आफ्नो गाउँदेखि पनि टाढा उनले पुल थाप्ने सर्वेक्षण गरेकी थिइन् । किनभने त्यस ठाउँमा त्यस पुलको साह्रै खाँचो थियो । त्यसैले जनचाहनामा उनले आफ्नो इच्छा साकार पारेकी थिइन् ।

पाँचथरको अमरपुर र ताप्लेजुङ निघुरादिन (फूलबारी)मा अवस्थित तमोर नदीमा लिम्बुनी पुलको निर्माण गरेपछि त्यो ठाउँ नै सुगममा परिणत भयो । तेह्रथुम र ताप्लेजुङ जिल्ला अन्तर्गत आठराई हाङपाङ पुगेर दोभान, ताप्लेजुङ हुँदै पाँचथरसम्म पुग्ने या चुहानडाँडाको सिटौला पुलबाट पाँचथरको सुभाङ या ताप्लेजुङको पूर्वी भेग पुग्नेका लागि लिम्बुनी पुल वरदानै भएको थियो । 

दार्जिलिङ, सिक्किम र तिब्बतबाट मजदुरले थाप्लो र काँधमा बोकेर लिम्बुनी पुल निर्माणका लागि फलामे सामग्री जुटाएका थिए । त्यस बेला त्यस भेगमा पैदल हिँड्ने फराकिलो बाटो पनि थिएन । भारी बोक्नेले पनि खेतका कान्ला र बारीका डिलबाट हिँड्नुपथ्र्यो । त्यस बेला नेपालका पहाडी ठाउँमा सवारी–साधनको त प्रायः कल्पनै थिएन । यति हुँदाहुँदै पनि विष्णुमाया आङबुहाङको हिम्मत थियो । त्यसैले उनले त्यतातिरका तमाम मान्छेको सपना साकार गरिदिइन् ।

त्यस बेला लिम्बुनी पुल बनाउनु अकल्पनीय नै थियो । अथवा फलामबाट बनेको त्यस्तो पुलको बेहोरा पनि एकादेशको कथै हुन्थ्यो । वास्तवमा लिम्बुनी पुल बनाउन कति खर्च लाग्थ्यो, त्यो पनि अनुमानित बजेटमा आधारित थिएन । अथवा भनौँ पुल निर्माण गर्दा खर्च कति लाग्छ भन्ने समेत कल्पना गर्न सकिँदैनथ्यो तर एउटी निरक्षर नारीले अकल्पनीय काम गरेर आफूलाई राष्ट्रकै एउटा विम्ब बनाएकी थिइन् तर राष्ट्रले उनलाई कहिले चिनेन, जानेन र उनको खोजीसम्म गरेन ।

विष्णुमाया आङबुहाङ लिम्बुनीको जन्म ताप्लेजुङको चाँगेस्थित नेसुममा भएको थियो । उनका नाति पोमु सेन्छेहाङ लिम्बु (प्रवीन)ले जनाए अनुसार उनी १९३४ सालमा जन्मेकी थिइन् । पुल थापेको पाँच वर्षमा लिम्बुनी बडीआमाको निधन भएको थियो । भनौँ २०१५ सालको सरस्वती पूजाका दिन आफ्नै घरमा उनी स्वर्गीय भएकी थिइन्; तर उनी ‘लिम्बुनी पुल’बाट चिरञ्जीवी भइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप