चेसका बादशाह गुकेश
- एस सुजाथा
आठ वर्षको बालकको सपना के हुन सक्छ ? कुनै नयाँ भिडियो गेम, मन परेको खेलौना वा रमाइलो लाग्ने ठाउँ घुम्न जाने यस्तै–यस्तै; योभन्दा धेरै भयो भने आफूलाई मनपर्ने चर्चित खेलाडीसँगको सेल्फी वा अटोग्राफ । बालक गुकेश डोम्माराजुको सपना भने असाधारण थियो— चेसको विश्व विजेता बन्ने ।
चेसमा भारतका सम्भवतः सर्वश्रेष्ठ खेलाडी विश्वनाथन आनन्दबाट प्रभावित हुँदै गुकेशको सपनाको दियो सल्कियो । उनले आफू पनि कुनै समय विश्वकै सर्वश्रेष्ठ खेलाडीसँग त्यही टेबलमा भिड्ने कल्पना दिमागमा बोक्न थाले ।
गुकेश भन्छन्, ‘सन् २०१३ को विश्व च्याम्पियनसिपको खेल, विश्व विजेता आनन्द सर र प्रतिद्वन्द्वी म्याग्नस (काल्र्सन)को बिचमा मेरो घर भएको सहर चेन्नाईमा भएको थियो । मेरो बुवाले मलाई त्यहाँ लैजानुभयो । त्यहाँ आनन्द सरका लागि उर्लिएको समर्थन, सम्मान र त्यहाँको माहोल देखेर म असाध्यै पुलकित भएँ । उहाँले त्यो खेल हार्नुभयो । मलाई धेरै नमज्जा लाग्यो । मलाई लाग्यो, कुनै दिन मैले यो उपाधि भित्र्याउनैपर्छ । समयसँगै यो भावना ममा अझ प्रगाढ बन्दै गयो ।’
त्यो काँचको पर्खालभित्र आनन्द सरले खेलेको ठाउँबाट पलाएको गुकेशको सपनाको कोपिला १२ डिसेम्बर २०२४ मा सिङ्गापुरमा फक्रन पुग्यो । उनी आजसम्मकै सबैभन्दा कम उमेरको विश्वविजेता बन्न सफल भए ।
- शिखरको आरोहण र आमा
गुकेश आफ्नो तीव्र प्रगति र प्रतिभाका कारण १२ वर्षको कलिलो उमेरमै ग्रान्डमास्टर बन्न सफल भए । यस्तो सफलता निकै कमले मात्र हासिल गरेका छन् । उनी विश्व विजेता बन्दा उनले आफूभन्दा अघि कम उमेरमा विजेता बनेका ग्यारी कास्पारोभको रेकर्ड पनि तोडिदिए । कास्पारोभले सन् १९८५ मा एनाटोली कार्पोभलाई जितेर पहिलोपटक विजेता बन्दै गर्दा उनी २२ वर्षका थिए ।
गुकेशको सफलता बा–आमाको पसिना र त्यागको बाटोबाट उचाइमा पुगेको हो । वर्षौंदेखिको कठोर परिश्रम र उनको परिवारको त्यागले उनलाई यो ठाउँमा पुर्यायो ।
संयोगवश गुकेशको ऐतिहासिक जितको खुसी बाँड्ने पहिलो मान्छे तिनै कास्पारोभ हुन आइपुगे । खेल सकिएलगत्तै उनले सामाजिक सञ्जालमा लेखे, ‘उसले संसारकै सबैभन्दा अग्लो शिखर चुम्यो अर्थात् उसले आमालाई खुसी बनायो ।’
यो उचाइ हासिल गर्न उनले सिंगापुरमा चीनका खेलाडी डिङ लिरेनलाई पराजित गर्नुपरेको थियो । १४ चरणमध्ये १३ चरण सकिँदासम्म उनीहरू ६.५ अंकमा बराबरमा पुगेका थिए । अन्तिम खेलको ५५औँ चालमा पुग्दा डिङले एउटा गम्भीर गल्ती गरे, त्यही गल्ती गुकेशको विश्वविजेता बन्ने आधार बन्यो ।
डिङको गल्तीको विश्वव्यापी आलोचना भयो । कुनै समयका विश्वविजेता म्याग्नस काल्र्सनले त यसलाई विश्वस्तरीय खेल नै नभएकोसम्म टिप्पणी गरे । उनले भने, ‘यो त कुनै खुला प्रतियोगिताको तेस्रो चरण जस्तो पो देखियो ।’
तर तिनै कास्पारोभ पुनः गुकेशको रक्षामा देखापरे । उनले लेखे, ‘खेलको स्तर धेरै नै उच्च थियो । कम्तीमा यसअघिका खेलहरू जति त पक्कै थियो । डिङले धेरै बलियो प्रतिरोध गरेका हुन् । जहाँसम्म गल्तीको कुरा छ, यसअघि पनि कुन त्यस्तो विजेता वा खेल छ जहाँ गल्ती नभएको होस् ?’
अन्तिम खेलको ५५औँ चालले मात्र गुकेशलाई विश्व विजेता बनाएको होइन । वर्षौंदेखिको कठोर परिश्रम र उनको परिवारको त्यागले उनलाई यो ठाउँमा पुर्याएको हो । सन् २०२२ मा चेन्नाईमै भएको विश्व चेस ओलम्पियाडमा गुकेशले आफ्नो टिमलाई कांस्य पदक दिलाउन योगदान गरिसकेका थिए ।
उनले हंगेरीको राजधानी बुडापेस्टमा भएको ४५औँ चेस ओलम्पियाडमा आफ्नो प्रतिभा देखाइसकेका थिए । लगत्तै उनी विश्व चेस च्याम्पियनसिप— २०२३ मा छनोट भए । उनको निरन्तर सफलताको पछाडि उनको कठोर मिहिनेत मात्रै नभएर उनको परिवारको अटल साथ र उनका गुरु विश्वनाथन आनन्दको ठुलो भूमिका छ ।
- डाक्टरी पेसालाई तिलाञ्जली
यहाँ अर्को रोचक कुरा के छ भने, गुकेशको परिवार वा नातेदार कसैसँग पनि यसअघि चेस खेलेको अनुभव थिएन । स्कुलमा पढ्न जाँदा गुकेशले आफैँ यसमा रुचि जगाउन थालेका थिए । उनका बा–आमा दुवै जागिरे भएकाले दिनभर घरमा एक्लै रहँदा दिक्क भएका उनले चेसको कक्षा लिने सोचे ।
नजिकैको चेस कक्षामा भर्ना पनि भए । गुकेशको लगन र समर्पणले त्यहाँका प्रशिक्षकलाई प्रभावित गर्यो । समय बित्दै जाँदा बा–आमाले छोराको रुचि बुझ्न थाले । साथै उनलाई सहयोग गर्न थाले ।
गुकेशका बा रजनीकान्त डाक्टर हुन् भने आमा पद्मा कुमारी मेडिकल कलेजकी प्राध्यापक । गुकेशले चेस खेल्न सुरु गर्दा उनीहरूले यसमा लाग्ने समय र खर्चबारे अनुमानै गरेका थिएनन् । चेसले उनीहरूको दैनिकीमै आमूल परिवर्तन ल्याइदियो । झन् गुकेश ग्रान्डमास्टर भएपछि त विभिन्न प्रतियोगितामा बा–आमामध्ये एकजना उनीसँगै रहनुपर्ने हुन थाल्यो ।
गुकेशको परिवार वा नातेदार कसैसँग पनि यसअघि चेस खेलेको अनुभव थिएन । स्कुलमा पढ्न जाँदा गुकेशले आफैँ यसमा रुचि जगाउन थालेका थिए ।
भारतमा प्रायः गरेर आफ्ना सन्तानको लालनपालन गर्नका लागि आमाहरूले नै आफ्नो व्यावसायिक जीवन र सपनाको तिलाञ्जली दिनुपर्ने हुन्छ । पुरुषहरूले यस्तो गरेको बिरलै भेटिन्छ । यसमा गुकेशका बा अपवाद भए । उनले छोराको खेल जीवनको सपना फुल्न दिनका लागि ६ वर्षअघि आफ्नो डाक्टरी पेसा छाडिदिए ।
बितेको ६ वर्षदेखि रजनीकान्तले आफ्नो सबै समय छोराका लागि खर्चिएका छन् । गुकेशको तालिमका सत्रहरू, अन्तर्राष्ट्रिय प्रतियोगिताको योजना निर्माणमा संलग्न हुने मात्रै नभएर उनी हरेक यात्रामा साथै हुन थाले । दुई जनाको कमाइले आरामदायी जीवन बाँचिरहेको परिवार अब आमाको मात्रै कमाइमा चल्नुपर्ने हुँदा धेरै कुरामा सम्झौता गर्नुपर्ने हुन थाल्यो ।
गुकेशकी आमाले धेरै समय काम गर्नुपर्ने हुन्थ्यो । उनले गुकेशको चेस खेलमा अवरोध नआओस् भनेर धेरै कुरामा त्याग गर्नुपर्ने भयो । उनीहरूको बचत पनि थोरै हुन थाल्यो तर बा–आमाले हार मानेनन् । उनीहरू गुकेशको प्रगतिलाई थप बल दिन दिलोज्यान दिएर लागे । उनको सफलता बा–आमाको पसिना र त्यागको बाटोबाट उचाइमा पुगेको हो ।
गुकेशले जितलगत्तै भने, ‘मैले त केवल आफ्नो खेल सुधार्नमा मात्रै ध्यान दिएको हो । मेरा बा–आमाले मलाई यो अवसर दिलाउन धेरै कुरा गुमाएका छ्न । उनीहरूको त्यो त्यागलाई धन्यवाद मात्र भनेर पुग्दैन । जस्तोसुकै अवस्थामा मैले कुनै कुराको पनि पर्वाह नगरी अघि बढ्नका लागि उहाँहरूको प्रयत्न र सपनाले नै मलाई यहाँसम्म निर्देशन गरेको हो ।’
- चेसबोर्ड र भावना
जब गुकेशले अन्तिम खेल जिते उनी उल्लासमा उफ्रिएनन् । चेस बोर्डमा बाँकी रहेका गोटीहरू चलाउँदै गर्दा बरु उनका आँखा रसाए । एकछिनपछि मात्रै उनी सन्तुष्टिको भावसहित उठे र उत्सव मनाउन थाले । उनको संयमता, अनुशासन र गहिरो ध्याउन्न विजय यात्राको संकेतजस्तै थिए ।
सबैको समर्थन क्रिकेटतर्फ नै रहेको देशमा गुकेशको उपलब्धि धेरै ठुलो विषय हो । त्यसैले भारतमा चेस खेलाडीले भोग्नुपर्ने चुनौतीबारे सबैले बुझ्न आवश्यक छ ।
‘जब एक्कासि जितको क्षण आइपुग्यो । मभित्र एकाएक भावनाहरूको लहर चल्न थाल्यो । ममा उल्लास र घबराहटसँगै देखापर्न थाल्यो । अरुबेला जस्तो मैले त्यो बेला आफ्ना भावना नियन्त्रण गर्नै सकिनँ । राहत र खुसीको भावमा अनायासै आँखाबाट आँसु झरिहाले,’ गुकेशले त्यो पल सम्झिँदै भने ।
उनको यो यात्राको सबैभन्दा कठिन पल कुन थियो भन्ने प्रश्नमा उनी भन्छन्, ‘सम्भवतः प्रतियोगीको छनोटका क्रममा आफ्नो स्थान हासिल गर्ने बेला मलाई भावनात्मक रूपमा कठिन अनुभव भएको थियो । मलाई अत्यधिक अपेक्षा र दबाबले खेल र समग्र प्रक्रियाको मजा लिनै दिएन ।’
- विश्वनाथन आनन्दको भूमिका
गुकेशको सफलताको पछाडि अर्को महत्त्वपूर्ण भूमिका भारतका अर्का महान् चेस खेलाडी विश्वनाथन आनन्दको छ । उनले गुकेशलाई चेसको विजयको सपना साकार पर्ने काममा मात्रै सघाएनन्, समग्र खेल जीवनमै ठुलो भूमिका खेलेका छन् ।
गुकेशको सफलताको पछाडि अर्को महत्त्वपूर्ण भूमिका भारतका अर्का महान् चेस खेलाडी विश्वनाथन आनन्दको छ । उनले गुकेशलाई चेस विजयको सपना साकार पार्न ठुलो भूमिका खेले ।
‘मैले गुकेशलाई ऊ ग्राण्डमास्टर भएपछि भेटेको हुँ । ऊभित्र मैले प्रतिभा भएको अनुभव गरेँ । हाम्रो साझा पारिवारिक मित्रता पनि भएकाले हामीलाई लामो समय जोडिन सजिलो भयो । जब हामीले चार वर्षअघि ‘वेस्टब्रिज आनन्द चेस एकेडेमी’ (वाका) सुरु गर्यौँ, त्यसबेला हामीसँग भएका चार विद्यार्थीमा गुकेश पनि एक थिए । त्यसपछि प्रायः अन्तक्र्रियामा रह्यौँ,’ आनन्द पुराना दिन सम्झन्छन् ।
‘विश्व च्याम्पियनसिप प्रतियोगिताका बेला हामीले धेरै कुरा गरेनौँ । मलाई थाहा छ, चेस एक प्रकारको मानसिक खेल हो, यसमा धेरै आत्म–अभ्यास आवश्यक पर्छ । त्यसैले गर्दा हाम्रो अन्तक्र्रिया कम भयो । पहिलो खेल हारेपछि मैले उनीसँग नोकझोँक गरेँ । मैले १३ वर्षअघि पहिलोपटक खेल हारेपछि फेरि जितेको अनुभव सुनाएँ । मैले पहिलो खेल हारेको भए पनि ११ खेल जित्न सफल भएको सुनाएँ । तिमीसँग त अझै १३ वटा खेल बाँकी छन् । तिमी सजिलै खेलमा फर्किन सक्छौ भनेर सम्झाएँ । उनी कसरी खेलमा फर्किए भनेर अहिले तपाईं हेर्न सक्नुहुन्छ,’ आनन्दले सुनाए ।
खेलाडी जीवनबाट संन्यास लिएपछि आनन्दले भारतका प्रत्येक प्रतिभावान् चेस खेलाडीलाई ठम्याउने र सिकाउने जिम्मेवारी लिएका छन् । उनले तिनीहरूलाई सबै आवश्यक सहयोग गर्छन् । गुकेशको जितमा पनि उनको धेरै ठुलो योगदान छ ।
सन् २०२० मा जब विश्व, कोभिड–१९ महामारीको संकटसँग जुधिरहेको थियो, आनन्दले आफू सफलताको शिखरमा पुर्याएको चेस जगत्मा केही महत्त्वपूर्ण योगदान गर्ने सोच बनाए । यसका लागि उनले युवा चेस प्रतिभाको जगेर्ना गर्ने लक्ष्यसाथ चेस शिक्षालय ‘वाका’को स्थापना गरे ।
यो एकेडेमी अहिले चेसको दुनियाँमा गनिने व्यक्तिहरू आर प्रज्ञानन्द र गुकेशजस्ता ग्रान्डमास्टरको उदयको कारण बन्न पुग्यो । तिनीहरूलाई अहिले ‘आनन्दका केटाकेटीहरू’ भनेर चिनिन्छ ।
एकेडेमीका बारेमा आनन्द भन्छन्, ‘वाकाको सुरुवात वेस्टब्रिज एकेडेमीसँगको सहकार्यमा प्रतिभाशाली किशोर–किशोरीलाई सिकाउनका लागि सुरु गरिएको थियो । सोभियत ग्रान्डमास्टर मिखाइल बोटभिनिकको ६० वर्ष पुरानो ‘बोटभिनिक स्कुल अफ चेस’ले यो एकेडेमी स्थापना गर्नमा मुख्य प्रेरणाको काम गरेको थियो ।’
‘भारतमा धेरै प्रतिभा छन् तर धेरैजसो तिनीहरू उत्कृष्ट १० मा भेटिँदैनन् । त्यसैले हामीले युवा प्रतिभाहरू खोज्ने र तालिम दिने काम सुरु गरेको हो । हामी यसका लागि कुनै शुल्क लिँदैनौँ । उनीहरूलाई सहयोग गर्छौं, मुख्य प्रतियोगितामा भाग लिने बेलामा आवश्यक पर्दा हामी आर्थिक सहयोग पनि गर्छौं । यसले राम्रो काम गरेको छ । विश्वभरका प्रशिक्षकलाई केन्द्रित गरेर एकै छानामुनि हाम्रा खेलाडीलाई प्रशिक्षण दिन सजिलो भएको छ,’ आनन्द खुसी साथ भन्छन् ।
गुकेशबारे आनन्द भन्छन्, ‘ऊ रमाइलो मान्छे हो । थोरै कुरामा पनि मजाले हाँस्छ, संगत गर्न पनि रमाइलो छ । मलाई ऊ एकदमै मजा लाग्छ ।’
उनी थप्छन, ‘वाकाको माध्यमबाट हामीले उसलाई आवश्यक सहयोग गर्यौँ । खास गरी पछिल्लो वर्ष विश्व च्याम्पियनसिपमा उसलाई धेरै कुरामा सहयोग आवश्यक परेको थियो । उसले खोजेको सबै कुरा हामीले उसलाई उपलब्ध गरायौँ ।’
भारतमा क्रिकेट अत्यधिक लोकप्रिय छ र उसैले सरकारी समर्थन प्राप्त गर्छ । त्यसैले क्रिकेटरलाई भारतमा भगवान्सरि व्यवहार गरिन्छ । उनीहरूले नै आकर्षक सम्झौता र समर्थन पाउँछन् तर सबैको समर्थन क्रिकेटतर्फ नै रहेको देशमा गुकेशको उपलब्धि धेरै ठुलो विषय हो । त्यसैले भारतमा चेस खेलाडीहरूले भोग्नुपर्ने चुनौतीहरूबारे सबैले बुझ्न आवश्यक छ ।