‘युक्रेनको २६ ट्रिलियन डलरको खनिज अमेरिकाले आफ्नै पोल्टामा पार्नुपर्छ’
इराकको सन्दर्भमा डोनाल्ड ट्रम्पले त्यहाँको तेल हासिल नगरी इराकलाई मुक्त गराउनु खोज्नु अमेरिकी विदेश नीतिको सबैभन्दा ठुलो गल्ती हो भन्छन् । अहिले उनीसँग यस्तै गल्ती युक्रेनको सन्दर्भमा नदोहोर्याउने मौका छ ।
युक्रेन युरोपको अन्न भण्डारमात्रै होइन, संसारमा अत्यधिक प्रयोग हुने १२० मध्ये ११७ प्रकारका खनिज पदार्थ भएको खनिज महाशक्ति पनि हो । यसमा अमेरिकाले आफ्नो अर्थतन्त्र र राष्ट्रिय सुरक्षामा रणनीतिक महत्त्वका भनी ठम्याएका ५० प्रकारका पदार्थ पनि पर्छन् । जसमा उच्च–मूल्यका सामग्री बनाउन अत्यावश्यक दुर्लभ २२ प्रकारका पदार्थ युक्रेनले बिक्री गर्ने गर्छ ।
सन् २०२२ मा ‘क्यानेडियन जियोपोलिटिकल रिस्क’ नामक संस्थाले प्रकाशन गरेको प्रतिवेदन अनुसार युक्रेनमा युरोपकै सबैभन्दा धेरै युरेनियमको सञ्चिति छ । फलाम, टाइटेनियम र म्याग्निजको दोस्रो धेरै सञ्चिति छ । शेल ग्याँसको तेस्रो ठुलो भण्डार छ । यसका साथै लिथियम, ग्राफाइट र दुर्लभ खनिजको धेरै ठुलो भण्डार छ । यी खनिज पदार्थहरू हवाईजहाज, मोबाइल फोन तथा विद्युतीय सवारी साधन बनाउनेदेखि स्टिल र आणविक शक्ति उत्पादन गर्न नभई नहुने खनिजहरू हुन् ।
यस्तो अवस्थामा नव–निर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पसामु महत्त्वपूर्ण प्रश्न खडा भएको छ । के उनी यस्तो प्राकृतिक संसाधनको खजाना चीन र रुसले लगेको हेर्न चाहान्छन् ? कि युक्रेन र अमेरिका मिलेर यसको सदुपयोग गर्दै अमेरिकी जनताको फाइदामा उपयोग गर्न चाहन्छन् ?
हामी युक्रेनको टाइटेनियम हाम्रै हवाईजहाज प्रयोग गर्न चाहन्छौँ कि रुस र चीनले हामी र हाम्रा मित्रलाई आक्रमण गर्न प्रयोग गर्ने लडाकु विमान बनाउन प्रयोग गरेको हेर्न चाहन्छौँ ?
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्नुको मुख्य कारण नै यही प्राकृतिक खजाना कब्जा गर्नका लागि हो । युक्रेनी र रुसी जनता ऐतिहासिक रूपमा दाजुभाइ हुन् भन्नेजस्ता कुराहरू खास कारण होइनन् । ‘सेकडेभ’ नामक संस्थाका अनुसार युक्रेनमा भएको यस्तो खजानाको मूल्य आजको दिनमा २६ ट्रिलियन अमेरिकी डलर छ ।
रुसको यस्तो ध्येय लगभग सफल भइसकेको थियो । सन् २०२२ को सुरुमा रुसी फौज किभको वरिपरि पुग्न सफल भइसकेको थियो । किभ कब्जासँगै त्यहाँ कुनै कठपुतली शासक खडा गरिनेवाला थियो । तर, अमेरिकी सहयोगका कारण त्यसो हुनबाट युक्रेन जोगियो । ट्रम्प आफैँले बाराक ओबामाको पालामा भएको प्रतिबन्ध हटाएर उपलब्ध गराएका ज्याभलिन नामक क्षेप्यास्त्रले रुसलाई पछि हट्न बाध्य बनाए ।
यसो गर्दा युक्रेनले आफ्नो स्वतन्त्रतामात्रै जोगाएन, करिब युक्रेनको ८० प्रतिशत खनिज भण्डार पनि जोगायो । सेकडेभको प्रतिवेदन अनुसार यसमा ८३ प्रतिशत फलाम, ७५ प्रतिशत लिथियम ग्राफाइट, ९० प्रतिशत टाइटेनियम र ९२ प्रतिशत युरेनियम लगायत अन्य रेडियोधर्मी तत्व थिए ।
सुरुमा रुसले युक्रेनको करिब ८० प्रतिशत हाइड्रोकार्बन भण्डारमा कब्जा गरेको थियो । तर, गएको तीन वर्षमा युक्रेनले मानवरहित ड्रोनको सहायतामा ब्ल्याक सीमा रहेका रुसी जहाजी वेडालाई नष्ट पारेर सफलतापूर्वक आफ्नो समुद्री मार्ग फिर्ता गर्न सफल भएको छ । साथै ब्ल्याक सीको तेल र ग्याँसको भण्डार पनि धेरै हदसम्म आफ्नो नियन्त्रणमा ल्याउन सफल भएको छ ।
अहिले युक्रेनले आफ्नो भूभागभित्रको ९६.५ प्रतिशत तेल भण्डार तथा ९६ प्रतिशत ग्याँस, आल्मुनियम, कोबाल्ट, कपर, निकेल, टिन र बेरिलियम भण्डारमा नियन्त्रण स्थापित गरिसकेको छ । रुस करिब ५७ प्रतिशत कोइला भण्डारमा कब्जा गर्न सफल भएको छ । यसको बजार मूल्य करिब ११.९ ट्रिलियन डलर हुन जान्छ । रुसले केही महत्त्वपूर्ण दुर्लभ पदार्थमा पनि कब्जा गर्न सफल भएको छ । केही उसले यस अघि सन् २०१४ मा क्रिमियामा कब्जा गर्दा नै हात पारिसकेको थियो । यद्यपि यस्तो क्षतिका बाबजुद युक्रेनले १३.६ ट्रिलियन डलर मूल्यको खनिज र हाइड्रोकार्बन कब्जा हुनबाट जोगाउन सफल भएको छ ।
यो पुटिनका लागि ठुलो क्षति र अमेरिकाका लागि ठुलो अवसर हो । युक्रेनमा अमेरिकी जनताको ठुलो लगानी छ । यस अघि नै अमेरिकाले युक्रेनको खानीले भरिएको भूभाग रुसको कब्जामा पुग्नबाट जोगाउन करिब १८३ बिलियन डलर लगानी गरिसकेको छ ।
युक्रेनको खनिज सम्पदा रुसको हातमा पुग्नु भनेको चीनका लागि आर्थिक र रणनीतिक दुवै रूपमा वरदान साबित हुन्छ । हामीले युक्रेनलाई खनिज सम्पदा प्रशोधनमा सघाउने हो भने अमेरिकी जनतालाई व्यापक वित्तीय नाफा दिलाउँदै, मस्को र बेइजिङलाई रणनीतिक धक्का दिन सक्छौँ ।
भलै यो सहयोगको ठुलो हिस्सा अमेरिकाकै रक्षा सम्बन्धी उत्पादन क्षमता बढाउन र अमेरिकी नागरिकलाई राम्रो रोजगारी सिर्जना गर्नका लागि भएको छ, तर पनि यति ठुलो मात्राको सहयोगले युक्रेनलाई अन्यायपूर्ण आक्रमणबाट जोगिन पक्कै पनि ठुलो मद्दत गरेको छ ।
यस्तो अवस्थामा प्रश्न पक्कै उठ्छन् । के अमेरिकी करदाताले यो लगानीको प्रतिफल पाउनु पर्दैन ? हामी युक्रेनको टाइटेनियम हाम्रै हवाईजहाजमा प्रयोग गर्न चाहन्छौँ कि रुस र चीनले हामी र हाम्रा मित्रलाई आक्रमण गर्न प्रयोग गर्ने लडाकु विमान बनाउन प्रयोग गरेको हेर्न चाहन्छौँ ? हामी युक्रेनको लिथियम तथा दुर्लभ खनिज पदार्थको प्रयोग गरेर अमेरिकी इलेक्ट्रोनिक्स वा विद्युतीय सवारी साधन बनाउन चाहन्छौँ कि चिनियाँ उत्पादनलाई सघाउन चाहन्छौँ ?
ट्रम्पले अमेरिकीहरूका लागि पृथ्वीको सबैभन्दा सस्तो ऊर्जा र बिजुली उपलब्ध गराउने तथा एआई र क्रिप्टोकरेन्सी प्रवर्द्धनको विस्तार गर्ने बाचा गरेका छन् । त्यसो गर्नका लागि धेरै डाटा केन्द्रहरू आवश्यक पर्छ, जसले ठुलो मात्रामा बिजुली खपत गर्छ । बिजुलीको माग बढ्दै जाँदा स्वच्छ आणविक ऊर्जाको आपूर्तिलाई व्यापक रूपमा बढाएर मात्रै बिजुलीको लागत घटाउन सकिन्छ । साथै ट्रम्पले साना आणविक रिएक्टरहरूबाट चल्ने आणविक भट्टीको निर्माणलाई नयाँ स्वीकृति दिने पनि बाचा गरेका छन् ।
यसले अमेरिकामा युरेनियमको माग व्यापक रूपमा बढाउँछ । अमेरिका पहिले नै रुसी युरेनियमको सबैभन्दा ठुलो खरिदकर्ता हो । अमेरिकाले आफ्नो सम्पूर्ण आपूर्तिको लगभग एक चौथाइका लागि मस्कोमा भर पर्नुपरेको छ । पुटिनलाई अझै युरोपको सबैभन्दा ठुलो युरेनियम भण्डारमा कब्जा गर्न दिनु हाम्रो रणनीतिक हितमा पटक्कै छैन ।
अमेरिकीहरूका लागि ऊर्जा लागत कम गर्न तथा एआई र क्रिप्टोमा थप नवीन आविष्कार र प्रयोग गर्नलाई आवश्यक इन्धन उपलब्ध गराउन युक्रेनी युरेनियम चाहिन्छ । ट्रम्पको अर्को प्रमुख प्राथमिकता कम्युनिस्ट मुलुक चीनमाथिको अमेरिकाको आर्थिक निर्भरता घटाउने पनि हो । बेइजिङले अहिले अमेरिकाले आयात गर्ने महत्त्वपूर्ण खनिजहरूको आधाभन्दा बढी हिस्सा ओगटेको छ ।
यसमा दुर्लभ खनिजको आयातको ७२ प्रतिशत पर्न आउँछ । चीनले लिथियमको विश्वव्यापी बजारलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । उसले विश्वभरका खानीहरू साथै कोबाल्ट र निकेलजस्ता अन्य महत्त्वपूर्ण खनिजहरूको खानी खरिद गरिरहेको छ ।
अमेरिकाले किभमा अमेरिकी हतियारहरूको आपूर्ति बढाउन विभिन्न संयन्त्र बनाउनु पर्छ तथा यसको आर्थिक भार अमेरिकी करदाताले वहन गर्नु हुँदैन । यसका लागि युक्रेनको खनिज र जैविक इन्धनका स्रोतहरू धितो राखेर ऋण प्रदान गर्न सकिन्छ ।
अमेरिकी अर्थतन्त्रमा आफ्नो बढ्दो शक्ति देखाउँदै बेइजिङले भर्खरै एल्युमिनियम र टाइटेनियमजस्ता महत्त्वपूर्ण खनिजहरूमा निर्यातमाथिको नियन्त्रणलाई थप कडा पारेको छ । ग्रेफाइट र ग्यालियमको निर्यातमा प्रतिबन्ध लगाएको छ । युक्रेनमा यी सबै खनिज प्रशस्त मात्रामा उपलब्ध छन् ।
युक्रेनको खनिज सम्पदा रुसको हातमा पुग्नु भनेको चीनका लागि आर्थिक र रणनीतिक दुवै रूपमा वरदान साबित हुन्छ । यसै पनि रुस र चीनले हालसालै ‘सीमाहिन मित्रता’ को हात मिलाइसकेका छन् । आजको दिनमा अमेरिकालाई यस्ता अत्यावश्यक खनिजका लागि आफ्नो दिगो र भरपर्दो स्रोतको आवश्यकता छ । यदि हामीले युक्रेनलाई यस्ता सम्पदा प्रशोधन र विकासमा सघाउने हो भने हामी अमेरिकी जनतालाई व्यापक वित्तीय नाफा दिलाउँदै मस्को र बेइजिङलाई रणनीतिक धक्का दिन सक्छौँ ।
तर, यसो गर्नका लागि युक्रेनलाई ट्रम्पको सहयोग आवश्यक पर्छ । यसरी मात्र युक्रेनले न्यायपूर्ण र दीर्घकालीन शान्ति हासिल गर्न सक्छ । रुसले गरेको आक्रमणपछि युक्रेनमा धातुजन्य उत्पादनमा ८० प्रतिशतले गिरावट आएको छ । सन् २०२१ मा २ करोड टन उत्पादन गरेको युक्रेनले २०२३ को मध्यसम्ममा केवल २५ लाख टनमात्रै उत्पादन गर्न सकेको छ ।
महत्त्वपूर्ण पूर्वाधार र संरचनामा क्षेप्यास्त्र आक्रमण भइरहँदा खनिज उत्खननको काम चालु राख्न अप्ठ्यारो हुन्छ । रुसी सेनाको फायरिङ रेन्जभित्रको क्षेत्रमा रहेको समुद्रभित्रको तेल र ग्याँस निकाल्न असाध्यै जटिल हुन्छ । स्वाभाविक रूपमा यसले उत्पादनमा ठुलो असर पारेको छ ।
यदि लगानीकर्ताहरूले आउँदा दिनमा रुसको आक्रमण नहुने सुनिश्चितता अनुभूत गरेको खण्डमा मात्रै अमेरिकी व्यापार क्षेत्रले यी स्रोत साधनलाई अमेरिकी तथा युक्रेनी जनताको हितमा विकास गर्न सक्छन् । तर, यथार्थ फरक छ । पुटिन युक्रेन र त्यहाँको खनिज सम्पदामाथिको आक्रमण रोक्न चाहदैनन् । उनी यसका लागि रुसले हस्ताक्षर गरेका जुनसुकै सम्झौता च्यात्न तयार हुन्छन् ।
यो समस्या समाधानका लागि उनलाई आक्रमण गर्न असम्भव बनाएरमात्रै सम्भव छ । जस्तोसुकै सम्झौता र युद्धविरामलाई पनि पुटिनले थप शक्ति जम्मा गर्ने र पुनः सफल आक्रमणको तयारीमा प्रयोग गर्नेछन् । उनले सन् २०१४ मा क्रिमिया कब्जा गरेपछि पनि यस्तै गरेका हुन् । त्यसैले ट्रम्पले युक्रेन युद्धको अन्त्य गर्छु भनेरमात्रै हुँदैन । उनले अब उप्रान्त युद्ध नहुने अवस्था पनि सिर्जना गर्न सक्नुपर्छ ।
यसका लागि अभेद्य सीमाना आवश्यक हुन्छ । गएको निर्वाचन अघि सीएनएनले राखेको राष्ट्रपति उम्मेदवारको बहसमा पत्रकार डाना बाशले ट्रम्पलाई सोधेकी थिइन्– यदि पुटिनले आफूले कब्जा गरेको जमिन फिर्ता नगर्ने तथा युक्रेन नेटोको सदस्य नहुने शर्तमा युद्ध रोक्ने प्रस्ताव गरेमा तपाईंलाई मान्य हुन्छ ?
ट्रम्पले यस्तो अमान्य हुने बताएका थिए । उनको कुरा ठिक थियो ।
साँच्चै खोजे जस्तो सम्झौता हुन युक्रेनले आफ्नो स्रोत–साधनले भरिपूर्ण महत्त्वपूर्ण क्षेत्र खेर्सन र जाफोरिज्जिय फिर्ता पाउनु पर्छ । साथै युक्रेनले भरपर्दो सुरक्षा सुनिश्चितता पाउनु पर्छ । यसका लागि या त नेटोको सदस्यता, गम्भीर द्विपक्षीय सुरक्षा प्रतिबद्धता वा युरोपेली फौज संलग्न अन्तर्राष्ट्रिय शान्ति सेनाको रोहबरमा गैरसैन्य सीमा क्षेत्र बन्नु पर्छ । यस्तो शान्ति स्थापनाको कामको अगुवाइ नेटोको तेस्रो ठुलो सैन्यबल भएको शक्ति पोल्याण्डले पनि गर्न सक्छ ।
साथै युक्रेनमा दीर्घकालीन शान्तिको अत्यावश्यक कुरा भनेको आधुनिक हतियारयुक्त युक्रेन पनि हो । यसो गर्दा युक्रेनले रुसलाई रोक्ने सैन्य क्षमता राख्छ । वार्ताको टेबलमा जे–जस्ता छलफल भए पनि अमेरिकाले युक्रेनलाई हतियार दिनु आवश्यक छ । ट्रम्पले कार्यालय छोडेपछि रुसलाई युद्ध पुनः सुरु गर्नबाट रोक्न वा यदि उसले आवश्यक शान्तिका लागि सहमत हुन अस्वीकार गरेमा पुटिनलाई वार्ताको टेबलमा जबरजस्ती तानेर ल्याउन पनि यो आवश्यक छ ।
यसकारण हामीले किभमा अमेरिकी हतियारहरूको आपूर्ति बढाउन विभिन्न संयन्त्र बनाउनु पर्छ । अब यसको आर्थिक भार अमेरिकी करदाताले वहन गर्नु हुँदैन । यस्तो कसरी गर्न सकिन्छ भन्ने प्रश्न आउँछ । यसो गर्न सम्भव छ । यसका लागि युक्रेनको खनिज र जैविक इन्धनका स्रोतहरू धितो राखेर ऋण प्रदान गर्न सकिन्छ ।
(वासिङ्टन पोष्टबाट)