बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
रंगमञ्च

हलमा फिल्मझैँ पुसमा थिएटरमा नाटक अभाव

तीन थिएटरमा केही नाटक, अन्य थिएटर खाली
शनिबार, ०६ पुस २०८१, १० : २६
शनिबार, ०६ पुस २०८१

काठमाडौँ । पुस महिनामा चलचित्रको मात्र होइन, थिएटरमा नाटकको पनि अभाव देखिएको छ । ४ वटा शुक्रबार रहेको पुसमा पहिलो साता (५ गते शुक्रबार) फिल्म ‘बमबहादुर’ र अन्तिम शुक्रबार (२६ गते) ‘कासाङ’ बाहेक अन्य समय नेपाली फिल्म सार्वजनिक हुने तालिका छैन ।

त्यस्तै, यो पुसमा कालिकास्थानस्थित सर्वनाम थिएटर, थापागाउँस्थित शिल्पशाला कुञ्ज थिएटर र थापागाउँस्थित मण्डला बाहेकका अन्य थिएटरमा नाटक छैन । नाटकले सधैँ भरिभराउ रहने बत्तीसपुतलीस्थित शिल्पी थिएटर, ठेकुस्थित कौसी थिएटर, थापागाउँस्थित आरोहण गुरुकुल, कीर्तिपुरस्थित थिएटर पुस महिनाभरि खाली हुने देखिएको छ ।

सर्वनाम थिएटरमा ५ र ६ गते ‘पत्थरको कथा’, मण्डला थिएटरमा पुस ४ गतेदेखि २८ गतेसम्म ‘हरि हजुरबा’ र शिल्पशाला कुञ्ज थिएटरमा ३ गतेदेखि ६ गतेसम्म  नाटक ‘यशस्वी भव:’ र ८ गतेदेखि १० गतेसम्म ‘कोही किन बर्बाद होस्’ मञ्चन हुँदैछ । अन्य समय यी थिएटर पनि खाली रहने छन् ।

नेपाली फिल्म क्षेत्रका लागि पुस राम्रो मानिँदैन । पुस जाडो र छोटो महिना भएकाले व्यवसाय नहुने, हलमा दर्शक अभाव देखिने भन्दै निर्माता–निर्देशक आफ्नो फिल्म रिलिज गर्न तर्किन्छन् ।

फिल्मको जस्तै अवस्था थिएटरको पनि रहेको पाइन्छ । छोटो दिन भएकाले धेरै शो गर्न नपाइने, जाडोले दर्शक कम आउने भएकाले पुस महिनामा धेरै थिएटरमा नाटक अभाव देखिने सर्वनाम थिएटरका राज शाहले बताए ।

raj shah

‘छिटो रात पर्ने भएकाले नर्मल समयमा गर्ने शो पनि घट्छ’, शाहले भने, ‘अन्य समयभन्दा यो समय चिसोले गर्दा दर्शक घट्छन् ।’ दर्शक घट्ने भएपछि कतिपय नाटक मञ्चनबाट पछि हट्ने उनले सुनाए ।

थिएटर मल नाटक घरका केदार श्रेष्ठ पनि पुसमा दर्शक थोरै हुने बताउँछन् । ‘नियमित टिकट किनेर दर्शक आउने सम्भावना कम छ’, श्रेष्ठले भने, ‘त्यसैले थिएटर मल अहिले बालबालिकाको विभिन्न गतिविधिमा केन्द्रित छ ।’ आगामी चैतमा हुने नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको तयारीमा आफू जुटेको श्रेष्ठले सुनाए ।

kadar shrestha

श्रेष्ठ र शाहको भन्दा फर विचार राख्छिन् शिल्पी थिएटरकी पवित्रा खड्का । उनी शिल्पी थिएटर नाटक लिएर टुरमा रहेको कारण पुसमा नाटक नभएको बताउँछिन् ।

‘नाटक राखेको भए धेरथोरै दर्शक हुन्थे होला’, खड्का भन्छिन्, ‘हामीले टुरका कारणले पुसमा नाटक राख्न सकेनौँ ।’

pabitra khadka

कर्णालीको विभिन्न क्षेत्रमा ‘अनिदा रात’ भन्ने नाटक मञ्चन गरेर भर्खर फर्किएकाले पुसमा नभए पनि त्यसपछि नाटक ल्याउने तयारीमा रहेको खड्काले खुलाइन् । ‘हल अरूले नाटक गर्ने भनेर बुक गरेका छन् । एक नाटक आउन सक्छ,’ खड्काले थपिन् ।

  • पुसका कस्ता नाटक आउँदै छन् ?

अहिलेसम्मको क्यालेन्डर अनुसार पुसमा सर्वनाम, मण्डला, शिल्पशाला कुञ्ज गरेर तीन थिएटरले ४ नाटक मञ्चन  गर्ने देखिएको छ । यी तीनमध्ये मण्डला र सर्वनाममा एक–एक नाटक छन् भने छोटै अवधिको भए पनि शिल्पशाला कुञ्जले भने दुई नाटक मञ्चन गर्ने देखिएको छ ।

मण्डलाले बिहीबारदेखि अभिनेता नाजिर हुसेनको लेखन तथा निर्देशन रहेको नाटक ‘हरि हजुरबा’ मञ्चन थालेको छ । आगामी २८ गतेसम्म चल्ने नाटकमा नाजिर स्वयंसहित अभिनेता विजय बरालको अभिनय देख्न सकिन्छ ।

नाटकमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउत समेत कलाकारको रूपमा छन् । अभिनेताद्वय दयाहाङ राई र बुद्धि तामाङ निर्माता रहेको नाटकले चिठी पुर्‍याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा देखाउनेछ ।

त्यस्तै सर्वनाम थिएटरमा ‘पत्थरको कथा’ शुक्रबार र शनिबार मञ्चन हुनेछ । विजय मल्लद्वारा लिखित आध्यात्मिक चिन्तनमा आधारित नाटक शोषक र शोषितको कथा प्रस्तुत गर्छ । नाटकको परिकल्पना र निर्देशक सन्तोष पोखरेल र स्वीकृति मिश्र हुन् । मदन श्रेष्ठ, श्रिजा खनाल, पूजा कुमारी शाह, सुसन उप्रेती र सोम नेपालीको अभिनय नाटकमा रहनेछ ।

त्यस्तै कुञ्ज थिएटरको ‘यशस्वी भव:’ गत बुधबारदेखि मञ्चन सुरु गरेको हो । शनिबार (पुस ६ गते)सम्म चल्ने नाटकको लेखक तथा निर्देशक राम के.ए.सी छन् ।

अग्रज, वर्तमान र अनुज गरी तीन पुस्ताबिचको त्रिकोणात्मक सम्बन्धमा तीनै पुस्ताको मनोवैज्ञानिक अन्तरसम्बन्ध देखाउने नाटकमा रेशिका श्रेष्ठ, सद्भावना थापा, मनसुन फुयाँल, मञ्जुरी श्रेष्ठ , एन्जल श्रेष्ठ, सदीक्षा श्रेष्ठ, इरा श्रेष्ठ, अनुष्का श्रेष्ठ, दीपिका श्रेष्ठ, प्रान्तिका श्रेष्ठ, मेलिसा श्रेष्ठ, रवानी श्रेष्ठ लगायतको अभिनय छ ।

कुञ्जमै अर्को नाटक ‘कोही किन बर्बाद होस्’ मञ्चन हुँदैछ । पुस ८ गतेदेखि १० गतेसम्म यो नाटक मञ्चन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप