१४ विधामा आईसीटी अवार्ड घोषणा, सुरेशराज शर्मादेखि आईएमईपेसम्म उत्कृष्ट
काठमाडौँ । नेपालकै ठुलो आईसीटी टेक अवार्डको २०२४ को संस्करण घोषणा गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत् १४ वटा विधामा उक्त अवार्डको घोषणा तथा वितरण गरिएको हो ।
इन्ड्राइभ स्टार्टअप आईसीटी अवार्ड क्रिमसन टेकले जितेको छ । आईटी प्रोडक्ट र इनोभेसनमा सहभागी भएका विगत ५ वर्षभन्दा पहिले दर्ता भएका कम्पनीले मात्रै सहभागिता जनाउन पाउने व्यवस्था गरिएको थियो । यो विधामा ५० भन्दा धेरैले आवेदन दिएको आयोजकले जनाएको छ । यसमा बासियो सर्भिसेज, क्रिमसन टेक, फेन्टासी गेम, जियोभेसन जेपाल र हेल्थ यार्ड आयो प्रा.लि उत्कृष्ट पाँचमा छनौट भएका थिए ।
त्यस्तै, एशिया फाउन्डेसन सोसल इनोभेसन आईएसीटी अवार्डमा जियोकृषि उत्कृष्ट भएको थियो । सामाजिक क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाको सहयोगमा बनेको आईसीटी इनोभेसन सहभागी हुन पाउने यो विधामा ४० भन्दा बढी नोमिनेसन परेको थियो । त्यसमध्ये ईकागजपत्र, जियोकृषि, डिजिटल एड्रेसिङ सिस्टम, एलएमसी अलर्ट र सफा नेपाल अन्तिम पाँचमा थिए ।
यो वर्षको आईसीटी अवार्डमध्ये पब्लिक च्वाइस आईसीटी अवार्ड ज्याक सर्भिसेज प्रा.लि.ले जितेको छ । यो विधाका लागि स्टार्टअप आईसीटी अवार्डका उत्कृष्ट १०, प्रोडक्ट आईसीटी अवार्डका उत्कृष्ट १३, राइजिङ स्टार उत्कृष्ट आईसीटी अवार्डका उत्कृष्ट १२ र सोसल इनोभेसनका उत्कृष्ट १३ कम्पनी यो प्रतिस्पर्धामा सहभागी भएका थिए ।
अवार्डको प्रिइभेन्टको रुपमा आयोजना भएको स्टार्टअप फेस्टमा आफ्नो प्रोडक्ट र इनोभेसन शोकेस गरेका उनीहरुको स्टोरी टेलिभिजनमार्फत् समेत प्रसारण गरिएको थियो । त्यसपछि गरिएको भोटिङमा उक्त कम्पनीले सबैभन्दा धेरै मत पाएर उत्कृष्ट घोषणा भएको हो ।
त्यस्तै, अन्य १३ विधाको अवार्ड समेत घोषणा गरिएको छ । त्यसमध्ये आईसीटी प्रोडक्ट अवार्ड विधातर्फ एपीआई म्यानेजमेन्ट सिस्टमले अवार्ड प्राप्त गरेको छ । दुई वर्षभित्र स्थापना भएकोमध्ये उत्कृष्ठलाई छानेर उक्त अवार्ड दिइएको हो । यसमा लागि ४५ वटा कम्पनीको नोमिनेसन परेको थियो । त्यसमध्ये एपीआई म्यानेजमेन्ट सिस्टम, इनिर्माण, जीकवच, खातापाना वेभ र कोइली उत्कृष्ट भएका थिए ।
साउथ एशिया स्टार्टअप आईसीटी अवार्ड विधामा यो वर्ष हाइफन एससीएस जिरो उत्कृष्ट भएको छ । सात देशबाट ६० प्रतिस्पर्धीको नोमिनेसन प्राप्त भएको थियो । त्यसमध्ये भुटानको एरोटेक, श्रीलंकाको डिजेनिक्स, नेपालको फागुन एआई, पाकिस्तानको हर सहुलन, भारतको हाइफन एससीएस जिरो उत्कृष्ट पाँचभित्र पर्न सफल भएका थिए ।
कृषितर्फ जीयोकृषि उत्कृष्ट भएको छ । स्टार्टअप आईसीटी अवार्ड विधामा यो वर्ष क्रिम्सन टेक प्रा.लि. उत्कृष्ट भएको छ ।
राइजिङ स्टार इनोभेसन अवार्डतर्फ स्पिक अप नेपाल उत्कृष्ट भएको छ । उक्त संस्थाले ५०० डलरको पुरस्कार राशि समेत प्राप्त गर्यो । अवार्डका लागि बाली विज्ञान, डा. फिस, हाइप्रेस, स्पिक अप नेपाल र राइटअन एआई उत्कृष्ट पाँचको छनोटमा परेका थिए । यसमा कलेज तथा स्कुलबाट विद्यार्थी तथा ३० वर्ष भन्दा कम युवाका स्टार्टअपलाई सहभागी गराइएको थियो । यसमा १०० भन्दा धेरैको नोमिनेसन परेको थियो ।
एनसेल विमेन आईकन आईसीटी अवार्ड नेपाल बैंक कार्ड तथा डिजिटल बैंकिङ विभागको प्रमुख बन्दना शर्माले पाएकी छिन् । यसमा यो वर्ष ४० भन्दा बढीले नोमिनेसन गरेको आयोजकले जनाएको छ । उनले एनसेलको तर्फबाट तीन लाख राशि समेत जितेकी छिन् ।
यो वर्ष आईसीटीको पायोनियर अवार्ड प्रा.डा. सुरेशराज शर्मालाई प्रदान गरिएको छ । शर्मा काठमाडौँ विश्वविद्यालयका पुर्व उपकुलपति हुन् । यो अवार्डका लागि ३० जनाको नोमिनेसन परेकोमा ८४ वर्षीय शर्मालाई अवार्डद्वारा सम्मानित गरिएको हो ।
त्यस्तै, विदेशमा रहेर आईसीटी क्षेत्रमा योगदान गर्नेहरूका लागि दिइने नेपाल डायस्पोरा आईसीटी अवार्ड यसपटक नामी बरालले पाएकी छिन् । युयोर्कमा रहेर स्टार्टअप सञ्चालन गर्दै आएकी उनले सन् २०१८ मा माइक्रोसफ्टको जागिर छोडेर स्टार्टअप सुरु गरेकी थिइन् ।
त्यस्तै, यसपटक इन्टरप्रेनरसिप अवार्डतर्फ फुडमाण्डुका मनोहर अधिकारी उत्कृष्ट भएका छन् । आईटी इञ्जिनियर उनले सन् २०१० मा नेपालकै पहिलो अनलाइन फुड डेलिभरी उक्त प्लेटफर्म निर्माण गरेका थिए । फुडमाण्डुमा अहिले ५०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
त्यस्तै, प्रोफेसनल एक्सिलेन्ट आईसीटी अवार्ड विधातर्फ विशेष खनालले अवार्ड पाएका छन् । आईटी क्षेत्रमा रहेर कम्तीमा ५ वर्षको अनुभा हासिल गरेका व्यक्तिलाई दिनेगरी अघिल्लो वर्षबाट सुरु गरिएको उक्त विधामा यसपटक फ्रान्सबाट आईसीटीमा विद्यावारिधि खनाल उत्कृष्ट भएका हुन् । यो वर्ष यो विधाका लागि ५० भन्दा धेरैको नोमिनेसन प्राप्त भएको आयोजकले जनाएको छ ।
त्यस्तै, सरकारी संस्थाबाट यसपटक सर्वोच्च अदालत उत्कृष्ट भएको छ । यसका लागि नागरिक लगानी कोष, जल तथा मौसम विज्ञान विभाग र सर्वोच्च अदालत उत्कृष्ट तीनमा छनोट भएका थिए ।
त्यस्तै, निजी क्षेत्रको तर्फबाट डिजिटल सर्भिस आईसीटी अवार्डमा आईएमई पे उत्कृष्ट भएको छ । यसका लागि आईएमई पे, वान बाई मेटलाइफ, एनआईसी एशियाको डिजिटल युनिभर्स उत्कृष्ट तीनमा छनौट भएका थिए ।
यसपटक निजी र सामुदायिक विद्यालयमा उत्कृष्ट आईटी पठनपाठन गराउनेमध्ये एक एकलाई डिजिटल एजुकेसन आईसीटी अवार्ड दिइएको थियो । त्यसमध्ये सामुदायिक विद्यालयतर्फ मोरङको सुकुना मावि उत्कृष्ट भएको छ । अवार्डको लागि उत्कृष्ट तीनमा सुकुना मावि, नारायणी नमुना मावि चितवन र विन्धवासिनी माध्यामिक विद्यालय पोखरा छनौटमा परेका थिए ।
त्यस्तै, निजी विद्यालयतर्फको डिजिटल एजुकेसन आईसीटी अवार्ड एलआरआई स्कुलले जितेको छ । अवार्डको लागि यसमा डियरवाक सिफल स्कुल, इम्पेरियल वल्र्ड स्कुल, एलआरआई स्कुल उत्कृष्ट तीनमा छनोट भएका थिए ।
यसपटक प्रत्येक प्रदेशबाट एक एक जना उत्कृष्ट आईटी कम्पनीलाई समेत सम्मान गरिएको छ । यी कम्पनीहरुमा कोशी प्रदेशमा डेल्टा टेक प्रा.लि. विराटनगर, मधेशमा तेजस टेक प्रा.लि. वीरगञ्ज, बाग्मतीमा अभियान्त्रिक कर्मशाला प्रा.लि. भक्तपुर, गण्डकीमा आकाश डिजिटल प्रा.लि. पोखरा, लुम्बिनीमा निन्जा इन्फोसिस प्रा.लि. नेपालगञ्ज, कर्णालीमा बिजिनेस अनलाइन सर्भिस प्रा.लि. सुर्खेत र सुदुरपश्चिममा पावर वेस्छ इनोभेसन एण्ड रिसर्च सेन्टरलाई उत्कृष्ट घोषणा गरिएको थियो ।
आजको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, कर्णाली प्रदेशका मुख्मन्त्री यामलाल कँडेल, शिक्षा स्वास्थ्य र सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद मनिष झा, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल लगायत सञ्चार मन्त्रालय, शिक्षा मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरण तथा विभिन्न बैंक वित्तीय संस्था तथा निजी क्षेत्रका व्यक्तिहरु सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको क्रिसमस बजारमा कारको ठक्करबाट दुई जनाको मृत्यु, साउदी नागरिक पक्राउ
-
सिरियाका नयाँ नेताको टाउकोमा राखिएको १ करोड डलर पुरस्कार अमेरिकाले हटायो
-
महोत्तरीमा डाँका समूहबाट पूर्व गाविस सचिवको हत्या
-
उपाधिका लागि भिड्दै परिचित प्रतिद्वन्द्वी सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स
-
भारतीय लोकसभामा बंगलादेशी हिन्दुहरूमाथि भएको हिंसाबारे चर्चा
-
गंगालाल तुलाधार बने एकीकृत समाजवादीको बागमती इन्चार्ज, सहइन्चार्ज को–को ?