उपाधिका लागि भिड्दै परिचित प्रतिद्वन्द्वी सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार खेलिँदै छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच उपाधिका लागि भिडन्त हुनेछ ।
फाइनल खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्स प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई नै आठ विकेटले हराउँदै फाइनलमा पुगेको हो । जनकपुर बोल्ट्स भने दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
यी दुबै टोली प्रारम्भिक चरणको खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढेका थिए । प्रारम्भिक चरणको खेलमा सुदूरपश्चिम रोयल्स १२ अंकसहित पहिलो र जनकपुर बोल्ट्स १० अंकसहित दोस्रो भएका थिए । त्यसैले यी दुबै टोलीले पहिलो क्वालिफायरमा भिडन्त गर्ने अवसर पाएका थिए ।
सुदूरपश्चिम रोयल्सको फाइनल यात्रा
प्रारम्भिक चरणमा सुदूरपश्चिम रोयल्सले सातमध्ये ६ खेलमा जित र एक खेलमा हारको नतिजा निकाल्यो । फाइनलको यात्रा तय गर्दासम्म सुदूरपश्चिम रोयल्स केवल एक खेलमा पराजित भएको छ । त्यसैले जारी एनपीएलमा सुदूरपश्चिम रोयल्स बलियो टोलीका रुपमा देखा परेको छ ।
लिग चरणको आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई ९० रनको फराकिलो अन्तरले हराएको थियो । सुदूरपश्चिम रोयल्सले दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले र तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो ।
यसैगरी, आफ्नो चौथो खेलमा सुदूरपश्चिम रोयल्सको टोली चितवन राइनोजसँग ३३ रनले पराजित भएको थियो । सुदूरपश्चिम रोयल्सले भोगेको यो एकमात्र हार हो । त्यसपछि आफ्नो पाँचौँ खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले हराएको थियो ।
सुदूरपश्चिम रोयल्सले आफ्नौ छैटौँ खेलमा पोखरा एभेन्जर्समाथि पाँच रनको रोमाञ्चक जित हासिल गरेको थियो । लिग चरणको आफ्नो सातौँ खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको थियो ।
प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा पनि सुदूरपश्चिम रोयल्सले अब्बल प्रदर्शन गरेको थियो । सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्समाथि आठ विकेटको सजिलो जित हात पारेको थियो ।
जनकपुर बोल्ट्सको फाइनल यात्रा
जनकपुर बोल्ट्स पनि प्रारम्भिक चरणको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अंक तालिकामा दोस्रो भएको थियो । जनकपुर बोल्ट्स लिग चरणमा आफूले खेलेको सातमध्ये पाँच खेलमा विजयी र दुई खेलमा पराजित भएको थियो ।
समग्रमा भने जारी एनपीएलमा जनकपुर बोल्ट्सले हालसम्म नौ खेल खेलेको छ र त्यसमध्ये ६ खेलमा जित हात पारेको छ । तीन खेलमा भने जनकपुर बोल्ट्सले पराजय ब्यहोरेको छ । प्रारम्भिक चरणको आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सले विरानटर किङ्सलाई आठ विकेटले हराएको थियो ।
जनकपुर बोल्ट्सले आफ्नो दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको थियो । जनकपुर बोल्ट्सले तेस्रो खेलमा पोखरा एभेन्जर्समाथि सात विकेटको जित हासिल गरेको थियो । चौथो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
यसैगरी, पाँचौँ खेलमा जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको थियो । आफ्नो छैटौँ खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो । सातौँ खेलमा जनकपुर बोल्ट्सको टोली चितवन राइनोजसँग ३२ रनले पराजित भएको थियो ।
यसैगरी, प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सको टोली सुदूरपश्चिम रोयल्ससँग आठ विकेटले पराजित भएको थियो । त्यसपछि दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्समाथि दुई विकेटको रोमाञ्चक जित हासिल गरेको थियो ।
जनकपुर र सुदूरपश्चिबिच तेस्रो भिडन्त
जारी एनपीएलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स तेस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि दुईपटक यी दुई टोली आपसमा भिडिसकेका छन् । ती दुबै भिडन्तमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई हराएको थियो ।
सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच पहिलो भिडन्त लिग चरणको खेलमा भएको थियो । त्यो खेलमा सुदूरपश्चिम रोयल्स ७२ रनले विजयी भएको थियो । पहिले ब्याटिङ गरेको सुदूरुपश्चिमले नौ विकेट गुमाएर एक सय २९ रन बनाएको थियो । जनकपुर बोल्ट्स भने १२.१ ओभरमै केवल ५१ रन बनाउँदै अलआउट भएको थियो ।
यी दुई टोलीबिच दोस्रो भिडन्त भने प्रतियोगिताको पहिलो क्वालिफायरमा भएको थियो । त्यो खेलमा पनि सुदूरपश्चिम रोयल्स आठ विकेटले विजयी भएको थियो । पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिम रोयल्सले १८.३ ओभरमै केवल दुई विकेट गुमाएर एक सय ४१ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।
जनकपुर बोल्ट्सको टोली
जनकपुर बोल्ट्स ड्रिम स्पोर्टस प्रालिको स्वामित्वमा रहेको क्लब हो । ड्रिम स्पोर्टस प्रालिले जनकपुर बोल्ट्सलाई दुई करोड पाँच लाख रुपैयाँमा खरिद गरेको हो । आसिफ शेख जनकपुर बोल्ट्सका मार्की खेलाडी हुन् ।
जनकपुर बोल्ट्सको कप्तान भने अनिल कुमार साह हुन् । जनकपुर बोल्ट्सको टोली सन्तुलित छ । टोलीको हालसम्मको प्रदर्शन पनि उत्कृष्ट छ । तर, कप्तान अनिल घाइते भएयता दुई खेलमा टोलीले सन्तोषजनक प्रदर्शन गर्न सकिहरेको छैन ।
उनको अनुपस्थितिमा आसिफ शेखले टोलीको कप्तानी गरिरहेका छन् । तर, आसिफ शेख लयमा फर्कन सकिरहेका छैनन् । अनिल साहको चोट टोलीका लागि सबैभन्दा ठुलो चिन्ताको विषय हो ।
जनकपुर बोल्ट्सको टोलीमा ब्याटिङ अलराउन्डर लाहिरु मिलनथा, क्यानडाका अलराउन्डर हर्ष थाकेर, न्युजिल्यान्डका ब्याटिङ अलराउन्डर जेम्स निसम, चर्चित बलिङ अलराउन्डर मोहम्मद मोहसिन, शुभ कंसाकार, अरनिको यादव, ललित राजवंशी, किशोर महतो, शेर मल्ल, मोहम्मद मोहसिन, आकाश त्रिपाठीलगायतका प्रभावशाली खेलाडी रहेका छन् ।
पुबुदु दासा नायके जनकपुर बोल्ट्सका प्रमुख प्रशिक्षक हुन् । कुनै समय नेपालको राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकसमेत रहिसकेका पुबुदुको प्रशिक्षण कला पनि जनकपुर बोल्ट्सका लागि फाइदाजनक हुने पक्का छ ।
सुदूरपश्चिम रोयल्सको टोली
ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको क्लब हो, सुदूरपश्चिम रोयल्स । ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिले सुदूरपश्चिम रोयल्सको स्वामित्व एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ रुपैयाँमा खरिद गरेको हो ।
सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी भने दीपेन्द्रसिंह ऐरी हुन् । टोलीका कप्तान पनि उनी नै हुन् । उनी राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर पनि हुन् । उनको कप्तानीमा सुदूरपश्चिम रोयल्सले एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
सुदूरपश्चिम रोयल्सको टोलीमा ब्याटिङ अलराउन्डर सेफ अली जेब, स्कटल्यान्डका ब्याटिङ अलराउन्डर ब्रान्डन म्याकमलेन, न्युजिल्यान्डका बलिङ अलराउन्डर स्कट कगेलियन, अमेरिकाका बलिङ अलराउन्डर हरमित सिंह, विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, इशान पाण्डे, आरिफ शेख, नरेश बुढाऐर, नरेन साउद, अविनाष बोहरालगायतका प्रभावशाली खेलाडी रहेका छन् ।
सुदूरपश्चिम रोयल्सका प्रमुख प्रशिक्षक भने जगत टमटा हुन् । जगतले पनि कुशलतापूर्वक राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलबाट एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउँदा जगत नै टोलीको प्रशिक्षक थिए ।
दुबै टोलीको ठुलो स्कोर
नेपाल प्रिमियर लिगको पहिलो संस्करणको फाइनलमा स्थान बनाउँदासम्म सुदूरपश्चिम रोयल्सले बनाएको सबैभन्दा ठुलो स्कोर चार विकेट गुमाएर एक सय ८७ रन हो । सुदूरपश्चिम रोयल्सले यो स्कोर लुम्बिनी लायन्सविरुद्धको खेलमा बनाएको थियो ।
जारी एनपीएलमा कुनै पनि टोलीले बनाएको यो तेस्रो ठुलो स्कोर पनि हो । सुदूरपश्चिम रोयल्सले बनाएको दोस्रो ठुलो स्कोर भने सात विकेट गुमाएर एक सय ८२ रन हो । सुदूरपश्चिम रोयल्सले यो स्कोर विराटनगर किङसविरुद्धको खेलमा बनाएको थियो ।
यसैगरी, जारी एनपीएलमा जनकपुर बोल्ट्सले बनाएको सबैभन्दा ठुलो स्कोर एक सय ४८ रन हो । चितवन राइनोजविरुद्धको खेलमा जनकपुर बोल्ट्सले १८ ओभरमा अलआउट हुनुअघि यो स्कोर बनाएको थियो ।
जनकपुर बोल्ट्सले बनाएको दोस्रो ठुलो स्कोर भने तीन विकेट गुमाएर एक सय ४३ रन हो । जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्धको खेलमा १७.१ ओभरमा यो स्कोर तयार पारेको थियो । त्यो खेलमा जनकपुर बोल्ट्स सात विकेटले विजयी भएको थियो ।
दुबै टोलीका सर्वाधिक रन बनाउने ब्याट्सम्यान
जारी एनपीएलमा सुदूरपश्चिम रोयल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान दीपेन्द्रसिंह ऐरी हुन् । उनले हालसम्म आठ खेल खेल्दै कुल दुई सय १८ रन बनाएका छन् ।
यस क्रममा उनले एक अर्धशतक पनि प्रहार गरेका छन् । उनले एउटै खेलमा बनाएको उच्च स्कोर अविजित ५७ रन हो । उनले हालसम्म १२ छक्का र १५ चौका हिर्काएका छन् ।
सुदूरपश्चिम रोयल्सका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान सेफ अली जेब हुन् । उनले हालसम्म आठ खेल खेल्दै कुल दुई सय ६ रन बनाएका छन् । उनले एक अर्धशतक प्रहार गरेका छन् । सेफ अली जेबले एउटै खेलमा बनाएको उच्च स्कोर भने ९० रन हो । जारी एनपीएलमा उनले हालसम्म १० छक्का र १६ वटा चौका पनि प्रहार गरेका छन् ।
यसैगरी, जारी एनपीएलमा जनकपुर बोल्ट्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान जेम्स निसम हुन् । उनले हालसम्म आठ खेल खेल्दै कुल दुई सय ४३ रन बनाएका छन् ।
जेम्स निसमले एउटा अर्धशतक पनि बनाएका छन् । एउटै खेलमा बनाएको उच्च स्कोर भने ६५ रन हो । उनले हालसम्म २३ छक्का र १४ वटा चौका पनि प्रहार गरेका छन् ।
जनकपुर बोल्ट्सका लागि दोस्रो सर्वाधिक रन बनाउने खेलाडी लाहिरु मिलनथा हुन् । उनले जारी एनपीएलमा हालसम्म नौ खेल खेल्दै कुल दुई सय ६ रन बनाएका छन् । लाहिरु मिलनथाले एउटा अर्धशतक पनि प्रहार गरेका छन् । उनले एउटै खेलमा बनाएको उच्च स्कोर भने अविजित ७५ रन हो । उनले हालसम्म पाँच छक्का र २६ वटा चौका हिर्काएका छन् ।
दुबै टोलीका सर्वाधिक विकेट लिने बलर
जारी एनपीएलमा सुदूरपश्चिम रोयल्सका लागि सर्वाधिक विकेट लिने बलर स्कट कगेलियन हुन् । उनले हालसम्म आठ खेल खेल्दै १६ विकेट लिएका छन् । उनी सर्वाधिक विकेट लिने बलरको सूचिमा पनि पहिलो स्थानमा छन् । उनको उत्कृष्ट प्रदर्शन १८ रन खर्चिएर पाँच विकेट हो ।
सुदूरपश्चिम रोयल्सका लागि सर्वाधिक विकेट लिने बलरको सूचिमा दोस्रो स्थानमा सेफ अली जेब रहेका छन् । उनले हालसम्म आठ खेल खेल्दै कुल ११ विकेट लिएका छन् । जारी एनपीएलमा उनको उत्कृष्ट प्रदर्शन भने ३३ रन खर्चिएर तीन विकेट हो ।
यसैगरी, जारी एनपीएलमा जनकपुर बोल्ट्सका लागि सर्वाधिक विकेट लिने बलर ललित राजवंशी हुन् । उनले हालसम्म नौ खेल खेल्दै १६ विकेट लिएका छन् । सर्वाधिक विकेट लिने बलरको सूचिमा उनी कगेलियनसँगै पहिलो स्थानमा छन् । उनको उत्कृष्ट प्रदर्शन केवल आठ रन खर्चिएर तीन विकेट हो ।
जनकपुर बोल्ट्सका लागि सर्वाधिक विकेट लिने बलरको सूचिमा हर्ष थाकेर दोस्रो स्थानमा छन् । उनले आठ पालीमा कुल ११ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन २३ रन खर्चिएर पाँच विकेट हो । जनकपुर बोल्ट्सकै किशोर महतोले पनि ११ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन ३५ रन खर्चिएर चार विकेट हो ।
प्रभाव पार्न सक्ने खेलाडी
हर्ष थाकेर (जनकपुर बोल्ट्स)
जनकपुर बोल्ट्सका प्रभावशाली अलराउन्डर हुन्, हर्ष थाकेर । उनी क्यानडाको राष्ट्रिय टोलीबाट थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी पनि हुन् । जारी एनपीएलमा जनकपुर बोल्ट्सको फाइनल यात्रामा २७ वर्षीय हर्ष थाकेरको पनि महत्वपूर्ण योगदान रहेको छ ।
जारी एनपीएलमा उनको बलिङ र ब्याटिङ दुबै उत्कृष्ट देखिएको छ । बलिङतर्फ उनले नौ खेलको आठ पालीमा कुल ११ विकेट लिइसकेका छन् । जारी एनपीएलमा उनको उत्कृष्ट प्रदर्शन भने २३ रन खर्चिएर पाँच विकेट हो ।
ब्याटिङतर्फ पनि उनले टोलीका लागि महत्वपूर्ण योगदान गरेका छन् । ब्याटिङतर्फ उनले नौ खेलमा आठ पालीमा कुल एक सय आठ रन बनाएका छन् । उनको उच्च स्कोर भने अविजित २९ रन हो । उनले हालसम्म एक छक्का र नौवटा चौका पनि हिर्काएका छन् ।
जेम्स निसम (जनकपुर बोल्ट्स)
जनकपुर बोल्ट्सका प्रभावशाली ब्याटिङ अलराउन्डर हुन्, जेम्स निसम । जनकपुर बोल्ट्सलाई फाइनलसम्म पुर्याउन ३४ वर्षीय जेम्स निसमको योगदान निकै महत्वपूर्ण छ । उनले जनकपुर बोल्ट्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् ।
जेम्स निसमले हालसम्म आठ खेल खेल्दै कुल दुई सय ४३ रन बनाइसकेका छन् । यस क्रममा उनले एउटा अर्धशतक पनि बनाएका छन् । उनले एउटै खेलमा बनाएको उच्च स्कोर भने ६५ रन हो । उनले २३ छक्का र १४ वटा चौका पनि हिर्काएका छन् ।
बिहीबार खेलिएको दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई रोमाञ्चक जित दिलाउन पनि उनको भूमिका महत्वपूर्ण थियो । पराजयतर्फ अग्रसर रहेको जनकपुर बोल्ट्सलाई जितसम्म पुर्याउन उनले केवल १७ बलको सामना गरी पाँच छक्का र दुई चौकाको मद्दतले ४५ रन बनाएका थिए ।
कर्णाली याक्सले दिएको एक सय १९ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले केवल ५८ रनमा पाँच विकेट गुमाएको थियो । त्यसपछि छैटौँ नम्बरमा क्रिज समाल्न आएका निसमले आक्रामक पाली खेल्दै टोलीलाई बलियो बनाएका थिए । उनले जारी एनपीएलमा ६ विकेट पनि लिएका छन् ।
सेफ अली जेब (सुदूरपश्चिम रोयल्स)
सुदूरपश्चिम रोयल्सका प्रभावशाली ब्याटिङ अराउन्डर हुन्, सेफ अली जेब । टोलीलाई प्रतियोगिताको फाइनलसम्म पुर्याउन उनको योगदान महत्वपूर्ण रहेको छ । २६ वर्षीय सेफ अली जेबको ब्याटिङ जति आक्रामक छ, बलिङ पनि उत्तिकै धारिलो ।
सेफ अली जेबले हालसम्म आठ खेल खेल्दै कुल दुई सय ६ रन बनाइसकेका छन् । यस क्रममा उनले एउटा अर्धशतक पनि प्रहार गरेका छन् । जारी एनपीएलमा उनको उच्च स्कोर भने ९० रन हो । उनले हालसम्म १० छक्का र १६ वटा चौका प्रहार गरेका छन् ।
सेफ अली जेब सर्वाधिक रन बनाउने ब्याट्सम्यानहरुको सूचिमा सातौँ स्थानमा छन् । उनले जारी एनपीएलमा ११ विकेट पनि लिइसकेका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन भने ३३ रन खर्चिएर तीन विकेट हो ।
ब्रान्डन म्याकमलेन (सुदूरपश्चिम रोयल्स)
ब्रान्डन म्याकमलेन स्कटल्यान्डका प्रभावशाली ब्याटिङ अलराउन्डर हुन् । २५ वर्षीय म्याकमलेनले जारी एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पुर्याउन ब्याटिङ र बलिङ दुबैमा महत्वपूर्ण योगदान गरेका छन् ।
ब्रान्डन म्याकमलेनले हालसम्म आठ खेल खेल्दै कुल एक सय ८७ रन बनाएका छन् । उनले एउटा अर्धशतक पनि प्रहार गरेका छन् । यस क्रममा उनले १० छक्का र १० चौका पनि हिर्काएका छन् । उनको उच्च स्कोर भने ५३ रन हो ।
यसका अतिरिक्त, उनले आफ्नो बलिङबाट पनि टोलीलाई महत्वपूर्ण योगदान गरेका छन् । उनले आठ खेलको सात पालीमा ६ विकेट पनि लिइसकेका छन् । जारी एनपीएलमा बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन २१ रन खर्चिएर तीन विकेट हो ।
फाइनलअघि के भन्छन् दुबै टोलीका कप्तान
नेपाल प्रिमियर लिगको फाइनल खेल शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच खेलिँदै छ । फाइनलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीका कप्तानले आफूहरु उपाधि भिडन्तका लागि तयार रहेको बताएका छन् ।
जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले फाइनलका लागि आफूहरुले छुट्टै योजना नबनाएको बताए । उनले आफ्ना लागि हरेक खेल उत्तिकै महत्वपूर्ण रहने जानकारी दिए । ‘फाइनलका लागि कुनै विषेश योजना छैन । म अभ्यास खेललाई जति महत्व दिन्छु फाइनल खेललाई पनि उत्तिकै महत्व दिन्छु । मेरो लागि सबै खेल उस्तै हो,’ आसिफ शेखले भनेका छन् ।
उनले फाइनल खेलमा नेपाली खेलाडीहरु नै निर्णायक बनुन् भन्ने आफ्नो चाहना रहेको पनि बताए । ‘फाइनल खेल जसले जिते पनि केही छैन । तर, जितको नायक नेपाली खेलाडीहरु नै बनुन् भन्ने मेरा चाहना छ,’ पत्रकार सम्मेलनमा आसिफ शेखले भने ।
जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले फाइनल खेलमा आफूहरु सकेसम्म ‘पावर प्ले’ लाई सदुपयोग गर्ने प्रयासमा रहने बताए । ‘सकेसम्म सुरुवाती ओभरमा बढीभन्दा बढी रन बटुल्ने प्रयास गर्नेछौँ । खासगरी अन्तिम चार ओभरलाई सदूपयोग गर्ने प्रयास हुनेछ,’ उनले भने ।
आसिफ शेखले टी–२० ढाँचाको क्रिकेटमा कुनै कुराको ठोकुवा गर्न नमिल्ने धारणा पनि ब्यक्त गरे । ‘टी–२० क्रिकेटमा केही अनुमान गर्न सकिन्न । खेलको दिन जसले कम गल्ति गर्छ त्यसले नै खेल जित्ने हो । सुदूरपश्चिम रोयल्स बलियो टोली हो । त्यसैले खेल जित्ने हो भने आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्नु आवश्यक छ,’ उनले भने ।
उनले कीर्तिपुर क्रिकेट मैदानमा दुई प्रकारको फरक चरित्र बोकेका विकेट रहेको पनि बताए । ‘समग्रमा हामी फाइनलका लागि मानसिक रुपमा तयार छौँ । कीर्तिपुर क्रिकेट मैदानमा दुई प्रकारको विकेट छ । एउटामा बढी रन बन्छ र अर्कोमा कम । त्यसैले अवस्था हेरेर हामी आफ्नो रणनीति बनाउने छौँ,’ उनले भनेका छन् । उनले समर्थकहरुप्रति आभार पनि ब्यक्त गरे ।
यसैगरी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफूहरु फाइनल खेलका लागि तयार रहेको बताए । उनले पनि आफ्ना लागि फाइनल खेल अन्य खेलकै जस्तो भएको प्रतिक्रिया दिए । ‘हाम्रा लागि फाइनल खेल पनि यसअघिका अन्य खेलजस्तै हो । कुनै विशेष योजना छैन,’ उनले भने ।
कप्तान दीपेन्द्रले फाइनल खेलमा आफ्ना खेलाडीले आफ्नो सम्पूर्ण क्षमता लगाएर खेल्ने बताए । ‘फाइनल खेलका लागि विशेष योजना केही छैन । तर, हामी फाइनल खेलमा सतप्रतिशत दिने प्रयास गर्नेछौँ,’ पत्रकार सम्मेलनमा उनले भनेका छन् ।
सुदूरपश्चिम रोयल्सका मार्की खेलाडीसमेत रहेका दीपेन्द्रले टस जितेमा विकेटको अवस्था हेरेर ब्याटिङ वा बलिङको निर्णय लिने जानकारी पनि दिए । ‘अहिले नै केही भन्न सकिन्न । टस जितेमा विकेटको अवस्था हेरेर ब्याटिङ वा बलिङको निर्णय लिनेछौँ,’ उनले भने ।
कप्तान दीपेन्द्रले जनकपुर बोल्टलाई आफूहरुले कमजोर प्रतिद्वन्द्वीका रुपमा नलिएको पनि बताए । जारी एनपीएलमै यसअघि दुईपटक सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई हराइसकेको छ । ‘यसअघि हराएको भन्दैमा जनकपुर कमजोर प्रतिद्वन्द्वी होइन । त्यसैले हामी फाइनलमा कुनै हेलचेक्राई गर्ने पक्षमा छैनौँ,’ उनले भनेका छन् ।
फाइनलका लागि आफूहरुले शुक्रबार पनि केही समय अभ्यास गरेको जानकारी दिए । ‘हाम्रो तयारी राम्रो छ । आज पनि केही समय अभ्यास गर्यौँ । खेलाडीहरु लयमा पनि देखिएका छौँ । तर, नतिजाको बारेमा अहिले नै केही अनुमान गर्न सकिँदैन । खेल हो, नतिजा जे पनि आउन सक्छ,’ उनले भने ।
कप्तान दीपेन्द्रले समर्थकहरुप्रति आभार पनि ब्यक्त गरेका छन् । ‘हाम्रो टोलीलाई धेरै समर्थकले मायाँ गर्नु भएको छ । फाइनल खेलमा पनि समर्थकहरुले हाम्रो हौसला बढाउनु हुनेछ भन्ने विश्वास लिएका छौँ । म समर्थकहरुप्रति आभार पनि ब्यक्त गर्न चाहन्छु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–नौबिसे सडकखण्डमा यसरी हुँदैछ काम (तस्बिरहरू)
-
अर्थतन्त्र सम्हाल्न असफल अर्थमन्त्री
-
१४ विधामा आईसीटी अवार्ड घोषणा, सुरेशराज शर्मादेखि आईएमईपेसम्म उत्कृष्ट
-
बाजुरा भूकम्प अपडेट : मानवीय क्षति शून्य, भौतिक क्षतिको विवरण सङ्कलन हुँदै
-
ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अङ्गका रूपमा अपनाऔँ : प्रधानमन्त्री ओली
-
कोशी प्रदेशमा हल्का वर्षा, अन्यत्रको मौसम कस्तो रहला ?