विश्व ध्यान दिवस : लगातार ३२ घण्टा भावातीत ध्यान गरिने
-पूर्णप्रसाद मिश्र
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवसका अवसरमा शनिबार विश्वव्यापी रूपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ । विश्व ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घको विशेष कार्यक्रम आज (२० डिसेम्बर २०२४) मा न्युयोर्क सिटीमा आयोजना हुँदैछ ।
कार्यक्रमको प्रमुख वक्ता डा.टोनी नादर रहेका छन् । उनी हार्वर्ड–प्रशिक्षित स्नायुविज्ञानी र भावातीत ध्यानको संस्थाका विश्वव्यापी प्रमुख हुन् । डा नादरले २१ डिसेम्बरमा एक अद्वितीय, निरन्तर चल्ने वैश्विक सामूहिक ध्यानको कार्यक्रम पनि सञ्चालन गर्नुहुने नेपाल महर्षि वैदिक फाउन्डेसनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
कार्यक्रममा विश्वभरिका ध्यानीहरू बिहान ८ बजे र साँझ ५ बजे (म्यानमारदेखि नेपाललगायत अफगानिस्तानसम्मका देशमा बिहान ८ः४५ बजे र साँझ ५ः४५ बजे) स्थानीय समयमा ध्यान गर्नेछन् । यसबाट शान्तिको निरन्तर लहर पृथ्वीभर फैलने विश्वास गरिएको फाउन्डेसनका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश बास्कोटाले बताए ।
विश्वव्यापी सामूहिक ध्यान न्युजिल्यान्डबाट सुरु भएर पश्चिमतर्फ बढ्दै ३२ घण्टासम्म चल्नेछ र हवाईमा पुगेर समाप्त हुनेछ । डा नादरले विश्वभरका जुनसुकै विधिका सबै ध्यानीलाई सामूहिक प्रयासमा भाग लिन आग्रह गरेका छन् । ध्यानका माध्यमबाट विश्व शान्ति स्थापनामा सहयोग पुग्ने उहाँको विश्वास छ ।
ध्यानको गहन प्रभावलाई मनुष्य एवं समाजको भलाइमा उपयोग गर्न सकिन्छ । विश्वव्यापी शान्ति स्थापनाका लागि ध्यानको प्रभाव उपयोगी हुने तथ्य विश्वका दुई सयभन्दा बढी विश्वविद्यालयमा गरिएको करिब सात सय ५० भन्दा धेरै वैज्ञानिक अनुसन्धानले प्रमाणित गरेको अध्यक्ष बास्कोटाले बताए । यो वैश्विक कार्यक्रमले ध्यानमार्फत शान्ति स्थापना गर्ने उद्देश्य राख्दछ ।
डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा घोषणा गरेको थियो । नेपाल, भारत, श्रीलङ्का, लिचटेनस्टाइन, एन्डोरा र मेक्सिको गरी छ देशको समूहले विश्व ध्यान दिवसको प्रस्ताव गरेका थिए । प्रस्तावलाई एक सय ९३ सदस्य राष्ट्रले सर्वसम्मत समर्थन गरेका हुन् ।
विश्व ध्यान दिवसको महत्वलाई भावातीत ध्यानमा गरिएको वैज्ञानिक अनुसन्धानले बल प्रदान गरेको छ । यसले हिंसा र सङ्घर्षजस्ता नकारात्मक समाजिक प्रवृत्तिलाई घटाउन, शान्ति र भलाइको प्रवर्द्धन गर्न मद्दत गर्ने तथ्य प्रमाणित गरेको छ । दुई सयभन्दा बढी विश्वविद्यालयमा गरिएको सात सय ५० बढी अध्ययनले भावातीत ध्यानको प्रभावकारिता प्रमाणित गरेको फाउन्डेसनले जनाएको छ ।
विशेष गरी सामूहिक रूपमा ध्यानको अभ्यास गर्दा यसको प्रभाव गुणात्मक हुने गर्दछ । डा नादरका अनुसार सामूहिक भावातीत ध्यानले समाज र विश्वमा दीर्घकालीन शान्ति ल्याउँछ । संयुक्त राष्ट्रसङ्घको यो पहलले मनको शक्तिमा विश्वास राख्दै शान्ति स्थापनाका लागि काम गर्न चाहेको उनले बताए । युनेस्कोले यसलाई भनेको छ, “युद्ध मानिसको मनमा सुरु हुन्छ र शान्तिको रक्षा पनि त्यही मनमा स्थापना गर्नुपर्छ ।”
भविष्यमा संसारभर ठूला, स्थायी ध्यानी समूह स्थापना गरी सामूहिक चेतनामा पर्याप्त सहसम्बद्धता स्थापित गरेर विश्वमा दीर्घकालीन शान्ति ल्याउनु डा.नादरको लक्ष्य रहेको फाउन्डेसनका अध्यक्ष बास्कोटाले बताए । विद्यालय, कार्यालय र सैन्य समूहजस्ता विभिन्न स्थानमा हरेक दिन ध्यान अभ्यास गराएर शान्तिपूर्ण संसारको निर्माण गर्ने उनको लक्ष्य रहेको पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।
वैदिक सनातनी परम्परामा रहेको दैनिक जीवनको अभिन्न अङ्ग ध्यानलाई विश्वले आत्मसात् गरेकामा गौरवको विषय बनेको छ । फाउन्डेसनले डिसेम्बर २१ अर्थात् पुस ६ गते शनिबार बिहान ८ः४५ बजेदेखि महर्षि वैदिक इन्स्टिच्युट, ब्रह्मानन्द सरस्वती ग्राम चम्पादेवीमा सामूहिक भावातीत ध्यानसहितको कार्यक्रम आयोजना गरिएको अध्यक्ष बास्कोटाले जानकारी दिए ।
महर्षि अभियानको विश्वव्यापी संस्था विश्व शान्ति राष्ट्रम्ले पनि प्रत्येक देशको समयका आधारमा लगातार ३२ घण्टासम्म सामूहिक भावातीत ध्यान तथा सिद्धिको अभ्यासको कार्यक्रम तय गरेका छन् । सबै ध्यानी तथा सिद्धलाई भावातीत ध्यान केन्द्रले आयोजना गरेको सामूहिक ध्यानमा सहभागी हुन फाउन्डेसनले सार्वजनिक आह्वान गरेको छ ।
सामूहिक ध्यानमा सहभागी हुन अनुकूल नभएमा ‘जुम’ प्रविधिमार्फत् अनलाइनबाट अन्तर्राष्ट्रिय सामूहिक ध्यानमा सहभागी हुन सकिने जनाइएको छ । नेपाल महर्षि वैदिक फाउण्डेसनले सबै ध्यानीलाई यस ऐतिहासिक कार्यक्रममा पायक पर्ने स्थानमा सामेल भई सहभागी हुन आह्वान गरेको छ ।
प्राचीनतम् सदा स्वतन्त्र गोरक्षक भूमि नेपालबाटै योग तथा ध्यानको आविर्भाव भएको गौरवमय सनातनी परम्परा छ । राष्ट्रसङ्घले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको फाउन्डेसनले स्वागत गरेको छ ।
नेपालमा नेपाल महर्षि वैदिक फाउण्डेशनको अगुवाइमा सन् २००० देखि अविच्छिन्न भावातीत ध्यान अभ्यास भइरहेको छ । यो विधि महर्षि महेश योगीको विश्व शान्ति अभियानको प्रमुख विधा हो ।
सङ्घीय सरकारले पनि डिसेम्वर २१ मा ध्यान दिवस मनाउने जनाएको छ । यस अवसरमा देशभरका भावातीत ध्यान केन्द्र, ग्लोवल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलमा शनिबार बिहानको रुद्राभिषेक पछि ८ः४५ बजे सामूहिक ध्यानको आयोजना हुने जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी भूभागमा न्यून चापीय प्रणालीको प्रभाव, कस्तो रहला आजको मौसम ?
-
तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी
-
महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
अमेरिकी डलरसँगै रियाल, दिराम, दिनारको भाउ बढ्यो, विदेशी मुद्रा कसको मूल्य कति ?
-
महाभारत लेकमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
-
जन्मसिद्ध नागरिकता बदल्ने ट्रम्पको आदेशलाई न्यायाधीशले रोके