१० बजे १० समाचार : वामदेवलाई तेस्रो मर्यादादेखि दुर्गा प्रसाईं रिहा र रविको पालो आइतबारसम्म
आज मिति २०८१ साल पुस महिनाको ५ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. वामदेवलाई तेस्रो वरीयता
नेकपा एकीकृत समाजवादीले एमालेका पूर्वउपाध्यक्ष समेत रहेका कम्युनिस्ट नेता वामदेव गौतम, भीम रावल र नेता प्रेमबहादुर सिंहलाई पार्टीमा भित्र्याउने पहलसँगै पार्टीभित्र आउनसक्ने सम्भावित नेताहरूको व्यवस्थापनको पनि चर्चा हुन थालेको छ ।
खासगरी व्यवस्थापनबारे गौतमको चर्चा बढी भइरहेको छ । गौतम पार्टीमा आए सम्मानित नेता वा वरिष्ठ नेतामध्ये कुनै एक पद दिन सकिने एकीकृत समाजवादीका नेताहरूको आन्तरिक बुझाइ छ ।
हाल एकीकृत समाजवादीमा सम्मानित नेताको हैसियतमा पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनाल छन् । उनीपछिको वरियता गौतमलाई दिन सकिने नेताहरुको बुझाइ छ ।
२. रविविरुद्ध मुद्दा दर्ताको पालो आइतबार
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिल कार्यालयले १९ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता गरेको छ । कास्की जिल्ला अदालतमा शुक्रबार सरकारी वकिल कार्यालयले १९ जनाको अभियोगपत्र दर्ता गरेको हो ।
कास्की प्रहरीले गरेको अनुसन्धान रिपोर्टका आधारमा उनीहरूलाई अभियोगपत्र दर्ता गरिएको अदालतका निमित्त श्रेष्तेदार ख्यामनारायण लामिछानेले जानकारी दिए ।
पूरक अभियोग दर्ता हुनेमा जीबी राईसहितका पदाधिकारीहरू छन् । तीमध्ये १६ जनालाई सहकारी दफा मात्रै थप भएको छ भने बाँकी २ जनालाई संगठित अपराध र जीबी राईलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, संगठित अपराध र राष्ट्र बैंक कसुर थपिएको उनले सुनाए । प्रहरीले ५१ जनालाई प्रतिवादी बनाएको छ । बाँकी नयाँ प्रतिवादीहरूको अभियोगपत्र आइतबार मात्रै दर्ता हुने बताइएको छ । जसमा रवि लामिछाने पनि रहेका छन् । शुक्रबार समय अभाव भएकाले उनीहरुको मुद्दा दर्ताको पालो आइतबार मात्रै आउने भएको हो ।
३. दुर्गा प्रसाईं रिहा
मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्नो लडाई जारी रहने बताएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार रिहा भएका उनले तस्करविरुद्धको आफ्नो लडाई जारी रहने बताएका हुन् ।
उनले भने, ‘मेरो लडाइँ जारी छ । तस्करहरुविरुद्धको लडाई जारी रहने छ । यो लडाईबाट दुर्गा प्रसाईं भाग्दैन । मेरो बोली भनेको सर्वहारा भुईँ मान्छेको बोली हो । उत्पीडन वर्गको बोली हो । कम्युनिस्टहरुले बोल्नु पर्ने आज मैले बोल्नुपर्यो ।’
४. वैदेशिक रोजगारीमा ठगी
वैदेशिक रोजगारीमा ठगीका विभिन्न प्रवृत्ति देखिएका छन् । योसँगै ठगीका उजुरी पनि बर्सेनि बढ्दै गएको देखिन्छ । वैदेशिक रोजगार न्यायाधिकरणमा चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक रोजगारी सम्बन्धी ठगीका ७९ मुद्दा दर्ता भएका छन् । गत वर्षको सरेर आएका २३१ मुद्दामध्ये हालसम्म ६४ वटा मुद्दा फस्र्यौट तथा मिलापत्र भएका छन् ।
५. उत्पादनमा माओवादी
नेकपा माओवादी केन्द्रले पार्टीको सातौँ र आठौँ महाधिवेशनले पारित गरेको उत्पादनसम्बन्धी नीतिलाई कार्यान्वयनमा लैजाने तयारी गरेको छ । २०६९ सालमा हेटौंडामा सम्पन्न सातौँ महाधिवेशनले पार्टीको नेतृत्वमा उत्पादन ब्रिगेड गठन गर्ने योजना अघि सारेको थियो । १२ वर्ष बितिसक्दा समेत सो योजना अलपत्र पर्दै आएको छ ।
६. काठमाडौँ महानगरको एक्सन
काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि कारबाही सिफारिस गरेको छ । पुरानो बसपार्कमा काठमाडौँ महानगरपालिकाको नाममा निर्माणाधीन अवस्थामा रहेको टावरसँग उनी जोडिएपछि महानगरको छानबिन समितिले उनलाई कारबाही सिफारिस गरेको हो ।
७. कांग्रेसमा कलह
व्यक्तिगत इगो‚ गुटगत झगडा तथा पार्टीको आन्तरिक कलहका कारण सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यताका सम्बन्धमा विवाद देखिएको छ ।
महाधिवेशनको मेरुदण्ड क्रियाशील सदस्यता भएपनि जिल्लादेखि वडा तहसम्म रहेका नेतृत्वबिच रहेको व्यक्तिगत इगो‚ संस्थागत र इतर समूहको नाममा भएको गुटगत झगडा लगायतका कारणले विवाद देखिएको नेताहरूको भनाइ छ ।
८. कर्णालीको आकर्षक योजना कार्यान्वयन फिक्का
कर्णाली प्रदेश सरकारले विभिन्न समयमा निकै आकर्षक तथा कर्णप्रिय योजना अघि सार्दै आएको छ । तर ती योजना कार्यान्वयनको तहमा फिक्का देखिएका छन् । यहाँसम्म कि, कतिपय कार्यक्रमको प्रगतिबारे प्रदेश सरकार नै बेखबर छ ।
९. मन्त्रिपरिषद् बैठक
सरकारले नेपाल प्रहरीका दुई जना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।
आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गरेको एक मन्त्रीले रातोपाटीलाई बताए ।
१०. कुलपति चयन
नेपाल विश्वविद्यालयको कुलपतिमा डा बिन्दुनाथ लोहनी ४ वर्षका लागि चयन भएका छन् ।
नेपाल विश्वविद्यालयको सर्वोच्च शासकीय निकाय, संरक्षण परिषद्को पहिलो बैठकले उनलाई कुलपतिको पदमा चयन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
-
आइजीपी कप : एपीएफ स्कूल कीर्तिपुर विजयी
-
अर्यालसहित एक दर्जन युवा एमालेमा प्रवेश
-
दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध
-
नक्कली भुटानी शरणार्थी प्रकरण : उच्चले थुनामै पठाएपछि बेचन झा पुगे सर्वोच्च
-
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि समितिमा छलफल सुरु