शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

१९ करोडभन्दा बढी रुपैयाँले बढ्यो हेटौंडाको बजेट

शुक्रबार, ०५ पुस २०८१, १९ : २३
शुक्रबार, ०५ पुस २०८१

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको चालु आर्थक वर्ष २०८१/०८२ को वार्षिक बजेट बढेको छ । उपमहानगरपालिकाको नगरसभाको १६ औँ अधिवेशन बैठकले चालु आर्थिक वर्षको बजेट १९ करोडभन्दा बढीले बजेट बढाएको हो ।

मेयर मीनाकुमारी लामाको अध्यक्षतामा शुक्रबार बसेको उपमहानगरपालिकाको नगरसभाको अधिवेशन बैठकले चालु आर्थिक वर्षको बजेटमा १९ करोड ९७ लाख रुपैयाँ थप गरेको हो । उपमहानगरपालिकाले गत असार १० मा चालु आर्थिक वर्षका लागि २ अर्ब ५२ करोड रुपैयाँ बजेट ल्याएको थियो ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तथा नगर क्षेत्रका नागरिकको जीवनस्तरमा सुधार गर्न बजेट संशोधन गरिएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।

विषयगत समितिबाट पेस भए अनुसार कर्मचारी तथा जनप्रतिनिधिको तलब भत्ता, सवारी इन्धन तथा मर्मत, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च, ईसिडि शिक्षक र विद्यालय कर्मचारी प्रोत्साहन, बालमैत्री स्थानीय शासन अभियान, वहुवर्षीय योजनाहरूको भुक्तानी, गत वर्ष जिम्मेवारी सरेका योजनाहरूको भुक्तानी, नगर अस्पताल सञ्चालन एवं स्वास्थ्य सम्बन्धी कार्यक्रम लगायतका अनिवार्य दायित्व र खर्चका लागि उक्त बजेट कार्यान्वयन गरिने छ । सो बजेट रकमको नदीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरण, आन्तरिक राजस्वका स्रोत तथा संघ र प्रदेश सरकारसँगको समन्वयमा गरिने उनले बताए ।

नगरसभामा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको आय तथा खर्च विवरण प्रस्तुत गरिएको थियो । सो अवधिमा नगरपालिकाले संघीय सरकार समानीकरण तथा सशर्त अनुदान तर्फ ४५ करोड ८ लाख ९० हजार रुपैयाँ, प्रदेश सरकार समानीकरण, सशर्त र समपूरक अनुदानतर्फ ३ करोड ८ लाख ३२ हजार रुपैयाँ, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटतर्फ १४ करोड ६८ लाख ९ हजार रुपैयाँ र आन्तरिक स्रोत कर, राजश्व शुल्क र गत वर्षको नगद मौज्दात समेत गरी २० करोड ६२ लाख १७ हजार रुपैयाँ आय आर्जन गरेको छ ।  नगर विकास कोषबाट ऋण बापत १ करोड ४८ लाख ४२ हजार रुपैयाँ आम्दानी भएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले मंसिर मसान्तसम्ममा कुल बजेटको ४५ करोड ११ लाख ६८ हजार रुपैयाँ (२१.१२ प्रतिशत) रकम खर्च गरेको छ । कुल खर्च मध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र तर्फ १४ करोड ९१ लाख ३५ हजार रुपैयाँ (२७.८४ प्रतिशत), सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ २२ लाख ४७ हजार रुपैयाँ (७.०३ प्रतिशत), पूर्वाधार विकास क्षेत्र तर्फ ४ करोड ३८ लाख ८८ हजार रुपैयाँ (१०.७८ प्रतिशत), सामाजिक विकास क्षेत्र तर्फ २५ करोड ११ लाख ४३ हजार रुपैयाँ (२४.६७ प्रतिशत) र आर्थिक विकास क्षेत्र तर्फ ४७ लाख ५० हजार रुपैयाँ (३.२८ प्रतिशत) खर्च गरेको छ । सो अवधिमा अधिकांश क्षेत्रगत आयोजना तथा कार्यक्रमहरू सम्झौता भई कार्य सञ्चालनको क्रममा रहेको उपमहानगरपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप