शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय
राजनीति

सभापति देउवाको गृहप्रदेशबाट शेखरले दिन खोजेको सन्देश के हो ?

शुक्रबार, ०५ पुस २०८१, १९ : १५
शुक्रबार, ०५ पुस २०८१

काठमाडौँ । पार्टीको १५ औँ महाधिवेशनमा सभापति पदमा लड्ने उद्घोष गरिसकेका कांग्रेस नेता डा शेखर कोइरालाले औपचारिक तयारी थालेका छन् । उनले त्यसको सन्देश सुदूरपश्चिम प्रदेशबाट दिन खोजेका हुन् ।

तीने दिने कार्यतालिका बनाएर शुक्रबार नेता कोइराला सुदूरपश्चिम प्रदेशको धनगढी पुगे, जहाँ उनलाई १५ किलोको माला लगाएर स्वागत गरिएको छ ।

शेखरसँगै सुदूरपश्चिम प्रदेश गएका एक नेताका अनुसार सुदूरपश्चिम यात्राले दुई सन्देश दिन खोजेको छ । जसमध्ये महाधिवेशन र राजनीतिक सन्देश रहेको उनको भनाइ छ ।

‘पहिलो महाधिवेशन केन्द्रित नै हो,’ ती नेताले भने, ‘दोस्रो राजनीतिक सन्देश हो ।’

नेता कोइरालालाई धनगढी विमानस्थलमा डडेल्धुराका नेता युवराज पाण्डेसहितका नेताले १५ किलोको माला लगाइदिनु भावी सभापतिको दृष्टिकोणबाट हेरिनुपर्ने ती नेता बताउँछन् । यस्तै राष्ट्रिय राजनीतिको कोणबाट पनि हेरिनुपर्ने उनको भनाइ छ ।

पार्टीभित्र शेखर कोइरालालाई सभापति शेरबहादुर देउवाबाट ‘स्पेस’ कम मिलेको गुनासो हुने गरेको छ । शेरबहादुर देउवानै इतर समूहका नेता हुँदा ६०/४० को भागबन्डा प्रथा सुरू गरे पनि आफू पार्टी सत्तामा पुगेपछि त्यसलाई इन्कार गरेको गुनासो शेखर र उनको समूहको छ ।

यसबाहेक सत्ता समीकरण परिवर्तन, सरकार गठन र भागबन्डामा पनि शेखर समूहलाई निरन्तर उपेक्षा गरिएको गुनासो सो समूहले गर्दै आएको छ । त्यसमाथि सभापति देउवाले आफ्नै समूहबाट जितेका महामन्त्री गगन थापालाई साथ लिएको गुनासो पनि कोइराला पक्षको छ । यतिमात्र होइन, आफ्नै गृहप्रदेश कोशीमा सरकार गठन गर्दा पनि आफूलाई उपेक्षा गरेको भन्दै शेखर समूहले सरकारमा सहभागिता जनाएको छैन ।

यस्ता राजनीतिक घटनाक्रमकै बिच शेखर समूहले विराटनगरमा पालिका सभापतिहरूको भेला गरिदियो । प्रदेशस्तरीय सम्मेलनलाई काउन्टर दिन भेला गरेको केही समय पश्चात सुदूरपश्चिम प्रदेशबाट सुरु भएको कार्यकर्ता अन्तरसंवादको उद्देश्य ‘शेखरलाई पनि स्पेस चाहिन्छ’ भन्ने सन्देश दिनु रहेको सो समूहका नेताहरूको तर्क छ ।

डा शेखरसँगै सुदूरपश्चिममा रहेका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल पनि कार्यक्रमको उद्देश्यलाई २ पाटोबाटै विश्लेषण गर्न जरूरी रहेको तर्क गर्छन् ।

‘पहिलो समयमै महाधिवेशन गर्नुपर्छ भनेर नेता–कार्यकर्तालाई उत्साहित बनाउने र महाधिवेशनको माहोल बनाउने हो,’ उनले भने, ‘उहाँले आफू सभापति लड्छु भन्नुभएको छ । कार्यकर्तामाझ गएर उहाँहरूको कुरा सुन्ने, मन जित्ने र त्यसलाई मतमा पनि जितेर १५ औँ महाधिवेशनबाट सभापति बन्ने ।’

नेता पोखरेलका अनुसार दोस्रो भनेको राजनीतिक सन्देश हो । ‘यतिबेला कांग्रेस–एमाले गठबन्धनको सरकार छ । तर, सरकार सफल भएको छैन । त्यसमाथि भोलि प्रतिस्पर्धी कांग्रेस र एमालेनै हो,’ उनले भने, ‘सरकारलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन तथा भोलिको हाम्रो प्रतिस्पर्धी एमालेनै हो भनेर सन्देश प्रवाह गर्न पनि उहाँ प्रदेशगत रूपमा निस्कनुभएको हो ।’

त्यसो त कोइरालाले पनि धनगढी पुगेर सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै दूरी नभएको बताए । उनले सभापति सबैको साझा व्यक्ति भएकाले उनीसँग दूरी रहने कारण नै नरहेको तर्क गरे ।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै शेखरले १५ औँ महाधिवेशनका लागि आफू सभापतिको स्वाभाविक दाबेदार रहेको भन्दै महाअधिवेशन आउन १ वर्षमात्र बाँकी रहेकाले अन्य कार्यक्रमका लागि देश दौडाहामा निस्किए पनि महाधिवेशनको तयारी स्वाभाविक रहेको स्पष्ट पारे ।

सो क्रममा शेखरले पार्टी महामन्त्री गगन थापा र आफूबिच कुनै विवाद नरहेको र महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढ्ने भन्ने सन्देश पनि दिन खोजेका छन् ।

वर्तमान सरकारका बारेमा सोधिएको जिज्ञासामा कोइरालाले सरकारलाई असफल हुने छुट नभएको र ठुला दुई दल मिलेर वर्तमान सरकार बनेकाले सरकारले राम्रा काम गर्नुपर्ने बताए । सोही कारण आफूले खबरदारी गरिरहेको उनको तर्क थियो ।

सुदूरपश्चिममा रहँदा उनले नौ वटै जिल्लाका कार्यकर्तासँग भेटघाट तथा पार्टीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने तालिका छ ।

कोइरालाको सचिवालयका अनुसार शुक्रबार नै कोइरालाले प्रदेशका सबै जिल्लाका नेता तथा कार्यकर्तालाई भेटघाट तथा अन्तरक्रिया गरेका छन् । यसबाहेक उनले हरेक जिल्लाका नेता तथा कार्यकर्तालाई फरक–फरक समयमा भेट्ने र जिल्लागत विभिन्न विषयमा छलफल गर्ने सचिवालयले बताएको छ ।

कोइरालाले पुस ६ गते भ्रातृ तथा शुभेच्छुक संस्थाहरूसँग भेटघाट गर्नेछन् । सोही दिन दिउँसो उनले नेपाल प्रजातान्त्रिक सेनानी संघ, सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनको उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम छ ।

नेता कोइरालाले सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट स्थानीय तहका प्रतिनिधि, जिल तथा स्थानीय तहका पार्टी सभापति तथा पदाधिकारी तथा नेता कार्यकर्तासँग धनगढीमा भेट्ने कार्यक्रम तय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप