काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही सिफारिस
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि कारबाही सिफारिस गरेको छ । पुरानो बसपार्कमा काठमाडौँ महानगरपालिकाको नाममा निर्माणाधीन अवस्थामा रहेको टावरसँग उनी जोडिएपछि महानगरको छानबिन समितिले उनलाई कारबाही सिफारिस गरेको हो ।
भवन निर्माणको नक्सा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको भन्दै उनीमाथि कारबाही सिफारिस गरिएको हो ।
यस विषयमा थप छानबिन गरी नियम विपरीत कार्य गर्ने जो कसैलाई कानुन बमोजिम कारबाही प्रक्रियाका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
के हो घटना ?
काठमाडौँ महानगरपालिका वडा नम्बर २८ पुरानो बसपार्कमा काठमाडौँ महानगरपालिकाको नाममा टावर निर्माण गर्न २०७१ फागुन २० गते काठमाडौँ महानगरको कार्यपालिका बैठकले निर्णय गरेको थियो । सोही आधारमा फागुन २२ गते श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालि र काठमाडौँ महानगरबिच दुई पक्षीय सम्झौता भएको थियो ।
कम्पनी र महानगरबिच निर्माणको अवधि पाँच वर्षसहित जम्मा ३० वर्षका लागि सञ्चालन गर्ने र त्यसपछि महानगरलाई हस्तान्तर गर्ने सम्झौता थियो । महानगरले स्वीकृत गरेको नक्साभन्दा विपरीतको संरचना निर्माण गर्न नपाइने गरी सहमति पत्रमा हस्ताक्षर भएको थियो । सोही बमोजिम दुई तला बेसमेन्ट र जमिन तलादेखि १० तलासम्म गरी जम्मा १२ तलाको निर्माण गर्न नक्सा पास गरेको थियो ।
तर, प्लिन्थ लेभल सम्मको निर्माणपछि त्यसको प्राविधिक जाँच महानगरले गरेपछि मात्रै माथिको नक्सा पास गरेर माथिको निर्माण प्रक्रिया अगाडि बढाउने भन्ने थियो । वडा कार्यालयको इन्जिनियरले गरेको फिल्ड प्रतिवेदनमा त्यस्तो नगरी डबल बेसकेन्ट प्लिन्थ लेभलभन्दा माथि दुई तला बेसमेन्ट र जमिन तलादेखि १० तलासम्म १२ तला स्ट्रक्चर निर्माण भएको देखिएको थियो ।
कम्पनीले २०८० कात्तिक १ गते नक्सा पास म्याद थप तथा नक्सा संशोधन गर्न (भवन निर्माण मापदण्ड २०८० को मापदण्ड बमोजिम) निवेदन पेस गरेको थियो । त्यस्तै काठमाडौँ भवन निर्माण मापदण्ड २०७५ परिच्छेद–२ दफा १३ बमोजिम निर्माण सम्पन्न भएको भवनको हकमा हाल कायम रहेको दस्तुर लिई सुपर स्ट्रक्चर नक्सा पास गर्न सकिने व्यवस्था छ । सोही सम्बन्धमा निर्माण साझेदार जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले सुपर स्ट्रक्चर नलिइ निर्माण गरेको जम्मा बेसमेन्टसहित १२ तल्लाको लागि जरिवाना लिई नक्सा पास प्रक्रिया अगाडी बढाइएकोमा विभिन्न समयमा कामपाको आधिकारिक नक्सा पास प्रणालीमार्फत नक्सा पास प्रक्रिया अगाडि बढाइएको थियो ।
सोही प्रक्रियामा १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा १९ तलाको संशोधित नक्सा पेस गरेको देखिएको थियो । उक्त नक्सा दुवै पक्षबिच भएको सम्झौता विपरीत भएकाले नक्सा संशोधन प्रक्रिया रोकिएको थियो । महानगरको आधिकारिक नक्सा पास प्रणाली बमोजिम २०८० फागुन २२ गतेदेखि प्राविधिक कारणले रोकिएको प्रक्रिया विद्युतीय नक्सा पास प्रणालीमा २०८१ भदौ ३० गते प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुख हरिशचन्द्र लामिछानेलाई फर्वाड गरेका थिए ।
विभागीय प्रमुख लामिछानेले रजिस्ट्रेसन डेस्कको अनिरा तुलाधर, अनिरा तुलाधरले वडा इन्जिनियर सुशील केसीलाई, सुशील केसीले निर्मलकुमार भट्टराईलाई र निर्मलकुमार भट्टराईले हरिशचन्द्र लामिछानेलाई समेत पठाएका थिए ।
पुस ५ गतेका दिनसम्म महानगरको आधिकारिक नक्सा पास प्रणालीमा विभागीय प्रमुखको डेस्कमै रहेको देखिन्छ । उल्लेखित ब्यहोरा बमोजिम सो भवनको नक्सा हालसम्म स्वीकृत नभएको प्रवक्ता मानन्धरले बताए ।
तर भवन निर्माणको नक्सा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिएको हो । त्यसैले प्रमुख प्रशासकीय अधिकृत सहित संलग्नलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रादेशिक अस्पताल गौरमा पहिलो पटक आङ खस्ने रोगको अपरेसन
-
सिरहाबाट नलकटुवा पेस्तोलसहित दुई जना पक्राउ
-
भारत र अमेरिकाका विदेशमन्त्रीहरूको भेटवार्तामा के भयो कुराकानी ?
-
नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’
-
टर्कीको रिसोर्टमा आगलागी, मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो
-
ट्रम्पको शपथ ग्रहण लगत्तै पुटिन र सीबिच भिडियो कल