अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन दुई चरणमा हुने
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको यसअघि स्थगित २३ औँ राष्ट्रिय सम्मेलन दुई चरणमा सम्पन्न हुने भएको छ ।
अध्यक्षमण्डलको बैठकले दुई चरणमा सम्मेलन सक्ने गरी निर्वाचन आयोगलाई पत्राचार गरेको हो । संगठनका फ्याक्सन इन्चार्ज हिमाल शर्माले पहिलो चरणमा ३२ वर्षे उमेर हद लागु गर्ने वा नगर्ने विषयमा मतदान हुनेछ । दोस्रो चरणमा नेतृत्व छनोटका लागि मतदान हुने उनले शुक्रबार रातोपाटीलाई बताए ।
‘राष्ट्रिय सम्मेलन दुई चरणमा गर्ने निर्णय भएको छ । पहिलो चरणमा ३२ वर्षे उमेर हद लाग्ने वा नलाग्ने भन्नेमा मतदान हुनेछ । दोस्रो चरणमा नेतृत्व छनोटका लागि मतदान हुनेछ । सोही अनुसार तयारी थाल्न अध्यक्षमण्डलले पुस १२ भित्र गरिसक्न निर्वाचन आयोगलाई पत्राचार गरिसकेको छ’, उनले रातोपाटीसँग भने ।
उमेर हदसम्बन्धी मतदान जिल्ला जिल्लामा हुने र नेतृत्व छनोटको मतदान प्रदेश प्रदेशमा हुने उनले जानकारी दिए । त्यसका लागि ९५ स्थानमा मतदान केन्द्र रहने शर्माले बताए । उनले निर्वाचनको तयारीका लागि आयोगले मतदान अधिकृत छनोटको साथसाथै निर्वाचन कार्यतालिका निकाल्ने तयारी गरिरहेको जानकारी दिए ।
विधान, राजनीतिक प्रतिवेदनका विषय टुंगिएकाले अब देशैभरीबाट काठमाडौँ वा अन्य कुनै स्थानमा जम्मा हुन आवश्यक नभएको शर्माले बताए । उनले प्रतिनिधि विवाद हल भइसकेको दाबी गर्दै पुरानै २३२३ नै प्रतिनिधि कायम रहने जानकारी दिए ।
यता निर्वाचन प्रक्रिया कहिले देखि थाल्ने वा कसरी गर्ने भन्ने विषयमा आयोगले छलफल गरिरहेको अध्यक्ष मुक्तिनारायण प्रधानले जानकारी दिए ।
‘विद्यार्थीको सम्मेलनको विषयमा हामी छलफलमै छौँ । पत्र आइपुगेको छैन । मतदान प्रक्रिया कहिले र कसरी गर्ने भन्नेमा कुनै निर्णय भएको छैन । यसबारे पछि जानकारी दिउँला’, प्रधानले भने ।
यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालयमा भएको सम्मेलन उमेरहद लगाउने वा नलगाउने विषयमा विवाद हुँदा स्थगित भएको थियो । दोस्रो पटक वीरबहादुर थापा नेतृत्वको सात सदस्यीय अध्यक्षमण्डलले मंसिर २३ र २४ गते गर्ने भनियो । तर मंसिर २० गते बसेको माओवादी पदाधिकारी बैठकले सम्मेलन स्थगित गरेको थियो ।
यस्तै २८ गते बसेको स्थायी समिति बैठकले विद्यार्थी मोर्चामा देखिएका समस्याहरूको सन्दर्भमा नेतृत्वसँग परामर्श गरी सहमति जुटाएर समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको थियो । अब ३२ वर्षे उमेर हद अनुमोदन भएमा निवर्तमान पदाधिकारी प्राय सबै नेतृत्वबाट बाहिरिनेछन् । तर उमेर हदप्रति अध्यक्षका दाबी गरिरहेका पदाधिकारी तहका विद्यार्थी नेताहरूले असन्तुष्टि पोखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र अमेरिकाका विदेशमन्त्रीहरूको भेटवार्तामा के भयो कुराकानी ?
-
नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’
-
टर्कीको रिसोर्टमा आगलागी, मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो
-
ट्रम्पको शपथ ग्रहण लगत्तै पुटिन र सीबिच भिडियो कल
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
तीनबुँदे सहमति गरेर कांग्रेसले खोल्यो पोखरा महानगरमा लगाएको ताला