बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘केपी ओलीलाई अध्यादेश ल्याएर पार्टी फुटाउन दिएनौँ’

चुनावमा गठबन्धन नगर्ने निर्णय परिवर्तन हुँदैन : जगन्नाथ खतिवडा
शुक्रबार, ०५ पुस २०८१, २० : १५
शुक्रबार, ०५ पुस २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन गरेको झण्डै ६ महिनासम्म नेताहरूलाई जिम्मेवारीविहीन बनायो । जसका कारण नेता–कार्यकर्तामा असन्तुष्टि चुलियो र पार्टी नै विभाजन हुने हो कि भन्ने अवस्थासम्म  पुग्यो ।

तर अहिले नेताहरूको कार्यविभाजन गर्नुका साथै आगामी निर्वाचनसमेत एक्लै लड्ने निर्णय पार्टीले गरेको छ । के फुटको सँघारमा पुगेको पार्टी कार्यविभाजनपछि बचेको हो ? गठबन्धनकै जगमा जन्मेको पार्टीले आगामी निर्वाचन गठबन्धन नगरी सम्भव होला ? उपाध्यक्ष जगन्नाथ खतिवडालाई रातोपाटीका लागि फणीन्द्र नेपालले यी र यस्तै प्रश्न सोधेका छन् । प्रस्तुत छ, नेता खतिवडासँगको कुराकानीको सम्पादित अंश-

  • नेकपा एकीकृत समाजवादीले गठबन्धनविनै आगामी चुनाव लड्नेलगायत केही महत्त्वपूर्ण निर्णय गरेको छ । यस्तो अचम्मको निर्णय कसरी सम्भव भयो ?

हामीले नेकपा एमालेसँग विद्रोह गरी नयाँ पार्टी बनाउँदा नेपाली कांग्रेस र माओवादी केन्द्रसँगको गठबन्धनमा थियौँ । त्यसपछि हामीले दुई पटक गठबन्धनमार्फत स्थानीय तह र आम निर्वाचन चुनाव लड्यौँ । दुवै निर्वाचनमा एकीकृत समाजवादीले निकै कम सिट पायो । त्यसरी चुनाव लड्दा देशव्यापी रूपमा हाम्रो चुनाव चिह्न र पार्टीलाई प्रचार गर्न सकेनौँ । पार्टी व्यापक रूपमा प्रचारित हुन नसक्दा हामीले भनेजति सिट जित्न, कलम (चुनाव चिह्न)को प्रचार गर्न र समानुपातिक मत पनि पाउन सकेनौँ । यसरी हामी साँघुरियौँ ।

हाम्रो पार्टी राष्ट्रिय दल नबन्दा हामीमाथि अनेकौँ प्रकारका आक्षेप पनि लगाइयो । यो पार्टी एक्लै उभिन सक्दैन, पार्टी अघि बढ्नै सक्दैन भन्ने आरोप आज पनि खेप्दै आइरहेका छौँ । यी सबैलाई जवाफ दिएर हामी आफ्नै खुट्टामा उभिनेगरी सशक्त पार्टी निर्माणमा लाग्नुपर्छ भनेर सङ्कल्प गरेका छौँ ।

हिजोको गठबन्धनको परिस्थिति परिवर्तन भयो । अब हाम्रो पार्टी हामी आफैँ बनाउन कम्मर कस्नेबेला भयो । हिजोको गठबन्धनको कुनै औचित्य र अस्तित्व नै बाँकी नरहेको अवस्थामा आफ्नो पार्टी निर्माण, सवलीकरण, विस्तार र प्रतिस्पर्धी बनाउनका निम्ति कदम चाल्नुपर्छ भन्ने उद्देश्यलाई आत्मसात् गरेर आगामी दिनमा एक्लै निर्वाचन लड्ने निर्णय गरेका हौँ ।

  • एकीकृत समाजवादीले एक्लै चुनाव लड्नेभन्दा मानिसहरूले पत्याउनै सकेका छैनन् । किनभने यो पार्टीको जन्म नै गठबन्धनबाट भएको र त्यसमाथि उपचुनावसहित तीन वटा चुनाव गठबन्धन गरेरमात्रै लडेको उदाहरण छ नि ?

उपनिर्वाचनमा हाम्रो एक्लै चुनाव लड्ने मुख्य नीति थियो र धेरै स्थानमा हामीले एक्लै उम्मेदवारी पनि दियौँ । केही ठाउँमा हाम्रो परिस्थिति ठिक थिएन, त्यहाँ अरुलाई सहयोग ग¥यौँ । राजनीतिमा यस्तो जहिले पनि भइरहन्छ ।

तपाईंहरू सबैले देखेकै कुरा हो कि एमाले र कांग्रेसले एक अर्कासँग चुनाव चिह्न साटासाट गरेर नेताहरू नै चुनाव लडे । ठुला दुई दल, जो सरकारमा छन्, उनीहरूले नै चुनाव चिह्न साटेर नेताहरूलाई उम्मेदवार बनाएको समेत देखियो । त्यसैले कसैलाई सहयोग गर्न सकिन्छ तर मूल नीति हाम्रो पार्टी देशव्यापी विस्तारित गर्न एकल ढंगले उम्मेदवार उठाएर चुनावमा जान्छौँ भनेका हौँ ।

त्यसक्रममा कतिपय ठाउँमा सरसहयोग गर्नुपर्ने अवस्था बन्दा स्थानीयस्तरमै निर्णय गर्न सक्लान्, त्यो फरक पाटो हो ।

  • स्थानीयस्तरमा नभए पनि केन्द्रीयस्तरमा चाहिँ गठबन्धन नगर्ने भन्ने अडान चुनावसम्म कायम रहिरहन्छ त ?

पार्टी स्थायी कमिटी बैठकले गरेको निर्णय कार्यान्वयन हुन्छ, गर्नुपर्छ । दशौँ राष्ट्रिय महाधिवेशनअघि बसेको छैटौँ केन्द्रीय कमिटी बैठकले गरेको निर्णयलाई नै अहिले हामीले निरन्तरता दिएका हौँ । यो कुरा यहाँहरूलाई सम्झाउन चाहन्छु । छैटौँ केन्द्रीय कमिटीबाट यस्तो निर्णय ग¥यौँ, महाधिवेशनबाट त्यसलाई अझ सहजीकरण ग¥यौँ, व्याख्या र विश्लेषण गर्दै अघि बढ्दै जाँदा अहिले आएर निर्णय गरेका हौँ । अब यो निर्णयलाई केन्द्रीय कमिटी बैठकमा लगेर अनुमोदन गर्छौं । त्यसकारण पार्टीले गरेको निर्णय यसै हत्तपत्त परिवर्तन हुँदैन । यो निर्णय परिवर्तन गरेर पार्टीलाई लाभ हुने देखिँदैन ।

दोस्रो कुरा कसैले पत्याउँदैनन् भन्ने तपाईंको प्रश्न छ, किनभने कसैले पत्याउनेगरी विगतमा हामीले केही गर्नुपरेकै थिएन । विगतका दुई वटा चुनाव गठबन्धनबाट लड्नुपर्ने हाम्रो आवश्यकता र बाध्यता थियो । अब हामीसँग प्रशस्त समय पनि छ, पूर्वाधार बनाउन पनि सक्छौँ । अब हिजोको गठबन्धनको आवश्यकताको समय पनि समाप्त भएको छ । नयाँ प्रकारको आवश्यकता जन्मिएको छ । त्यो भनेको नेकपा एकीकृत समाजवादीले सशक्त राजनीतिक दलका रूपमा आफूलाई प्रस्तुत गर्ने र प्रत्येक निर्णायक राजनीतिक भूमिकामा आफूलाई उपस्थित गराउने ।

  • पार्टी सशक्त बनाउन जनता वा मतदाताले पत्याउनुपर्ने हुन्छ । त्यस्ता के मुद्दा छन् जनताले विश्वास गर्ने ?

हाम्रो पहिलो मुद्दा भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा हुनेछ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीलगायतका राजनीति दलहरूले स्थानीय तहमा गरेका भ्रष्टाचार, बेथिति, ज्यादति, विकासमा पक्षपात र गुणस्तरहीन काम, अन्यायजस्ता कुराहरूलाई चिर्दै जनताको बिचमा जानेछौँ । राष्ट्रियताको रक्षाको अर्को एजेण्डा हुनेछ । त्यसैगरी गरिबी र बेरोजगारीलाई अन्त्य गर्दै रोजगारीको पक्षमा आत्मनिर्भर नेपाल बनाउन कृषि क्रान्तिको पक्षमा हाम्रो मुद्दा अघि बढ्छ ।

  • तपाईंले फेरि नपत्याउने कुरा गर्नुभयो । नेपालका राजनीतिक दलहरूले गरेको भ्रष्टाचार अन्त्य र सुशासनको कुरा जनताले पत्याउँछन् र ? त्यसमाथि नेकपा एकीकृत समाजवादीमा त्यस्तो के भिन्नता छ र ?

नेकपा एकीकृत समाजवादीले आफ्नो आवाज उठाउदा नपत्याउनुपर्ने कारण के छ ? केही छैन ।

  • राजनीतिक पार्टी र नेता, जसले भ्रष्टाचार गर्दिनँ भनेर चर्को स्वरमा कराउँछन् । उनीहरू नै पटकपटक भ्रष्टाचार काण्डमा मुछिएका उदाहरण छैनन् त ?

नेपाली कांग्रेस र नेकपा एमालेलाई नपत्याउलान् । माओवादी केन्द्रलाई जनताले के गर्लान् ! तर हाम्रो पार्टी भ्रष्टाचारका विरुद्धमा उभिएको छ । यो पार्टी इमानदार नेता–कार्यकर्ताको पार्टी हो भनेर नै जनताले विश्वास गरेका छन् । हामीले बोलेको आवाज पार्टीको शक्तिले कतिसम्म पर पु¥याउन सक्ला ? कति प्रभावकारी बनाउन सक्ला ? जनमतले कति समर्थन गर्ला ? त्यतातिर सोधेको हो भने हामीले जनतासँग परीक्षा दिन बाँकी नै छ । तर नेकपा एकीकृत समाजवादीमा जस्तो इमानदार, निष्ठावान, अध्ययनशील र विवादरहित केन्द्रीय नेतृत्व अरुकहाँ देख्नुभएको छ भने मलाई बताइदिनुस् ।

  • नेकपा एकीकृत समाजवादीमा भएका सबै नेता चोखा हुन् त ?

प्रत्येक व्यक्तिका बारेमा तपाईंलाई लाग्छ भने लेख्न र बोल्न सक्नुहुन्छ । हाम्रो पार्टीको केन्द्रीय सचिवालयभित्र २४ जना पदाधिकारी छौँ । स्थायी कमिटीमा टोटल ४१ जना छौँ । ती प्रत्येक व्यक्तिलाई देखाएर भन्न सक्नुहुन्छ कि राजनीतिक, आर्थिक, नैतिक विभिन्न ढंगले तपाईंका यो–यो मान्छे खराब छन् भनेर ।

  • अनुसन्धान नहुनु फरक पाटो हो । तर माधवकुमार नेपाल बालुवाटार काण्डमा जोडिनुभएको, झलनाथ खनाल सर्पकाण्डमा जोडिएका समाचार आएकै हुन् । त्यसबाहेक सांसदहरू ठेकेदार र व्यापारी भन्ने त प्रस्टै छैन र ? कसरी दागरहित भन्ने ?

माधवकुमार नेपालको हकमा अफवाह फैलाइएको हो । त्यसकारण उहाँमा त्यो दाग छैन, पर्नुहुन्न । त्यसबारेमा हामीले आन्तरिक रूपमा पनि थुप्रै अध्ययन गरिसकेका छौँ । जबर्जस्ती राजनीतिक पूर्वाग्रह र राजनीतिक प्रतिशोध साँध्नका निम्ति कसैले दाग लगाउन खोज्यो भने यो मुलुकमा जसले जसलाई दाग लगाउन सक्छ भन्ने कुराका धेरै उदाहरण होलान् ।

झलनाथ खनालसँग सर्पको काण्ड जोडिएको भनिएको छ तर उहाँ पनि त्यसमा कहीँकतै संलग्न हुनुहुन्न । संस्थाको संरक्षकको रूपमा मात्रै उहाँको भूमिका थियो । त्यसमा जोडिएका अरु धेरै मानिस कानुनको कठघरामा छन् भन्ने सुनेको छु । त्यसकारण कोही संरक्षक कोही सल्लाहकार होलान्, त्यो स्वाभाविक हुन्छ । तर ठुला नेताहरू सबैलाई दुषित बनाएर सबै राजनीतिक दल खराब नै हुन् भनेर कसैले सुनियोजित प्रचारवाजी गर्छ भने त्यो उसको कुरा हो । त्यसकारण न माधव नेपाल, न झलनाथ खनाल– कोही दोषी हुनुहुन्न ।

  • तपाईंहरू यस्ता राम्रा, सकारात्मक कुरा र निर्णयहरू गर्नुहुन्छ । तर पार्टीको महाधिवेशन भएको ६ महिनामा बल्ल कार्यविभाजन गर्दै हुनुहुन्छ । यही बिचमा पार्टी फुट्योफुट्यो भन्ने भन्ने चर्चा पनि धेरै भयो । ६ महिना लगाएर गरेको कार्यविभाजनले पार्टी फुट्नबाट जोगिएको हो ?

प्रधानमन्त्री केपी ओलीजी र कांग्रेसको संयुक्त सरकारले अध्यादेश ल्याएर पार्टी फुटाउँछ भन्ने चर्चाले व्यापकता लिएको थियो । अब त्यो कुरा रोकियो । केपी ओलीजीले त्यसो गर्नुभएन, गर्न सक्नुभएन, गर्न दिइएन । यसमा जे–जसो भन्न पनि सकिन्छ । त्यसकारण त्यो हल्ला ट¥यो । हल्ला ट¥यो अर्थात् हामीलाई फुटाउन कोसिस गर्नेहरू पराजित भए । हामीले जित्यौँ ।

दोस्रो कुरा, कार्यविभाजन भइसकेपछि हाम्रो पार्टीमा गुणात्मक एकता कायम भएको छ । स्थायी कमिटी बैठकबाट हामीले महत्त्वपूर्ण तीन वटा नीतिगत निर्णय गरेका छौँ ।

  • के के हुन् ती नीतिगत निर्णय ?

पहिलो निर्णयमा हाम्रो अहिलेको अवस्थामा जनसंघर्षका माध्यमबाट जनजीविकाका प्रश्नहरू उठाएर पार्टीलाई जनतासँग जोड्न सक्छौँ भनेर नीति पास गरेका छौँ । दोस्रोमा आजको अवस्थामा पार्टी एकता भन्ने सम्भव छैन र देखिँदैन । त्यसकारण यतातिर नेकपा एकीकृत समाजवादी लाग्ने छैन । वामपन्थीहरूको बिचमा सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्ने एजेण्डा सधैँ रहिरहन्छ । तर आज पार्टी एकता सम्भव नभएकाले कार्यकर्ताहरूलाई कुनै भ्रममा नरहन, बरु आफ्नो पार्टीलाई सबल र सुदृढ बनाउने निर्णय गरेका हौँ ।

तेस्रो निर्णयमा आगामी निर्वाचनहरूमा नेकपा एकीकृत समाजवादीको देशव्यापी रूपमा एकल उपस्थिति देखिनेगरी प्रभावकारी काम गर्न कार्यकर्ताहरूलाई निर्देशित गरेका छौँ ।

  • तत्कालै कुनै पाटीसँग एकता नगर्ने भनेको भोलिपल्टै वामदेव गौतम नेतृत्वको एकता अभियनसँग एकता गर्न नेताहरूको दौडधुप त चलिसक्यो नि ?

यसलाई गलत अर्थमा बुझ्नुभयो । वामदेवसँगको एकीकरण आज भनेको होइन, लामो समयदेखि छलफल र चर्चा भइरहेको विषय हो । यद्यपि दुई पार्टीका रूपमा यसलाई परिभाषित गर्न सकिएला । यो भनेको नेकपा एकीकृत समाजवादीसँग एकीकृत हुने कुरा हो । यसो गर्दा हाम्रो पार्टीको झण्डा फेर्ने पनि होइन, चुनाव चिह्न फेर्ने कुरा पनि होइन । नाम फेर्ने कुरा पनि होइन । अर्को झण्डा, अर्को नाम र अर्को नेतृत्वमा जाने नभएकाले त्यस प्रकारको एकीकरण होइन ।

  • वामदेवसँग विचार, सिद्धान्त र कार्यक्रमचाहिँ मिल्छ त ?

मिल्ने भएरै प्रक्रिया अघि बढेको हो ।

  • संविधान संशोधनका लागि पार्टीभित्र कार्यदल पनि बनाउनुभएछ । कांग्रेस–एमालेले सुरुमा संशोधनको कुरा गर्दा विरोध गर्नुहुन्थ्यो तर अहिले फेरि किन तयार हुनुभयो ?

अग्रगमनमा जानका लागि संविधान संशोधन हुन्छ । कमी–कमजोरी सच्याउन पनि संशोधन हुन्छ । नेकपा एमाले र नेपाली कांग्रेसले यो संविधानलाई पश्चगमनतिर लान संशोधनको कोसिस गरिरहेका होलान् । हामी त्यो शंकामा आज पनि छँदैछौँ । उनीहरूले के प्रस्ताव ल्याउँछन्, त्यो हामीलाई थाहा छैन । प्रस्ताव ल्याउँछन् भन्ने हामीलाई आशा र विश्वास पनि छैन । तर हामी अब यो संविधानलाई एक पटक रिभ्यु गर्ने बेला आइसक्यो, आम जनताका बिचमा व्यापक प्रश्न पनि छन् । निर्वाचन प्रणालीलाई कसरी लान सकिन्छ भन्नेबारे पनि सोच्नै पर्ला । संघ र प्रदेश सरकारबिचका विभिन्न समस्या सम्बोधन गर्न पनि संविधान कहीँ न कहीँ कमी होला भनेर सोच्नुपर्ने होला । सधैँभरि बहुमतको सरकार नै बन्न नसक्ने, ‘हङ्ग पार्लियामेन्ट’ बनाएर जानुपर्ने परिस्थितिबारे पनि केही न केही छलफल गर्नुपर्ने होला । यस्ता विषयमा सोच्नु एउटा गतिशील राजनीतिक पार्टीको मुख्य जिम्मेवारी हो । त्यो जिम्मेवारी पूरा गर्न हामी आफ्नो अध्ययनका लागि भए पनि त्यो गृहकार्य गर्ने भनेका हौँ ।

  • खासमा नेकपा एकीकृत समाजवादीको ठोस नीति, कार्यक्रम र सिद्धान्त नै अस्पस्ट छ भनिन्छ । कतिपयले भाइ एमाले भनेर पनि भन्ने गरेको सुनिन्छ । जनताले बुझ्नेगरी पार्टीको नीति कार्यक्रम बताइदिनुस् न ?

हाम्रो पार्टीको राजनीतिक प्रतिवेदनमा सबै कुरा प्रस्ट छ । त्यो पढेर धारणा बनाइदिनुहोला भन्ने अनुरोध छ । दोस्रो कुरा, नेकपा एकीकृत समाजवादीले जनताको बहुदलीय जनवादलाई कार्यक्रम बनाएको छैन । हामी नेपाली विशेषताको समाजवादको यात्रामा निस्केका छौँ ।

  • नेपाल बहुजाती, भाषा, धर्म र संस्कृति भएको देश हो । यस्तो देशमा ‘नेपाली विशेषताको समाजवाद’ भन्नलाई सहज भए पनि लक्ष्यमा पुग्न निकै कठिन होला नि ?

राष्ट्रिय पुँजीको विकास गर्दै दलाल पुँजीलाई निरुत्साहित र अन्त्य गर्ने । हामी यो समाजमा भइरहेको सामन्तवादी, पुँजीवादी उत्पादन सम्बन्धलाई परिवर्तन गर्दै समाजवादको दिशामा जान चाहन्छौँ । त्यसकै लागि प्रयत्न गर्ने हो । सफल–असफल, कठिन–सहज थाहा हुन पनि प्रयास त गनुपर्ने नै हुन्छ । यसको लामो कोर्स त हुन्छ नै तर मुख्य कुरा नेपाली जनता गरिबीबाट, शोषणबाट मुक्ति पाउन र समृद्ध, गुणस्तरीय जीवनयापन निर्वाह र न्यायपूर्ण समाज निर्माण गर्नका निम्ति चाहिने जे–जति आवश्यक तत्व छन्, ती कुरा हामीले समाजवादी कार्यक्रममा समावेश गरेका छौँ । त्यसलाई क्रमशः लागु गर्दै जाने कुरामा अडिग छौँ ।

  • दलाल पुँजीवादको अन्त्य भन्ने अनि उनीहरूसँगै काँध जोडेर हिँड्ने ?

नेपालीहरूसँग सङ्गत गरिरहेका छौँ । नेपालीहरू सबै खालका, सबै वर्गका र चरित्रका छन् । यहीँभित्र वर्ग छ, यहीँभित्र वर्गसङ्घर्ष छ । यहीँभित्र प्रगतिको बिउ पनि छ भने यहीँभित्र अवन्नतिको विष पनि छ । त्यसैले अधोगतिको सँगसँगै बोकेर हिँडेको विषलाई परास्त गर्दै प्रगतिको यात्रामा निस्कनुपर्छ । आखिर नेपाली जनता, जनताले निर्माण गरेको संसद, नेपालीले नै निर्माण गरेको राजनीतिक दलसँग कुनै न कुनै रुपले हाम्रो जम्काभेट, सङ्गत, सहकार्य, विरोध र अन्तरविरोध भइनै रहन्छ ।

  • कम्युनिस्टहरू प्रायः शब्दजालमा खेल्छन् भनिन्छ । जे भए पनि तपाईं एउटा पार्टीको नेतामात्र नभएर एउटा नागरिक पनि हो । यसरी हेर्दा भ्रष्टाचार बढेको, सुशासन कायम नभएको, महँगी नियन्त्रण हुन नसकेको लगायतका विषयप्रति जनता वाक्कदिक्क भइसके । दलहरूले यति राम्रा कुरा गरे पनि जनताले किन विश्वास गर्न नसकेका होलान् ?

पहिलो कुरा कम्युनिस्टहरूले बढी शब्दजाल बुन्छन् भनेर आक्षेप लगाउनुभयो । बरु यसलाई कम्युनिस्टहरू बढी अध्ययन गर्छन्, विचार विश्लेषण गर्छन्, देशको परिस्थितिलाई नजिकबाट वस्तुगत अवस्था बुझेर परिस्थितिलाई सही ढंगले आकलन गर्न सक्छन् । त्यसैले उनीहरू कम्युनिस्ट हुन् र समाजलाई सही चित्रण गर्ने  शब्दावली प्रयोग गर्छन् । विरोधीहरूलाई त्यस्ता शब्दावली निकै गह्रौँ लाग्नसक्छ र शब्दजाल बुनेको भनेर आरोप लगाउँछन् । त्यसकारण कम्युनिस्टहरू सत्यलाई नजिकबाट बुझ्छन् भनेर बुझ्न जरुरी छ ।

दोस्रो कुरा, राजनीतिक दलहरूबाट जनता किन फ्रस्टेड छन् भन्दा त्यो उनीहरूका क्रियाकलाप र अभ्यासले नै गर्दा हो । यसमा कुनै शंका छैन । फेरि पनि सम्झनुपर्छ– राजनीतिक दलहरूको विकल्प छैन । यो दल नभए त्यो दलले शासन गर्छ । नेकपा एमाले वा कांग्रेस निषेध हुँदै गए भने अरु राजनीतिक दलहरू अगाडि बढ्लान् । हामी अघि बढ्यौँ भने अरु कोही निषेध होला ।

यसरी स्वाभाविक रूपमा चल्ने प्रक्रियाभित्र राजनीतिक दलहरू हुन्छन् र राम्रा दलहरू अगाडि आउनुपर्छ । त्यसकारण राजनीतिक दलहरूले कमजोरी गरेको हुनाले र सुशासन दिन नसकेकाले मानिसहरू विरक्त भए पनि फेरि कुनै न कुनै दलकै माध्यमबाट सरकार सञ्चालन गर्न पुग्नुपर्छ । जो भ्रष्टाचारको सबैभन्दा ठुलो विरोधी, जो आज सबैभन्दा असन्तुष्ट छ, ती पात्रहरूलाई राजनीतिमै आउन र खराब राजनीतिलाई स्वच्छ बनाउने प्रतिस्पर्धामा लाग्न अनुरोध गर्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप