शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

फाइनलअघि के भन्छन् सुदूरपश्चिम र जनकपुरका कप्तान ?

शुक्रबार, ०५ पुस २०८१, १६ : ०१
शुक्रबार, ०५ पुस २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिगको फाइनल खेल शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच खेलिँदै छ । फाइनलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले आफूहरू उपाधि भिडन्तका लागि तयार रहेको बताएका छन् । 

जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले फाइनलका लागि आफूहरूले छुट्टै योजना नबनाएको बताए । उनले आफ्ना लागि हरेक खेल उत्तिकै महत्त्वपूर्ण रहने जानकारी दिए । ‘फाइनलका लागि कुनै विशेष योजना छैन । म अभ्यास खेललाई जति महत्त्व दिन्छु फाइनल खेललाई पनि उत्तिकै महत्त्व दिन्छु । मेरो लागि सबै खेल उस्तै हो,’ आसिफ शेखले भनेका छन् ।

Aasif Sheikh-Dipendra Airee (4)

उनले फाइनल खेलमा नेपाली खेलाडीहरु नै निर्णायक बनुन् भन्ने आफ्नो चाहना रहेको पनि बताए । ‘फाइनल खेल जसले जिते पनि केही छैन । तर, जितको नायक नेपाली खेलाडीहरु नै बनुन् भन्ने मेरा चाहना छ,’ पत्रकार सम्मेलनमा आसिफ शेखले भने ।

जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले फाइनल खेलमा आफूहरू सकेसम्म ‘पावर प्ले’लाई सदुपयोग गर्ने प्रयासमा रहने बताए । ‘सकेसम्म सुरुवाती ओभरमा बढीभन्दा बढी रन बटुल्ने प्रयास गर्नेछौँ । खासगरी अन्तिम चार ओभरलाई सदुपयोग गर्ने प्रयास हुनेछ,’ उनले भने ।

आसिफ शेखले टी–२० ढाँचाको क्रिकेटमा कुनै कुराको ठोकुवा गर्न नमिल्ने धारणा पनि व्यक्त गरे । ‘टी–२० क्रिकेटमा केही अनुमान गर्न सकिन्न । खेलको दिन जसले कम गल्ती गर्छ त्यसले नै खेल जित्ने हो । सुदूरपश्चिम रोयल्स बलियो टोली हो । त्यसैले खेल जित्ने हो भने आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्नु आवश्यक छ,’ उनले भने ।

उनले कीर्तिपुर क्रिकेट मैदानमा दुई प्रकारको फरक चरित्र बोकेका विकेट रहेको पनि बताए । ‘समग्रमा हामी फाइनलका लागि मानसिक रूपमा तयार छौँ । कीर्तिपुर क्रिकेट मैदानमा दुई प्रकारको विकेट छ । एउटामा बढी रन बन्छ र अर्कोमा कम । त्यसैले अवस्था हेरेर हामी आफ्नो रणनीति बनाउने छौँ,’ उनले भनेका छन् । उनले समर्थकहरूप्रति आभार पनि व्यक्त गरे । 

Aasif Sheikh-Dipendra Airee (2)

यसैगरी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफूहरू फाइनल खेलका लागि तयार रहेको बताए । उनले पनि आफ्ना लागि फाइनल खेल अन्य खेलकै जस्तो भएको प्रतिक्रिया दिए । ‘हाम्रा लागि फाइनल खेल पनि यसअघिका अन्य खेलजस्तै हो । कुनै विशेष योजना छैन,’ उनले भने ।

कप्तान दीपेन्द्रले फाइनल खेलमा आफ्ना खेलाडीले आफ्नो सम्पूर्ण क्षमता लगाएर खेल्ने बताए । ‘फाइनल खेलका लागि विशेष योजना केही छैन । तर, हामी फाइनल खेलमा शतप्रतिशत दिने प्रयास गर्नेछौँ,’ पत्रकार सम्मेलनमा उनले भनेका छन् । 

Aasif Sheikh-Dipendra Airee (3)

सुदूरपश्चिम रोयल्सका मार्की खेलाडीसमेत रहेका दीपेन्द्रले टस जितेमा विकेटको अवस्था हेरेर ब्याटिङ वा बलिङको निर्णय लिने जानकारी पनि दिए । ‘अहिले नै केही भन्न सकिन्न । टस जितेमा विकेटको अवस्था हेरेर ब्याटिङ वा बलिङको निर्णय लिनेछौँ,’ उनले भने । 

कप्तान दीपेन्द्रले जनकपुर बोल्टलाई आफूहरूले कमजोर प्रतिद्वन्द्वीका रूपमा नलिएको पनि बताए । जारी एनपीएलमै यसअघि दुईपटक सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई हराइसकेको छ । ‘यसअघि हराएको भन्दैमा जनकपुर कमजोर प्रतिद्वन्द्वी होइन । त्यसैले हामी फाइनलमा कुनै हेलचेक्राई गर्ने पक्षमा छैनौँ,’ उनले भनेका छन् । 

फाइनलका लागि आफूहरूले शुक्रबार पनि केही समय अभ्यास गरेको जानकारी दिए । ‘हाम्रो तयारी राम्रो छ । आज पनि केही समय अभ्यास गर्‍यौँ । खेलाडीहरु लयमा पनि देखिएका छौँ । तर, नतिजाको बारेमा अहिले नै केही अनुमान गर्न सकिँदैन । खेल हो, नतिजा जे पनि आउन सक्छ,’ उनले भने ।

कप्तान दीपेन्द्रले समर्थकहरूप्रति आभार पनि व्यक्त गरेका छन् । ‘हाम्रो टोलीलाई धेरै समर्थकले माया गर्नु भएको छ । फाइनल खेलमा पनि समर्थकहरूले हाम्रो हौसला बढाउनु हुनेछ भन्ने विश्वास लिएका छौँ । म समर्थकहरूप्रति आभार पनि व्यक्त गर्न चाहन्छु,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप