नेपाली फिल्मका १० निर्देशक : कसले कुन फिल्म निर्देशन गर्दैछन् ?
काठमाडौंँ । पछिल्लो समय व्यवसाय बढेसँगै फिल्म निर्माण पनि बढेको छ । निर्माण बढेसँगै फिल्ममा काम गर्ने निर्देशक, कलाकारदेखि प्राविधिकसम्म व्यस्त हुन थालेका छन् । यहाँ नेपाली फिल्म क्षेत्रका दश निर्देशकको व्यस्तताबारे चर्चा गरिएको छ ।
- ज्ञानेन्द्र देउजा
ज्ञानेन्द्र देउजा अहिले २ फिल्म निर्देशनको तयारीमा छन् । ‘झिँगे दाउ २’ र सङ्गीतकार अर्जुन पोखरेलको एक (अनाम) फिल्मको निर्देशन देउजाले गर्नेछन् । अर्जुनको फिल्म छायाङ्कनको तयारी भइरहेको छ । फिल्मको नाम दर्ता गर्न बाँकी भएकाले अहिले सार्वजनिक गर्न उनले चाहेनन् ।
प्रेमकथामा बन्ने फिल्मको छायाङ्कन माघको अन्त्यबाट सुरु हुने देउजाले बताए । ‘झिँगे दाउ २’को भने उनी लेखनमा छन् । देउजा निर्देशित पछिल्लो फिल्म ‘उपहार’ गत वर्ष रिलिज भएको थियो ।
- रामबाबु गुरुङ
रामबाबु गुरुङ फिल्म ‘कबड्डी ५’ र ‘जारी २’ निर्माणको तयारी गर्दैछन् । फिल्मको लेखन कार्य धमाधम चलिरहेको छ । फिल्म छिटै फ्लोरमा लैजाने उनको योजना छ । दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ चैत्र ११ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा गुरुङको कम्पनी बाँसुरी फिल्मस्को पनि निर्माण सहकार्य छ । फिल्म रिलिजका लागि उनी टिम बनाएर प्रचार प्रसारमा छन् । उनको संस्थाकै निर्माण सहकार्य रहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ लामो समयदेखि प्रदर्शरत छ ।
- निश्चल बस्नेत
निश्चल बस्नेत फिल्म ‘डेनी डेन्जरस’ घोषणासहित लेखनमा व्यस्त छन् । उनको निर्देशनमा यो पाँचौँ फिल्म हुनेछ । यसअघि उनले ‘दिमाग खराब’ निर्देशन गरेका थिए । ‘डेनी डेन्जरस’ उनकै ब्ल्याक हर्ष पिक्चर्सको ब्यानरमा बन्ने फिल्म हो । फिल्म सन् २०२५ मा रिलिज हुनेछ ।
निश्चलले अभिनेत्री स्वस्तिमा खड्कासँग मिलेर ‘बेहुली फ्रम मेघौली’ केही अगाडि निर्माण गरेका थिए । फिल्म गत असोज १७ मा प्रदर्शनमा आएको थियो ।
- दीपेन्द्र के खनाल
दीपेन्द्र के. खनाल निर्देशित दुई फिल्म ‘के घर के डेरा २’ र ‘मेयर’ पोष्ट–प्रोडक्सनमा छन् । फिल्मको प्रदर्शन, प्रचार प्रसार योजना चलिरहेको छ । खनाल यतिबेला नयाँ फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्देशन तयारीमा छन् । यो फिल्म सरोज ओलीले निर्माण गर्न लागेका हुन् । फिल्ममा हरिश आचार्य, प्रकाश सपुत, मुलरीधर लगायतको अभिनय रहनेछ । फिल्म पुसको अन्तिमसाता छायाङ्कनमा जाने बताइन्छ ।
- दिनेश राउत
दिनेश राउत फिल्म ‘महाभोज’ निर्देशनको तयारीमा छन् । दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरूना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ, कमलमणि नेपालको मुख्य भूमिका रहने फिल्मको केही अगाडि घोषणा भएको हो । हिमाल कडरियाको निर्माण रहने फिल्म कडरियाको क्लक वर्क क्रिएशन र निर्देशक राउतको पिक्चर फ्रेमले निर्माण सहकार्य गर्न लागेको हो ।
फिल्मको माघ १ गतेदेखि छायाङ्कन सुरु हुने बताइन्छ । ‘महाभोज’को अलावा उनको हातमा अन्य केही प्रोजेक्ट छन् । जसको तयारी समेत चल्दैछ । राउतको निर्देशन रहेको ‘पूजार सार्की’ केही महिना अघि प्रदर्शनमा आएको थियो ।
- नरेश पौडेल
नरेश पौडेल एकसाथ ‘धड्कन २’ र ‘सिलसिला’ गरी २ फिल्म निर्देशन तयारीमा छन् । ‘धड्कन २’ उनले आफ्नो हिट फिल्म ‘धड्कन’को सिक्वेलको रुपमा बनाउन लागेका हुन् । फिल्मको गीत रेकर्डिङ भइरहेको छ । अगामी फागुनदेखि फिल्मको छायाङ्कन सुरु गर्ने योजना नरेशको छ ।
फिल्मका लागि सञ्जिता लुइँटेल भने अभिनेत्रीको रूपमा फाइनल भएकी छन् । क्राइम लभ स्टोरी विषयमा निर्माण हुने फिल्म आगामी वर्षको दसैँमा रिलिज हुनेछ । उनी ‘सिलसिला’को काम पनि गरिरहेका छन् ।
- दीपेन्द्र लामा
दीपेन्द्र लामा यतिबेला आफ्नो निर्देशन रहेको पछिल्लो फिल्म ‘दुःखी आत्मा’को प्रचार प्रसारमा छन् । लामाकै लेखन रहेको यो फिल्म फागुन २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक र आशान्त शर्माको अभिनय यो फिल्ममा छ ।
लामा अर्काे एक फिल्म निर्देशनको तयारीमा छन्, जसको लेखन उनी आफैँले गरिरहेका छन् । लामा निर्देशित पछिल्लो फिल्म ‘नाङ्गो गाउँ’ गत वर्ष रिलिज भएको थियो ।
- मिलन चाम्स
मिलन चाम्स अहिले फिल्म ‘अञ्जिला’को काममा व्यस्त छन् । केही दिन अगाडि हङकङ प्रिमियर गरिएको फिल्म नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान र नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ । आगामी फागुन १९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा एञ्जिलाको अलावा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र बुद्धि तामाङको अभिनय छ । मिलन यो फिल्म प्रचार प्रसारको अलावा फिल्म ‘वीर विक्रम २’को काममा छन् । पछिल्लो समय चाम्स निर्देशित ‘गोर्खा वारियर’ प्रदर्शनमा आएको थियो ।
- लक्ष्मण सुवेदी
लक्ष्मण सुवेदी फिल्म ‘पार्वती’को निर्देशन तयारीमा छन् । वैशाखबाट छायाङ्कनमा जाने फिल्मको लेखन अन्तिम चरणमा छ । यतिबेला सुवेदी सानोपर्दाको सिरियल ‘दुर्गा’ समेत निर्देशन गरिरहेका छन् । सुवेदीको निर्देशन रहेको पछिल्लो फिल्म ‘सतीदेवी’ गत भदौमा रिलिज भएको थियो ।
चलचित्र विकास बोर्डले हालै वितरण गरेको राष्ट्रिय पुरस्कार समारोहमा ‘सतीदेवी’ले २ लाख नगदसहितको विशेष फिल्म अवार्डसमेत जित्यो । ‘सतीदेवी’मा छोरीको कथा उठाएका सुवेदीले ‘पार्वती’मा महिलाको कथा उठान गर्न लागेका छन् ।
- ऋषि लामिछाने
ऋषि लामिछाने फिल्म ‘माग्ने राजा’ निर्देशनको तयारीमा छन् । अभिनेता केदार घिमिरे र अभिनेत्री वर्षा शिवाकोटीलाई मुख्य भूमिकामा लिएर उनले यो फिल्म निर्देशन गर्न लागेका हुन् । फिल्मको लेखन सामिप्या तिमल्सिनाले गरेका छन् । ऋषि ‘किस्मत २’ निर्देशनको ८ वर्षपछि यसै फिल्ममार्फत निर्देशनमा फर्किन लागेका हुन् । फिल्म मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
-
आइजीपी कप : एपीएफ स्कूल कीर्तिपुर विजयी
-
अर्यालसहित एक दर्जन युवा एमालेमा प्रवेश
-
दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध
-
नक्कली भुटानी शरणार्थी प्रकरण : उच्चले थुनामै पठाएपछि बेचन झा पुगे सर्वोच्च
-
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि समितिमा छलफल सुरु