बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ठगीका अनेक काइदा

वैदेशिक रोजगारीमा थरीथरीका ठगी, अधिकांश पीडकको देखिँदैन कुनै सम्पत्ति

शुक्रबार, ०५ पुस २०८१, १७ : ००
शुक्रबार, ०५ पुस २०८१

काठमाडौँ । वैदेशिक रोजगारीमा ठगीका विभिन्न प्रवृत्ति देखिएका छन् । योसँगै ठगीका उजुरी पनि बर्सेनि बढ्दै गएको देखिन्छ । वैदेशिक रोजगार न्यायाधिकरणमा चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक रोजगारी सम्बन्धी ठगीका ७९ मुद्दा दर्ता भएका छन् । गत वर्षको सरेर आएका २३१ मुद्दामध्ये हालसम्म ६४ वटा मुद्दा फर्स्यौट तथा मिलापत्र भएका छन् ।

न्यायाधिकरणका रजिष्ट्रार दिनेश आचार्यले वैदेशिक रोजगारीमा हुने ठगी विभिन्न प्रकृतिबाट हुने गरेको बताए । अहिलेसम्म कन्सल्टेन्सीको नाममा वैदेशिक रोजगारीमा मान्छे पठाउन खोज्ने र त्यहीँबाट ठगी गर्ने गरिएको उनको भनाइ छ ।

त्यस्तै व्यक्तिगत रूपमा जान खोज्नेहरू समेत ठगीमा पर्ने गरेका छन् । इजाजतपत्र प्राप्त संस्थाहरूको तर्फकबाट समेत ठगीका घटना भइरहेको आचार्यले बताए ।

कतिपयले विदेशमै बसेर मेनपावर चलाउने र नेपालमा परिवारकै सदस्यलाई परिचालन गरी ठगी गर्दै आएको समेत पाइएको छ । यस्ता घटनामा आवश्यक प्रमाणको आधारमा न्यायाधिकरणले पक्राउ पुर्जी जारी गर्दै आएको उनको भनाइ छ ।

पैसा बुझाएको भौचरमा ‘वैदेशिक रोजगार प्रयोजन’ काटेर अरु कुनै राखियो भने पक्राउ पुर्जी जारी नहुने आचार्यले बताए । त्यस्तो अवस्थामा जाहेरी तथा उजुरीमा काट्न लगाएको हो भनेर लेखेको खण्डमा र त्यससँग सम्बन्धित अन्य प्रमाण भेटिएमा मात्रै पक्राउ पुर्जी जारी हुने उनले प्रस्ट पारे ।

यसैगरी ट्रेनिङ सेन्टरको नाममा समेत ठगी हुने गरेको छ । मेनपावर कम्पनीले कर्मचारी राख्ने तर उनीहरूलाई नियुक्तिपत्र नदिइकन परिचालन गरी ठगी गर्ने गरेको पनि पाइएको छ ।

‘मेनपावरले कर्मचारीलाई नियुक्तिपत्र नदिने र उसलाई पैसा उठाउन लगाउने गरेको देखिन्छ । त्यसपछि त्यो मेनपावरको कुनै पनि संलग्नता नदेखिने भयो,’ आचार्यले भने, ‘तर, पैसा भने मेनपावरलाई नै गइसकेको हुन्छ । कारबाहीबाट बच्नका लागि कर्मचारीलाई परिचालन गर्ने र अन्तिममा कर्मचारी नै फस्ने गरेका छन् ।’

त्यस्तै व्यक्तिगत ठगीका घटनामा दुई जनाबिच चिनजान भएपछि अर्कै व्यक्तिको खातामा पैसा हालिदिने जस्ता प्रवृत्ति पनि देखिएका छन् ।

सूचना प्रविधि विकाससँग ठगीका घटना र प्रकृति समेत परिवर्तन हुदै आएका छन् । तर, अनुसन्धान गर्ने तरिका पुरानै हुँदा प्रभावकारी अनुसन्धान हुन नसकेको आचार्यको बुझाइ छ ।

अहिलेसम्मका घटना हेर्ने हो भने ठगीका घटनामा ५ प्रतिशत पनि मुख्य मानिस नफस्ने उनको भनाइ छ । ‘मुख्य मान्छेलाई पनि अनुसन्धानको दायरामा ल्याउनका लागि पहिलो कुराकानी त्यो मान्छेसँग भएको हो भन्ने वा कुनै न कुनै रूपमा जोडिएको हो भन्ने देखियो र त्यही आधारमा जाहेरी आयो भने पक्राउ अनुमति दिन्छौँ,’ उनले भने ।

कलेज पढ्ने विद्यार्थीहरूलाई विभिन्न प्रलोभन देखाएर खाता नम्बर लिने र सो खातामा वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई रकम जम्मा गर्न लगाउने गरेको पनि पाइएको आचार्य बताउँछन् । ‘कलेज पढ्ने सोझासाझाको खाता नम्बर लिने, त्यसबापत उसलाई केही रकम दिने प्रलोभन देखाउने गरेको पाइन्छ । यस्तोमा छानबिन हुँदै जाँदा अन्तिममा त्यही सोझो विद्यार्थी फस्छ,’ उनले भने ।

त्यस्तै अर्काको नागरिकता र फोटोको आधारमा समेत बैंक खाता खोलेर ठगी गर्ने गरेको पाइएको छ । ‘अर्काको फोटो र नागरिकता पाएपछि त्यसबाट बैंक खाता खोल्ने र पैसा त्यही खातामा हाल्न लगाउने गरेको देखिन्छ । भोलि फस्ने बेला जसको नाममा खाता खोलिएको छ, ऊ नै फस्ने भयो,’ आचार्यले भने ।

यस्ता उजुरीमाथि न्यायाधिकरणले यथेस्ष्ट प्रमाणका आधारमा फैसला गर्ने गरेको छ । त्यसका लागि अनुसन्धान गर्ने निकाय वैदेशिक रोजगार विभागको तर्फबाट यथेष्ट अनुसन्धान हुन नसकिरहेको गुनासो न्यायाधिरणको छ ।

न्यायाधिकरणले गर्ने फैसलामा अधिकांश पीडकको आर्थिक अवस्था दयनीय देखिएको छ । ‘अधिकांश प्रतिवादीको कुनै सम्पत्ति नै छैन । बैंकमा केही सम्पत्ति रोक्का गरेको अवस्था पनि छैन । ८० प्रतिशत प्रतिवादी त्यस्ता छन् । त्यस्ताका हकमा निवेदन दिएको खण्डमा लगत बस्छ, अरु केही हुँदैन । निवेदन दिएको खण्डमा थुनामा राख्न सकिन्छ,’ आचार्यले भने ।

  • बढ्दो ठगीको तथ्याङ्क 

वैदेशिक रोजगारीमा हुने गरेका ठगीका घटना दिन प्रतिदिन बढ्दो छ । सरकारले न्यूनीकरणका लागि विभिन्न कार्य गर्दै आएको बताए पनि ठगीका घटनामा कमी आएको छैन ।

विभागको पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष ठगीका घटना बढ्दो देखिन्छ । आर्थिक वर्ष २०७८÷०७९ मा देशभरबाट वैदेशिक रोजगारीमा ठगीसम्बन्धी एक हजार ७४२ घटना दर्ता भएका थिए । आर्थिक वर्ष २०७९÷०८० मा यो संख्या चार हजार ४६४ पुगेको थियो । जसमा एक हजार ४२८ मेनपावर व्यवसायीबाट ठगीका उजुरी थिए भने तीन हजार ३६ उजुरी व्यक्तिगत ठगीका थिए । ती उजुरीमा ५५ करोड ६१ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको थियो ।

त्यस्तै चालु आर्थिक वर्ष (२०८०÷०८१) मा ६ हजार ८४२ उजुरी परेका छन् ।

पिपुल फोरमका अधिवक्ता तथा श्रम आप्रवासन विज्ञ सोम लुईंटेलले वैदेशिक रोजगारीमा हुने ठगीका घटनाको अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीलाई दिनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप