शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

खाली पेटमा धेरै हिँड्दा हुन सक्छन् यस्ता क्षति

शुक्रबार, ०५ पुस २०८१, १५ : १८
शुक्रबार, ०५ पुस २०८१

काठमाडौँ । पैदल हिँड्नु स्वास्थ्यका लागि सबैभन्दा फाइदाजनक व्यायाम मानिन्छ । यसले तन्दुरुस्ती कायम राख्न त मद्दत गर्छ नै तनाव कम गर्न, तौल घटाउन र मुटुको स्वास्थ्य सुधार गर्न पनि मद्दत गर्छ । 

तर, तपाईँले खाली पेट हिँड्दा के फाइदा र बेफाइदा हुन सक्छ भनेर कहिल्यै सोच्नुभएको छ ? धेरैजसो मानिसले हिँड्नुको फाइदा गन्ने भए पनि खाली पेटमा हिँड्नु कत्तिको फाइदाजनक र हानिकारक छ भन्ने जान्न जरुरी छ । विशेषगरी यो बानी लामो समयसम्म अपनाइरहँदा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।

यस्ता छन् खाली पेटमा हिँड्नुको फाइदा

खाली पेट हिँड्नु पछाडि सबैभन्दा ठुलो तर्क यही हो कि यसले शरीरमा जम्मा भएको बोसोलाई ऊर्जाको रूपमा प्रयोग गर्न मद्दत गर्छ । यो प्रक्रियालाई ‘फास्ट कार्डियो’ भनिन्छ ।  

तौल घटाउन सहयोगी : खाली पेटमा हिँड्दा शरीरको बोसो छिट्टै बर्न हुन्छ, जसले तौल घटाउन मद्दत गर्छ ।

मेटाबोलिजम बढाउँछ : यसले शरीरको मेटाबोलिजमलाई सक्रिय गर्न सक्छ, जसले गर्दा दिनभर ऊर्जावान भइन्छ ।

इन्सुलिन संवेदनशीलता सुधार गर्दछ : खाली पेटमा हिँड्दा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत मिल्छ ।

खाली पेटमा धेरै हिँड्नुको बेफाइदा

तर, खाली पेटमा धेरै हिँड्दा कहिलेकाहीँ स्वास्थ्यमा नकारात्मक असर देखिन्छ । जुन यस प्रकार छन्:

एनर्जीको कमीः खाली पेटमा हिँड्दा शरीरमा ऊर्जाको स्तर घट्न सक्छ । यसले गर्दा कमजोरी र थकान महसुस हुन्छ । यो अवस्था विशेषगरी लामो समयसम्म हिँड्ने वा तीव्र गतिमा हिँड्नेहरूका लागि गम्भीर हुन सक्छ ।

मांसपेशीमा क्षति: शरीरमा ग्लुकोजको स्तर घट्यो भने यसले आवश्यक ऊर्जाका लागि मांसपेशीमा भएका प्रोटीनहरू प्रयोग गर्न थाल्छ । यसले गर्दा मांसपेशी कमजोर हुन सक्छ ।

रगतमा चिनीको मात्रा घट्छ : खाली पेटमा अत्यधिक हिँड्दा रगतमा चिनीको मात्रा अचानक घट्न सक्छ । यस्तो भएमा तपाईँलाई चक्कर आउने, वाकवाकी लाग्ने वा बेहोस हुने जस्ता समस्या निम्तिन सक्छ ।

पाचन प्रणालीमा प्रभाव : बिहान केही नखाइकन हिँड्दा खाली पेटमा एसिड बन्न सक्छ । यसले पेटमा ग्यास बनाउने, पेट दुख्ने वा एसिडिटी जस्ता समस्या निम्त्याउन सक्छ । त्यसैले खाली पेटमा धेरै बेर हिँड्नु हुँदैन ।

हार्माेनल असंतुलन : खाली पेटमा लगातार अत्यधिक व्यायाम गर्दा शरीरमा कोर्टिसोल अर्थात् तनाव गराउने हर्माेनको स्तर बढ्न सक्छ । यसले हार्माेनल असंतुलन निम्त्याएर शरीरमा नकारात्मक प्रभाव पार्न सक्छ ।

यी कुराहरूलाई ध्यानमा राख्नुहोस्:

हल्का नास्ता गर्ने: खाली पेटमा हिँड्नुअघि फलफूल, ड्राइ फ्रुट्स वा स्मूदीजस्ता हल्का ब्रेकफास्ट लिनुहोस् । यसले शरीरमा ऊर्जाको स्तर कायम राख्छ ।

पर्याप्त पानी पिउने: हाम्रो शरीरमा पानीको मात्रा कायम राख्न निकै जरुरी छ । त्यसैले खाली पेट हिँड्नु अघि र पछि पर्याप्त मात्रामा पानी पिउनुहोस् ।

आफ्नो सीमा थाहा पाउने: आफ्नो शरीरको आवश्यकता र सहनशक्ति बुझ्नुहोस् । खाली पेटमा हिडिरहँदा आफू कमजोर भएको महसुस गर्नुभयो भने तुरुन्तै हिँड्न बन्द गर्नुहोस् ।

डाक्टरसँग परामर्श लिने: यदि तपाई मधुमेह, रक्तचाप वा अन्य कुनै स्वास्थ्य समस्याबाट ग्रसित हुनुहुन्छ भने, खाली पेटमा हिँड्नु अघि डाक्टरसँग परामर्श लिनुहोस् ।

खाली पेटमा हिँड्नु कतिपय अवस्थामा फाइदाजनक हुनसक्छ । तर यसलाई बानी बनाउनुअघि तपाईँले  यसको बेफाइदा र आफ्नो शरीरको आवश्यकतालाई बुझ्नुपर्छ ।

अस्वीकरण : यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार  पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप