नेपाल प्रिमियर लिग क्रिकेटबाट बाहिरएपछि लुम्बिनी लायन्सले के भन्यो ?
![नेपाल प्रिमियर लिग क्रिकेटबाट बाहिरएपछि लुम्बिनी लायन्सले के भन्यो ?](https://npcdn.ratopati.com/media/news/rohit-and-the-group_Pvk50xO4EN.jpg)
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिएको टोली लुम्बिनी लायन्सले आफ्ना समर्थकहरुप्रति आभार ब्यक्त गरेको छ । लुम्बिनी लायन्सले आगामी संस्करणहरुमा आफूलाई परिस्कृत गर्दै लैजाने पनि जनाएको छ ।
‘लुम्बिनी लायन्स लुम्बिनी प्रदेश र नेपालभरका सम्पूर्ण समर्थकको अपार माया, विश्वास र निरन्तर समर्थनका लागि हार्दिक आभार व्यक्त गर्दछ । यो सिजनमा अपेक्षित नतिजा नआए पनि यसले टोलीलाई महत्वपूर्ण शिक्षा र अनुभव दिएको छ, जुन भविष्यका लागि मार्ग दर्शक बन्नेछ,’ लुम्बिनी लायन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
जारी एनपीएलमा सहभागी आठ टोलीमध्ये अंक तालिकामा लुम्बिनी लायन्स सबैभन्दा तल रह्यो । लुम्बिनी लायन्सले प्रारम्भिक चरणमा आफूले खेलेका सातमध्ये एक खेलमा मात्र जित हात पार्न सकेको थियो । बाँकी ६ खेलमा लुम्बिनी लायन्स पराजित भएको थियो ।
‘समर्थकहरूको उत्साह र समर्थनले लुम्बिनी लायन्सलाई झन् दृढ र उत्साही बनाएको छ । यही प्रेरणाले टिमलाई अझ मेहनत गर्न र आगामी सिजनमा आफ्नो सपना साकार पार्न प्रतिबद्ध पनि बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जीसीले पनि समर्थकहरुप्रति आभार ब्यक्त गरेका छन् । उनले भनेका छन्, ‘यो सिजन हाम्रो लागि सिकाई र दृढताको यात्रा बन्यो । प्रत्येक बाधाले हामीलाई अझ बलियो बन्ने अवसर दिएको छ । लाखौं समर्थकको अटल विश्वास र माया हाम्रो प्रेरणाको मूल आधार हो ।’