बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
राजनीति

व्यक्तिगत इगो र गुटगत कलहले कांग्रेसभित्र क्रियाशील सदस्यताको बबन्डर

तीन नेतालाई दिइयो सात प्रदेशको जिम्मेवारी, कसरी हुन्छ क्रियाशील सदस्यता वितरण ?
शुक्रबार, ०५ पुस २०८१, १४ : ०३
शुक्रबार, ०५ पुस २०८१

 काठमाडौँ । व्यक्तिगत इगो‚ गुटगत झगडा तथा पार्टीको आन्तरिक कलहका कारण सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यताका सम्बन्धमा विवाद देखिएको छ । 

महाधिवेशनको मेरुदण्ड क्रियाशील सदस्यता भएपनि जिल्लादेखि वडा तहसम्म रहेका नेतृत्वबिच रहेको व्यक्तिगत इगो‚ संस्थागत र इतर समूहको नाममा भएको गुटगत झगडा लगायतका कारणले विवाद देखिएको नेताहरूको भनाइ छ ।  

पार्टीले क्रियाशील सदस्यताको विवाद मिलाउन पार्टी महामन्त्री गगनकुमार थापा नेतृत्वमा सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन गरेको छ । जसमा सिता गुरूङ‚ योगेन्द्र चौधरी र प्रकाश रसाइली सदस्य रहेका छन् । 

समितिको बिहीबार बसेको पहिलो बैठकमा विवादका सम्बन्धमा छलफलका साथै  आवश्यक निर्णय भएको सदस्य योगेन्द्र चौधरीले जानकारी दिए । ‘पहिलो बैठकबाट हामीले पार्टी सचिवालयको ब्रिफिङ सुन्ने काम सम्पन्न गर्‍यौँ । हामीलाई जिल्ला जिल्लामा भएको समस्याबारे उहाँहरूले भन्नुभयो‚’ चौधरीले भने‚ ‘सारमा भन्दा व्यक्तिगत र गुटगत कारणले जिल्लामा पुगेका फारमहरू तल्लो तहसम्म गएको देखिएन ।’

यही समस्यालाई समाधान गर्न पार्टीले पुस १८ गते सम्म मिति तोकेर जुन तहमा फारम रोकिएको छ त्यसलाई तल्लो तहमा पठाइदिनु भन्ने निर्देशन दिएको उनको भनाइ छ । विवाद मिलाउन जिम्मेवारी पाएका समिति सदस्यहरू सिता गुरूङ‚ योगेन्द्र चौधरी र प्रकाश स्नेही रसाइलीले हरेक जिल्लामा सम्पर्क गरेर क्रियाशील सदस्यता रोकिएको काम अघि बढाउने जिम्मेवारी पाएका छन् ।

 चौधरीका अनुसार समितिको पहिलो बैठक बसेर प्रक्रिया अघि बढाउने र क्रियाशील सदस्यताको विषयलाई चाँडै टुङ्गोमा पुराउने प्रयासको सुरुवात भएको हो । चौधरीका अनुसार बागमती र गण्डकीका लागि सीता गुरुङ, मधेस र  लुम्बिनी प्रकाश रसाइली र  कोशी कर्णाली र सुदूरपश्चिमका लागि उनेलै जिम्मेवारी पाएका छन् । उनीहरूको काम सदस्यता वितरणको समस्या पहिल्याउनु रहेको छ ।

  चौधरीका अनुसार सदस्यता नवीकरण तथा वितरणको फारम जिल्ला जिल्लामा पठाउने काम यसअघि नै भइसकेको छ । तर‚ ती सबै फारम तल्ला तहसम्म पुगेका छैनन् । कतिपय फारम जिल्लामा मात्र पुगेका छन् । कतिपय फारम क्षेत्रमा अड्किएको छ भने यी सबैमा आफूहरूले ब्रिफिङ लिएको चौधरीको भनाइ छ । 

‘जिल्ला सभापतिहरूले फाराम लानुभएको छ । त्यी फारमहरू कहाँ कहाँ पुगेर रोकिएको छ वा काम भइरहेको छ भनेर बुझ्ने काम भयो‚’ उनले थपे ।

समितिले समस्या पहिल्याएर यही पुस १८ गते सम्म पनि जिल्लाले सबै तहका संरचनामा क्रियाशील फारम नपुराएर केन्द्रबाटै हस्तक्षेप गर्ने निर्णय गरेको छ । चौधरीका अनुसार समस्या राखेर जटिल हुने र महाधिवेशन सम्म दुख पाइने भएकाले केन्द्रले नै हस्तक्षेप गरेर भएपनि समयमै समस्या समाधान गर्ने निर्णय भएको हो ।

‘यो बिचमा उहाँहरूले फुकाइदिनुभएन भने त्यसमा हामीले थप निर्णय गरेर अघि बढाउँछौँ‚’ उनले भने‚ ‘१८ गतेसम्म तल्लो तहमा फारम नपुगे जिल्लामा पुगेको फारम पनि हामी क्यान्सिल गरेर नयाँ फारम वडा तहसम्मै हामी पुर्‍याउँछौँ ।’

यसरी हुन्छ क्रियाशील सदस्यता वितरण

कांग्रेसले १८ वर्ष उमेर पूरा भएको पार्टीको आदर्श, उद्देश्य, नीति र विधानमा आस्था राख्दै पार्टीको अनुशासनभित्र रहन मन्जुरी दिने व्यक्तिलाई क्रियाशील सदस्यता दिने गर्दछ । यसरी क्रियाशील सदस्यता दिन योग्य हुन नेपालको कानुनले राजनीतिक दलको सदस्य हुन अयोग्य नठहरिएको हुनुपर्ने उल्लेख छ ।

क्रियाशील सदस्यता वितरण गर्दा सर्वप्रथम वडा कार्यसमितिले सदस्यताको सिफारिस पालिका समितिमा पठाउनु पर्दछ । त्यसपश्चात् पालिका समितिले नाम प्राप्त भएको दुई हप्ताभित्र बैठक गरी सिफारिस भई आएका व्यक्ति विधानको धारा ४ ९३० बमोजिम क्रियाशील सदस्यता पाउन योग्य भएमा सोही बमोजिम वडा कार्यसमितिलाई क्रियाशील सदस्यताको फारम उपलब्ध गराउने विधानको व्यवस्था छ ।

वडा कार्यसमितिले फारम प्राप्त भएको दुई हप्ताभित्र पालिका समितिमा फिर्ता पठाएपश्चात् पालिका समितिले प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमितिलाई पठाउने तथा त्यसको दुई हप्ताभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गर्ने विधानमा उल्लेख छ ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले सिफारिस प्राप्त भएको बढीमा एक महिनाभित्र योग्यता पुगेका व्यक्तिलाई क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय गर्दछ ।

‘प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले सदस्यताको सम्पूर्ण विवरण राखी मातहतका निकायलाई राख्न लगाउने र जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पठाउनेछ‚’ विधानमा उल्लेख छ । 

यस्तै नवीकरण गर्दा पनि प्रक्रिया वडा समितिबाटै सुरुवात हुन्छ । वडामा सदस्यता रिन्यु गर्नका लागि आवेदन परेपछि वडा कार्यसमितिले सदस्यता नवीकरण गर्ने उल्लेख छ ।

‘वडा कार्यसमितिले धारा ४ (३) बमोजिमको योग्यता पुगेको क्रियाशील सदस्यको सदस्यता नवीकरण गर्न फारम प्राप्त भएको दुई हप्ताभित्र गाउँपालिकारनगरपालिका कार्यसमितिमा सिफारिस गरी पठाउनेछ‚’ विधानमा लेखिएको छ ।

 त्यसपश्चात् पालिका कार्यसमितिले प्राप्त नवीकरण सम्बन्धी सबै आवेदनमा आफ्नो राय सहितको विवरण दुई हप्ताभित्र प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा, प्रदेश सभा क्षेत्रीय कार्यसमितिले आफ्नो राय सहितको विवरण दुई हप्ताभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले आफ्नो राय सहितको विवरण दुई हप्ताभित्र जिल्ला कार्यसमितिमा पठाउने व्यवस्था विधानमा छ ।

‘जिल्ला कार्यसमितिले मातहत कार्यसमितिका सिफारिस र राय समेतको आधारमा आवेदन उपर बढीमा एक महिनाभित्र निर्णय गरी आवेदक र मातहतका सिफारिस गर्ने सबै निकायलाई निर्णयको जानकारी गराउनेछ । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रदेश सभा क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमितिमा पठाउनेछ‚’ विधानमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप