आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश : लगानी सम्मेलन

एक खर्ब चार अर्ब ८५ करोडका यी ३७ योजना प्रस्तुत हुँदै

शुक्रबार, ०५ पुस २०८१, ११ : ४३
शुक्रबार, ०५ पुस २०८१

विराटनगर । कोशी प्रदेश सरकारले आउँदो माघ ११ गतेदेखि पहिलो पटक प्रदेशस्तरमा लगानी सम्मेलन गर्दैछ । उक्त सम्मेलनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले ३७ वटा आयोजना सोकेसमा राख्ने भएको छ । लगानी प्राधिकरणका सीईओ डाक्टर सरोज कोइरालाले बिहीबार प्रदेश सभाको सुशासन तथा योजना समितिमा प्रस्तुत गरेको पावर पोइन्ट प्रस्तुतिमा जनाइए अनुसार ती ३७ आयोजनाको लागत एक खर्ब चार अर्ब ८५ करोड रुपैयाँ छ ।

सोकेसमा राख्न लागिएका आयोजनामा अहिले सरकारले निर्माण गरिरहेको कोशी रिफ्रेसमेन्ट सेन्टरदेखि नाम नसुनिएका तर आकर्षक लाग्ने योजना पनि छन् । प्रस्तुत गरिएको विवरण अनुसार २ अर्ब ५१ करोडका ६ वटा कृषिसँग सम्बन्धित प्रोजेक्ट छन् ।

यस्तै १ अर्ब १७ करोडका २ वटा जलविद्युत् आयोजना, ६२ अर्ब ६५ करोड बराबरका ८ उद्योग, २४ अर्ब ४३ करोड बराबरको पूर्वाधार निर्माण, ४७ करोडको डाटा सेन्टर, फोहोर व्यवस्थापनका लागि ५० करोडको एउटा आयोजना, १३ अर्ब १२ करोड बराबरको ११ वटा पर्यटनसम्बन्धी आयोजना छन् ।

सोकेसमा राखिएका आयोजना के–के छन् ?

कोइरालाले संसदीय समितिमा प्रस्तुत गरेका आयोजनामा इलामको जितपुरमा देउमाई कफी फार्म (२२ करोड), धनकुटाको सहिदभूमिमा २७ करोडको लगानीमा सिट्रस फ्रुट्स फार्मिङ प्रोसेसिङ उद्योग र एग्रो टुरिजम, इलामको सूर्योदय नगरपालिकामा ३३ करोडको लगानीमा डेरी प्रोडक्ड एण्ड प्रोसेसिङ उद्योग छन् । यस्तै, धनकुटाको साँघुरीगढीमा २५ करोडको योजनामा किबी फार्मिङ प्रोसेसिङ उद्योग र एग्रो टुरिजम, धनकुटामै ६४ करोडको लगानीमा एभोकार्डो फार्मिङ प्रोसेसिङ उद्योग, अनुसन्धान सेन्टर र एग्रोटुुरिजमको आयोजना छन् ।

इलाममा ८० करोडको लगानीमा एड्भान्स नेप्लिज टी एण्ड कफी उद्योग, सोलुखुम्बुमा ६२ करोडमा आमादाबब्लाम मिनी हाइड्रो परियोजना, सोलुखुम्बुमै ५५ करोडमा मेन्जोखोला मिनी हाइड्रो, मोरङमा १ अर्ब १६ करोडको लगानीमा हर्बल प्रोसेसिङ प्रोजेक्ट उद्योग, सुनसरीमा ९ करोडको एग्रो प्रोसेसिङ सेन्टर उद्योग, उदयपुरमा ३२ अर्बको उदयपुर क्लिङ्कर, सुनसरी र उदयपुरमै २६ अर्बको ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट, उदयपुरमा २ अर्बको बायो इथानोल प्रोजेक्ट, पहाडी जिल्लाहरू लक्षित गरी ४० करोडको लगानीमा कोदोको रक्सी उद्योगको आयोजना प्रस्तुत गरिने भएको छ ।

यस्तै झापामा ६० करोडको लगानीमा बायो फर्टिलाइजर प्रोडक्सन एण्ड रिसर्च प्रोजेक्ट उद्योग, काँकडभिट्टामा ४० करोडको बसपार्क, धनकुटाको भेंडेटारमा ३० करोडको लगानीमा भेंडेटार मल्टिपर्पोज कम्प्लेक्सको पूर्वाधार निर्माण, मोरङमा ४ अर्ब ८० करोडको लगानीमा विराटनगर मल्टिपर्पोज कमर्सियल कम्प्लेक्सको पूर्वाधार निर्माण, मोरङ विराटनगरमा २ अर्ब ३० करोड र १ अर्ब ७५ करोडको लगानीमा दुई वटा फाइभ स्टार होटलको पूर्वाधार निर्माणका प्रोजेक्ट तयार पारिएको छ ।

यस्तै विराटनगरमै २८ करोडको लगानीमा विराटनगर पब्लिक ट्रान्सपोर्ट प्रोजेक्टको पूर्वाधार निर्माण, मोरङमा ५ अर्बको कोशी पोडवेको पूर्वाधार निर्माण, खोटाङको हलेंसीमा १० अर्बको हलेंसी केबलकार/पोडवे निर्माण, आइटीसीतर्फ २५ करोडको लगानीमा डाटा सेन्टर स्थापना, २२ करोडको लगानीमा डिजिटल कोशी, झापाको मेचीनगरमा ५० करोडको लगानीमा इन्टग्र्रेटेड सोलिड बेस्ट मेनेजमेन्ट प्रोजेक्ट निर्माण, सुनसरीको बर्जुमा ४ अर्ब २८ करोडको लगानीमा बर्जु ताल टुरिजम प्रोजेक्ट र यस्तै सुनसरीमै ८० करोडमा रास ताल टुरिजम प्रोजेक्ट तयार पारिएको छ ।

प्रस्तुत अन्य योजनामा मोरङको बेतनामा २४ करोडको लगानीमा बेतना सिमसार टुरिजम प्रोजेक्ट, सुनसरीमा २५ करोडको लगानीमा वाटर पार्क, सुनसरीमै २ अर्ब लगानीको कोशी रिफ्रेसमेन्ट सेन्टर, ३५ करोड लगानीमा धनकुटाको राजा ताल टुरिजम प्रोजेक्ट, १ अर्ब ५० करोडको लगानीमा इलामको कन्याम अन्तु केबलकार प्रोजेक्ट निर्माण, इलाममै १ अर्ब लगानीमा बुद्धपार्क चित्रे गुम्बा केबलकार प्रोजेक्ट, इलाममै ८० करोड लगानीमा कन्याम मनोरेल प्रोजेक्ट, सोलुखुम्बुमा ४० करोडको लगानीमा चिउरीखर्क नाम्चे रोप्वे निर्माण र सोलुखुम्बुकै चौंरीखर्च छेदिङमा केबलकार १ अर्ब ५० करोडको लगानीको प्रोजेक्ट सोकेसमा राखिने कोइरालाले प्रस्तुत गरेको विवरणमा उल्लेख छ ।

ती आयोजनाको लगानी १ खर्ब ४ अर्ब ८५ करोड हुने कोइरालाले जानकारी दिए । ‘उक्त आयोजना छनोट गरेर निर्देशक समितिमा पठाइसकेका छौँ,’ कोइरालाले भने । ती आयोजना निर्माणका लागि लगानीकर्तासँग सम्मेलनकै अवसरमा एमओयू गर्ने तयारी भएको उनले जानकारी दिए । लगानी सम्मेलनमा सहभागिताका लागि २८० जनाभन्दा बढीलाई निम्तो गरिसकिएको उनको भनाइ छ ।

कोइरालाका अनुसार माघ ११ गते सम्मेलनको उद्घाटन हुने र रात्रिभोज राखिने, दोस्रो दिन परियोजनागत क्षेत्रगत सेसन हुने छ । जसमा कृषि, पर्यटन, उद्योग, पूर्वाधार र आइटी सेक्टरमा हुनेछ । यस्तै तेस्रो दिन सरकार र लगानीकर्ताबिच वार्तालाप र लगानी सम्झौतामा हस्ताक्षर गर्ने तथा पर्यटकीय, धार्मिक सांस्कृतिक तथा सम्भाव्य लगानीका क्षेत्रहरूमा भ्रमणको कार्यक्रम पनि राखिएको उनले जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप