एक खेलअगावै पाकिस्तानले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय शृङ्खला

काठमाडौँ । भ्रमणकारी टोली पाकिस्तानले बिहीबार राति सम्पन्न दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकालाई ८१ रनले हराएको छ । जितसँगै पाकिस्तानले एक खेलअगावै तीन खेलको शृङ्खला पनि आफ्नो पक्षमा पारेको छ ।
केप टाउनमा खेलिएको दोस्रो खेलमा टस हारी पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९.५ ओभरमा अलआउट हुनुअघि तीन सय २९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाले भने ४३.१ ओभरमै अलआउट हुनुअघि दुई सय ४८ रनमात्र बनाउन सक्यो ।
पाकिस्तानको जितमा तीन ब्याट्सम्यानले अर्धशतकीय योगदान गरे । बाबर आजमले ७३ रन बनाए । उनले ९५ बलमा सात चौका पनि हिर्काए । कप्तान मोहम्मद रिजवानले पनि टोलीका लागि ८० रनको योगदान गरे ।
चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान रिजवानले केवल ८२ बलको सामना गरी तीन छक्का र सात चौका पनि हिर्काए । कमरन घुलमले पनि टोलीको खातामा ६३ रन थपे । उनले केवल ३२ बलमा पाँच छक्का र चार चौका प्रहार गरे ।
यसका अतिरिक्त सलमान अघाले ३३ र ओपनर सइम ऐयुबले २५ रन बनाए । दक्षिण अफ्रिकाका बलर क्वेना मफाका चार र मार्को जान्सेनले तीन विकेट लिए । जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले ९७ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन ।
विकेटकिपर ब्याट्सम्यान क्लासेनले केवल ७४ बलको सामना गरी चार छक्का र आठ चौका पनि हिर्काएका थिए । ओपनर ब्याट्सम्यान टोनी जर्जीले पनि ३४ रन बनाएका थिए । डेभिड मिल्लरले पनि २९ रन बटुले ।
पाकिस्तानका बलर साहिन शाह अफरिदीले चार विकेट लिए । नसिम शाहले तीन र अबरर अहमदले दुई विकेट हात पारे । यसअघि खेलिएको पहिलो एकदिवसीयमा पनि पाकिस्तान तीन विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम एकदिवसीय आइतबार खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माछापुच्छ्रेमा क्रसरले तिरेनन् ४९ करोड, पालिकामा रेकर्ड न राजश्व
-
सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी
-
पशुपति आइपुगे नागाबाबाहरू (तस्बिरमा हेर्नुहोस्)
-
लमजुङमा भूकम्पको धक्का
-
पोप फ्रान्सिसको अवस्था अझै गम्भीर
-
लुम्बिनी प्रदेश : योजनाविना धमाधम कोल्ड स्टोर निर्माण, सञ्चालनमा छैन ध्यान