यु–१९ एसिया कप : नेपाल आज बङ्गलादेशसँग भिड्दै
काठमाडौँ । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपाल र बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदै छ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुँदै छ । खेल नेपाली समय अनुसार ११ः४५ बजे सुरु हुनेछ ।
यसअघि सुपर–४ को पहिलो खेल बिहीबार वर्षाका कारणले रद्द भएपछि नेपाल र श्रीलङ्काले समान एक/एक अङ्क बाँडेका थिए । आजको खेल नेपालको लागि महत्त्वपूर्ण छ ।
आजको खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेमा फाइनलको यात्रा तय गर्नेछ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए । तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।
गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित छ टोली सम्मिलित छन् । यसमा समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् ।
पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिइसकेका छन् । फाइनल खेल आगामी आइतबार हुनेछ ।
प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन उपकप्तान, एलिसा कुमारी यादब, साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्ण विक, अनु कडायत र किरण कुमारी कुँवर छन् ।