बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने

बिहीबार, ०४ पुस २०८१, २२ : ००
बिहीबार, ०४ पुस २०८१

आज मिति २०८१ साल पुस महिनाको ४ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमको सँगालो ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. रविको सुतिरहेको तस्बिर

जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा। निकोलस भुसालसहित फोटो सार्वजनिक गर्नेमाथि कारबाही गर्ने भएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानलाई नकारात्मक प्रभाव पार्ने गरी फोटो प्रकाशित भएको भन्दै प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । 

२.ओली आराममा

प्रधानमन्त्री केपी शर्मा ओलीले इन्डोसकोपी गरेका छन् । बिहीबार बिहान साढे नौ बजे त्रिवि शिक्षण अस्पतालमा ओलीको इन्डोसकोपी गरेको अस्पताल स्रोतले जनाएको छ । 

३. जनयुद्ध  शब्द 

 सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश गरेको छ । अधिवक्ता ज्ञानेन्द्र आरणले दर्ता गरेको रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।

  

४. संसदीय समिति

बेनामे उजुरी र नीतिगत निर्णयका विषयमा उपसमितिले तयार पारेको प्रतिवेदनका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक ‘होल्ड’ गर्ने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम संसद्को अधिकारक्षेत्रमाथि अस्वाभाविक चासो राखेपछि संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा छलफल हुँदै आएको विधेयक ‘होल्ड’ हुने संकेत मिलेको समितिका एक सदस्यले बताए ।

५. पार्टी एकताबारे छलफल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमबिच पार्टी एकताबारे छलफल भएको छ । गौतम निवास भैँसेपाटीमा बिहीबार बेलुकी दुई नेताबिच छलफल भएको एकीकृत समाजवादीका नेता बलराम बास्कोटाले जानकारी दिए ।

६. विप्लवका सन्देश

 नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकले पाँच सन्देश दिन खोजेको छ । मंसिर २७ देखि पुस १ गतेसम्म कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले आत्मनिर्भर पार्टी निर्माणका साथै राष्ट्रिय राजनीतिमा वैकल्पिक पार्टीको रूपमा आफूलाई स्थापित गर्न खोजेको देखिन्छ ।

७. घरजग्गा कारोबार

आर्थिक मन्दीका कारण घरजग्गा कारोबारमा देखिएको शिथिलता हट्दै गएको छ । आर्थिक क्षेत्रमा समस्या कायमै रहेको अवस्थामा घरजग्गाको कारोबार भने बढ्दै गएको हो ।  मंसिर महिनामा मात्रै घरजग्गाको कारोबारको मुख्य सूचक मानिने नामसारीको सङ्ख्या करिब ४५ प्रतिशतले बढेको हो । 

८. सरकारी फार्मेसी

गत साता (मङ्सिर २४ गते दिउँसो) ७२ वर्षीया मिठुमाया श्रेष्ठले ‘प्रेस्क्रिप्सन’ देखाएर महाराजगन्जस्थित टिचिङ हस्पिटलको गेटबाहिर रहेको फार्मेसीबाट औषधि किनिन् । उनलाई शिक्षण अस्पतालका चिकित्सकले ‘यो औषधि यहाँ पाइँदैन, बाहिर गएर किन्नुहोला’ भनेका रहेछन् । ‘यो त राम्रो र महँगो औषधि हो नि १ यस्तो औषधि त्यहाँ (शिक्षण अस्पतालकै फार्मेसीमा) कहाँ पाइन्छ र १’ पछिल्ला १५ वर्षदेखि ग्यास्ट्रिकले पीडित मिठुमाया सरकारी फार्मेसीप्रति सन्देह गर्छिन् । सरकारी अस्पतालमा रहेका फार्मेसीमा गुणस्तरीय औषधि नपाइने उनको भनाइ थियो । 

९. भैरहवा विमानस्थल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) सञ्चालनमा निरन्तर असहयोग गर्दै आएको भारतको अवरोधलाई छल्न नयाँ प्रणाली सञ्चालनको कार्य अघि बढेको छ । जाडो याममा बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएर विमानको उडान तथा अवतरणमा देखिएको समस्या हटाउन आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेन्स–अथोराइजेसन रिक्वायर्ड) प्रणालीको व्यवस्था गर्न लागिएको हो ।

१०. जनकपुर बोल्ट्स फाइनलमा

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार खेलिएको दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको हो । जनकपुर बोल्ट्सले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिडन्त गर्नेछ । 

 यो पनि

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप