विप्लवका पाँच सन्देश
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकले पाँच सन्देश दिन खोजेको छ । मंसिर २७ देखि पुस १ गतेसम्म कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले आत्मनिर्भर पार्टी निर्माणका साथै राष्ट्रिय राजनीतिमा वैकल्पिक पार्टीको रूपमा आफूलाई स्थापित गर्न खोजेको देखिन्छ ।
आफ्नै नेतृत्वमा समाजवादी क्रान्ति गर्ने गरी विचारको संश्लेषण, कार्यदिशा, कार्यक्रम तयार गर्नका लागि ६ महिनाभित्र विशेष महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकमा महासचिव विप्लवले ‘साम्राज्यवाद र दलाल पुँजीवादकाविरुद्ध दृढतापूर्वक मोर्चा खडा गरौँ ! समाजवादको नेतृत्वका लागि पार्टीलाई तयार पारौँ !!’ शीर्षकको १७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमा नेपालका सबै पार्टी असफल भएको निष्कर्ष निकाल्दै उनले एकीकृत जनक्रान्तिमार्फत समाजवादी क्रान्तिको नेतृत्व लिन तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिएका छन् ।
नेकपा माओवादी केन्द्रसँग एकता गर्ने भनेर ९ महिनाअघि पार्टीले गरेको निर्णय प्रचण्डले उपेक्षा गरेकोमा विप्लवले तीव्र असन्तुष्टि जनाएका छन् । ‘सबै माओवादी शक्तिहरूसँग पार्टीले एकताको हात अगाडि बढाएको तर ती पार्टीहरू एकताका लागि जिम्मेवार देखिएनन् । बाहिर एकताको कुरा गरे पनि प्रचण्डले इमानदारिता देखाएनन् । अब पार्टीले पहल गर्दैन । माओवादी केन्द्रको निर्णय हेरेर अगाडि बढ्छ तर एकताको ढोका खुलै राखेको छ’, विप्लवको दस्ताबेजबारे जानकारी दिँदै नेता कर्णजीत बुढाले भने ।
वैकल्पिक शक्ति निर्माण, आत्मनिर्भर उत्पादन, संसदीय निर्वाचनको उपयोग, समाजवादी कार्यदिशा तय गर्नका लागि यो बैठक महत्त्वपूर्ण भएको बुढाथोकीले बताए । उनले सांगठनिक, कार्यदिशा, कार्यक्रम लगायतको विषयमा थप स्पष्ट पार्न प्रतिनिधि परिषद्को बैठक बिहीबारदेखि सुरू भएको जानकारी दिए ।
परिषद् बैठक सम्पन्न भएपछि केन्द्रीय समिति बैठकको आधिकारिक निर्णय सार्वजनिक गर्ने नेकपाको तयारी छ ।
एकीकृत जनक्रान्तिको लक्ष्यसहित २०७१ सालमा मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीबाट अलग भएर विप्लवले नेकपा पुनर्गठन गरेका थिए । २०७४ सालमा तत्कालीन सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएपछि नेकपाका सबै नेता तथा कार्यकर्ता भूमिगत भएका थिए । तर एकीकृत जनक्रान्ति असफल भएपछि नेकपा २०७६ साल फागुनमा सरकारसँग तीन बुँदे सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा फर्किएको थियो ।
बैठकमा विप्लवले देशको वास्तविक प्रतिनिधि रहेको पार्टी नेकपा भएको दाबी गर्दै चौतर्फी मोर्चा खोलेर नयाँ सफलता हासिल गरेको बताएका थिए ।
अर्का नेता सन्तोष बुढामगरले केन्द्रीय समिति बैठकबाट राष्ट्रिय राजनीतिमा नेकपाले पाँच वटा सन्देश दिएको दाबी गरे । माओवादीसँगको एकताको ढोका खुलै राखेको उनले बताए ।
यी हुन् विप्लवका पाँच सन्देश :
१.उत्पादनमा आत्मनिर्भर बन्ने
गत वैशाखमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले आत्मनिर्भर पार्टी बनाउनका लागि उत्पादन नीति अगाडि बढाएको थियो । देशभर १२० बिघामा धान, गहुँ, मकै, तरकारी, फलफूल खेती सुरू गरेको थियो । केन्द्रीय समितिका सबै सदस्य श्रम र उत्पादनमा जोडिने नीति पार्टीले अगाडि सारेको थियो । यसपटक पदाधिकारी, पोलिटब्यूरो, स्थायी समिति, केन्द्रीय समिति सदस्यहरूलाई श्रम र उत्पादनमा अनिवार्य जोडिन निर्णय गरेको सन्तोषले जानकारी दिए ।
‘अघिल्लो केन्द्रीय समिति बैठकले उत्पादनसम्बन्धी नीति अनुमोदन गरेको थियो । योपटक कार्यान्वयनमा जोड दिइएको छ । पदाधिकारीसहित सबै केन्द्रीय सदस्य श्रम र उत्पादनमा अनिवार्य गरिएको छ’, सन्तोषले भने, ‘अब एक केन्द्रीय सदस्य एक उत्पादनमा जोडिनुहुन्छ । कृषि, व्यापार व्यवसाय, उद्योग, पशुपालन वा यस्तै अन्य कुनै उत्पादन कार्यमा आ–आफ्ना जिल्ला वा पालिकामा जोडिनुहुन्छ ।’
व्यावसायिक खेतीमा पार्टी आत्मनिर्भर हुनुको साथै मुनाफामै रहेको उनको जिकिर छ । आगामी दिनमा पार्टीमात्र होइन, देशलाई नै आत्मनिर्भर बनाउने गरी श्रम र उत्पादन नीति अगाडि बढाएको सन्तोषले बताए ।
सन्तोषका अनुसार पार्टीले कृषि उत्पादनका साथै साबुन, सरफ, कपडा उद्योगसमेत सञ्चालनमा ल्याएको छ । कपिलवस्तुमा खोलिएको कपडा उद्योगमा अहिले बाहिरबाट कच्चा पदार्थ ल्याएर उत्पादन थालिएको उनले बताए । आगामी दिनमा नेपालमै कच्चा पदार्थ उत्पादन गरी आफैँले उत्पादन गर्ने पार्टीको नीति रहेको सन्तोषले दाबी गरे ।
२. विचारको संश्लेषण गर्ने
एकीकृत जनक्रान्तिको नीति लिएको नेकपाले समाजवादी क्रान्तिको नेतृत्व गर्ने गरी विचारको संश्लेषण गर्न ६ महिनाभित्र विशेष महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । महाधिवेशन÷सम्मेलनबाट समाजवादी कार्यदिशा, कार्यक्रम, नीति तथा योजना ल्याउने नेता सन्तोषले स्पष्ट पारे ।
३. वामपन्थीबिच एकता/सहकार्य र ध्रुवीकरणमा जोड
वामपन्थीबिच एकता, सहकार्य र ध्रुवीकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका माओवादीका अध्यक्ष प्रचण्डले चासो नदिएपछि असन्तुष्ट रहेका विप्लवले बैठकमार्फत रणनैतिक रूपमा दबाब दिएका छन् ।
प्रचण्डसँग निरन्तर सम्पर्कमा रहेका विप्लवले एकताको नाममा प्रचण्डले आफूलाई अलमल्याउन खोजेको र सदासयतालाई कमजोरीका रूपमा लिएको उनको प्रतिवेदनबाट प्रस्ट बुझ्न सकिन्छ । विचार मिल्ने सबै वामपन्थी दलहरूसँग एकता र सहकार्य गरेर ०८४ को निर्वाचनमा सहभागी हुन खोजेका उनी प्रचण्डको नीतिबाट पछिल्लोपटक सशंकित देखिएका छन् ।
पार्टी एकतामा नेकपाको नीतिबारे थप व्याख्या गर्दै सन्तोषले दलाल पुँजीवादी व्यवस्थाविरुद्ध लड्न बलियो वामपन्थी शक्ति निर्माणका लागि सहकार्य र ध्रुवीकरणको नीति अगाडि सारिएको दाबी गरे । तर माओवादीसँग एकताको ढोका बन्द नगरिएको उनको भनाइ छ ।
‘प्रचण्डजीसँग बारम्बार छलफल भएपछि मात्र हामीले एकताको निर्णय गरेको हो’, उनले भने, ‘तर हाम्रो पार्टीले निर्णय गरेपछि उहाँ(प्रचण्ड)ले उदासीनता देखाएको हो कि भन्ने आशंका हो । यो बैठकले एकताको लागि पहल नगर्ने निर्णय गरे पनि ढोका खुलै छ, बन्द गरिएको छैन । माओवादीको निर्णय हेरेरमात्र निर्णय थप निर्णय गर्नेछौँ ।
४.२०८४ को निर्वाचनमा भाग लिने
अघिल्लो केन्द्रीय समिति बैठकले ०८४ को आमनिर्वाचन उपयोग गर्ने नीति लिएको थियो । यस बैठकले निर्वाचन आयोगमा दल दर्ता गरेर निर्वाचनमा भाग लिने निर्णय गरेको बुढामगरले बताए । निर्वाचनको तयारीका लागि सोही अनुसारको कार्यक्रम बनाउने नेकपाले नीति लिएको छ ।
५.संगठन विस्तार, सुदृढीकरणका लागि अभियान चलाउने
संगठनलाई थप चलायमान बनाउन नेकपाले माघ ५ गतेदेखि पूर्व–पश्चिम–मधेसमा जनपरिचालनको कार्यक्रम गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको निर्णयसहित पार्टीको कार्यदिशा, योजना, कार्यक्रमबारे जनतामा स्पष्ट विचार प्रवाह गर्ने उद्देश्यले जनपरिचालनको कार्यक्रम ल्याएको अर्का नेता अनिल शर्मा विरहीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनासम्म गर्नुभएन, अहिले ७ दिनमा के पल्टिन्छ ?
-
सडक बनाउन पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना
-
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
-
कामना सेवालाई अग्राधिकार शेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत
-
अन्नतः सामोआलाई हराउँदै ‘सुपर–६’ चरणमा पुग्यो न्युजिल्यान्ड
-
रुपन्देही जिल्ला अदालतमा रविको बयान सुरु