बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

रोमाञ्चक खेलमा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा

बिहीबार, ०४ पुस २०८१, १५ : ५८
बिहीबार, ०४ पुस २०८१

काठमाडौँ । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार खेलिएको दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको हो । 

जनकपुर बोल्ट्सले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिडन्त गर्नेछ । फाइनल खेल शनिबार खेलिने छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको जनकपुर बोल्ट्सले १९ ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो ।

दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएसँगै कर्णाली याक्स भने उपाधि होडबाट बाहिरिएको छ । कर्णाली याक्स बुधबार खेलिएको ‘एलिमिनेटर’ खेलमा बलियो प्रतिद्वन्द्वी चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो ‘क्वालिफायर’ मा प्रवेश गरेको थियो । जनकपुर बोल्ट्स भने बुधबार नै खेलिएको पहिलो ‘क्वालिफायर’ खेलमा सुदूरपश्चि रोयल्ससँग आठ विकेटले पराजित भएपछि दोस्रो ‘क्वालिफायर’ खेल्न बाध्य भएको थियो । 

जनकपुर बोल्ट्सका माथिल्लो क्रमका ब्याट्सम्यानहरुले पनि निराशाजनक प्रदर्शन गरे । छैटौँ नम्बरमा क्रिज समाल्न आएका जेम्स निसम टोलीको जितमा नायक बने । उनले ४५ रनको योगदान गरे । उनले आक्रामक पाली खेल्दै केवल १७ बलमा पाँच छक्का र दुई चौका प्रहार गरे ।

उनी दूर्भाग्यपूर्ण तरिकाले आउट भएपछि जनकपुर बोल्ट्स पुनः दबाबमा परेको थियो । कर्णाली याक्सका बलर विपिन शर्माको बललाई खेल्ने क्रममा उनी आउट भएका थिए । विपिन शर्माले फालेको बल निसमको ब्याटमा ठोक्किएर विकेटमा लागेको थियो ।

त्यसपछि तल्लो क्रमका ब्याट्सम्यानहरुले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै जनकपुर बोल्ट्सलाई जितसम्म डो¥याएका थिए । शेर मल्ल १६ रनमा अविजित रहे । उनले १० बलमा एक छक्का हिर्काए । हर्ष थाकेरले टोलीको खातामा १७ रन थपे । उनले २६ बलमा दुई चौका प्रहार गरे ।

आकाश त्रिपाठी भने २० बलमा एक चौकाको मद्दतले १३ रन बनाउँदै पेभेलियन फर्किए । मायान यादबले पनि १८ बलको सामना गरी टोलीको खातामा १४ रन थपे । जनकपुर बोल्ट्सका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णाली याक्सका बलर विपिन शर्माले तीन विकेट लिए । कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र जिसन मक्सुदले पनि एक–एक विकेट हात पारेका थिए । जनकपुर बोल्ट्सले अतिरिक्त रुपमा केवल चार रन पाएको थियो । 

त्यसअघि, कर्णाली याक्सका माथिल्लो क्रमका ब्याट्सम्यानहश्रले खासै गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । ओपनर देब खनालले २४ रन बनाए । देबले २० बलमा एक छक्का र तीन चौका पनि हिर्काए । अघिल्लो खेलमा अर्धशतकीय पाली खेलेका अर्का ओपनर जयकिशन कोल्सावाला भने एक रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किए ।

तेस्रो नम्बरका ब्याट्सम्यान जिसन मक्सुद पनि १२ रनभन्दा अगाडि बढ्न सकेनन् । उनले ११ बलमा दुई चौका हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान विलियम बोसिस्टो पनि १४ रनमै पेभेलियन फर्किए ।

बोसिस्टोले १५ बलमा एक चौका प्रहार गरे । विकेटकिपर ब्याट्सम्यान चाडविक वाल्टन पनि १३ बलमा एक चौकाको मद्दतले ११ रन बनाउँदै आउट भए । 

छैटौँ नम्बरमा क्रिज समाल्न आएका अलराउन्डर गुलसन झाले टोलीको खातामा २५ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका गुलसनले केवल २० बलमा दुई छक्का र एक चौका हिर्काए ।

गुलसन दूर्भाग्यपूर्ण तरिकाले आउट हुँदै मैदानबाट बाहिरिएका थिए । जनकपुर बोल्ट्सका बलर मोहम्मद मोहसिनले फालेको बल गुलसनको ब्याटमा लागेर विकेटमा ठोक्किन पुगेको थियो । 

अर्जुन घर्ती दुई र कप्तान सोमपाल कामी पाँच रन बनाउँदै पेभेलियन फर्किए । १०औँ नम्बरका ब्याट्सम्यान युनिस ठकुरीले भने टोलीको खातामा १२ रन थपे । उनले १७ बलमा दुई चौका हिर्काए ।

नन्दन यादब चार रनमा अविजित रहे । जनकपुर बोल्ट्सका बलर मोहम्मद मोहसिन, ललित राजवंशी र जेम्स निसामले दुई–दुई विकेट लिए । हर्ष थाकेर र शेर मल्लले पनि एक–एक विकेट लिए ।

NPL - Nepal Premier League 2024 NPL - Nepal Premier League 2024

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप