बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव-महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?

बिहीबार, ०४ पुस २०८१, १४ : २३
बिहीबार, ०४ पुस २०८१

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गतेदेखि बस्दैछ । त्यसअघि तयारी बैठकका रूपमा तीन दिन स्थायी समिति बैठक बोलाएको छ । निकै चासोसाथ हेरिएको माओवादीको सो बैठकले समाजवादी कार्यदिशा, कार्यक्रम तय गर्नुको साथै साङ्गठनिक र वामपन्थीबिच एकता/समायोजन/सहकार्य/ध्रुवीकरणको विषयमा महत्त्वपूर्ण निर्णय हुने ठानिएको छ । 

तर माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरिसकेका नेकपा र नेसपाले पार्टी एकताप्रति प्रचण्ड इमानदार नदेखिएको निष्कर्ष निकालेको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले त पार्टी एकताका लागि अब आफूले पहल नगर्ने निर्णय पार्टीबाट गराइसकेका छन् ।

पार्टी एकतामा भइरहेको ढिलाइ, विप्लवको असन्तुष्टि, वामपन्थीबिच ध्रुवीकरण, पार्टीको समाजवादी कार्यदिशा लगायतका तयारीबारे रातोपाटीका संवाददाता गणेश पाण्डेले माओवादीका उपमहासचिव एवं एकता वार्ता टोली सदस्य गिरिराजमणि पोखरेलसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • केन्द्रीय समिति बैठकको तयारी के–के छन् ?

पटक पटक पदाधिकारीको बैठक बसेका छौँ । बिचमा हामीले स्थायी समितिको बैठक सम्पन्न गर्‍यौँ । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा १८ देखि २० गतेसम्म स्थायी समितिको तयारी बैठक राखेका छौँ । २१ गतेदेखि केन्द्रीय समिति बैठक सुरु हुन्छ । वैचारिक, राजनीतिक, साङ्गठनिक दृष्टिकोणले स्पष्ट दिशा दिनेगरी छलफल गरिराखेका छौँ ।

  • महत्वपूर्ण चरणमा केन्द्रीय समिति बैठक बस्न लागेको छ । यस बैठकलाई सबैले चासोसाथ हेरका छन् । वामपन्थी शक्तिबिच एकता तथा समायोजनको मोडिलिटी यही बैठकले बनाउँछ ?

पहिलो कुरा बदलिएको विश्व राजनीति, क्षेत्रीय अवस्था, नेपालको अहिले समकालीन राजनीतिलाई ध्यान दिएर यो बैठक हाम्रो लागि महत्त्वपूर्ण हुनेछ । यस बैठकले आगामी कार्यनीति, रणनीति कसरी जोड्ने जस्ता विषयमा गम्भीर बहस गर्नेछ । साङ्गठनिक तयारी पनि छन् । साथै वामपन्थीहरूको एकता र सहकार्यको विषय पनि अर्को महत्त्वपूर्ण विषय हो । रणनीतिक ढङ्गले वामपन्थीबिच कसरी जाने ? कार्यनीति ढङ्गले कसरी जाने ? मोर्चागत ढङ्गले कसरी जाने विषय विशेष अर्थका छन् । मूलतः वामपन्थीहरूबिच एकताको पक्षमा छौँ । नेतृत्वको कोणबाट नेकपा एमाले सम्बन्धित एक पक्षीय नेताहरूले वाम एकतालाई ठिक ढङ्गले नलिएको भएपनि ठुलो पङ्क्ति वामपन्थीबिच एकता र सहकार्यको पक्षमा छन् । नेता कार्यकर्ताको धेरै ठुलो पङ्क्ति छ । भावना पनि त्यही हो । छरिएर रहेका संसदमा भएका वा नभएका वामपन्थीबिचमा पनि एउटा सार्थक खालको संवादको आवश्यकता छ । यी सबै पक्षलाई ध्यान दिएर केन्द्रीय समिति बैठकले नीतिगत र कार्यक्रमिक ढङ्गले निर्णय गर्नेछ ।

  • विप्लव नेतृत्वको नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेसपाले माओवादीसँग एकता गर्ने निर्णय गरेको झण्डै १० महिना भइसकेको छ । तर अध्यक्ष प्रचण्डले एकताका लागि कुनै चासो नदेखाएको आरोप छ नि ?

पहिलो कुरा विप्लवजीको असन्तुष्टिबारे मैले पनि सञ्चार माध्यमबाट थाहा पाएको हुँ । बैठक नबसेसम्म यसबारेमा मैले अहिले केही बोल्न मिल्दैन । दोस्रो कुरा अहिले सबै वामपन्थी दलहरू सहकार्यको पक्षमा हुनुहुन्छ । हाम्रो पार्टी एउटा एउटा समूहभन्दा पनि अलि बृहत् खालको वामपन्थी एकतालाई समेत ध्यान दिएर मोर्चा बनाएको छ । त्यो मोर्चालाई पनि सुदृढ गरेर जान खोज्दा ढिलाइ भएको हो । यसबारे नेकपा र एकीकृत समाजवादीको पनि केही निर्णय सुन्नमा आएको छ । पार्टीको बैठक बसेर नै यसबारे हामीले आधिकारिक ढङ्गले अन्तिम निर्णय गर्छौँ ।

  • अहिलेसम्म ढिलाइ हुनुको कारण वैचारिक, राजनीतिक हो कि पदीय व्यवस्थापन नमिल्दा हो ?

पहिलो हाम्रो छलफल कार्यदिशामा हुनुपर्‍यो । वैचारिक, राजनीतिक साङ्गठनिक यी तीन वटै विषय समेटिएको कार्यदिशामा पहिला एकरूपता हुनुपर्‍यो । एमालेसँग मिलेर हामीले नेकपा बनायौँ । वैचारिक लाइनमा हाम्रो एकरूप बुझाई नभइसकेपछि हामी जे जे भोग्यौँ, त्यसले कम्युनिस्ट आन्दोलनलाई जुन क्षति भयो, ती सबैले देखेको कुरा छ । कतिपय कार्यनीतिक सवालमा मतभेद भएर पार्टी फुट्ने गरेका छन् । वैचारिक साथसाथै अहिलेको तात्कालिक कुरा समाजवादका आधार तयार गर्ने कुरा हो । यसको आधार तयार गर्दा सरकार, सदन र सडक तीन वटै मोर्चाबाट गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । प्रचण्डको नेतृत्वको बेलामा सरकारले सकारात्मक काम पनि गर्‍यो । भर्खर सम्पन्न भएको स्थानीय तह उपचुनावले पनि एउटा सन्देश प्राप्त गरेको छ ।

  • दोस्रो विषयवस्तु हामी कार्यक्रमिक ढङ्गले कसरी अगाडि बढ्छौं ? वैचारिक कुरामा एकरूपता भएमा त्यो मोटो विषय बन्छ । सूक्ष्म बुझाई कार्यक्रममा हुन्छ । त्यसैले समाजवादलाई केन्द्रमा राखेर कार्यक्रमिक ढङ्गले हामी कसरी जान सक्छौँ भन्ने कुरा महत्त्वपूर्ण भयो ।

तेस्रो कुरा साङ्गठनिक ढङ्गले क्याडरबेस(कार्यकर्ता)मा आधारित पार्टी बनाएका हौँ । तर पछिल्लो बेलामा शान्तिपूर्ण ढङ्गले चुनावमा भाग लिएर समाजवादमा जान सकिन्छ भन्ने हो । र, संविधानसभा हुँदै चुनावमा पनि भाग लिँदै अगाडि बढेको स्थिति छ । जनतामा आधारित पार्टी बनाउने निर्णय गरिसकेका छौँ । पछिल्लो विधान सम्मेलनसम्म आइपुग्दाको निचोड त्यही हो । त्यसैले यी कुराको संश्लेषित कुरा के हुन्छ भन्ने कुरा एकरूपता कायम गर्नुपर्छ । हामीले परामर्श बैठक सकेर केन्द्रीय समिति बैठकसम्म जाँदाखेरी यसलाई अझै व्यवस्थित गर्छौँ । अझै कतिपय विषय विशेष महाधिवेशनसम्म जानुपर्ने हुन सक्छ । तत्कालिक राजनीतिक घटनाक्रममा हाम्रो समान धारणा बनाउनु पर्ने विषय आफ्ना ठाउँमा छँदैछ ।

  • मंसिर २८ गते बसेको स्थायी समिति बैठकले एकता÷समायोजनसम्बन्धी मापदण्ड बनाउनु भएको छ । त्यसले झन् साङ्गठनिक अराजकता आउने खतरा हुँदैन ?

पहिलो कुरा एकता/समायोजनसम्बन्धी निर्णय पद नभएको कुरा प्रस्ट पार्न चाहन्छु । तहगत ढङ्गले जिम्मेवारीमा भएका समस्यालाई सकारात्मक ढङ्गले सम्बोधन गर्नुपर्छ भनेको हो । यसलाई सम्बोधन गर्न वामपन्थी पृष्ठभूमिबाट आएका लागि पुरानो इतिहासलाई मान्यता दिने यसअघि नै निर्णय गरेर अभ्यास भइसकेका विषय हुन् । गैरवामपन्थीबाट आएकाका लागि जस्ताको तस्तै लागु हुँदैन । वामपन्थी पार्टीभित्रबाट आएकाका लागि पद होइन तहगत ढङ्गले एकता गर्ने भनिएको हो । तहगत ढङ्गले एकता गर्दा त्यहाँ पार्टी एकता संयोजन समिति हुन्छ । वार्ता टोली हुन्छ । समस्यालाई समाधान गर्ने संयन्त्र हुन्छ । त्यसले टुङ्ग्याउँछ । पछिल्लो निर्णयको स्पिरिड त्यो हो ।

  • यसअघि तपाईँहरूले जुन जुन समूहसँग एकता तत्कालै हुन्छ भन्नुभएको थियो ढिलाइ हुनुको खास कारण के हो ?

हामीले एकता गर्न नचाहेको होइन । त्यो अत्यन्तै आवश्यक कुरा हो । सबैसँग गृहकार्य गरेर एकता गर्न खोज्दा ढिलाइ भएको हो । अरू दैनिक घटनाक्रम, आन्तरिक व्यस्तताका कारणले कहिलेकाहिँ त्यस्तो विषय ओझेलमा परेका पनि हुन सक्छ । एकतासम्बन्धी सहमतिबाट हामी पछि हटेका छैनौँ । सहमति भत्किएको अर्थमा यसलाई बुझ्नु हुँदैन । केन्द्रीय समिति बैठकले सबै पक्षमा छलफल गरेर अन्योलतालाई चिर्छ ।

  • २०७९ को निर्वाचनअघि नेसपासँग पार्टी एकता गर्ने सहमति हुँदा पार्टीको नाम परिवर्तन गरी नेकपा समाजवादी राख्ने सहमति भएको थियो । यस बैठकले पार्टी नाम, झन्डा, चुनाव चिन्ह हटाउने गरी निर्णय गर्छ ?

पहिलो कुरा पार्टीको नाम हटाउने खालको बुझाई छैन । त्यतिबेला  बाबुरामजीले कम्युनिस्ट पार्टी नमान्ने कुरा थियो । तर कम्युनिस्ट आन्दोलनलाई मान्ने, एकतालाई मान्य भइसकेपछि नाममा लचक हुन सक्छौँ । टुंगिसकेको विषय होइन । अब बाबुरामजी अर्कै ठाउँमा पुगिसक्नुभएको छ । महिन्द्रजीसँग हाम्रो संवाद जारी छ ।

  • महिन्द्र यादवले त माओवादी फुर्को नहटाएसम्म एकता सम्भव छैन भनिरहनुभएको छ नि ?

त्यसमा दुई पक्ष बसेर छलफल र वार्ता गरेर टुङ्ग्याउन सक्छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप