बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
महिला यू–१९ एसिया कप क्रिकेटको सुपर–४ भिडन्त

वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल

बिहीबार, ०४ पुस २०८१, १४ : २४
बिहीबार, ०४ पुस २०८१

काठमाडौँ । एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगितामा बिहीबार हुने भनिएको नेपाल र श्रीलंकाबिचको ‘सुपर–४’ चरणको खेल अनिर्णित रुपमा सकिएको छ । लगातारको वर्षाका कारण खेल अनिर्णित रुपमा सकिएको हो । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट स्टेडियममा श्रीलंकाले टस हारी पहिले ब्याटिङको निम्तो पाएको थियो ।

श्रीलंकाले पहिलो ओभरको खेल सकिँदा केवल एक रन बनाएर एक विकेट पनि गुमाएको थियो । श्रीलंकाको पहिलो विकेट नेपाली टोलीकी कप्तान पूजा महतोले लिएकी थिइन् ।  त्यसपछि वर्षाका कारण खेल अवरुद्ध भएको थियो । लामो समय प्रतिक्षा गर्दा पनि वर्षा नरोकिएपछि खेल अनिर्णित रुपमा सकिएको हो । नेपाल र श्रीलंका दुबैले एक–एक अंक पाएका छन् । 

‘सुपर–४’ चरणको अंक तालिकामा चार अंकसहित भारत पहिलो र दुई अंकसहित नेपाल दोस्रो स्थानमा आसिन छन् । बंगलादेश तेस्रो र श्रीलंका चौथो स्थानमा छन् । यसअघि, बिहीबार नै खेलिएको ‘सुपर–४’ चरणको पहिलो खेलमा भने भारतले बंगलादेशलाई आठ विकेटले हराएको थियो ।   

नेपाली टोली समूह ‘बी’ को उपविजेता बन्दै प्रतियोगिताको ‘सुपर–४’ चरणमा प्रवेश गरेको हो । भारत समूह ‘बी’ को विजेता बन्दै ‘सुपर–४’ चरणमा पुगेको थियो ।  समूह ‘ए’ बाट भने चार अंकसहित बंगलादेश पहिलो र दुई अंकसहित श्रीलंका दोस्रो हुँदै ‘सुपर–४’ चरणमा पुग्न सफल भएका थिए । 

प्रारम्भिक चरणको खेलपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको ‘सुपर–४’ चरणमा प्रवेश गर्ने प्रावधान रहेको थियो । ‘सुपर–४’ चरणमा चारवटै टोलीले एकअर्कासँग दुई–दुई खेल खेल्नेछन् ।  ‘सुपर–४’ चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । ‘सुपर–४’ चरणमा शुक्रबार नेपाल र बंगलादेश तथा भारत र श्रीलंकाबिच खेल हुनेछ । 

त्यसपछि तालिकाको माथिल्ला दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल आगामी आइतबार खेलिने छ ।  प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन उपकप्तान, एलिसा कुमारी यादब, साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्ण विक, अनु कडायत र किरण कुमारी कुँवर छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप