परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज बिहान भारतको दिल्ली पुगेकी छिन् । उनलाई विमानस्थलमा भारतस्थित नेपाली दूतावासका अधिकारी तथा भारतीय विदेश मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए ।
युरोपको भ्रमण सकाएर उनी दिल्ली पुगेकी हुन् । उनी हिजो जर्मनीबाट भारतका लागि प्रस्थान गरेकी थिइन् ।
भोलि अर्थात पुस ५ गते नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो) को आयोजनामा हुने एक सम्मेलनलाई सम्बोधन गर्न उनी भारत पुगेकी हुन् ।
सम्मेलनमा सहभागी हुनुको साथै उनले आफ्नो स्वास्थ्य जाँच पनि गराउने छिन् । उनले भारतका विदेश मन्त्री एस.जयशंकरसँग भेट्ने तयारी पनि गरेकी छिन् ।
तर भेटघाटको समय तालिका हालसम्म तय नभएको बताइएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दूतावास र भारतस्थित नेपाली दूतावाससँग समन्वय गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा अोलीको पनि भारत भ्रमण हुने चर्चा चलिरहेको छ । यही बिचमा परराष्ट्रमन्त्री आरजुको भारत भ्रमण भएको हो । परराष्ट्रमन्त्री भएपछि आरजुको यो दोस्रो भारत भ्रमण हो । यसअघि पनि उनी स्वाथ्य जाँचका लागि दिल्ली जाने भनेपछि विदेशमन्त्री एस.जयशंकरले औपचारिक निमन्त्रणा नै दिएका थिए ।
त्यसपछि औपचारिक निमन्त्रणामा उनी भारतको भ्रमणमा गरेकी थिइन् । सो क्रममा उनले त्यतिबेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री एस.जयशंकरलगायतका उच्च तहका व्यक्तिहरूसँग भेटघाट गरेका थिए ।
त्यतिबेला मन्त्री आरजुले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् । तर आशा गरे बमोजिम भारतले प्रधानमन्त्री अोलीलाई भारत भ्रमणको निम्तो दिएन ।
भारतले निम्तो नदिएपछि प्रधानमन्त्री ओली चीनको भ्रमण (मङ्सिर १७–२०) गरेका थिए । चीनबाट फर्के लगतै उनले आफू भारतको भ्रमण गर्ने धारणा सार्वजनिक गरेका थिए । तर भारतले अझै निमन्त्रणा गरेको छैन ।
परराष्ट्रमन्त्री आरजुको भारत भ्रमणपछि प्रधानमन्त्री अोलीको पनि भ्रमण तय हुने धरैको आकलन छ ।
परराष्ट्रमन्त्री आरजु बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात् जर्मनीको भ्रमण गरेकी थिइन् । हिजो त्यहाँको यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलनलाई सम्बोधन गरेर दिल्लीका लागि उडेकी थिइन् ।
परराष्ट्रमन्त्री आरजु चीन भ्रमणबाट मङ्सिर २० गते फर्केकी थिइन् र २२ गते युरोप भ्रमणका लागि निस्केका थिइन् । युरोपबाट पुस ५ गते नेपाल फर्किने कार्यक्रम तय थियो तर उनी अचानक युरोपबाट नै भारत गइन् ।
उनी पुस ६ गते नेपाल फर्किने बताइएको छ । परराष्ट्रमन्त्री आरजुको भारत भ्रमणको विषयलाई लिएर नेपालस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तव र परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राय बिच भेटघाट भएको थियो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्त केही दिनदेखि दिल्लीमै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत १५ को हिंसात्मक घटनाको सन्दर्भमा नेवाः समुदायको सामुहिक विज्ञप्ति
-
दलहरूको स्वार्थले बन्धक बन्यो बागमती प्रदेशसभा
-
नेकपा एस सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लालबहादुर खड्का चयन
-
फोर्ब्सको नयाँ अर्बपति सूची सार्वजनिक, यी हुन् १५ सेञ्चुरी बिलिनियर्स
-
मोटर्स कम्पनीमा वाणिज्य विभागको अनुगमन, पाँच कम्पनीको बिक्री वितरण रोक्का
-
तराई मधेस जागरण अभियान पुनः सुरू भयोः अध्यक्ष दाहाल