अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
बुटवल । यही पुस ६ गते अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी ध्यान दिवस मनाइँदै छ ।
ध्यान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओली, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थितिमा ध्यान गरिने छ । सातै प्रदेश र ७ सय ५३ पालिकामा पनि ध्यान दिवस मनाइँदै छ ।
योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञानका संस्थापक गुरु एलपी भानु शर्मा सोही अभियान अन्तर्गत अहिले रुपन्देही आइपुगेका छन् । ध्यानको महत्त्व, त्यसले मानिसको जीवनमा पार्ने प्रभावको विषयमा शर्मासँग रातोपाटीका लागि तेजेन्द्र केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–
- पुस ६ गते विश्व ध्यान दिवसको अवसरमा कस्तो कार्यक्रम हुँदैछ ?
काठमाडौँको टुँडिखेलमा पुस ६ गते बिहान १० बजे प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख लगायतको उपस्थितिमा विशेष कार्यक्रम हुनेछ । हामीले रुपन्देहीमा गृहमन्त्री रमेश लेखकलाई पनि भेटेर निमन्त्रणा दिएका छौँ । खासमा हामी त्यो कार्यक्रमको आयोजकभन्दा पनि नेपाल सरकारकै सक्रियतामा कार्यक्रम हुने हो । किनकि उक्त दिन विश्व ध्यान दिवसको अवसर पारेर नेपालका ७ प्रदेश, ७५३ स्थानीय तहहरूमा कार्यक्रम हुने छन् । ती कार्यक्रममा ध्यान तथा ध्यानको महत्त्वबारे प्रवचनसमेत हुनेछ । ती कार्यक्रम आ–आफ्नो ढङ्गले हुने हुन् ।
जसरी विश्व ध्यान दिवसको घोषणा भयो, त्यो नै महत्त्वपूर्ण हो । यो राष्ट्रिय महोत्सव हो । राष्ट्रले नै मनाउँदैछ । हामी त्यसको तयारी गरिसकेका छौँ ।
- यहाँहरूले वर्षौंदेखि गर्दै आएको ध्यानको अभियानलाई सरकारले पनि मान्यता दिएको हो ?
हो, ध्यान हाम्रो मानसिक, शारीरिक र भावनात्मक स्वास्थ्यका लागि अत्यन्त महत्त्वपूर्ण छ । यसले हाम्रो जीवनमा शान्ति, ध्यान केन्द्रित गर्ने क्षमता र सकारात्मक ऊर्जा ल्याउँछ ।
त्यस आधारमा हामीले विभिन्न ठाउँमा वर्षौंदेखि ध्यान गर्दै र गराउँदै आएका छौँ । सरकारले पनि यसको महत्त्व बुझ्यो र संयुक्त राष्ट्रसंघमा प्रस्ताव लग्यो । अनि संयुक्त राष्ट्रसंघले पनि मान्यता दिएको हो । यो विश्वभर आवश्यक विषय नै हो । केवल हामीले उजागरमात्रै गरेका हौँ । त्यस कारण ध्यान विश्वभर गर्नुपर्छ ।
सबैको लागि आवश्यक रहेको बुझेर नै ध्यान दिवस घोषणा गरिएको हो । यसमा सबैको योगदान छ । हामीले मात्रै यसको श्रेय लिने हुँदैन । राम्रो चिज सबैको लागि उपयोगी हुन्छ । ध्यान त्यही उपयोगी चिज हो ।
- लामो समयदेखि ठाउँ–ठाउँमा ध्यानको अभियान चलाउँदै आउनु भएको छ, त्यसबाट समाजमा खास के प्रभाव परेको छ ?
ध्यान विश्वभरका मानिसलाई चाहिने विषय भएकोमा दुई मत छैन । अर्कोतिर एकै पटक सबै कार्य सम्पन्न हुने पनि होइन । ध्यानले शारीरिक, मानसिक रूपमा स्वस्थ राख्छ । यसले धेरै मानिसको स्वास्थ्यमा सुधार भएको छ । ध्यानकै कारण विभिन्न रोग निको भएका मानिसहरू हामीले भेटेका छौँ । अर्कोतिर मानिसको मन शान्त भएपछि त्यसले कर्ममा ऊर्जा दिन्छ ।
यही महत्त्व बुझेर पछिल्लो समयमा ठाउँठाउँमा ध्यानका लागि भवन बनेका छन् । सरकारी स्तरमा पनि यसका लागि सहयोग उपलब्ध भएको छ । अर्थात् ध्यानको महत्त्व पुष्टि भएको छ । ध्यान आवश्यक छ भन्ने धेरैले बुझेका छन् ।
- मानिसलाई खासमा ध्यान किन आवश्यक पर्छ ?
मानिसलाई ध्यान धेरै कारणले आवश्यक छ । मानसिक र शारीरिक रूपमा सन्तुलनमा राख्न यसले महत्त्वपूर्ण भूमिका खेल्छ । दैनिक जीवनलाई अझ सकारात्मक र सन्तुलित बनाउनका लागि ध्यान उपयोगी छ ।
मुख्यतः ध्यानले मानसिक तनाव कम गर्न र शान्ति महसुस गराउन मद्दत गर्दछ । ध्यानले ध्यान केन्द्रित गर्ने क्षमता सुधार गर्न मद्दत गर्छ, जसले पढाइ, काम र अन्य क्रियाकलापमा फाइदा पु¥याउँछ ।
अर्को महत्त्वपूर्ण पाटो भनेको ध्यानले स्वास्थ्यमा सुधार ल्याउँछ । जस्तै ध्यानले रक्तचाप नियन्त्रणमा राख्न, निद्रा सुधार गर्न र मानसिक रोगहरूको जोखिम कम गर्न ठुलो मद्दत गर्दछ । ध्यानले मानिसलाई आफ्नो भित्री स्वभाव बुझ्न र जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्न प्रेरणा दिन्छ भने रचनात्मकता र सिर्जनशीलता बढाउने गर्छ । ध्यानलाई दैनिक जीवनको हिस्सा बनाउँदा तपाईंले मानसिक र शारीरिक रूपमा स्वस्थ जीवन जीउन सक्नुहुन्छ । दिनमा १०–१५ मिनेट ध्यान गर्न सुरु गर्नु फाइदाजनक हुनेछ ।
- केही समय अगाडि लुम्बिनी विराट चक्र विज्ञान गर्नुभयो, त्यसबाट के उपलब्धि भयो ?
हामीले लुम्बिनीमा एक हप्तासम्म विराट चक्र विज्ञान आयोजना गरेका थियौँ । उक्त कार्यक्रमले धेरैले जीवनमा परिवर्तन ल्याएको छ । ध्यानका कारण रोग निको हुनेदेखि खुसी र सुखी बन्ने भएको छ । उनीहरूको परिवार शान्त भएको छ । त्यसले पक्कै पनि समाजमा केही न केही योगदान दिएको छ ।
त्यो बेला १२ सय जति जनप्रतिनिधि र कर्मचारीहरूको सहभागिता थियो । उहाँहरूको कार्य कुशलता वृद्धि भएको छ भने ठाउँ–ठाउँमा ध्यानको महत्त्व, योग सिकाउने ठाउँ निर्माण भएका छन् । त्यसको लागि उहाँहरूले पहल गर्नु भएको छ । हामीले त्योभन्दा ठुलो अब गण्डकी स्वजागरण अभियान गर्ने छौँ । समाजको हितका लागि र व्यक्ति स्वयंको लागि त्यो लाभदायक छ ।
- गण्डकी स्वजागरण अभियान कस्तो हो ?
हामीले पोखरा खेलकुद रंगशालामा गण्डकी स्वजागरण गर्दैछौँ । आगामी फागुन १० देखि १७ गतेसम्म एक हप्ताको कार्यक्रम हो यो । २० देखि ५० हजार जनाको उपस्थितिमा यो कार्यक्रम हुनेछ । यसमा लुम्बिनीमा जस्तै ध्यानका विधिहरू प्रयोग गरिन्छ भने परिषद् भेला पनि सोही महिना गर्ने तयारी छ । स्वजागरण अभियान त नाम हो, विराट चक्रचाहिँ ध्यान हो । हामीले गरेका कार्यक्रमले पर्यटन क्षेत्र पनि प्रभाव पार्ने छ । हामीले अन्तर्राष्ट्रिय नियोगमा कार्यक्रम गर्दा नेपालमा पर्यटन प्रवर्द्धन हुनेछ । बेला–बेला हामीले विदेशमा पुगेर यो अभियान चलाएका छौँ । त्यसको छुट्टै लाभ छ । अहिले पनि योगा गराउँदा विभिन्न ठाउँमा विदेशी पनि आएका छन् । जसले गर्दा पर्यटन वृद्धिसँगै आर्थिक गतिविधि चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुग्ने हाम्रो विश्वास छ ।
- एउटा सामान्य मानिसले बुझ्ने गरी ध्यानका तीन वटा लाभ भनिदिनुस् न ?
ध्यानले उमेर समूह, कुनै धर्म समूह चिन्दैन तर व्यक्तिलाई लाभ दिन्छ । यसबाट हुने लाभ भनेको पहिलो, व्यक्तिलाई भित्रबाट शान्त बनाउँछ । दोस्रो, व्यक्तिलाई के गर्ने हो, त्यसका लागि ऊर्जा प्रदान गर्छ । तेस्रो, ध्यानको प्रक्रिया शरीरमा र मनमा भएका धेरै समस्याहरू हल गर्छ । मानिसको शरीर र मानसिक समस्याको समाधान यसले गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककटेल २ बाट दिपिका बाहिर
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !