बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
सरकारी फार्मेसी सेवा

‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’

बिहीबार, ०४ पुस २०८१, १० : ४८
बिहीबार, ०४ पुस २०८१

औषधिको गुणस्तर र मूल्यका कुरा फरक–फरक हुन् । यद्यपि यी दुवै कुरा कतै न कतैबाट जोडिएका हुन सक्छन् । 

पहिलो कुरा, हामीले बुझ्नुपर्ने के हो भने नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवा भनेर थैली बनायो । त्योे प्याकेजमा धेरै औषधि समावेश गरिएको छ । ती आधारभूत औषधि झन्डै एक सयभन्दा बढी छन् । ती औषधि आमनागरिकले निःशुल्क उपभोग गर्न पाउनुपर्ने हो । किनभने आधारभूत स्वास्थ्य सेवा निःशुल्क भनेको छ । त्यसमा औषधि, सेवा र परीक्षणको ठुलो प्याकेज छ । 

सरकारले तोकेको आधारभूत स्वास्थ्य सेवाको थैलीमा औषधि, सेवा र परीक्षण उपलब्ध हुनैपर्छ । उपलब्ध हुनु मात्रै होइन, निःशुल्क उपलब्ध हुनुपर्छ । त्यसमा धेरै महत्त्वपूर्ण औषधि पर्छन् । जस्तो ः सामान्य रूपमा खाने गरेका सिटामोल, एन्टिबायोटिक औषधिहरू, थुप्रै पेनकिलर आदि । लक्षणको उपचार गर्ने औषधिदेखि रोगलाई नै सम्बोधन गर्ने औषधिसम्म आधारभूत स्वास्थ्य सेवा थैलीमा पर्छन् । तिनै औषधिहरू अहिले पनि सरकारी अथवा सार्वजनिक संस्थामा उपलब्ध भएको पाइँदैन ।

आधारभूत स्वास्थ्य सेवामा कुन–कुन औषधि छन् भनेर सरकारी अस्पतालमा सजिलै पाइन्छ । अहिले ९८ प्रकारका औषधि भनिएको छ, यिनका पनि व्यापारिक नाम धेरै छन् । आधारभूत स्वास्थ्य नेपालको संविधानले नै सुनिश्चित गरेको मौलिक हकसँग जोडिएको छ । मौलिक हकमा पर्ने औषधिको नागरिकले मूल्य चुकाउनुपर्दैन । त्यस कारण औषधिको मूल्यमा प्रश्न उठाउनु उपयुक्त हुँदैन । आमनागरिकले औषधि पाएका छन् त भन्ने मुख्य विषय हो । 

आधारभूत स्वास्थ्य सेवा र आजको स्वास्थ्य सेवामा संलग्न भएका औषधिको विषय उठाउन जरुरी छ । हाम्रो संविधान र हाम्रो नीतिले दिएको सेवा पाउन नसक्नु संविधानको नै बेवास्ता गरेको जस्तो हुन्छ । 

हरेक दिन हरेक औषधि पसलमा निरीक्षण गर्न सकिन्छ भन्ने छैन तर आवधिक रूपमा निरीक्षणमा जोड दिनुपर्छ । प्रणालीगत रूपमा निरीक्षण र नियमन हुनुपर्छ तर हामीकहाँ कहिलेकाहीँ निरीक्षण भए पनि यथेष्ट रूपमा हुन सकेको छैन ।

औषधि भनेको ‘जेनेरिक नेम’ (औषधिको रासायनिक नाम) हो, जस्तो कि प्यारासिटामोल । प्यारासिटामोलको आफैँमा गुण नहुने कुरै आउँदैन, जो थुप्रै नामबाट उत्पादन भएका छन् । किनकि एउटा जेनेरिक औषधि सयौँ कम्पनीले उत्पादन गरिरहेका छन् । हामीकहाँ कैयौँ ‘फार्मस्युटिकल’ले प्यारासिटामोल औषधि उत्पादन गरिरहेका छन् । 

जेनेरिक नेम  प्यारासिटामोल हो तर यो पनि विभिन्न नामबाट उत्पादन हुन्छ । जुन त्यो ‘ट्रेड नेम’ अर्थात् व्यापारिक नाम हो । एउटा कम्पनीले जुन नामबाट औषधि उत्पादन गर्छ, अर्को कम्पनीले सोही नामबाट उत्पादन गर्न पाउँदैन । कुनै औषधि गुणस्तरीय छ कि छैन भन्नुअघि कुन कम्पनीले उत्पादन गरेको हो भन्ने प्रश्न आउँछ । कुनै पनि कम्पनीले उत्पादन गर्ने औषधि गुणस्तर भएको प्रमाणित भएपछि मात्रै सरकारले अथवा औषधि व्यवस्था विभागले बिक्री–वितरणका लागि अनुमति दिने गर्छ । 

स्वदेशी उत्पादन होस् वा आयातीत औषधि— औषधि स्वास्थ्य विभागमा दर्ता नहुन्जेलसम्म बिक्री गर्न पाइँदैन । त्यस कारण सैद्धान्तिक रूपले हेर्ने हो भने औषधि गुणस्तरीय हुनैपर्छ । नत्र बजारमा बिक्री गर्न पाइँदैन । 

गुणस्तरीय औषधि उत्पादन भए पनि भण्डारण र ढुवानीका बेलाको अवस्थाले गर्दा औषधिको गुणस्तरमा फरक पर्न सक्छ । औषधि घाममा राख्नु हुँदैन भनेर लेखिएको हुन्छ तर कतिपयले औषधिको भण्डारण र ढुवानी सही ढंगबाट गरेका हुँदैनन् र औषधिको गुणस्तरमा ह्रास आइहाल्छ । 

हाम्रोमा स्थलगत रूपमा औषधिको गुणस्तर मापन गर्ने प्रणालीको कार्यान्वयन स्थापित भइसकेको छैन । साँच्चिकै सही ढंगबाट भण्डारण र ढुवानी गरिएको छ कि छैन भनेर निरीक्षणको पक्ष बलियो भएको छैन । यसलाई बलियो बनाउनुपर्ने देखिएको छ । 

हरेक दिन हरेक औषधि पसलमा निरीक्षण गर्न सकिन्छ भन्ने छैन तर आवधिक रूपमा निरीक्षणमा जोड दिनुपर्छ । प्रणालीगत रूपमा निरीक्षण र नियमन हुनुपर्छ तर हामीकहाँ कहिलेकाहीँ निरीक्षण भए पनि यथेष्ट रूपमा हुन सकेको छैन । हामीसँग औषधिको गुणस्तर कायम गर्ने मापदण्डहरू छन्, तर कार्यान्वयन हुन सकेको छैन । 

कहिले भण्डारण हेर्ने, कहिले ढुवानीको प्रकृतिको निरीक्षण गरेर पनि औषधिको गुणस्तर कायम गर्न सकिन्छ । नियमन निजी वा सरकारी फार्मेसी दुवैमा हुनुपर्छ । औषधिको गुणस्तरीयतामा हामी सबै गम्भीर हुनुपर्छ । औषधिको गुणस्तरलाई व्यवस्थापन गर्नका लागि के गर्नुपर्छ भनेर निर्देशिका गम्भीरतापूर्वक निर्वाह गर्नुपर्छ । 

तापक्रम, ढुवानी, भण्डारण लगायत विभिन्न विषयसँग औषधिको गुणस्तर जोडिएको छ । यी सबै विषयबाट फार्मस्युटिकल साथीहरू अनभिज्ञ छन् जस्तो लाग्दैन । मात्र यी मापदण्डलाई हामीकहाँ इमानदारितापूर्वक लागु गर्नुपर्ने भएको छ । 

औषधिको अनुसन्धान गरेर कम्पनीले ‘प्याटेन्ट’ बनाउँछ । यस्तो ‘प्याटेन्ट’मा अन्य कम्पनीले ती औषधि उत्पादन गर्न पाउँदैनन् । जसले ‘प्याटेन्ट’ बनाएको छ उसले एक्लै उत्पादन गर्छ । यसरी उसको अधिकार हुँदासम्म औषधिको मूल्य एकदमै माथि जान्छ । अन्तर्राष्ट्रियस्तर अनुसार सधैँभरि ‘प्याटेन्ट’ राख्न पाइँदैन । हाम्रो माग के हो भने ‘प्याटेन्ट’ भन्ने अवधारणा राख्न हुँदैन भन्ने हो ।  

(जनस्वास्थ्यविद् प्रा.डा. वन्तसँग रातोपाटीकर्मी सरिता थारुले गरेको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शरद वन्त
डा. शरद वन्त
लेखकबाट थप