बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
भाइरल

रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा

निकोलस भुसालले स्वीकारे गल्ती
बिहीबार, ०४ पुस २०८१, १० : ०९
बिहीबार, ०४ पुस २०८१

पोखरा । बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका सह–कोषाध्यक्ष दीपक बोहराले सामाजिक सञ्जालमा एउटा तस्बिर पोस्ट गर्दै सरकार र नेपाल प्रहरीमाथि प्रश्न तेर्साए । उक्त तस्बिर हाल कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको रहेको बोहराको दाबी थियो ।

सीसीटिभीको उक्त तस्बिर प्रहरीले नै कसैलाई पठाएको दाबी गर्दै उक्त तस्बिर कुन उद्देश्यका लागि सार्वजनिक गरियो भन्दै प्रश्न गरे । उनले लेखेका थिए, ‘अन्याय गर्नुको पनि हद हुन्छ। रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला ।’

फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमामा विभिन्न कोणमा बहस सुरु भयो । केहीले तस्बिरको वास्तविकतामाथि नै प्रश्न पनि उठाए । बिहीबार बिहान फेसबुक लाइभमा आएका बोहराले उक्त तस्बिर रविकै भएको बताए । यस पटक भने उनले तस्बिर आफूले सामाजिक सञ्जालमा भेटेको र यो कसरी बाहिरियो भन्दै आफ्नो प्रश्न पुनः दोहोर्‍याए ।

तर, अहिले सो तस्बिर रास्वपा समर्थक डा. निकोलस भुसालले नै सार्वजनिक गरेको खुलासा भएको छ । भुसालले रवि लामिछानेको समर्थनमा प्रदर्शनसमेत गर्दै आएका छन् ।

465307629_1280753929625643_7777243079421731615_n

भुसाल आफैले सो तस्बिर आफूले नै खिचेको स्वीकार गरेका छन् ।‘तस्बिर मैले नै खिचेको हो । नराख्नुपर्ने रहेछ, गल्ती भयो,’ उनले रातोपाटीसँग भने, ‘रवि दाइको अवस्था राम्रो छ, चिन्ता लिनुपर्दैन भनेर सन्देश दिनका लागि राखेको, अनर्थ भयो । त्यसैले हटाएँ ।’

वास्तवमा भुसालले दुई दिनअघि ‘नागरिक विद्रोह’ का जुट्न आह्वान गर्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । उनले शनिबार चितवनमा आन्दोलनका लागि जुट्न आह्वान गरेको पोस्टरसहित रविको उक्त भाइरल तस्बिर हालेका थिए । तर, रास्वपा सह–कोषाध्यक्ष बोहोराले तस्बिरबारे प्रश्न उठाएपछि उनले रविको तस्बिर हटाएका थिए ।

462582276_911383517799312_4740986976179293627_n

कास्की प्रहरी स्रोतका अनुसार केही दिन अघि निकोलस भुसाल रवि लामिछानेलाई भेट्न प्रहरी हिरासतमा पुगेका थिए । तर, प्रहरीले रवि सुतिरहेको र अहिले भेट्न नमिल्ने बताएको थियो । 

भुसालले भेट्ने अड्डी कसेपछि उनलाई सीसीटिभीबाट रवि सुतेको देखाइएको थियो । यद्यपि, सीसीटिभी भएको ठाउँसम्म उनले मोबाइल कसरी लान पाए भन्ने चाहिँ प्रहरीले बताउन सकेको छैन ।

यता, कास्की प्रहरीले सो तस्बिर पोस्ट गर्ने व्यक्ति खोजीमा जुटेको बताएको छ । कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले आफूहरू घटनाबारे जानकार रहेको र अनुसन्धान भइरहेको बताउँछन् । ‘सामाजिक सञ्जालमा आएका तस्बिर हेरेका छौँ । जानकारी छ,’ उनले भने, ‘कसले गर्‍यो भन्ने खोजी भइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप