मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय
चक्रपथ विस्तार

६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार

बिहीबार, ०४ पुस २०८१, ०७ : ३४
बिहीबार, ०४ पुस २०८१

काठमाडौँ । चक्रपथको दोस्रो खण्ड (कलंकी– महाराजगञ्ज) सडक विस्तारका लागि नेपाल र चीन सरकारबिच सम्झौता भएको लामो भइसकेको छ  । तर हालसम्म विस्तारको काम अघि बढ्न सकेको छैन । सो खण्ड विस्तार नहुँदा साढे ६ वर्षदेखि वर्षातमा हिलो र हिउँदमा धुलोको कारण राजधानीबासी हैरान छन् । 

चक्रपथको दोस्रो खण्ड विस्तारका लागि २०७५ मै सम्झौता भएको थियो । गत भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिबिच सडक विस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । जसमा चक्रपथको दोस्रो खण्ड कलङ्की–महाराजगन्ज ८.२ किलोमिटर सडक विस्तारलाई समेटिएको थियो । नेपालका तर्फबाट अर्थसचिव डा. रामप्रसाद घिमिरे र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका उपाध्यक्ष याङ वेइहुनले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

यसै गरी मंसिर १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, चिनियाँ समकक्षी ली छ्याङ लगायतसँग बेइजिङमा भेटवार्ता गरेका थिए । उच्चस्तरीय भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यको बुँदामा काठमाडौँ चक्रपथ सुधार परियोजनाको दोस्रो चरण कार्यान्वयन गर्ने सहमति जनाइएको छ ।

यसरी पटक–पटक दुई देश सडक विस्तार गर्न सहमत भए पनि यसको प्रगति शून्य बराबर छ । चक्रपथ विस्तार आयोजनाका प्रमुख कृष्णनाथ ओझा अहिले काम अगाडि नबढेको बताउँछन् । ‘चक्रपथ विस्तारको कुनै काम अघि बढेको छैन । सम्झौता भएको औपचारिक जानकारी पनि छैन र विस्तारका लागि कहिले आउँछन् भन्ने जानकारी पनि छैन ।

सम्झौता भयो भन्ने समाचारमा सुनेको हो,’ योजना प्रमुख ओझा भन्छन्, ‘कागज हामीकहाँ आइपुगेको छैन । सुरु कहिले हुन्छ भन्ने पनि हामीलाई जानकारी आएको छैन ।’ तर सडक विस्तारका लागि सम्पूर्ण तयारी सकिएको प्रमुख ओझाको भनाइ छ । सर्भिस लेन निर्माण र खाल्डाखुल्डी पुर्ने तथा धुलो न्यूनीकरण गर्ने कार्य भइरहेको योजना प्रमुख ओझाले बताए । 

‘औपचारिक रुपमा काम सुरु भयो’

भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले औपचारिक रुपमा काम सुरु भएको तर भौतिक रुपमा विस्तारको काम सुरु नभएको बताए । उनले भने, ‘चिनियाँ पक्षसँग अनुदानमा काम गर्न लागेका छौँ । कति नीतिगत व्यवस्था पुरा गर्नुपर्ने होला । आन्तरिक कार्यविधि होला । प्रक्रिया होला । त्यसैले ढिला भएको हो ।’

चीनले आफैँ सर्भे गरेर डीपीआर तयार गर्ने भएकाले बिस्तार कार्य अघि बढाउन समय लाग्ने उनले बताए । साथै यो सडक खण्ड विस्तारका लागि चीन सरकारसँगको अनुदान सहमति भएको र लागत पनि लाग्ने टुङगो नभएको उनको भनाइ छ । 

६ वर्ष अघि अतिक्रमित संरचना हटाइयो

सडक विभागकाअनुसार चक्रपथको दोस्रो खण्ड कलङ्की–चाबहिल विस्तारका सो क्षेत्रमा अतिक्रमित संरचना ६ वर्षअघि हटाइएको थियो । सम्झौता भएसँगै चक्रपथ विस्तार आयोजनाले १४ जेठ २०७५ मा सूचना जारी गर्दै यो खण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनेको थियो । त्यसपछि विभागले सो क्षेत्रका विद्युतका पोल हटाइसकेको र अन्य समस्या नरहेको विभागका सूचना अधिकारी शर्माको बताउँछन् । अवरोध हटाए पनि कामले गति लिन नसकेको उनको भनाइ छ । 

दोस्रो खण्डमा कलङ्की–चाबहिल खण्ड विस्तार गर्ने भनिए पनि महाराजगन्जमा जग्गा प्राप्तिमा समस्या भएपछि बसुन्धरा पुलसम्म विस्तार गरिने तयारी भइसकेको छ  । सो सडकको दुरी ८.२ किलोमिटर छ । 

चक्रपथको पहिलोखण्ड विस्तार भएलगत्तै दोस्रो खण्ड विस्तार कार्य हुनुपर्ने  थियो । सरकारले विस्तारका लागि तयारीको काम अघि नबढाएको र कोरोना माहामारी कारण देखाउँदै चीनले विस्तारको काम अघि बढाएको थिएन । २०७९ फागुनमा सो सडक खण्ड विस्तारका लागि विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार पार्नका लागि चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोली आएको थियो । उक्त टोलीले दुई महिनाभित्र डीपीआर तयार पार्ने भने पनि नेपाल सरकारलाई नबुझाइ फर्किएको थियो ।

यसअघि चीनले चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलंकी पहिलो खण्ड विस्तार गरेको थियो । उक्त खण्ड विस्तार कार्य २०६९ मा सुरु भएको थियो । करिब ६ वर्ष अवधिमा २०७५ मा सडक विस्तार सम्पन्न गरेको थियो ।

यस खण्डको दुरी कोटेश्वरदेखि कलंकीसम्म १०.३९ किलोमिटर छ । ८ लेनमा विस्तार गरिएको यो सडक विस्तारको लागत चीन सरकारले बेहेरोको थियो । यसको लागत करिब ५  अर्ब रहेको छ । यस सडक खण्डको विस्तार भएसँगै कलंकीमा जाम घटेको छ । 

यसैगरी चक्रपथको दोस्रो खण्ड कलंकी–महाराजगञ्ज सडक चीनको अनुदानमा बन्ने गरी सम्झौता भएको छ भने तेस्रो खण्ड नेपाल सरकार आँफैले विस्तार गर्नुपर्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप