सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
विराटनगर । विराटनगर महानगरपालिका–८ मा रहेको लाभा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष विष्णु पोखरेलले सहकारीको रकम मिटरब्याजमा लगाउने गरेको आरोप लागेको छ । उनले विभिन्न तमसुक बनाउने, हस्ताक्षर गरेको खाली चेक लिएर फिर्ता नगर्ने र चेक बाउन्सको मुद्दा हाल्ने, विभिन्न व्यक्तिबाट ऋण लिएर आफ्नो नाममा जग्गा लिने र पछि फिर्ता नगर्ने गरेको पीडितहरू बताउँछन् ।
पोखरेलले विराटनगर–६ का आनन्द मोहन झा, विराटनगर–४ का लक्ष्मण घिमिरे, विराटनगर–४ कै रोहितकुमार दाहाल, विराटनगर–३ की अनिता गुप्तालगायतलाई ठगी गरेको उजुरी परेको छ । ती उजुरीका विरुद्धमा पोखरेलले पनि उजुरी दिएका छन् ।
तर, पोखरेल अध्यक्ष रहेको लाभा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक बाबुराम बाँस्तोलालाई प्रयोग गरेर उनले मिटरब्याजको धन्दा चलाउने गरेको सुरक्षा निकाय पनि दाबी गर्छ । ‘मिटरब्याजी हो भन्ने कुरा उनको गतिविधिले प्रस्ट पार्छ,’ अनुसन्धानमा खटिएका एक सुरक्षा अधिकारीले भने, ‘सहकारीको रकम दुरुपयोगदेखि यहाँका ठुला र प्रतिष्ठित मानिसहरूलाई पनि उनले धेरै दुःख दिएको देखिन्छ ।’
विराटनगरका एक प्रतिष्ठित उद्योगीले नाम नबताउने शर्तमा भने, ‘पुराना उनका साथीहरूसँग व्यवहार बिग्रिएको छ । उनको आफ्नै ग्याङ छ । मसहित धेरैलाई दुःख दिएको छ ।’ पोखरेल जग्गा व्यापारीसमेत हुन् ।
विराटनगर–४ का रोहितकुमार दाहाल हार्डवेयर व्यवसायी हुन् । उनले कारोबारकै सिलसिलामा उक्त सहकारीबाट २०७५ चैत २० गते कञ्चनबारी ५ क कि.नं. ६४३ को १ कट्ठा १ धुर जग्गा सहकारीको नियमानुसार दृष्टि रोक्का राखी २९ लाख रुपैयाँ ऋण लिए । ऋण लिएर गरेको व्यापारको नाफा रकम श्रीमती स्व.सुनिता भट्टराईको खातामा जम्मा गर्दै गए । त्यही बेला अर्को जग्गा पनि बिक्री भयो । दाहालले श्रीमतीकै खातामा जग्गा बिक्रीको रकम पनि जम्मा गरे ।
आफूले कमाएको र जग्गा बिक्रीबाट आएको रकम बैंकबाट निकालेर सोही लाभा बचत तथा ऋण सहकारीमा १२ प्रतिशत ब्याज दिने भनेपछि उनले श्रीमतीकै नाममा जम्मा गरे । ऋण सकियो । दाहालले २०७७ माघ २२ गते सो धितो रोक्का गराए ।
त्यसपछि उनले फेरि पोखरेलसँग आफूले राखेको मुद्दति खाताको जमानीमा ऋण मागे । दाहालले वडामा कागज गरी सहकारीका व्यवस्थापक बाबुराम बाँस्तोलाको नाममा पटक–पटक गरी ८० लाख रुपैयाँ ऋण लिए ।
उक्त ऋणको किस्ता तिर्न उनले २ लाखको चेक बाँस्तोलालाई दिए । उक्त चेकको हस्ताक्षर नमिले अर्को चल्न सक्छ भनेर बाँस्तोलाले खाली चेकसँगै लिए । तर, पहिलेको चेकबाट रकम निकालिसकेपछि बाँस्तोलाले खाली चेक फिर्ता गरेनन् । त्यसअवधिसम्ममा दाहालले सबै किस्ता तिरिसकेका थिए ।
चेक फिर्ता माग्दा केही हुँदैन भन्दै बाँस्तोलाले टारिरहे । फेरि दाहालले कञ्चनबारी २ ख को कित्ता नम्बर १५८० र ५०९० को १९ धुर जग्गा रोक्का गरी पोखरेलसँगै ३३ लाख ९६ हजार लिए । त्यो रकम पनि फिर्ता गरेको उनले बताए । फिर्ता गरिसकेपछि उनले सहकारीमा रहेको आफ्नो मुद्दति खाताको ४९ लाख रकम फिर्ता गर्न र रोक्का राखेको जग्गा फिर्ता गर्न माग गरे ।
त्यो फिर्ता गर्न नसक्ने भनेपछि दाहालले ३५ लाख रुपैयाँको कागज गरेर अर्को जग्गा सुनसरीको पूर्व कुशाहा ८ क को कित्ता नं. ७७६ को १७ धुर र सोही ठाउँको कित्ता नम्बर ८६६ को १५ धुर जग्गा सहकारीमा दृष्टि बन्धक राखे । त्यसबापत उनले ३५ लाख रुपैयाँ ऋण लिने भने । तर, उनलाई सो ऋण बापतको रकम सहकारीले दिएन ।
त्यसपछि उनले लिने भनेको ३५ लाख ऋण नपाएपछि हस्ताक्षर भएको खाली चेक र मुद्दतीमा राखेको ४९ लाख रुपैयाँ फिर्ता र रोक्का गरिएको जग्गा फुकुवाको आग्रह गरे । तर, पोखेलले तपाईंले भनेको केही हुँदैन जे गर्नुहुन्छ गर भनेर धम्क्याए ।
त्यस पश्चात पोखरेलले सहकारीमार्फत दाहालको नामको चेक बाउन्स गराएर उनलाई कालोसूचीमा राख्न अदालतमा निवेदन दिए । ‘मलाई बैकिङ कालोसूचीमा एवं कानूनी प्रक्रियामा गएर अप्ठ्यारोमा पार्न सक्ने भएका कारण मैले मिति २०८१ भदौ ३० गते जिल्ला प्रशासन कार्यालय मोरङमार्फत अनुचित लेनदेन सम्बन्धमा संस्थाका अध्यक्ष विष्णु प्रसाद पोखरेल र व्यवस्थापक बाबुराम बाँस्तोलाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएँ,’ दाहालले भने ।
दाहालका अनुसार प्रहरी कार्यालयमा दुई चरण सामूहिक छलफल भयो । उनले भने, ‘छलफलमा विष्णु प्रसाद पोखरेलले वडामा गरेको कागज र दस्तखत मात्र गरी लिएको चेकको आडमा मैले वार्षिक ३६ प्रतिशत व्याजदरमा संस्थागत या व्यक्तिगत जे भने पनि कर्जा दिएको भनी मौखिक रुपमा आफ्ना कुरा राखे ।’
त्यसक्रममा पोखरेलले दाहालबाट १ करोड ३६ लाख रकम लिन बाँकी रहेको दाबी गरे ।
प्रहरी कार्यालयमा कुरा नमिलेपछि पुनः विराटनगर महानगरपालिकाको सहकारी शाखामा छलफल भयो । उक्त छलफलमा पोखरेलको तर्फबाट सहकारीका व्यवस्थापक बाबुराम बाँस्तोलाले दाहालको सुनसरी जिल्लाको १५ र १६ धुरको जग्गा फुकुवा गर्ने, संस्थाले ८ नम्बर वडामा दाहालसँग गरेको ८० लाखको लेनदेनको कारोबारको कागजात फिर्ता गर्ने, दाहालकी श्रीमती सुनिता भट्टराईको नामबाट सो सहकारीमा बचत गरेको रकम ४९ लाख फिर्ता दिने निर्णय भयो । सो निर्णयमा बाँस्तोलाले पनि हस्ताक्षर गरेका छन् ।
त्यसका साथै सोही छलफलमा अर्का उजुरीकर्ता मनित गुप्ताको १६ लाख ऋण लिएको रकमको ३६ प्रतिशत ब्याज मात्र बुझाउँदै गएकोमा सो कारोबारको विवरण संस्थाले खुलाउनु पर्ने, गुप्ताको मुक्तिनाथ विकास बैंकको २ वटा खाली चेक पत्र फिर्ता गर्ने र रोहित दाहालको समेत एनआइसी एसियाको खाली चेक र अर्का निवेदक अनिता गुप्ताको नाममा रहेको १६ धुर जग्गा फुकुवा गरिने भनेर निर्णय भएको छ ।
दोस्रो चरणको छलफल सहकारीका अध्यक्ष पोखरेल र सञ्चालक समितिका पदाधिकारीलाई असोज २३ गतेभित्र सहकारी शाखामा उपस्थित गराए पश्चात पूर्ण छलफल गरी प्रक्रिया अगाडि बढाउने उल्लेख छ । तर, त्यसपछि कुनै प्रक्रिया अगाडि पनि बढेन र पोखरेलले गरेको प्रतिबद्धता पनि पूरा गरेका छैनन् ।
२०८१ असोज २१ गते भएको उक्त छलफलमा विराटनगर महानगरपालिकाको आर्थिक विकास महाशाखाका संयोजक कृष्णप्रसाद पोखरेल, सहकारी शाखाका अधिकृत चाँदनी राई, सहकारी शाखाकै सहायक रोजी कार्की खनाल, लाभा बचत तथा सहकारी संस्था लिमिटेडका व्यवस्थापक बाबुराम बास्तोला, कर्मचारी विष्णु पोखरेल, उजुरीकर्ता मनित गुप्ता, र रोहितकुमार दाहालको उपस्थिति थियो ।
दोस्रो चरणको छलफल सहकारीका अध्यक्ष पोखरेल र सञ्चालक समितिका पदाधिकारीलाई असोज २३ गतेभित्र सहकारी शाखामा उपस्थित गराए पश्चात पूर्ण छलफल गरी प्रक्रिया अगाडि बढाउने उल्लेख छ । तर, त्यसपछि कुनै प्रक्रिया अगाडि पनि बढेन र पोखरेलले गरेको प्रतिबद्धता पनि पूरा गरेका छैनन् ।
पोखरेलले भने चाहिएको बेला ऋण लिने गरेको र ऋण तिर्न नसकेपछि अनेक बाहनाबाजी गरेको प्रतिक्रिया दिए । उनले नगरपालिकामा व्यवस्थापक बाबुराम बाँस्तोलाले कुनै सहमति नगरेको पनि दाबी गरे ।
‘ऋण लिने बेलामा अनेक कुरा भनेर लिने अनि तिर्न नसकेपछि विभिन्न बाहनामा बखेडा झिक्ने हाम्रो चलन नै हो,’ पोखरेलले भने, ‘मैले कोही कसैलाई मिटरब्याजमा रकम लगाएको पनि छैन र लगाउने पनि छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विजरल्याण्डको डाभोसमा कतारी प्रधानमन्त्रीले भने-'गाजामा हामी पीएम देख्न चाहन्छौं'
-
सौगातसँग ब्रेक अप भएपनि उहाँको राम्रो होस्ः अभिनेत्री सृष्टि
-
कालीगण्डकीमा तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण
-
शिवसताक्षीमा फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध
-
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?
-
शीर्ष क्लब लिभरपुल, एटलेटिको मड्रिड, बार्सिलोना र एटलान्टा च्याम्पियन्स लिगको अन्तिम १६ मा