बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म

बिहीबार, ०४ पुस २०८१, ०० : १२
बिहीबार, ०४ पुस २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. मासु निर्यातका लागि समझदारी
नेपालले वार्षिक साढे एक अर्ब अमेरिकी डलर बराबरको मासु निर्यातका लागि चीनसँग समझदारी गरेको छ । नेपाल तर्फबाट हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जी याङ फुड कम्पनी लिमिटेडबिच राँगाभैँसीको मासु निर्यातसम्बन्धी सम्झौता भएको हो । यी दुवै कम्पनी निजीस्तरका हुन् ।

२. सङ्क्रमणकालीन न्याय
सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी सिफारिसका लागि सरकारले गठन गरेको सिफारिस समिति अन्ततः नाम नै सिफारिस नगरी भङ्ग भएको छ ।  

३. एकतामा अलमल
पार्टी एकताका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इच्छुक नदेखिएपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ असन्तुष्ट देखिएका छन् । माओवादीसँग एकता गर्ने निर्णय भएको ९ महिनासम्म प्रचण्डबाट औपचारिक प्रस्ताव नआएपछि विप्लव असन्तुष्ट देखिएका हुन् ।

४. विवाद अझै सुल्झिएन
 कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन अन्तर्गत बाँकेको बानियाभारको विवाद अझै समाधान हुन सकेको छैन । स्थानीयवासीद्वारा दायर रिट अदालतले खारेज गरे पनि उक्त क्षेत्रमा काम अगाडि बढाउन स्थानीयको अवरोध कायमै छ । जसका कारण प्रसारण लाइनको पछिल्लो पटक थप भएको म्याद अवधिभित्र पनि काम सम्पन्न हुने छाँटकाँट छैन ।

५. जसपा नेपाललाई अद्यावधिक
 जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि निर्वाचन आयोगले अद्यावधिक गरेको छैन । सो पार्टीको महाधिवेशन जेठको अन्तिम साता सम्पन्न भएको थियो ।

६. कार्यविभाजन
नेकपा (एकीकृत समाजवादी)ले दशौँ महाधिवेशन सम्पन्न गरेको झण्डै ६ महिनापछि केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । लामो समय लगाएर कार्यविभाजन गरे पनि पार्टीमा देखिएको असन्तुष्टि भने पूर्ण रूपमा साम्य हुन नसकेको कतिपय नेताहरूको भनाइ छ ।

७. मोर्चा निष्प्रभावी
समाजवादी क्रान्तिको तयारीका साथसाथै राष्ट्रिय मुद्दामा समान धारणा बनाउन खोलिएको समाजवादी मोर्चाले औचित्य पुष्टि गर्न असफल देखिएको छ । नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने, नेपालको संविधानको रक्षा, कार्यान्वयन, विकास, विभेदरहित समाज स्थापना गर्ने लक्ष्य सहित २०८० असार ४ गते मोर्चा गठन गरिएको थियो । 

८. न्यायाधीश नियुक्ति
सर्वोच्च र उच्च अदालतमा न्यायाधीश  नियुक्ति गर्न नसकिएको बारेमा न्याय परिषद्का पदाधिकारीले एक अर्कालाई देखाएर पन्छिएका छन्  । ३४ औ न्याय परिषद् दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्षदेखि सदस्यसम्मले अरूलाई नै देखाएर जिम्मेवारी लिनबाट पछि हटेका हुन् । 

९. एमाले बैठक
नेकपा एमालेले यही पुस १५ गतेभित्र पार्टीका विभाग प्रमुखहरूलाई विभागीय कामको रिपोर्ट दिन निर्देशन दिएको छ । महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा बुधबार केन्द्रीय विभागका प्रमुख र सचिवहरूको संयुक्त बैठक राखेर यस्तो निर्देशन दिएका हुन् । 

१०. दुर्गा प्रसाईं
काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

११. डुङ्गा पल्टिँदा दुर्घटना 
मुम्बईको समुद्री तट नजिक बुधबार एउटा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । बीबीसी मराठीका अनुसार स्थानीय समयअनुसार साँझ ५ः१५ बजे नीलकमल नामको डुङ्गा गेटवे अफ इन्डिया क्षेत्रबाट एलिफन्टा टापुतर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।

१२. नेपाल प्रिमियर लिग
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो ‘क्वालिफायर’ मा प्रवेश गरेको छ । बुधबार भएको ‘एलिमिनेटर’ खेलमा कर्णाली याक्सले कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजलाई २१ रनले हरायो ।
यस्तै, सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । सुदूरपश्चिम रोयल्स बुधबार खेलिएको पहिलो ‘क्वालिफायर’ खेलमा जनकपुर बोल्ट्सलाई आठ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप